पुस २७ : पृथ्वीनारायण शाह र ग्रेटर नेपाल
२०७० पुष २७ गते ८:४६ मा प्रकाशि
मनोज पण्डित
0६२/ 0६३ को जनआन्दोलनपछि शसस्त्र संघर्ष गरेको माओबादी जंगलबाट शहर पसेका थिए । साथसाथै भित्रिएको थियो जनजाति र संघियताको नारा, २४० बर्षको शाहबंशीय सामन्ती राज्यप्रणाली, गणतन्त्र र नयाँ नेपालजस्ता शब्दावली | हरेक कामरेडका मुखमा ती शब्दहरु झुन्डिएका थिए भने कांग्रेस र एमालेजस्ता पार्टीका नेता, कार्यकर्ता पनि त्यसको सिको गर्न थालेका थिए |
नयाँ बनाउन पुरानो संरचना पूर्णरुपमा भत्काउनुपर्छ भन्दै नेपालको सम्पूर्ण समस्याको कारक शाहबंशीय राजसंस्था नै हो भन्ने आरोप भाषणहरुमा सुन्न पाइन्थ्यो । अझ त्यसमाथि त कम्युनिष्टहरु नेपालको शाहबंशीय राजसंस्थाका संस्थापक पृथ्बीनारायण शाहमाथि पनि यसरी जाइलाग्थे कि मानौं उनले नेपाल भन्ने राष्ट्र बनाएर ठुलै अपराध गरेका थिए ,” एकीकरण होइन साम्राज्य विस्तार भन्ने दृष्टिकोण उच्चरुपले हाबी भैरहेको अवस्थामा मैले ग्रेटर नेपालसीमानाको खोजी नामक वृतचित्र प्रदर्शनमा ल्याएँ ।
के छ ग्रेटर नेपालमा ?
वृतचित्रले दुइ तथ्य र बिचारलाई प्रमाणिक ढंगले पुष्टी गर्ने कोशिष गरेको छ, जसमध्य पहिलो अंशमा दक्षिणतर्फ ब्रिटिश साम्राज्य विस्तार भैरहेको अबस्थामा गोर्खाका राजाले ५० भन्दा बढी भुरे टाकुरे राज्यहरुमा विभाजित मुलुकलाई एकीकरण अभियान शुरु गरेर उनका सन्तानहरुले त्यो अभियानलाई अगाडि बढाएर पूर्बमा टिस्टादेखि पश्चिममा सतलज तथा दक्षणमा गंगा किनारसम्म बिशाल नेपाल बनाए, जसलाई ब्रिटिश हरुले नै ” ग्रेटर नेपाउल ” नाम दिएका थिए |
ब्रिटिशको स्वार्थ र कुटिल राजनीतिलाई आत्मसाथ गर्न नसक्दा नेपालले उसको बिशाल शक्तिसंग लगभग डेढ बर्ष युद्ध गर्यो र सुगौली सन्धिमार्फत एक तिहाइ भूभाग गुमायो | ती गुमाइएका भूभाग हाल भारतमा अवस्थित छन् ।ब्रिटिश सरकारले भारतलाई किन त्यो भूभाग छाड्यो ? किन नेपाललाई फिर्ता गरेन ? र, के ती भूभाग नेपालले फिर्ता लिने कानुनी आधार अझै पनि छ ? यी प्रश्न गर्दै उतर खोज्ने कोशिष गरेको छ वृतचित्रले |
साथसाथै वृतचित्रले दोश्रो अंशमा वर्तमान नेपालको भूभाग कसरी त्यही छिमेकी राष्ट्र भारतले मिचिरहेको छ, हडपिरहेको छ भनेर स्थलगत भ्रमण गरी प्रमाणिक रुपमा पूर्ब कोशीदेखि पश्चिम कालापानीसम्मको यथार्थ चित्रण गरेको छ | यसर्थ वृतचित्रले भूगोलको प्रश्न गरेको छ, देश भनेको भूगोल पनि हो भनेर मान्ने हो भने यसले देशको आवाज बोलेको छ भन्ने विचारका साथ वृतचित्रको प्रदर्शन टोलटोल मा, स्कुलस्कुलमा गर्न थालें |
सामन्ती राजसंस्था बचाएको आरोप
जब वृतचित्रको पहिलो अंशका दृश्यहरु पर्दा बग्थे, तब कमरेड भनाउँदाहरु मलाई सामन्ती राजसंस्था को पक्षपोषण गर्यो भनेर आरोप लगाउँथे र तत्कालिन अवस्थामा उत्पन्न घृणित शब्द ” राजाबादी ” मतर्फ तेर्साउँथे | बिषेशतः जनजातिका नेताहरु मसंग बढी नै आक्रोशित हुन्थे र पृथ्वीनारायण शाहलाई नायक बनाएकोमा रुष्ट हुँदै वृतचित्रलाई वीचमै छोडेर हिँड्थे |जो वृतचित्रको दोश्रो अंशसम्म बस्थे, ती कमरेड र जनजातिनेताहरु वृतचित्रको अन्त्यसम्म मप्रतिको ब्याख्या बदल्थे र “क्रान्तिकारी ” भन्न पनि पछि पर्दैनथे |
वृतचित्र प्रदर्शन भएको ७ बर्षपछि आज आएर सम्झँदा पृथ्वीनारायण शाहलाई ग्रेटर नेपालको संस्थापक तथा बर्तमान नेपालको संस्थापक भनेर तत्कालिन अबस्थामा विचार स्थापित गर्न गरिएको संघर्षको इतिहासप्रतिकोसम्मान हो भन्ने लागेको छ | देश पहिले भूगोल हो अनि त्यस पछि मानिस हुन् भन्ने विचारलाई तत्कालीन अवस्थामा गौण र पुरातन मानिन्थ्यो र भूगोलको कुरा उठाउनु नितान्त पस्चिगामी र सामन्तीहरुको काम भनेर पाखा लगाइन्थ्यो |
वृतचित्रलाई लाखौं मानिसहरुमा पुर्याउने अभियानमा अधिकांशको आँखा रसाएको मैले पाएँ र अधिकांशले मसंग प्रस्न गर्थे ” के सुगौलीले गुमाएको भूभाग नेपालले फिर्ता लिन सक्छ, लिन पाउँछ ? त्यसका लागि के गर्न सकिन्छ र कसरी गर्ने ? आम मानिसका ती प्रश्नहरुका उत्तर दिँदा दिँदा म थाक्थें । तर, नेपालका विद्वान र राजनीतिज्ञहरुमा त सुगौलीमा गुमेको भूभागप्रति कहिल्यै पनि आदर गरेको मैले पाइँन । उनीहरु मध्ये धेरैले मेरो त्यो आदरलाई वाहियात भने र अब्यबहारिक भन्दै पाखा लगाउने कोसिश गरे |
इतिहास भुल्न खोज्ने प्रवृति
नेपालको इतिहासलाई भुल्न खोज्ने प्रवृति नै नेपालको दुर्भाग्य हो | इतिहासलाई पुनराबलोकन गर्न पर्छ भन्ने मान्यतालाई हामीले कहिले आत्मसाथ गरेनौं , अझभन्दा पुनराबलोकन र परिमार्जन त हाम्रो रगतमै बसेन | वृतचित्र “ग्रेटर नेपाल” पुनराबलोकन को एउटा सामान्य प्रयत्न मात्र थियो । तर, त्यसलाई आग्रह – पूर्वाग्रह राखेर नेपालको ज्ञान र सूचनाको ठेक्का बोकेका भनाउँदाहरुले ” ग्रेटर नेपाल “लाई वाहियातको श्रेणीमा राख्ने कोशिश गरे र असफल भए किनकि सामान्य नेपालीको मनस्थितिमा ग्रेटर नेपालले ती गुमाएको भूभाग फिर्ता लिन सकिन्छ भन्ने सपनाको बिउ जन्माई सकेको थियो | सपना जन्मिँन केही समय लाग्ला |
नेपालीसँग सपना छैन या केही देखिएका सपनाहरु भताभुंग भएपछि फेरि फेरि सपना देख्न डराउन थालेका छन् |त्यसैले ग्रेटर नेपालको सपना के नेपालीहरुले फेरि देख्लान् त ? यसको प्रयोग हुने बाँकी छ त जब नेपालीले त्यो सपन देख्न सुरु गरे भने चाहिँ यहाँ धेरै उथलपुथल हुनेछ भन्नेमा म पूर्ण रुपमा बिस्वस्त छु | पृथ्वीनारायण शाहले देखेको त्यही सपनाले आज हामीलाई एउटा नाम दिएको छ ” नेपाल ” तर त्यही नेपाल आज जुन परिस्थितिमा पुगिसकेको छ त्यहाँ फेरि सपना देख्ने पृथ्वीनारायण शाहहरुको खाँचो प्रस्ट महसुस हुन्छ |
आजका पृथ्वीनारायण शाहहरुले पहिला कालापानी र सुस्तालगायत मिचियेका भूभाग फिर्ता गर्नेछन् अनि त्यसपछि छिमेकीसंग सन् १८६० को सुगौली सन्धिको हिसाब गर्नेछन जसमा सफल भएपछि बल्ल त्यो टिस्टा र सतलजको कुरा गर्नेछन् | यात्रा कठिन लामो छ । तर, यो यात्रा आर्थिक संवृद्धि र सामुहिक लक्ष प्राप्तिको हुनुपर्नेछ नत्र हिजो ब्रिटिश साम्राज्य थियो । आज भारतीय साम्राज्य तगारो बनेर नेपालको अस्तित्व निल्न मुख बाएर बसेको यथार्थ हाम्रो समू समस्या बनेर आउनेछ |
” ग्रेटर नेपाल ” भन्ने वाक्यांश आफैँमा भारी थियो । त्यसैले होला त्योबेला मलाई गणतन्त्रको स्थापना गर्न नदिन र संबिधानसभाको चुनाब भाँड्न बिदेशीको गोटी भएर जनतालाई भड्काउँदै छ भनेर आरोप पनि लाग्यो र तस्तो कम नगर्न धम्की पनि आयो | गणतन्त्र प्राप्तिका लागि छिमेकी भारतले ठूलो सहयोग गरेको अवस्थामा यसरी भारत बिरोधी वृतचित्र ल्याउनुले छिमेकीसंगको सम्बन्धमा आघात पुर्याउने र त्यसले शान्ति बिरोधी भनी “ट्याग” भिराए |
संविधानसभाले केही गरेन
देश मिचिँदै छ, सुस्ता नेपालको भूगोलबाट हराउँदै छ भनेर सातदलका नेताहरुलाई गुहार गर्न जाँदा केही रोपनी मिचेर केही हुँदैन र अहिले संबिधान बनाउने र गणतन्त्रको स्थापना गर्ने काम महत्वपूर्ण हो । त्यसमा हाम्रो प्राथमिकता छ र त्यो भएपछि अरु कुरा स्वत मिल्छ त्यसैले यस्तो राजनीति गर्दै नहिँड्नु भनेर मलाई बुद्धनगर कमरेड दरबारमा धम्की पनि सुनाइयो |
लगभग ७ बर्ष बितिसक्यो ती धम्की खाएको तर ती धम्की दिनेहरुले न संबिधान बनाए, न शान्ति प्रक्रियालाई मुर्तरुपमा पुर्याए । भयो त केवल सत्ताको खेल, भ्रस्टाचार, अनियमितता, तथा राष्ट्रिय स्वाभिमान र स्वतन्त्रतामाथि बारम्बार हमला र हस्तक्षेप | हामी देशको भूगोल मिचिरहेको छ भनेर कराइरहनुपर्यो । उनीहरु मिच्नेहरुसंग डिनर र कक्टेलमा रमाए अनि सिंहदरबार र बालुवाटार पनि क्रमै संग मिच्न दिए | सुस्ता र कालापानी ओझेलमा परे |लगभग ६०० बर्ग कि मी जमिन मिचिसक्दा आज देशको कुल क्षेत्रफल कति हो भनेर हिसाब किताब गर्नुपर्ने अवस्था आइसकेको छ |
दोश्रो संबिधानसभा र अपेक्षा
दोश्रो संबिधानसभाको चुनाब पनि भैसकेको र बानेश्वरको संबिधानसभा भवनमा सभासदहरुको लर्को लाग्ने बेला पनि भैसक्यो । तर, पहिलो संबिधानका सभासदहरुलाई पनि सोधिएको प्रश्नको उत्तर आजसम्म पनि मिलेको छैन कि ” सभासद ज्यु नेपाल को वर्तमान अवस्था मा क्षेत्रफल कति हो ? र संबिधान लागु हुने क्षेत्रफल कति हो ? उत्तर त सायद यसपटक पनि नमिल्ला तर हामीले आउने पुस्तालाई नेपालको क्षेत्रफल कति भन्ने ? कि ढाँटिरहने ?
भबिष्यसंग नढाँट्ने हो भने हामीले इतिहासलाई भुल्नु हुँदैन र इतिहास हाम्रो बिशाल थियो, त्यो बिशालतालाई बिर्सन खोज्नेहरुले नेपालीलाई कम्जोर बनाएका छन् र आफ्नो अस्तित्व मिचिंदा पनि मौन बस्न बाध्य गराएका छन् । तर, अब मौनताको ब्यारोमीटरले हद नाघिसकेको छ र २०० बर्ष को क्यालेन्डरको मिति नजिकिँदै आइसकेको छ |
पृथ्वीनारायण शाहलाई सम्झँदा त्यो बिशाल नेपाल को याद आउँछ । त्यो सुगौली सन्धिको याद आउँछ , त्यत्रो बिशाल भूगोल गुमाएको याद आउँछ अनि त्यही हीनभावना वर्तमान नेपालको भूभाग गुमाउँदै गैरहेकोमा अफसोच हुन्छ | लगभग २०० बर्षको मौनतालाई तोडी अब इतिहासलाई पुनराबलोकन गर्ने समय आएको छ र बेलायतलाई सोध्नु छ ” तिमीहरुले हामीबाट खोसेर लिएको भूगोल हामीलाई किन फिर्ता गरेनौ ? र, कोहो अर्को पक्ष, जसलाई के आधारमा दाइजो दिन बाध्य भइयो ? अनि छिमेकी भारतलाई भन्न मन छ ” तिमीले मिचेको हाम्रो भूगोल फिर्ता गर , तिमीसंग त सुगौलीको भूगोलको हिसाब किताब त गर्न बाँकी छ र त्यो पनि कुनै दिन आउँछ, किनकि इतिहास दोहोरिन्छ ।”
( पण्डित ग्रेटर नेपाल र दासढुंगाका चलचित्र निर्देशक हुन् )
- See more at: http://www.onlinekhabar.com/2014/01/154285/#sthash.TLagcVwK.dpuf