[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 कसरी डुब्छन् व्यवसाय ?
[VIEWED 6863 TIMES]
SAVE! for ease of future access.
Posted on 12-15-12 6:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 http://www.ekantipur.com/nep/2069/8/30/full-story/359150.html

कसरी डुब्छन् व्यवसाय ?

कुनै बखत सफलताको 'शिखर’ मा पुगेका व्यवसायी अहिले कोही अस्तित्वका लागि संघर्ष गर्दै छन् भने कोही परिदृश्यबाटै हराउँदै गएका छन् ।

 
(2 Votes)
 
 
 
 
 
केही वर्षयता सहरमा दुई महत्त्वाकांक्षी युवा व्यवसायी चर्चामा रहे । सुधीर बस्नेत र राजेन्द्र शाक्यको चर्चा सेलाएको छैन । तर चर्चाको प्रसङ्गचाहिँ ठीक उल्टो छ । दुई वर्ष अघिसम्म तिनको चर्चा छोटो समयमै सफलताको शिखर चढ्न सफल व्यवसायी रूपमा हुन्थ्यो । जोखिम मोल्ने तिनको साहसमा अरुले जिब्रो टोक्थे । अहिले तिनै व्यवसायी 'शिखर'बाट जमिनमा धसिएका व्यवसायी भएका छन् । जोखिम मोल्ने तिनको साहस दुःसाहस बनेको छ । आफूमात्र डुबेको भए त घरपरिवारमात्र दुःखी हुन्थे । तिनले आफूसँगै हजारौं सर्वसाधारणलाई डुबाउने सम्भावना बढेको छ ।

बस्नेत अध्यक्ष रहेको ओरियन्टल को-अपरेटिभ (सहकारी) मार्फत करिब ७ हजार सर्वसाधारणको ३ अर्ब ८९ करोड रुपैयाँ बचत संकलन गरेका छन् । तर सहकारीसँग पैसा नभएकाले बचतकर्ताले रकम फिर्ता पाइरहेका छैनन् । आकर्षक ब्याजसहित एकमुष्ठ रकम लिएर आफ्नो व्यवसाय बढाउने सपना देख्ने नाङ्ले पसल चलाउनेदेखि आफ्नो पैसा दोब्बर बनाउने आश राखेका सहरिया मध्यमवर्गीयको सपना भताभुङ्ग भएपछि उनी हजारौंको गालीको पात्र बनेका छन् ।

शाक्यको गुण को-अपरेटिभका बचतकर्ताको अवस्था पनि उस्तै छ । बचतकर्ताले गुणसँग करोड रुपैयाँसम्म फिर्ता लिनुछ । तर सहकारीले मासिक ३ हजार रुपैयाँको दरले फिर्ता गरिरहेको छ । त्यो पनि कहिलेसम्म हो, अन्योल छ । शाक्यले फरक-फरक नाममा ललितपुरमै सातवटा सहकारी दर्ता गरी कारोबार गरिरहेका छन् । नाम फरक भए पनि सबै कारोबार गुण को-अपरेटिभको नाममा भएको छ । सहकारीले शाखा खोल्न नपाउने प्रावधान छल्न उनले यस्तो जुक्ति निकालेका थिए । उनले ललितपुर डिभिजन सहकारीमा पेस गरेको पछिल्लो प्रतिवेदनअनुसार सातवटा सहकारीको ७ करोड ७५ लाख सेयर पुँजी छ । तिनमा ६६ करोड निक्षेप संकलन र ७६ करोड रुपैयाँ लगानी भएको छ । विभिन्न कोषमा ७ करोड रुपैयाँ छ । तर उनले पेस गरेको प्रतिवेदनमा सहकारीका अधिकारीहरू नै विश्वस्त छैनन् । 'शाक्यले संकलन गरेको बचत पनि बस्नेतको भन्दा कम छैन,' सहकारी विभागका एक अधिकारी भन्छन्, 'हामी यकिन गर्न लागिरहेका छौं ।'

बस्नेत र शाक्यले एक एक दर्जन -दुवैको गरी पच्चीसवटा) संयुक्त आवास -हाउजिङ कोलोनी) सञ्चालन गरेका छन् । बस्नेतले कुलेश्वरको ओरियन्टल पहिलो र दोस्रो चरण तथा धुम्बाराहीमा ओरियन्टल कोलोनी ग्राहकलाई हस्तान्तरण गरेका छन् । बाँकी कतिपय परियोजना अधुरा छन् । ग्राहकसँग रकम उठाए पनि तिनले आवास निर्माण गर्ने भनेको कतिपय ठाउँमा जग खन्ने कामसमेत सुरु भएको छैन । ग्राहकले पैसा तिरेको वर्षौ भइसक्यो, तर भवन खडा हुनपर्ने ठाउँमा साग लहलहाएका छन् । पैसा पूरा बुझाउनेभन्दा बीचैमा छाड्नेको संख्या धेरै भएकाले आफू समस्यामा परेको बस्नेत दाबी गर्छन् । 'सम्पत्ति भए पनि तरलता अभावले अप्ठेरोमा परेका हौं', उनी भन्छन् । तर उनीहरूलाई नजिकबाट बुझ्नेहरू बस्नेत र शाक्यको गलत व्यवस्थापनका कारण धेरै समस्यामा परेको बताउँछन् । 'दुई जनाले सुरु गरेको संयुक्त आवास परियोजनामा कम्तीमा दुई हजार ग्राहकको पैसा फँसेको छ,' एक घरजग्गा व्यवसायी भन्छन् ।

बस्नेतले प्रबर्द्धन गरेको अग्नि एअर नागरिक उड्डयन प्राधिकरण र आयल निगमको पैसा तिर्न नसकेर 'ग्राउन्डेड' छ । उसका तिन जेटस्टि्रम र दुई डोनियर जहाज मर्मत (चेक) गर्ने बेला भएको छ । तर यसका लागि कम्पनीसँग पैसा छैन । कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् । बस्नेतले तत्काल साढे तीन करोड रुपैयाँ लगानी गर्नसके एयरलाइन्स चल्ने जिकिर गरे । शाक्यले तीनवटा बीच एयरक्राफ्ट किनेर चलाएको गुण एयरलाइन्स बन्द छ । गुणले एउटा जहाज बेचिसकेको छ, दुई जहाजको बिमा नवीकरण भएको छैन ।     

काठमाडौंको नयाँबानेश्वरको जागिरे परिवारका बस्नेत र गहना व्यवसायमा संलग्न पाटनको रैथाने परिवारका शाक्यले व्यवसाय गर्न सहकारीलाई माध्यम बनाएका थिए ।    सहकारीमा पैसा जम्मा हुनथालेपछि महत्त्वाकांक्षी स्वभावका तिनले त्यही पुँजी परिचालन गर्दै अरु व्यवसायमा लगानी गर्न थालेका हुन् । बस्नेतले अग्नि यातायातको नाममा लामो दूरीमा बस सञ्चालन गरे । घरजग्गामा २०५२/५३ सालमा आएको मन्दीको कुहिरो छाँटिन थालेपछि तिनले सहकारीमा आएको बचत ऋणको रूपमा लिँदै लगानी गर्न थाले । बस्नेत र शाक्यले साझेदारीमा पनि व्यवसाय गरे । मुनाफाबाट उत्साहित तिनले बैंकबाट समेत ऋण लिएर जग्गाका साथै संयुक्त आवास निर्माणमा लगानी गर्न थाले ।

बस्नेत र शाक्यको साझेदारी लामो समय टिकेन । अलग्गिएपछि व्यवसायमा एकले अर्कोलाई माथ गर्नेगरी तिनले लगानीमा प्रतिस्पर्धा गर्न थाले । यसपछि सुरु भयो, दुईको संयुक्त आवासगृह निर्माण गर्ने प्रतिस्पर्धा । दुवैले एकपछि अर्को आवासगृह घोषणा गर्दै बुकिङ लिन थाले । निर्माण पनि सुरु गरे । तर तीन वर्षअघि घरजग्गा व्यवसायमा मन्दी सुरुसँगै तिनको ग्रहदशा बिगि्रयो । निर्माणाधीन परियोजना अपार्टमेन्ट/घर अपेक्षित परिमाणमा बिक्री हुनसकेन । बैंकको ब्याज बढ्दै गयो । बैंकको ब्याज ८ प्रतिशतबाट दोब्बर भएपछि तिनका संयुक्त आवास परियोजनामा तला थपिँदै गए पनि आर्थिक रूपमा चाहिँ भासिँदै गए । अहिले दुवै बैंक तथा वित्तीय संस्थाकै ४/४ अर्ब रुपैयाँ हाराहारी ऋणको बोझले थिचिएका छन् । यस बाहेक सहकारीमा बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने दायित्व छँदैछ । रकम अभाव हुँदै गए पनि तिनले स्थानीय साहुहरूबाट पनि चर्को ब्याजमा धेरै ऋण लिइसके । बस्नेतले त आफ्ना नातागोताको पनि घर धितो राखेर ऋण लिएका छन् । आफ्नो लगानी रहेको बैंक/वित्तीय संस्थाबाट आफ्नै कामदारको नाममा समेत ऋण लिइएको छ ।

'महत्त्वाकांक्षी भए पनि दुवैको सम्पत्तिको बलियो आधार थिएन,' दुवैलाई नजिकबाट चिनेका एक बैंकर भन्छन्, 'सहकारीमा सर्वसाधारणले राखेको पैसालाई तिनले आफ्नै सम्पत्तिसरह लगानी गरे । 'फेरि व्यवसायीमा घाटा नै हुँदैन भनेजसरी तिनले बैंकबाट ऋण लिँदै गए । बजारको अवस्था नबुझी प्रतिस्पर्धा गरेर एकपछि अर्को परियोजनामा लगानी गरेकाले दुवै डुबेको ती बैंकर बताउँछन् । बस्नेतले अग्नि एयरलाइन्स सुरु गरेपछि शाक्यले गुण एयरलाइन्स सुरु गरेका थिए । बस्नेतले कुवेर फाइनान्स र वल्र्ड मर्चेन्ट बैंकमा लगानी गरे । शाक्यले किस्ट बैंक प्रबर्द्धन गरे । 'एउटाले कुनै परियोजना सुरु गरेपछि अर्कोले त्यस्तै परियोजनामा लगानी गर्ने होडबाजी गरे,' ती बैंकर भन्छन् । आफू डुब्नुका साथै समुच्चा संयुक्त आवास व्यवसायलाई प्रभावित पारेको दुवैमाथि आरोप छ । तिनले ग्राहकको पैसा लिएर पनि अपार्टमेन्ट/घर दिन नसक्ता बजारमा संयुक्त आवासमाथि अविश्वास उत्पन्न भएको छ । 'पहिला नक्सा हेरेर ग्राहकले पैसा तिर्थे,' एक आवासगृह निर्माणकर्ता भन्छन्, 'अहिले तयार फ्ल्याट पनि किन्न अप्ठ्यारो मान्छन् ।'

अहिले कालो सूचीमा परेका बस्नेत अहिले पनि ३५ करोड रुपैयाँ तरलता भए आफ्ना सबै व्यवसाय पुनःस्थापना भएर सबै दायित्व तिर्नसक्ने अवस्थामा पुग्ने आत्मविश्वास देखाउँछन् । 'केही प्रोजेक्ट बेचेर बाँकीलाई रिभाइभ गराउन प्रयास गरिरहेको छु', उनले भने- ग्राहक, बैंक, सरकारी निकाय, मिडिया सबैको सहयोग भए केही महिनाभित्रै व्यवस्थापन हुनेछ ।'

नेकोनको पतन

२०४८ सालमा निर्वाचित सरकारले निजी क्षेत्रका लागि आकाश खुला गरेपछि जन्मिएको नेकोन एयरको उत्थान र पतन पनि यस्तै छ । कम्पनीले घरेलु बजारमा ५० प्रतिशतभन्दा बढीको हिस्सा ओगटिसकेको मात्र थिएन, बोइङ/एयरबस किनेर अन्तर्राष्ट्रिय उडान गर्ने योजना बुनिसकेको थियो । एउटा जहाजबाट व्यवसाय सुरु गरेको नेकोनसँग तेह्रवटा जहाज पुगेका थिए ।

कम्पनी अहिले अस्तित्वमा नरहेको मात्र होइन, यसका सञ्चालकहरू कालो सूचीमा छन्, कतिपयको पासपोर्ट जफ्त भएको छ । ०६१ सालमा कम्पनीमा ताल्चा लगाएर भागेका सञ्चालकहरू सहरमै भए पनि गुमनाम छन् । सञ्चालकहरू विनोदबहादुर श्रेष्ठ, दीपमणि राजभण्डारी, मृगेन्द्र जोशी, मुकुन्दभक्त श्रेष्ठ र रविन्द्रलाल श्रेष्ठ कालो सूचीमा छन् ।  मुनाफाबाट बोनस खाने नेकोनका कर्मचारीले पछिल्ला दिनका तलबमात्र होइन, सञ्चयकोषको रकमसमेत पाएनन् । सेयर खरिद गर्ने सर्वसाधारणको लगानी पनि डुब्यो ।

कस्मिकको कथा

तत्कालीन शाही नेपाल वायुसेवा निगमको पाइलटका रूपमा क्यारिअर सुरु गरेका क्याप्टेन रविन्द्र प्रधानले दरबार भित्रिएपछि तत्कालीन राजा वीरेन्द्रका भरपर्दा विमान चालकको पहिचान बनाए । विमान चालकबाट विमान सञ्चालक बनेपछि उनी सफल व्यवसायीमा दरिए । कस्मिक एयरका साथै हुन्डाई कम्पनीको आधिकारिक बिक्रेताका रूपमा उनले धनदौलत पनि कमाए । तर अहिले प्रधान परिवार टाट पल्टेको छ, सम्पत्तिभन्दा कैयौं गुणा बढी ऋणको बोझले थिचिएको देखिन्छ । लाजिम्पाटको बहुमूल्य बिल्डिङ (अहिले एमबीएल टावर) का साथै अरु थुप्रै अचल सम्पत्ति बैंकलाई जिम्मा लगाउँदा पनि उनीमाथि बैंकको १ अर्ब २५ करोड रुपैयाँभन्दा बढी ऋणको भारी छ । उनी डुबेका कारण माछापुच्छ्रे बैंक पनि अप्ठ्यारो अवस्थामा छ । व्यवसायको नाममा परिवारसँग केही छैन ।

२०४८ सालमा निर्वाचित सरकारले निजी क्षेत्रका लागि आकाश खुला गर्ने नीति ल्याएपछि  क्याप्टेन प्रधानले खेतान समूहको साझेदारीमा एभरेष्ट एयर सुरु गरेका थिए । राम्रैसँग चलेको व्यवसाय साझेदारबीच मनमुटाव भएपछि बन्द भयो । त्यसपछि उनले दुई हेलिकप्टर किनेर कस्मिक एयर सुरु गरे । व्यवसाय सफल हुँदै गएपछि उनले दुईवटा डोनियर जहाज थपे । उनको एभ्को इन्टरनेसनल हुन्डाई कम्पनीको आधिकारिक बिक्रेता बनेपछि सन् २००३ मा कम्पनीले लन्च गरेको स्यान्ट्रो सानो कार समूहमा पहिलो रोजाइ बन्यो । नेपालको बजारमा स्यान्ट्रोले मारुतीको लामो आधिपत्य कब्जा गर्‍यो । हुन्डाईले उनको सुहृद सर्भिसेजलाई दिल्लीको समेत आधिकारिक बिक्रेता बनायो । 'दिल्लीमा उनको सोरुमले उत्कृष्ट सेवा दिएबापत अवार्ड पनि पाएको थियो,' कुनै बेला उनीसँग निकट रहेका क्याप्टेन रामेश्वर थापा सम्भिmन्छन् । प्रधान परिवारले 'कस्मिक यिङयाङ' मोटरसाइकल एसेम्बल गर्ने उद्योग पनि सुरु गर्‍यो ।  

अन्तर्राष्ट्रिय उडानसमेत गर्नेगरी कस्मिकले २००४ मा फोकर जहाज उतारेपछि प्रधान परिवार पनि तल उत्रिने क्रम सुरु भएको थियो । एकजना वायुसेवा सञ्चालकका अनुसार सन् १९९० मा उत्पादन बन्द भइसकेको एक सय सिटको फोकर जहाजको गुणस्तर कमसल थियो । कस्मिकले मूल्य युद्ध गरी सस्तो भाडामा उडान सुरु गर्‍यो । उसले काठमाडौं-दिल्ली ३ हजार रुपैयाँमा उडाउनुका साथै उपहार योजनासमेत ल्यायो । मुलुकभित्र विराटनगर, नेपालगन्ज र भैरहवामा अरु कम्पनीभन्दा आधा मूल्यमा उडान गर्नुका साथ्ौ प्रत्येक उडानमा मोटरसाइकल उपहार दिने योजना सुरु गर्‍यो । फोकर इन्धन बढी खपत गर्ने जहाज थियो, भाडाचाहिँ अति सस्तो गरियो । 'घाटामा व्यापार गरी अरु कम्पनीलाई खाल्टोमा हालेर एकाधिकार कायम गरी नाफाको व्यापार सुरु गर्ने योजना थियो,' ती वायुसेवा सञ्चालकले भने, 'तर आफैं खाल्टोमा परे ।' दुई वर्ष नपुग्दै फोकर ग्राउन्डेड भयो । तीनवटा जहाज फिर्ता भए पनि एउटा जहाज अहिले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको छ ।

घाटा बढ्दै गएपछि बैंकको कर्जा बढ्दै गयो । उनले एभ्को र सुहृदमा संकलित रकम ऋण व्यवस्थापनमा लगाए । कस्मिकको उच्च घाटाको कारण राम्रो मुनाफा गरिरहेका उनका अरु कम्पनीमा असर पर्‍यो । बैंकले ताकेता गर्न थालेपछि उनले माछापुच्छ्रे बैंकबाट ऋण लिएर अरुको ऋण तिरे । बैंकसँग विवादका कारण एभ्कोले मगाएका ९० वटा हुन्डाईका गाडी तीन वर्षदेखि भारतको रक्सौल भन्सारमा थन्किएका छन् । आर्थिक रूपमा धराशायी भएकाले हुन्डाईले एभ्कोलाई अधिकृत बिक्रेताबाट हटाइसकेको छ ।    

प्रधान परिवारको बिग्रेको ग्रहदशा यतिमै सीमित भएन । अगि्रम रकम लिए पनि गाडी नपाएपछि विनिता, उनका पति सञ्जयसहित चारजना विरुद्ध ठगीको उजुरी यहाँ पनि परेको थियो । तीन विरुद्ध ६१ जनाले ८ करोड ५० लाख रुपैयाँ ठगी गरेको उजुरी गरेका थिए । पैसा तिरे पनि गाडी नपाएकाले 'एभ्को पीडित संघ' भनेर संगठित भई दबाब दिनपरेको थियो । अदालतमा मुद्दा दर्ता भइसकेपछि उजुरीकर्ताको गाडी प्रधान परिवारले 'सेटल' गरेको थियो ।

भारतमा ठगी गरेको अभियोगमा इन्टरपोलबाट रेडकर्नर नोटिस जारी भएपछि एभ्को इन्टरनेसनलमा प्रबन्ध निर्देशक रहेकी क्याप्टेन रविन्द्रकी बुहारी विनितालाई थाइल्यान्डको प्रहरीले पक्राउ गरी नेपाल प्रहरीलाई बुझाइदियो । बिरामीको बहाना बनाएर अस्पताल भर्ना भएकी उनी प्रहरीको चिसो छिँडीमा बस्नबाट चाहिं बचिन् ।

भारतीय प्रहरीद्वारा ५ जनवरी २०१२ मा जारी गरिएको रेडर्कनर सूचनामा प्रधानमाथि ठगी, दुई पक्ष बीचको सम्झौता उल्लङ्घन र नक्कली कागजपत्र बनाएको अभियोग लगाइएको छ । प्रधान प्रबन्ध निर्देशक रहेको भारतको सुहृद सर्भिसेस (प्रा) लि.ले स्टेट बैङक अफ इन्डिया -एसबीआई) को भारत र अन्य मुलुकमा रहेका शाखाबाट १२ करोड १८ लाख भारतीय रुपैयाँ ठगी गरेको अभियोग छ ।   

गाडी खरिदका लागि सन् २००७ देखि २००९ को अवधिमा भारतको एसबीआई बैंकबाट १३ करोड भारतीय रुपैयाँ 'क्यास क्रेडिट लिमिट' लिएको थियो । क्यास क्रेडिट लिमिट जुन उद्देश्यका लागि रकम लिएको हो, त्यो उद्देश्यअनुसार प्रयोग गर्नु हो । तर प्रधानको कम्पनीले गाडी खरिद गर्ने प्रयोजनमा लिएको रकम मध्येको केही अंशमात्र गाडी खरिदमा लगाएको थियो । बाँकी रकम अन्यत्रै लगानी गरेको थियो । भारतीय इन्टरपोलले विनिताका पति सञ्जय प्रधान, धिरेन तामाङ, अनुप प्रधान र माधवी श्रेष्ठलाई विनिताले सहयोगीका रूपमा प्रयोग गरेको जनाएको छ ।

अमात्य समूहको उस्तै हविगत

पियूषबहादुर अमात्य त प्रधानभन्दा निकै चल्तापुर्जा व्यवसायी थिए । तर उनको अवस्था प्रधान परिवारसँग मिल्दोजुल्दो छ । सम्पत्तिभन्दा ऋण बढी छ । ठगीको अभियोगमा उनी पक्राउ परेका छन् । भलै उनी पनि प्रधानजस्तै 'बिरामी' भएर प्रहरीको चिसो छिंँडीबाट बचेका हुन् । अमात्यलाई उनको 'डि्रम प्रोजेक्ट' फूलबारी रिसोर्टले डुबायो । उनीमाथि ३ अर्बभन्दा बढीको ऋण छ । उनी एक दर्जनभन्दा बढी त कालो सूचीमै परिसकेका छन् ।

कुनै बेला बजारमा उनको एभरेष्ट ब्रुअरीको उत्पादन सानमिगेल बियरको सबैभन्दा बढी माग थियो । अमात्यको नाम बढी कर तिर्नेको सूचीमा अटाउँथ्यो । तर महत्त्वाकांक्षी परियोजना फूलबारी रिसोर्ट माओवादी द्वन्द्वको भेटी चढेपछि उनको खराब दिन सुरु भए । फूलबारी परियोजनाका लागि उनले बैंकहरूबाट करिब डेढ अर्ब ऋण लिएका थिए । तर माओवादी द्वन्द्वमा मुलुक गाँजिदै पर्यटक आगमन कम हुँदै गएको अवस्थामा उनको सपना चकनाचुर भयो । एसियाकै उत्कृष्ट रिसोर्टको सूचीमा पनि परे पनि उनको सुन्दर फूलबारीमा बस्न पर्यटक आइदिएनन् । फूलबारीको कारण अरु व्यवसायमा पर्‍यो । आर्थिक रूपमा कमजोर हुँदै गएपछि  सानमिगेलले उनीसँग सम्बन्ध तोड्यो । जेनतेन रिसोर्ट त चलिरहेको छ । माउन्ट एभरेष्ट ब्रुअरी उत्पादनमार्फत बियर उत्पादन जारी राखेका छन् । तर त्यहाँ पनि उनको रेकर्ड खराब हुने क्रम जारी छ । उनको ब्रुअरीले राजस्व बक्यौताबापत ५० करोड रुपैयाँभन्दा बढी तिर्न बाँकी छ ।

तनावमा एनबी समूह

नेपाल-बंगलादेश बैंक, नेपाल क्रेडिट एन्ड कमर्स बैंक, नेपाल-श्रीलंका मर्चेन्ट बैंक, एनबी इन्स्योरेन्स, नेसनल हाइड्रो लगायतका कम्पनीको प्रबर्द्धक एनबी समूहको सञ्चालक परिवार पनि अहिले अप्ठ्यारो अवस्थामा छ । समूहका प्रबन्ध सञ्चालक लक्ष्मीबहादुर श्रेष्ठ परिवारकै दाजु, भाउजू, भान्जा र अन्य नातागोतासहित बैंकिङ कसुरका अभियुक्त हुन् । एनबी बैंकसँग गाभिने सहमति पाइसकेपछि श्रीलंका मर्चेन्ट बैंकबाट भकाभक आफन्तका नाममा ऋण लिएर अपचलन गरेको अभियोग उनीमाथि छ । प्रबन्ध सञ्चालक लक्ष्मीबहादुर  फरार अभियुक्त हुन् । उनको निर्देशनमा काम गर्ने तत्कालीन मर्चेन्ट बैंकका कार्यकारी अध्यक्ष रुवी जोशी तथा सञ्चालकद्वय श्रीराम लामिछाने र गौरीशंकर चौधरी प्रहरी हिरासतमा लामो बसाइपछि अहिले पुर्पक्षका लागि जेलमा छन् । 'यो त एउटा भुसुना बराबरको सानो कारबाही हो,' राष्ट्र बैंकका एक अधिकारी भन्छन्, 'तिनले गरेको अनियमितता खोतल्ने हो भने ठूलठूला प्रकरण बाहिर आउँछन् ।' राष्ट्र बैंक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एनबी समूहको बैंकिङ अनियमितताको अनुसन्धान जारी राखेकाले थप मुद्दाको सम्भावना जीवित छ ।

कालो सूचीमा परेका श्रेष्ठ परिवारमाथि १ अर्ब रुपैयाँभन्दा बढीको ऋण छ । वित्तीय संस्थामा ठूलो परिमाणमा सेयर भए पनि सबै बैंकमा धितो छ, एनबी समूह संलग्न वित्तीय संस्थाको सेयर मूल्य कम छ । तिनको स्वामित्वमा रहेको हरिसिद्धि इँटा-टायल कारखाना झन्डै डेढ दशकदेखि बन्द छ । स्थानीयले जग्गा फिर्ता पाउनुपर्ने माग गरी मुद्दा गरेकाले जग्गा बिक्री गर्न पाएका छैनन् ।      

खासा व्यापार र मलको आयातकर्ता हुँदै अघि बढेको सिन्धुपाल्चोकका श्रेष्ठ परिवारले २०४८ सालपछि सुरु भएको निजीकरणमा हरिसिद्धि इँटा-टायल कारखाना किन्यो । बंगलादेशको आईएफसी बैंकको साझेदारीमा एनबी बैंकमार्फत श्रेष्ठ परिवार वित्तीय क्षेत्रमा पसेको हो । पछि उसले श्रीलंकाको बैंक अफ सिलोनको साझेदारीमा बैंक अफ सिलोन र मर्चेन्ट बैंक अफ श्रीलंकाको साझेदारीमा नेपाल-श्रीलंका मर्चेन्ट बैंक सञ्चालनमा ल्यायो । विदेशी साझेदार ल्याए पनि एनबी समूहको जग नै कमजोर रहेको उनका निकटस्थ व्यवसायी बताउँछन् । बंगलादेश र श्रीलंकाको प्रत्यक्ष विदेशी लगानी भित्र्याउँदा तिनले एनबी समूह नेपालको प्रतिष्ठित समूह हो भन्ने पार्न यहाँस्थित दूतावासलाई प्रभाव पार्नुका साथै राष्ट्र बैंक र राजनीतिक नेतृत्वलाई प्रयोग गरेका थिए । 'तर तिनको हैसियत साझेदार विदेशी कम्पनीले ठानेभन्दा निकै कमजोर थियो र कार्यशैली तल्लो स्तरको,' ती व्यवसायी भन्छन् । तिनका अनुसार बैंक अफ सिलोन उद्घाटन हुने अघिल्लो दिनसम्म एनबी समूहसँग लगानी गर्ने पैसा थिएन । बागबजारमा बैंकको लागि लिइएको घर बैंकलाई किन्न लगाएर त्यही पैसा हालेको थियो । 'त्यतिबेला डेढ करोड रुपैयाँ पर्ने घरको मूल्यांकन साढे ४ करोड गरेर त्यही पैसा बैंकमा लगानी गरेका हुन्,' ती व्यवसायी सुनाउँछन् ।        

तर वित्तीय क्षेत्रमा श्रेष्ठ दाजुभाइ (जितबहादुर र लक्ष्मीबहादुर) विवादास्पद व्यवसायीको रूपमा चर्चित रहे । राजनीतिक शक्तिकेन्द्रका साथै नियामक निकाय रिझाएर बैंकबाट नियम विपरीत ऋण लिने, दिलाउने बानीका कारण वित्तीय क्षेत्रमा धेरैको आलोचनाको पात्र भइरहे । तर राष्ट्र बैंकका कोही लाभ लिएर त कोही डराएर चुपचाप श्रेष्ठ दाजुभाइको अनियमिततामा आँखा चिम्लिए । उनको अनियमिततामा औंला ठड्याउने तत्कालीन निर्देशक -हाल डेपुटी गभर्नर) महाप्रसाद अधिकारीलाई उनले पहुँच लगाएर काजमा जुटमिलको छानबिन गरी प्रतिवेदन दिन विराटनगर पठाउने निर्णय गराइदिए । अख्यितारका दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको आडभरोसामा उनीमाथि कारबाहीको जोखिम मोलेका गभर्नर विजयनाथ भट्टराईलाई नै श्रेष्ठले पछि अख्तियार लगाएर विशेष अदालतमा मुद्दा लगाइदिएका थिए ।

'यिनीहरू कति शक्तिशाली थिए भने,' राष्ट्र बैंकका एक अधिकारी सम्झन्छन्, 'गभर्नर भट्टराई अदालतबाट सफाइ पाएर बहाली हुनासाथ एनबी समूहको फाइल थन्क्याउन तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले पटक-पटक दबाब दिएका थिए ।' गभर्नर नियुक्तिका बेला श्रेष्ठ दाजुभाइले दह्रो लबिङ गर्थे । एनबी समूहको एजेन्ट नभएको राष्ट्र बैंकको सञ्चालक समिति धेरै वर्षपछि सायद अहिलेमात्र छ । 'नत्र एनबी समूहलाई कारबाहीको एजेन्डामा पर्नासाथ बोर्ड बैठकमा टेबुल ठटाएर विरोध गर्ने कोही न कोही सदस्य हुन्थे,' बैंकका एक पूर्वसञ्चालक भन्छन् । सञ्चालक समितिबाट कारबाहीको निर्णय भइहाले पनि श्रेष्ठ दाजुभाइले अदालतबाट कारबाही नगर्नु भन्ने अन्तरिम आदेश ल्याइहाल्थे ।

 


 
Posted on 12-15-12 6:55 AM     [Snapshot: 4]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 'यिनीहरू कति शक्तिशाली थिए भने,' राष्ट्र बैंकका एक अधिकारी सम्झन्छन्, 'गभर्नर भट्टराई अदालतबाट सफाइ पाएर बहाली हुनासाथ एनबी समूहको फाइल थन्क्याउन तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले पटक-पटक दबाब दिएका थिए ।' गभर्नर नियुक्तिका बेला श्रेष्ठ दाजुभाइले दह्रो लबिङ गर्थे । एनबी समूहको एजेन्ट नभएको राष्ट्र बैंकको सञ्चालक समिति धेरै वर्षपछि सायद अहिलेमात्र छ । 'नत्र एनबी समूहलाई कारबाहीको एजेन्डामा पर्नासाथ बोर्ड बैठकमा टेबुल ठटाएर विरोध गर्ने कोही न कोही सदस्य हुन्थे,' बैंकका एक पूर्वसञ्चालक भन्छन् । सञ्चालक समितिबाट कारबाहीको निर्णय भइहाले पनि श्रेष्ठ दाजुभाइले अदालतबाट कारबाही नगर्नु भन्ने अन्तरिम आदेश ल्याइहाल्थे ।
 
Posted on 12-15-12 7:00 AM     [Snapshot: 9]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

व्यर्थमा ऋणको भारी

 
 

 
काठमाडौ, मंसिर २९ - 
अग्नि एयरमा काम गर्दा प्रबल अधिकारीको नाममा प्रबन्ध निर्देशक सुधीर बस्नेतले आफैं सञ्चालक रहेको कुबेर फाइनान्स कम्पनीबाट १ करोड रुपैयाँ ऋण लिएका थिए । साँवा तिरिदिँदै आएका बस्नेतले एक वर्षयता ब्याजसमेत तिर्न छाडेपछि प्रबल चिन्तित छन् । स्थापनाकालमै -करिब ७ वर्षअघि) प्रबलले अग्नि एयरमा जागिर खाएका थिए । २०६४ सालमा बस्नेतले ललितपुरको छम्पीमा रहेको १० रोपनी जग्गा उनको नाममा नामसारी गरेर ऋण लिने प्रस्ताव राखे । 'सुरुमा त मैले मानिनँ,' प्रबलले भने, 'तर आफ्नै मालिकले भनेको कुरा अटेर गर्न सकिएन ।' 

अग्नि एअर छाडेर ३ वर्षदेखि आफ्नै व्यवसाय गरिरहेका उनी एक वर्षअघिसम्म बस्नेतले ऋण चुक्ता गर्लान् भन्नेमा थिएँ । तर ब्याजसमेत तिर्न छाडेको भन्दै फाइनान्स कम्पनीले टेलिफोन गरेर ताकेता गर्न थालेपछि उनलाई चिन्ताले सताएको छ । आफ्नो नाममा ऋण लिइएको कुरा उनले घरमा पनि भनेका थिएनन् । तर केहीअघि उनलाई ब्याजसहित १ करोड १८ लाख रुपैयाँ तिर्न आउन भनिएको फाइनान्स कम्पनीको चिठी बर्दियाको घरमा पुगेपछि बुवा-आमाले थाहा पाए । 'बुवा-आमा त छाँगाबाट खसेजस्तो हुनुभएछ,' उनले सुनाए ।

बस्नेतले प्रबलजस्ता उनको कम्पनीमा काम गरेका सयभन्दा बढीको नाममा ठूलो परिमाणमा ऋण लिएको राष्ट्र बैंकसम्बद्ध स्रोतले बतायो । स्रोतका अनुसार उनले कुबेर फाइनान्सका साथै वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स र नेपाल फाइनान्सलाई कर्मचारीको नाममा ऋण लिन प्रयोग गरेका थिए । नगद अभावका कारण समस्यामा जेलिएका बस्नेतले ब्याजसमेत तिर्न नसकेपछि कुबेर फाइनान्सलाई अप्ठ्यारोमा परेको छ । अर्कोतिर कालोसूचीमा परेर आफ्नो भविष्य नै खतरामा पर्ला भनेर ऋणी कर्मचारी चिन्तित छन् । जागिर दिएकै कारण बस्नेतको ऋण बोक्न परेका कतिपयले उनको कम्पनी छाडिसकेका छन् । 'कतिपय त विदेश गइसके,' प्रबलले भने । अब यहाँ भएका ऋणीलाई संगठित भएर केही गर्नुपर्ने उनले बताए । 

कुबेर फाइनान्सबाट उनले करिब ४० जना कर्मचारीको नाममा २५ करोड रुपैयाँभन्दा बढी ऋण लिएका छन् । कुल ८३ करोड रुपैयाँ ऋण प्रवाह भएको कम्पनीको यो निकै बढी हो । बस्नेत कुबेर फाइनान्सको प्रवर्द्धक पनि हुन् । करिब ७ वर्षअघि स्थापना भएपछि सञ्चालक हुँदै आएका उनले वित्तीय कारोबार गर्ने एकभन्दा बढी संस्थामा बस्न नपाइने राष्ट्र बैंकको नीति आएपछि कुबेर फाइनान्स छाडेका थिए । 'फाइनान्स कम्पनीको स्थापनाकालदेखि नै उनले कर्मचारीको नाममा ऋण लिन थालेका थिए,' राष्ट्र बैंक स्रोतले भन्यो, 'ब्याज तिर्न छाडेपछि मात्र यो कुराको खुलासा भयो ।' उनले त्ाीन वर्षअघिसम्म ब्याज नियमित तिरे पनि साँवा नतिरी नवीकरण गराउँदै आएका थिए । तर घरजग्गा व्यवसायमा मन्दी सुरु भएपछि ब्याज पनि अनियमितता हुन थालेको थियो । 'त्यसयता केही ब्याज तिरे पनि अर्को कर्मचारीको नाममा त्यहींबाट ऋण लिएर त्यहीं ब्याज तिरेको देखियो,' स्रोतले भन्यो, 'एक वर्षयताचाहिँ केही पनि तिरेका छैनन् ।' 

बस्नेतले ललितपुरको छम्पी, सैंबु र इमाडोलमा आफ्नो नाममा रहेको जग्गा धितो राखेका छन् । कुबेरमा उल्लेख्य हिस्सा खराब भए पनि समस्याग्रस्त नभएको राष्ट्र बैंक स्रोतले बतायो । उनले कर्मचारीको नाममा ऋण लिँदा राखेको धितो लिलाम गर्दा २० करोड रुपैयाँसम्म असुल हुन सक्ने बैंकको ठम्याइ छ । 'यसैले बचतकर्ता चिन्तित हुने अवस्था छैन,' राष्ट्र बैंक स्रोतले दाबी गर्‍यो । वल्र्ड मर्चेन्टबाट उनी र कर्मचारीको नाममा ९ करोड रुपैयाँभन्दा बढी ऋण प्रवाह भएको स्रोतले बतायो । नेपाल फाइनान्सबाट लिएको २० करोड रुपैयाँ ऋणमा पनि केही कर्मचारीको नाममा पनि लिइएको छ । तर बस्नेतले कर्मचारीको नाममा लिइएको ऋण क्रमशः चुक्ता गरिरहेको बताए । 'केही महिनाभित्रै सबैको चुक्ता गरिसक्नेछौं,' बस्नेतले भने । 

कर्मचारीको नाममा वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स र नेपाल फाइनान्सबाट ऋण लिँदा कुलेश्वरको ओरियन्टल हाउजिङ पहिलो र दोस्रो चरण तथा धुम्बाराहीको ओरियन्टल हाउजिङका हस्तान्तरण भइसकेका अपार्टमेन्टसमेत धितोमा राखेको फेला परेको छ । वल्र्ड मर्चेन्ट र नेपाल फाइनान्सले केही अघि ती अपार्टमेन्ट लिलामको सूचना निकालेपछि अपार्टमेन्टमा किनेर बसोबास गरिरहेका परिवार चिन्तित भएका छन् । ओरियन्टल हाउजिङमा तीन वर्षअघि ३३ लाख रुपैयाँमा अपार्टमेन्ट किनेकी कल्पना थापा नेपाल फाइनान्स कम्पनीले उनीसहित ओरियन्टलको ५२ वटा अपार्टमेन्ट लिलामीको सूचना निकालेपछि छांगाबाट खसेजस्तो भइन् ।

आंशिक रकम तिरेर अपार्टमेन्टमा बसोबास गर्न थालेपछि पूरा भुक्तानी गर्न आलटाल गर्ने ग्राहकको कारण यस्तो समस्या देखिएको बस्नेतले जिकिर गरे । 'पूरा भुक्तानी गरी लालपुर्जा लिन आउनु भनेर पटक-पटक ताकेकता गर्दा पनि कतिपय ग्राहक आउँदैनन्,' उनले भने, 'यसले गर्दा मैले बैंकको ब्याज तिरिरहनुपर्ने अवस्था आयो । पूरा भुक्तानी गरे पनि लालपुर्जा लिन समयमै नआउँदा केही ग्राहकको अपार्टमेन्टको धितो फुकुवा नभएको स्वीकार गर्दै उनी यस्ता ग्राहकको संख्या निकै कम रहेको बताए । 'पूरा पैसा नतिरी अपार्टमेन्टमा बस्नेले रकम भुक्तानी गरेमा सबैको धितो फुकुवा गर्न सकिन्छ,' उनले भने ।

 
Posted on 12-15-12 7:09 AM     [Snapshot: 20]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
 

अस्तायो एनबी समूह

आफ्नो कम्पनीको हाउजिङ्गका घर बनाउने डकर्मी र सिकर्मीदेखि उच्च राजनीतिज्ञ तथा प्रशासकलाई विभिन्न प्रलोभनमा पारेर जनताको निक्षेप दुरुपयोग गर्दै आएको एनबी समूहका दाजुभाई अझै पनि असफलताका वाबजूद विद्यमान समस्याबाट उम्कन जस्केलाबाट विभिन्न प्रयास गरिरहेका छन्।  
विगतमा अदालतदेखि प्रहरीसम्मलाई आफ्नो पक्षमा राख्न सफल लक्ष्मीबहादुर र चण्डी ढकाललाई अहिलेसम्म पनि प्रहरी प्रशासनले आँखा चिम्लेर काँध हालेको स्पष्ट देखिएको छ। दुबैलाई आफ्नो पक्राउ सूचीमा राखेको दाबी गर्ने प्रहरी प्रशासनले श्रेष्ठ परिवारलाई केही सीमित आरोप लगाए पनि ढकाललाई भने हालसम्म कुनै कसुर लगाइएको औपचारिक रुपमा सार्वजनिक गरेको छैन।  
एनबीको चुकुल कहिले र कसरी खुस्क्यो? 
पछिल्लो डेढ वर्षदेखि धराशायी अवस्थामा पुगेको एनबी समूह र एलबी दाजुभाईको जोड घटाउ नमिल्नुमा बदलिँदो राजनीतिक, आर्थिक र सामाजिक अवस्था नै हो। अर्कोतर्फ मुलुकको विकराल असन्तुलित वित्तीय अवस्थाले पनि उनीहरूलाई प्रक्षेपण गरे बमोजिमको आर्थिक सफलता दिलाउन नसकेको स्वयम् राष्ट्र बैंकका अधिकारीहरूले अनुमान गरेका छन्।  

सरकारी निकायका जिम्मेवार अधिकारीहरूलाई फकाएर काम लिने गरेको एनबी समूहले अन्तमा धम्काउने गर्दथ्यो। त्यत्तिले पनि नपुगेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उच्च पदाधिकारी वा अनुसन्धान अधिकृतलाई प्रयोग गरेर सरकारी उच्च अधिकारीको हुर्मत लिएका विभिन्न घटनाक्रमले देखाइसकेको छ। कथमकदाचित ती कार्य गर्न नभ्याएको अवस्थामा उनीहरूले जिल्लादेखि विशेष अदालत र यदाकदा सर्वोच्च अदालतसम्मका केही भ्रष्ट भनेर चिनिएका न्यायाधिशका आडमा अन्तरिम आदेश तथा निशेधाज्ञा जारी गरेर भएपनि आफ्नो काम फत्ते गर्ने गरेका थिए। तर, पछिल्लो दुई वर्षमा अदालत र न्याय क्षेत्रमा भएको उथलपुथल र भ्रष्ट न्यायाधिशहरूमाथिको प्रहारले एनबीको च्यानल पनि छरपष्ट हुन पुग्यो।  

उता अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तत्कालीन प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको कार्यकालपछि एनबी समूह र एलबी श्रेष्ठ दाजुभाईले दर्जनौं सरकारी अधिकारीलाई बयान र मुद्दाको नाममा हायलकायल पारेर आफ्नो काम गराएका थिए। यसमा आयोगका कार्यवाहक प्रमुख आयुक्त ललितबहादुर लिम्बुले श्रेष्ठ दाजुभाइको योजनालाई हरतरहले सघाएका थिए। सहयोगको निम्ति समूहले लिम्बुलाई करोडौं रुपैयाँ नजराना बुझाएका थिए भने उनको छोरीलाई एनबी बैंकमा जागीर दिलाएका थिए।  

उता नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर हरिशंकर त्रिपाठी, सत्यन्द्रप्यारा श्रेष्ठ र कार्यकारी निर्देशक राजनसिंह भण्डारीलाई अख्तियारको आडमा विशेष अदालतमा मुद्दा लगाएर आफ्नो स्वार्थ पूरा गराउन खोजेका बखत अवरोध देखिएको भन्दै बैंकका तत्कालीन एकजना निर्देशकलाई समेत अख्तियारमा उजुरी हालेर हायलकायल बनाएका थिए। पछि तिनै गभर्नर र कार्यकारी निर्देशकले सर्वोच्च अदालतबाट र निर्देशकले स्वयम् अख्तियारबाट सफाई पाएर बैैंकमा आ–आफ्नो जिम्मेवारी सम्हालेपछि एनबी समूह र उसका प्रवर्द्धकहरूलाई गम्भीर धक्का लागेको हो। आजको परिणाम त्यही धक्काको निरन्तरता मात्रै हो।  

नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर, कार्यकारी निर्देशक र निर्देशकलाई अख्तियार र अदालतसम्म पुर्‍याउन एनबी समूहलाई सहयोग गर्ने नेपाल राष्ट्र बैंकका एकजना निर्देशक भने यतिखेर पनि केन्द्रीय बैंकमा ठाँटका साथ आफ्नो रवाफ देखाइरहेका छन्। गत वर्ष मात्र श्रेष्ठ दाजुभाइले वर्तमान गभर्नरसँग घाँटी जोडेर रात्री भोज गरेको प्रमाणसहितको समाचार सार्वजनिक हुनुले नेपाल राष्ट्र बैंकको उच्च नेतृत्व अझै पनि एनबी समूह र एलबी दाजुभाइलाई जोगाउने काममा लागेको हुनसक्ने आशंका गरिएको छ। 

त्यसैगरी अर्बौं रुपैयाँ घरजग्गामा लगानी गरेको उक्त समूहले प्रक्षेपण गरे बमोजिम प्रतिफल प्राप्त गर्न नसक्नु पनि पतनको अर्को कारण बन्न पुगेको हो। चिकित्सा क्षेत्रका डाक्टरहरूलाईसमेत नक्कली योजनामा सामेल गराएर वित्तीय अपराध गरेका श्रेष्ठ दाजुभाईलाई हरिसिद्धि क्षेत्रका नागरिकले पुर्याएको अवरोधले पनि दाँतमा ढुङ्गा लागे झैं बन्यो। 

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई करोडौंको प्रलोभन दिएर कौडीको भाउमा हरिसिद्धि ईंटा टायल कारखानाको सयौं रोपनी हत्याएको एनबी समूहले आफूले बनाएको योजना अनुसार उक्त जग्गाको बिक्री र प्रयोग गर्न नसक्नुले पनि उनीहरूको रोडम्यापमा धक्का पुगेको हो। चिकित्सक, पूर्व गभर्नर, योजना आयोगका पूर्वउपाध्यक्ष, पूर्व मुख्य सचिव, पूर्व सचिवलगायतका उच्च अधिकारीहरूलाई विभिन्न बहानामा आफ्नो पक्षमा काम गर्न बाध्य बनाएको श्रेष्ठ दाजुभाईले तत्कालीन नेपाल श्रीलंका मर्चेण्ट बैंकका सञ्चालक र दर्जन कर्मचारीलाई समेत ऋणी बनाएर ठगेका विवरण सार्वजनिक भइसकेका छन्। 
 


 
Posted on 12-15-12 8:05 AM     [Snapshot: 66]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी ब्यबसाय पनि छोटो समयमा धेरै कामाउने नीति - ह्यासिस ब्यापार गराइमा के हि फरक देख्छौ ?
नियत खराब बाट सुरु गरे पछि अन्त्य कस्तो होला ??????????????

 
Posted on 12-15-12 10:31 PM     [Snapshot: 405]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sayed ini haru sanga mba thiyo ki thiyena hola?
 
Posted on 12-15-12 10:47 PM     [Snapshot: 413]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 15-Dec-12 10:47 PM

 
Posted on 12-15-12 11:21 PM     [Snapshot: 439]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो सबै American banks बाट सिकेको हो | Lehman brother, enron, martha stewart, ponji scheme etc etc . The whole housing market collaspe. Same in Europe and all over the world not just in Nepal dude.
Who will you learn business from?
What you learn in college and what you implement in outside world is very different.
 
Last edited: 16-Dec-12 07:23 AM

 
Posted on 12-16-12 7:33 AM     [Snapshot: 572]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 http://www.ekantipur.com/nep/2069/8/29/full-story/359078.html
  • कागजमा मात्रै फरार अभियुक्त

 
(3 Votes)
 
 
 
 
ChandirajDhakal
 

काठमाडौं , मंसिर २९ - नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डी ढकालविरुद्ध श्रीलंका मर्चेन्ट बैंक घोटाला प्रकरणको अभियुक्तका रूपमा अदालतमा मुद्दा दायर भइसकेको थियो । त्यो कुरा कतै नभएजस्तो भान पार्दै ढकालचाहिँ गत साता एक राजनीतिक नेतृको छोरीको विवाह भोजमा सरिक भए । उनी वरिष्ठ प्रहरी अधिकृतहरूसँग जमेर गफिंदै थिए । त्यहाँ उनी फरार अभियुक्त हुनुले कुनै अर्थ राखेन । फरार अभियुक्त कायम भएको जोसुकैलाई जुम्लामा दरबन्दी भएर घरबिदामा इलाम जान लागेको सिपाहीले समेत आफूले सकेको खण्डमा समातेर बुझाउन सक्छ । तर हरेक सुविधा र सामथ्र्य राख्ने राजधानीकै प्रहरी इकाइहरू भने विभिन्न किसिमले शक्तिशाली मानिने फरार अभियुक्तहरूलाई नदेखे नचिनेजस्तो गर्छन् ।

ढकाललाई त्यो बिहे भोजमा वरिष्ठ प्रहरी अधिकृतहरूले सहज र हार्दिक व्यवहार गर्नु त झन् स्वाभाविक थियो । वित्तीय अपराध मुद्दा दायर भइसकेपछि अदालतले हाजिर हुने म्याद जारी गर्छ । अभियुक्तले म्यादभित्र आफूखुसी अदालत जान पाउँछन् ।

अन्य प्रकरणमा जस्तै श्रीलंका मर्चेन्ट घोटाला काण्डमा पनि प्रहरीले ४५ दिने अनुसन्धान अवधि कटाएर अभियुक्तहरूलाई सीधै अदालत गए हुने अवस्थामा पुर्‍याएको पाइएको छ । ढकालसँगै घोटाला प्रकरणका अन्य १४ जना प्रतिवादी पनि आर्थिक क्षेत्रका गुमनाम व्यक्ति होइनन् । मुख्य अभियुक्त वित्तीय अपराधमा कुख्याती कमाएका चर्चित उद्योगी लक्ष्मीबहादुर श्रेष्ठ हुन् । उनी एनबी गु्रपका अध्यक्षसमेत छन् । लक्ष्मीबहादुरकै भतिजा जेन अर्का अभियुक्त हुन् । उनीहरू अहिले त खुलेयाम हिंड्छन् नै । प्रहरी अनुसन्धान अवधिभरसमेत उनीहरू खुलेयाम थिए । सीआईबीको दुई नम्बर पिलरले उनीहरूलाई खोजेजस्तो गरेको थियो । स्रोतका अनुसार अन्य पिलरलाई पनि को फरार हुन् देखे के गर्ने भन्ने 'स्पष्ट आदेश' थिएन, देशभर उनीहरूको फोटो हुलियालगायतका विवरण फिँजाएर खोज्ने काम त हुँदै भएन । सीआईबीले यो प्रकरणलाई आफ्नै प्रयासमा अनुसन्धान सुरु गरेको पहिलो वित्तीय अपराध काण्ड भन्दै आएको छ । एनबी बैंकसँग मर्जर हुने निर्णय भइसकेपछि अवैध रूपले श्रीलंका मर्चेन्टबाट ऋण प्रवाह गराएको र नतिरेको अभियोगमा यो मुद्दा निर्मार्ण भएको हो । सीआईबीले प्रकरणलाई उच्च महत्त्व दिंदै सुरुमै सञ्चालकत्रय श्रीरामप्रसाद लामिछाने, रुवि जोशी र गौरीशंकर चौधरीलाई पक्राउ गरेको थियो । कुल २६ करोड बिगो मूल्यांकन गरिएको यो मुद्दाको प्रहरीले अनुसन्धान गरिरहँदा लक्ष्मीबहादुर आफैं अर्को पुरानो मुद्दाको सिलसिलामा सर्वोच्च धाइरहेका थिए । जेन आफ्नो व्यावसायिक सफलताका विषयमा पत्रिकाहरूमा अन्तर्वार्ता छपाउँदै थिए । सीआईबीकै केही अधिकृतहरूले प्रहरी प्रधान कार्यालय क्षेत्रमै लक्ष्मीबहादुरलाई प्रत्यक्ष देखेर पनि पक्राउ गर्ने टन्टा गरेनन् । एकातिर उनी सडकमै देखिन्थे भने अर्कातिर प्रहरीहरू नै उनी एक वरिष्ठ माओवादी नेताको घरमा आश्रय लिएर बसेको भनेर हल्ला फिँजाइरहेका थिए । वित्तीय अपराधका नाइकेहरूलाई जेलको दुःखबाट उन्मुक्ति दिएर अदालत जाने सजिलो बाटो मिलाइदिने यो काइदा पुरानो हो । पीयूषबहादुर अमात्यको मुद्दामा यस्तै भयो । राष्ट्र बैंकको सिफारिसमा अनुसन्धानमा तानिएका थुप्रै वित्तीय अपराध मुद्दामा यस्तो भएको अधिकारीहरू बताउँछन् ।
 


 
Posted on 05-31-16 5:50 AM     [Snapshot: 1665]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२०१२ को बासी महा नट्वर्लाल कान्डको news अहिले पढ्न नि मजै आयो। जय होस।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters