भारतबाट ल्याएको राहतको त्रिपाल निजी गोदाममा भेटियो, एक पक्राउ
२०७२ वैशाख ३० गते १८:१४ मा प्रकाशित
३० वैशाख, काठमाडौं । भूकम्प प्रभावितहरूका लागि भारतबाट ल्याएका त्रिपाल निजी गोदाममा राख्ने आङकाजी तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक थकनी-८ का तामाङलाई महानगरीय प्रहरी बृत्त बौद्धले पक्राउ गरेको हो । प्रहरीले उनको गोदामबाट ३ सय ७१ थान त्रिपाल बरामद गरेको छ ।
सरकारले भारतस्थित नेपाली दूताबासबाट खरिद गरी एक ट्रकमा ४ सय ७३ प्याकेटमा राखी ल्याएका ५ हजार थान राहतका त्रिपालहरु तामाङले जिल्ला प्रशासन कार्यालय रुपन्देही वा केन्द्रीय राहत कोषमा दाखिला गर्नुपर्नेमा जोरपाटीस्थित आफ्नै नीजि गोदाममा भण्डारण गरेको पाइएको छ ।
साथै नेपाल भारत सम्पर्क मञ्चले सिन्धुपाल्चोकको लागि पठाएको राहत सामाग्री पनि तामाङको गोदाममा भेटिएको छ ।
बरामद राहतका त्रिपालहरु प्रहरीले केन्द्रीय राहत कोषमा दाखिला गरेको छ । फेला नपरेका सय २ थान त्रिपालको खोजी भइरहेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको नेपाल प्रहरीको प्रधान कार्यालयले जनाएको छ ।
- See more at: http://www.onlinekhabar.com/2015/05/277045/#sthash.P7OQ04cu.dpuf