[Show all top banners]

_____

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 मधेसीले विखण्डन चाहेका छैनन्
[VIEWED 1158 TIMES]
SAVE! for ease of future access.
Posted on 09-19-14 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मधेसीले विखण्डन चाहेका छैनन्

lalbabu yadap

लालबाबु यादव, राजनीतिशास्त्री -


रौतहट स्थायी घर भएका लालबाबु यादव त्रिभुवन विश्वविद्यालयअन्तर्गतको राजनीतिशास्त्र विभागका सहप्राध्यापक हुन् । सुरक्षा, विदेशनीति र राज्य–पुनर्संरचनासम्बन्धी विषयमा अध्ययन–अनुसन्धान गर्दैै आएका उनले नयाँ पत्रिकासँगको कुराकानीमा मधेस राजनीतिको चिरफार यसरी गरेका छन् :

नेपाली राजनीतिमा मधेस ठूलो चासोको विषय बन्न पुगेको छ । वेला–वेलाका मधेसबाट विखण्डनको कुरा उठ्ने गरेकाले मधेसलाई सन्दिग्ध रूपमा हेर्ने पनि गरिन्छ । तर, मधेसलाई नेपालबाट अलग गर्नुपर्छ भन्ने कुरा मधेसी समुदायले अहिलेसम्म गरेको छैन । केही व्यक्तिले मनोगत आकांक्षाबाट प्रेरित भएर यदाकदा यस्तो बताउने गरे पनि मधेसका जनताले विखण्डन चाहेका छैनन् ।

सिके राउतले मधेस टुक्रयाउने अभियान सुरु गरेपछि उनलाई पक्राउ गरिएको छ । मधेसलाई अलग राष्ट्र बनाउने उनको व्यक्तिगत आकांक्षा होला । समग्र मधेसी जनताको चाहना उनको आकांक्षामा प्रतिबिम्बित भएको छैन । यदि उनले जस्तै मधेसका मानिसले पनि नेपालबाट अलग हुने आकांक्षा राखेको भए उनी पक्राउ पर्नासाथ मधेसमा ठूलै उथलपुथल भइसक्ने थियो । तर, राउतले मधेस र मधेसीको सेन्टिमेन्टलाई बुझ्न सकेनन्, जसकारण उनी एक्लिन पुगेका छन् ।

०००

मधेसबारे टिप्पणी गर्नुअघि मधेस भनेको के हो र मधेसी को हुन् भन्नेमा प्रस्ट हुन जरुरी छ । अहिले चर्चामा रहेको मधेसको परिभाषासँग म सहमत छैन । सदीयौँदेखि मधेसमा बसेर त्यहाँको हावापानी र माटोसँग भिजेका पहाडका मानिसलाई पहाडे भनिँदै छ । नेपालको संविधानले पनि गलत ढंगले व्याख्या गरेर जनतामाझ फुट ल्याउने काम गरेको छ । मधेसमा बस्दै आएका सबै मानिस मधेसी हुन् ।

मधेसमै जन्मेहुर्केको र मधेसी समुदायबारे विभिन्न अध्ययन–अनुसन्धान गरेकाले मैले मधेसी मनोविज्ञानलाई गहिरोसँग बुझ्ने मौका पाएको छु । मधेसमा कहिलेकाहीँ क्षणिक उत्तेजना र भावुकता सिर्जना हुने नगरेको होइन । तर, सहिष्णुताको हाम्रो लामो परम्परा बिथोलिने स्केलमा तिक्तता उत्पन्न भएको छैन । नेपालको गौरवशाली इतिहास छ । यो विश्वकै १७औँ पुरानो देश हो । नेपाल अमेरिकाभन्दा आठ वर्ष जेठो हो, भारतभन्दा त धेरै गुणा जेठो हो । यदि लामो ऐतिहासिक प्रक्रियाले नेपाली भूगोलमा एकखालको साझा मनोविज्ञान विकसित गराएको छ । यो मनोविज्ञानले नेपालका सबै समुदायलाई एकअर्कासँग बाँधेको छ ।

०००

मैले आदर्शका कुरा गरिरहेको छैन । मिहिन अवलोकन, अध्ययन–अनुसन्धान र मधेसी जनतासँगको अन्तरक्रियाका आधारमा म यो सब भनिरहेको छु ।

दोस्रो जनआन्दोलनपछि मधेसमा चलेको आन्दोलनको लहरका कारण त्यहाँ एक किसिमको उत्तेजना छाएको थियो । संविधानसभाको पहिलो निर्वाचनपछि म एउटा कार्यक्रमलाई सम्बोधन गर्न जनकपुर पुगेको थिएँ । त्यहाँ मलाई मधेसी पार्टीका नेता–कार्यकर्ताले मैथिलीमा सम्बोधन गर्न भने । मैले मानिनँ । उनीहरूले कर गरे ।

मैले प्रस्टसँग भनेँ, ‘म मातृभाषामा बोल्छु, या त राष्ट्रिय अथवा अन्तर्राष्ट्रिय भाषामा । मैथिली मेरो मातृभाषा होइन । मेरो मातृभाषा बजिका हो । बजिकामा बोलेँ भने तपाईंहरू कसैले बुझ्नुहुन्न । त्यही भएर म नेपालीमा बोल्छु ।’
मैले यसो भन्नासाथ ठूलै विरोध भयो ।

केही वर्षपछि म त्यही ठाउँमा फेरि गएँ, अर्कै कार्यक्रमलाई सम्बोधन गर्न । त्यतिवेला जनकपुर अर्कै भइसकेको रहेछ । मैले फेरि नेपालीमा सम्बोधन गर्ने मनसाय बनाएँ र सोधेँ, ‘म नेपालीमा आफ्नो कुरा राख्छु, हुन्छ ?’
सबैले भने, ‘राष्ट्रिय भाषामा कुरा राख्न पनि सोधिरहनुपर्छ ? मजासँग आफ्नो कुरा राख्नुहोस्, हामी सुन्छौँ
।’

मैले ४० मिनेट बोल्ने तय भए पनि करिब डेढ घन्टा बोलँेछु । पहिलो संविधानसभाताकाको उत्तेजना र पहाडविरोधी मानसिकता त्यसबखत थिएन । विभिन्न समयमा भारत भ्रमण गर्दा मैले ‘मेरा युपी महान्’, ‘मेरा बिहार महान्’ लेखिएको कतै नदेखेको भाषणका क्रममा बताएको थिएँ । मेरो कुरालाई धेरैले रुचाएका थिए । नेपाली अर्थतन्त्रले धान्न सक्दैन भने नेताहरूको मात्रै स्वार्थ पूरा गर्ने संघीयता किन चाहियो भन्ने कुरा पनि प्रबल रूपमा उठेको थियो ।

०००

म यादव हुँ । तर, म आफूलाई नेपाली यादव भनेर चिनाउने गर्छु । किनकि, यादव भारतमा पनि हुन्छन् । मुलायमसिंह र लालुप्रसाद पनि यादव नै हुन् । तेस्रो देशमा गएर मैले ‘म यादव हुँ’ भनेँ भने लालुप्रसाद र मुलायम सिंहभन्दा मेरो पहिचान फरक हुँदैन । मैले आफूलाई नेपाली यादव बताएँ भने मात्रै नेपाली माटो र मेरो आफ्नो समुदायसँग जोडिएको मेरो पहिचान खुल्छ ।

एकपटक काठमाडौंको एउटा कार्यक्रममा जातीयतासम्बन्धी चर्को बहस चलेको थियो । त्यसमा मैले पनि बोल्नुपर्ने थियो । बोल्ने पालो आएपछि मैले माक्र्स र ब्रुनोबीचको एउटा प्रसंग उठाएँ ।

माक्र्स र ब्रुनो दुवै जर्मनीका यहुदी थिए । माक्र्स आफूलाई जर्मन  मान्ने गर्थे । ब्रुनोचाहिँ आफूलाई यहुदी भनी चिनाउने गर्थे । ब्रुनोसँग एकदिन माक्र्सले भने, ‘तिमी आफूलाई यहुदी भन्छौ भने जर्मनीका मानिसले मलाई जर्मन मानेनन् भनेर किन मन दु:खाउँछौ ?’
जवाफमा ब्रुनोले भने, ‘म यहुदी जर्मन हुँ ।’

‘तिमीले जर्मन पहिचानलाई आफैं दोस्रो प्राथमिकतामा राखेका छौ । यस्तोमा जर्मनका मानिसले तिमीलाई दोस्रो दर्जाको नागरिक सम्झिँदा तिमीलाई केको टाउको दुखाइ ?’

माक्र्सको कुराबाट ब्रुनो कन्भिन्स भए र आफूलाई जर्मन यहुदी बताउन थाले । त्यस्तै म पनि आफूलाई नेपाली यादव भन्न रुचाउँछु । भाषणका क्रममा मैले यस्तो बताउँदा नेवार समुदायका एक कहलिएका नेता प्रभावित हुनुभएछ । उहाँले भन्नुभयो, ‘यादवजी, आजदेखि मैले आफूलाई नेपाली नेवार भनी चिनाउने भएँ । अब तपाईंले यस्ता कुरा गरेर ललितपुर, भक्तपुर र काठमाडौंका सबै नेवारलाई नेपाली बनाइदिनुपर्‍यो ।’

०००

भारतसँगको मधेसीको सम्बन्धलाई सधैँ सन्दिग्ध रूपमा हेर्ने गरिएको छ । नेपालमा उनीहरूलाई भारतीय भनिन्छ । जनगणना गर्दा मधेसका जनतालाई भारतीय मूलको भनिन्छ । तर, मधेसी जनतालाई आफूहरूलाई भारतसँग जोडेको मन पर्दैन । यदि उनीहरू भारतप्रति लोयल हुन्थे भने भारतीय भन्दा उनीहरूको चित्त किन दुख्थ्यो ?

भारतले उल्टो नेपालका समुदायमध्ये सबैभन्दा बढी दु:ख मधेसी समुदायलाई दिएको छ । सीमामा रहेका मधेसीहरूकै जमिन अतिक्रमणमा पर्ने गर्छ जहाँ भारतीय कृषकले रजाइँ गर्ने गर्छन् । अनाधिकृत रूपमा भारतले बाँधेका बाँधबाट डुबानमा पर्ने जमिन मधेसी कृषककै हुन्छ । भारतीय सीमाबाट आश्रय लिने सशस्त्र समूहले चन्दा असुल्ने पनि मधेसीहरूसँगै हो । त्यस्ता झुन्डले दुव्र्यवहार गर्ने भनेको मधेसका छोरीचेलीसँगै हो । पारिपट्टिबाट केही सामान किनेर ल्याउँदा अनेक बखेडा झिकेर सीमामा खटिने भारतीय सुरक्षाकर्मीले घुँडा फुस्किने गरी कुटेका अधिकांश नेपाली मधेसी छन् । भारतको यत्रो थिचोमिचो सहनुपरेका उनीहरू आशाको नजरले काठमाडौंलाई हेर्छन् ।
०००

मधेसी जनताले नेपालबाट अलग हुन खोजेका छैनन् । उनीहरूले पहिचान र स्वाभिमान खोजेका छन् । खासगरी काठमाडौंमा मधेसीले स्वामिभान गिरेको महसुस गर्ने गरेका छन् । मधेसको मनलाई काठमाडौंबाहेक नेपालका अन्य स्थानले कुँडाएको छैन । काठमाडौंको रैथाने समुदायले मधेसीलाई हेप्ने गर्छ । उनीहरूलाई मस्र्या, भैया, खाली सिसी भन्ने गर्छन् ।

मधेस आन्दोलनमा चर्कोसँग लागेका मेरा केही विद्यार्थी छन् । म उनीहरूलाई सोध्ने गर्छु, ‘तिमीहरूले किन साँघुरो सोच बनाएको ? संसार ग्लोबल बन्दै गएका वेला उल्टो बाटोमा किन लागेको ?’

यसरी मधेस आन्दोलनमा लागेर चर्का कुरा गर्नेहरू कुनै न कुनै समय काठमाडौं बसेमा हुन्छन् । र, काठमाडौं बस्दा उनीहरूले ठूलो अपमान भोगेका हुन्छन् । दिनभरि सामान बेचेर फर्किएका फलफूल तथा तरकारी व्यापारीको पैसा र ढक–तराजु लुटिएका घटना प्रशस्त छन् । मधेसीलाई सबैले हप्की–दप्की गर्न खोज्छन् । हेपेर ‘तँ’ भन्छन् । राज्यले पनि उनीहरूलाई भारतीय मूलको भनेर अपमान गर्छ । काठमाडौंको यस्तो व्यवहारका कारण कतिपय मधेसी युवक फ्रस्ट्रेड भएर गलत बाटोतिर उन्मुख भएका छन् । यसलाई रोक्न खासगरी काठमाडौंमा सुधार ल्याउन आवश्यक छ । यस्तो हुन नदिन मैले काठमाडौंका केही रैथाने नेताहरूसँग सचेतना र्‍याली निकाल्न अनुरोध गरेको छु । ‘मधेसीलाई मस्र्या, भैया, भारतीय नभनौँ, नहेपौँ’ भन्ने सचेतना फैलाउँदै गए मधेसमा व्याप्त फ्रस्ट्रेसन हट्दै जान्छ ।

मधेसी जनतामाझ रहेको यस्तो हेपिएको मनोविज्ञानका कारण पहिलो संविधानसभाको निर्वाचनमा मधेसी दलहरूले निकै राम्रो नतिजा ल्याए । पहिलो संविधानसभा निर्वाचनताका मधेसवादी पार्टीले मधेसी जनताका सवाल चर्को रूपमा उठाएका थिए । तर, दोस्रो संविधानसभाको निर्वाचनमा मधेसी जनताले पुन: राष्ट्रिय पार्टीलाई रोजे । मधेसका एक सय १६ निर्वाचन क्षेत्रमध्ये ५१ क्षेत्रमा कांग्रेस विजयी भयो । एमाले मधेसमा कांग्रेसपछिको दोस्रो ठूलो दल बन्यो । मधेसी जनतामाझ छाएको क्षेत्रीय आवेग शान्त हुँदै गएको र उनीहरू राष्ट्रिय मनोविज्ञानको हिस्सा बन्दै गएको प्रमाण हो, यो ।

०००

मधेसीमा नेपालबाट अलग हुनुपर्छ भन्ने भावना छैन । ०६३/६४ तिर मैले जनकपुरमा अध्ययन गर्दा मधेसीले स्वतन्त्रता खोजेको पाइनँ । मधेसलाई तीनवटा कुरा चाहिएको छ– पहिचान, साधनस्रोतमा पहुँच र सहभागिता । साधनस्रोतमा पहुँच र सहभागिता क्रमिक रूपमा सुनिश्चित हुँदै जाने कुरा हो । मधेसीलाई नेपाली पहिचान दिने र काठमाडौंमा उनीहरूलाई नहेप्ने माहोल बनाए सबै कुरा सामान्य बन्दै जान्छ ।

सिके राउतले जसरी मधेसलाई अलग बनाउने कुरा गरे, त्यो मधेसको सामाजिक–सांस्कृतिक तथा ऐतिहासिक दुवै दृष्टिकोणले असम्भव छ । इतिहासमा के भएको थियो भन्ने कुरा कोट्याउनुको अब कुनै तुक छैन । पृथ्वीनारायण शाहले बलपूर्वक हाम्रो राज्य हडपे भन्दै चित्त दुखाउनु भनेको इतिहासको प्रवाह र गतिलाई नबुझ्नु हो । राज्य भनेको सामथ्र्यकै आधारमा निर्माण हुने चिज हो । बल प्रयोगविना दुनियाँमा कुनै राज्य खडा भएको छैन । नेपालमा पनि त्यही सार्वभौम नियम लागू भएको हो । पृथ्वीनारायण शाहले कसलाई के गरे, सुगौली सन्धिमा के भयो,  जंगबहादुरले कुन सन्धिअन्तर्गत नयाँ मुलुकलाई नेपालमा गाभे र त्यो सन्धिमा कस्तो त्रुटि थियो भन्ने कुरा केलाउनुको अब कुनै तुक छैन । इतिहासलाई बिर्सिएर समृद्ध भविष्यका निम्ति क्रियाशील हुने वेला हो, यो । नेपालमा कुनै समय यादववंशले शासन गरेको थियो भनेर मैले अहिले राजा बन्ने आकांक्षा राख्न मिल्छ ?

मधेसमा दुई–तीन वर्षअघिको कुरा त सबैले बिर्सिन थाले र त्यतिवेला गरेको गल्ती महसुस गर्न थाले भने सयौँ वर्ष पुरानो कुराले मन अमिलो किन बनाउने ?

मधेस आन्दोलनताका मधेसमा उग्र पहाडीविरोधी नारा लागेकै हो । त्यतिवेला पहाडी समुदायका मानिसले आफूलाई ज्यादै असुक्षित महसुस गरेका थिए । आन्दोलनलाई केही मानिसले व्यक्तिगत स्वार्थसिद्ध गर्न प्रयोग गरे । छिमेकमा पहाडी समुदायको घर छ भने ती घरमा आक्रमण गराएर सस्तोमा जमिन खरिद गर्ने प्रपञ्च प्रशस्तै रचियो ।

तर, सिके राउतले चाहेको भन्दा नितान्त भिन्न अवस्था मधेसमा विकसित हुँदै छ । मधेसी आफूलाई बाँकी नेपालसँग अझ गहिरोसँग जोड्न खोज्दै छ । हिजो मधेस आन्दोलनका क्रममा भत्काइएका पृथ्वीनारायण शाह, भानुभक्त आचार्य, बिपी कोइरालालगायतको मूर्ति पुनर्निर्माण गर्ने काम धमाधम भइरहेको छ । हिजो मूर्ति भत्काएर गल्ती गरिएछ भन्ने महसुस गरिँदै छ । जनकपुरमा भत्काइएको भानुभक्तको सालिक पुन: बनाइँदै छ । नेपालगन्जमा बिपी चौक, गणेशमानसिंह चोक र पुष्पलाल चौकको नामलाई पुन: कायम गरिएको छ ।

काठमाडौंमा घर बनाएर यतैका महँगा स्कुलमा छोराछोरीलाई पढाउने र मधेसमा आन्दोलन उठाएर स्वार्थसिद्ध गर्न खोज्नेहरूको खेल अब सम्भव छैन । राजनीति गर्नेहरूले मधेसीलाई सधैं मधेसी बनाइरहन चाहन्छन्, नेपाली बनाउन चाहँदैनन् । मधेसी, दलित, जनजातिलाई नेपाली बन्न दिए भोट बैंक ध्वस्त हुन्छ भन्ने उनीहरूलाई लागेको छ ।

०००

भारतसँगको खुला सिमानाका कारण भारत र नेपाल दुवैले अनेक समस्या भोग्दै आएका छन् । खुला सीमाका कारण पारिपट्टि आश्रय लिएर नेपाली जनतालाई अनेकन दु:ख दिन सशस्त्र समूहलाई सजिलो भएको छ । खुला सीमाकै कारण नेपाल हुँदै भारतको सुरक्षामा तेस्रो मुलुकले खेल्न खोजेको पनि केही हदसम्म सत्य हो । त्यसैले दुवै देशको भलाइका लागि नेपाल–भारत सीमालाई रे[Disallowed String for - inappropriate]ट गरिनुपर्छ ।

खुला सीमामार्फत वेला–वेलामा नेपालको साम्प्रदायिक सद्भाव बिथोल्ने हर्कत हुँदै आएको छ । ०६३/६४ तिर रौतहटमा पहाडी र मधेसी समुदायबीच दंगा भड्कियो । पहाडे समुदायका धेरै परिवार भागेर हेटौंडा पुगे । पछि हेटौंडा र बारादेखि मानिस जम्मा गरेर बदला लिन रौतहट पुगे । आफूहरूलाई खेद्ने केहीलाई पक्राउ गरे । तर, यसरी पक्राउ पर्नेमध्ये कोही पनि नेपाली थिएनन् ।

खुला सीमाकै कारण पारिपट्टिबाट मानिसले नेपाल आएर दोहोरो नागरिकता लिन पाएका छन् । भारतीयहरूले नेपाली नागरिकता लिएका कारण मधेसी जनताले अवसरहरूबाट हात धुनुपरेको छ । मधेसीका लागि छुट्याएका सुविधामा पारिका मानिसले दाइँ गरिरहेका छन् । नेतृत्व तहमा पनि पारिपट्टिकै मानिसले माथि उक्लिने मौका पाउने गरेको गुनासो सुनिन्छ । त्यसैले भारतबाट भएको जानसांख्यिक घुसपैठ रोक्न राज्य क्रियाशील भए हुन्थ्यो भन्ने मधेसी जनताको आकांक्षा छ । एउटा आयोग गठन गरी दोहोरो नागरिकता लिनेहरूको पहिचान गरी उनीहरूलाई कारबाही गरी पारि पठाउनुपर्छ । मसँगको कुराकानीमा धेरै मधेसीहरूले ‘हिन्दुस्तानीहरू आएर हाम्रो भाग खोसिदिए’ भन्ने गुनासो गर्ने गरेका छन् ।

खुला सीमाका कारण नेपालको समग्र सुरक्षामा गम्भीर असर पर्ने गरेको छ । माओवादीसहित नेपाली राज्यविरुद्ध सशस्त्र द्वन्द्व गर्ने सबैले भारतीय भूमि प्रयोग गर्ने गरेका छन् । त्यस्तै मधेसमा क्रियाशील धेरै सशस्त्र समूहको आश्रयस्थल भारत नै हो । मधेसमा हतियार उठाउने समूहलाई क्रिमिनल, रिबेलियन, इन्सर्जेन्ट र टेरोरिस्ट गरी चार भागमा विभाजन गरी उनीहरूलाई योग्य ट्रिट गरी समाधान गरिनुपर्छ ।

 सुजित मैनाली



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
Breathe in. Breathe out.
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Send Parcels from USA to Nepal & Worldwide.
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters