जापानको सरकारी निकायले प्रयोगशालामा वाइनको जाँच गरी पास गरेपछि एक महिनाअघि पहिलो खेप पठाएको वाइनरीका सञ्चालक झलक थापाले जानकारी दिए।
डाँडाघरे वाइन जापानमा बिक्री गर्न थालेको कम्पनी निओनेट कर्पाेरेसनका सञ्चालक नेपाली युवा नै हुन्। नेपाली उत्पादनलाई जापानी बजारमा पुर्याउने कसरत गर्ने क्रममा उनीहरुले वाइनलाई त्यहाँ भित्र्याउन सफल भएका छन्। 'नेपाली, भारतीय तथा जापानी लगायतलाई लक्षित गरेर डाँडाघरे वाइनको बजारीकरणमा हात हालेका छौं,' कर्पाेरेसनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्र शर्माले जापानबाटै फोनमा नागरिकसँग भने, 'बजारको सम्भावना राम्रो देखिएको छ।'
वाइन उत्पादनमा प्रयोग समिश्रणसमेत उल्लेख गर्दै जापानी भाषामै तयार लेबलयुक्त वाइन कम्पनीले निर्यात गरेको हो। 'दुई खेप हवाई जहाजमै गयो। अर्काे खेप पनि हवाई जहाजमै जान्छ,' थापाले भने, 'त्यसपछि भने नियमित रुपमा पानी जहाजमार्फत पठाइनेछ।' यसअघि परीक्षणका लागि पुगेकामा अब बजारमै पठाउन पानी जहाजको भाडा सस्तो पर्ने उनले बताए। निर्यात सुरु गरेपछि पनि बिचबिचमा त्यहाँको सरकारी निकायले गुणस्तर मापन परिक्षण गर्ने थापाले सुनाए।
कर्पाेरेसनका सिइओ शर्माले अहिले टोकियोस्थित नेपाली पसलबाट डाँडाघरे वाइन बिक्री भइरहेको जानकारी दिए। उनका अनुसार जापानभरकै नेपाली रेस्टुरेन्टहरुमा यो वाइन पुर्याउन लागिएको छ। जापानको टोकियोमा मात्र नेपालीले चलाएका करिब ७ सय र जापानभर करिब ५ हजार रेस्टुरेन्ट रहेका छन्। ती सबैमा दिनको एउटाको दरले डाँडाघरेको उत्पादन बिक्री भएपनि ठुलो बजार पाईने थापाको भनाई छ। त्यसबाहेक ईटाली र फ्रान्सेली रेस्टुँरामा पनि यसलाई पठाउने तयारी भएको छ।
'इटालेली र फ्रान्सेली रेस्टुरेन्ट तथा बारमा पनि डाँडाघरे पठाउने तयारीमा छौं,' उनले भने, 'त्यस्ता रेस्टुरेन्टमा वाइन बढी बिक्री हुने भएकाले नेपाली उत्पादन पनि पुर्याउने लक्ष्य हो।' उनले खल्दी ब्रान्डमा चलेको जापानी खुद्रा पसलमा डाँडाघरे राख्नेबारे त्यसको व्यवस्थापनसँग्ा छलफल गरेको जानकारी पनि दिए। काठमाडौंमा समेत एउटा पसल खोलेको खल्दीका जापानभर झन्डै ३ सय बिक्री केन्द्र छन्।
फलफूल र जडिबुटि बाट बनाइएको अर्गानिक डाँडाघरेको पोखरा र काठमाडौंबाहिर सुदूर तथा मध्यपश्चिमाञ्चल क्षेत्रसम्म बजारीकरण तीब्र भइरहेका बेला जापानमा पनि निर्यात सुरु भएको हो। पोखराबाट सुरु गर्दै काठमाडौंमा व्यापार केन्द्रित गरेको उद्योगले पछिल्लो समय मध्य तथा सुदूरपश्चिमाञ्चलमा बजार विस्तारमा सफलता पाएको जानकारी थापाले दिए।
पोखराको कोसेलीका रुपमा ब्रान्डिङ गर्दै २०६५ पुसमा स्थापित उद्योगले आँगन, पिँढी, मझेरी र आँटी ब्रान्डमा वाइन उत्पादन गर्दै आएको छ। दैनिक ६ सय लिटर उत्पादन क्षमताको उद्योग स्थापना गर्दा साढे २ करोड लगानी भएको थियो। डाँडाघरेबाट उत्पादित वाईनको नेपाली बजार मुल्य ३ सय ८५ देखि ६ सय २५ रुपैयाँ पर्छ। जापान निर्यात हुने वाईनको छुट्टै मुल्य निर्धारण हुनेछ।
'जापान निर्यात गर्न क्षमता बढाउनुपर्ने भएको छ,' थापाले भने, 'एक हजार लिटर क्षमतामा उद्योगलाई विस्तार गर्नुपर्ने देखिएको छ।' जापानलगायत अरु विभिन्न मुलुकबाट पनि आयातका लागि आग्रह आए पनि उद्योगको क्षमताका कारण अहिले निर्यात गर्न नसकेको थापाले जानकारी दिए। 'पहिला जापानी बजार हेरौं, त्यसपछि अन्त पनि सोचौंला,' उनले भने। जापान निर्यात हुनासाथ यसले एकतह फड्को मार्ने थापाको भनाई छ।
नेपालीपनको स्वाद र झल्को दिन वाइनको नामसमेत विशुद्ध नेपाली शब्दमा राखेको थापा बताउँछन्। भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार नेपालमा वर्षेनी ६ लाखभन्दा बढी लिटर विदेशी वाइनको आयात हुँदै आइरहेको छ। डाँडाघरेसहित स्वदेशमा स्थापित उद्योगले वाइन आयातलाई प्रतिस्थापन गर्ने लक्ष्य राखेका छन्। नेपालकै जडिबुटिबाट उत्पादन हुने डाँडाघरेका लागि जुम्ला, हुम्ला, मुस्ताङ लगायतका हिमाली जिल्लाबाट कच्चापदार्थ भित्रयाईन्छ। यसमा ११ देखि १२ प्रतिशतसम्म अलकोहलको मात्रा हुन्छ।
नयाँ उत्पादन थप्दै
पाँचवर्षअघि देखि डाँडाघरे ब्राण्डमा वाईन उत्पादन थालेको हिलहट् वाइनरीले थप नयाँ ब्राण्ड उत्पादन गर्ने भएको छ। संचालक थापाले 'तगारो' ब्राण्डमा उत्पादन थप्न लागेको जानकारी दिए। आगामी डेढ महिनाभित्र नयाँ ब्राण्डको उत्पादन थाल्ने उनले बताए। अहिलेसम्म विभिन्न चारवटा ब्राण्डमा वाईन उत्पादन गरिरहेको हिलहट्ले नयाँ थपिएपछि पाँचवटा ब्राण्ड पुग्ने बताए।
'अल्कोहल जन्य नयाँ उत्पादन 'वेलकम ड्रिंक' को रुपमा स्थापित गर्ने मेरो सोचाई हो' उनले भने, 'यसमा पनि जडिबुटि र विभिन्न मसलाको मिश्रण रहेको छ।' तगारोमा २१ देखि २२ प्रतिशत अल्कोहलको मात्रा रहेको छ। तगारोको बजार मुल्य अहिल्यै तय भईसकेको छैन। उत्पादन थाल्ने बेलामा मूल्य निर्धारण गर्ने उनले बताए।