१७ फागुन, चितवन । एमाओवादी अध्यक्ष प्रचण्डविरुद्ध कालोझण्डा प्रदर्शन गर्ने क्रममा चितवनको माडीस्थित बाँदरमुढे घटनाका पीडितहरुमाथि प्रहरीले हस्तक्षेप गरेको छ । न्यायका लागि द्वन्द्वपीडित समाजका अध्यक्ष जनकबहादुर राउतद्वारा विहीबार जारी विज्ञप्तिमा माडी घटना संघर्ष समितिका उपाध्यक्ष कृष्ण अधिकारीलाई प्रहरीले पक्राउ गर्नुका साथै पीडितहरुमाथि बल प्रयोग गरिएको बताइएको छ ।
माडी महोत्सवको उद्घाटन गर्न माडी पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई बाँदरमुढे बमकाण्डका पीडितहरुले माडीको बसन्तपुरमा कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाउने क्रममा प्रहरीले संघर्ष समितिका उपाध्यक्ष अधिकारीलगायत पक्राउ परेका छन् ।
विसं. ०६२ साल जेठ २३ गते चितवनको माडीस्थित बाँदरमुडेमा तत्कालीन विद्रोही माओवादीले थापेको एम्बुसमा यात्रुबाहक बस पर्दा ३८ जनाको ज्यान गएको थियो । घटनामा ७३ जना घाइते भएका थिए । घटनामा संलग्नहरु माडीमै खुल्लमखुल्ला हिड्ने गरेको पीडितको आरोप छ । बाँदरमुढे घटनामा माओवादीले तत्कालै माफी मागे पनि दोषीलाई कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिने आश्वासन दिएकोमा पीडित परिवारले अहिलेसम्म राहत नपाएको गुनासो गर्दै आएका छन् ।
६० लाख राहतको घोषणा
महोत्सव उद्घाटनको क्रममा सम्बोधन गर्दै प्रचण्डले बाँदरमुढे घटना पार्टी नीति विपरीत भन्दै माफी माग्नुभयो । ‘घटना पार्टी नीति अनुसार थिएन, यसप्रति हामीलाई निकै दुःख लागेको छ’ प्रचण्डले भन्नुभयो । यस्तै पीडितलाई राहतको लागि ६० लाख रुपैंया बराबरको प्याकेज कार्यक्रम पनि घोषणा गर्नुभयो । रकम सरकारले निकासा गरिसकेको उहाँले जानकारी दिनुभयो । नयाँ माडी बनाउन उहाँले सबैलाई एकजुट हुन आग्रह गर्नुभएको छ ।