पुरुषोत्तमलाई सौरभको ओठे जवाफ : हामीलाई बाटो बनाउन किन नदिएको ?
'भारतले हस्तक्षेप गर्न छाडोस् नेपालीहरु प्रो-इण्डियन बन्छन्'
२०७२ भदौ २६ गते १८:२८ मा प्रकाशित
२६ भदौ, काठमाडौं । बाहिर झमझम पानी परिरहेको थियो । काठमाडौंको गैरीधारास्थित एक रेष्टुरेन्टमा पत्रकार एवं लेखक पुरुषोत्तम दाहालले ‘राष्ट्रवादी’हरुलाई गाली गरे । दाहालको कुरो सुन्दा यस्तो लाग्थ्यो, हामीले अहिलेसम्म भारतको आलोचना गरेकै कारण नेपाल गरीब र कंगाल भएको हो, लोडसेडिङ भएको हो ।
पुरुषोत्तम दाहाल
नेपाली कांग्रेससँग बैचारिक निकटता राख्ने दाहालले नेपालका वामपन्थीहरुलाईै लक्षित गरेर ‘फायर’ खोलेपछि त्यहाँको माहौल यस्तो बन्यो कि अहिलेसम्म भारतसँम्ग भएका जल सम्झौताहरुमा नेपालीहरुले ठूलो गल्ती गर्दै आएका छन् र यही कारणले हामीले लोडसेडिङ ब्यहोर्नुपरेको छ ।
लेखक अरुणकुमार सुवेदीको पुस्तक ‘जल सपना’ (नेपाल भारत जल तथा उर्जा सम्बन्धबारे) को विमोचन कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गरेका दाहालले ‘राष्ट्रवाद’को आफ्नै तरिकाले परिभाषा गर्दै भने- ‘हाम्रो पानी खेर गइराखेको छ, तर हामी स्वाभिमानको शीर ठड्याउनेहरुले पानीको कुनै पनि उपयोग गरिराखेका छैनौं । यथार्थमा भन्दा हामी अन्धकारमा बस्न रुची राख्ने प्राणीहरु हौं ।’
वामपन्थीहरुले भारतसँग भएका असमान सन्धीको विरोध गरेको सन्दर्भलाई लक्षित गर्दै दाहालले थपे- ‘पानीको कुरा गर्यो भने काठमाडौंका जम्मै सडक आगोले बल्छन् । हाम्रो स्वभाव यो छ । यो स्वाभावको शिकार हामी भइरहेका छौं ।’
तर, भारतको विरोध गर्नुहुँदैन भन्ने उनै दाहालले फेरि शुक्रबारकै भारतीय राजदूतको सक्रियतालाई आलोचना गरे । भारतीय राजदूतसँग नेताहरुले बढाएको सम्बन्धको पनि उनले विरोध गर्न भ्याए ।
दाहालले भने- ‘राष्ट्रवादको जुन ढंगको आवरण शैली छ, आवरण शैली भन्छु म त्यसलाई, बाहिरमात्रै राष्ट्रवाद । हिजोसम्म राष्ट्रिय स्वाभिमानको ठूलो चर्चा थियो, आजमात्रै दूतावास धाएर दुई दिनसम्म रोकियो । हामी कस्तो भयानक काम गर्छौं भने नि, बिहानै एम्बेसी धाइसकेपछि दुई दिनलाई स्थगन भयो संविधानसभा । हाम्रो राष्ट्रवाद त्यहीँनेर गएर पुग्दोरहेछ ।’
दाहाललाई सौरभको जवाफ
सौरभ
कार्यक्रमको प्रारम्भ नै भारतको आलोचना गर्नेहरुलाई अराष्ट्रिय तत्व हुन् जस्तो गरी सुरु भएपछि त्यहाँ उपस्थित लेखक सौरभलाई सैह्य भएन । उनले दाहाललाई मुखभरिको जवाफ फर्काउँदै नेपाल-भारत सम्बन्धको यसरी विश्लेषण गरे- ‘पुरुषोत्तम दहालले मजस्तो मान्छेलाई ठोकेर भनेको छ । मैले भन्नै पर्यो । भारतको विरोध गर्नु नै राष्ट्रवाद हो भन्ने नेपालमा परिराखेको छ भनेर जहिले पनि उहाँहरुले भनिरहनुभएको छ, यो मजस्तो मान्छेलाई अलि ओठे जवाफ हो कि भनेजस्तो लाग्छ ।
हामी हिमालयको दक्षिण ढालमा, भिरालोमा छौं, हाम्रो सबैभन्दा पहुँच भएको देश चीनभन्दा भारत नै हो । उसँग धेरै संस्कृति पनि मिल्छ, परम्परा मिल्छ । उसले गरेको प्रगतिलाई हामीले कदर पनि गर्नुपर्छ । तर, के भने राम्रो कुरालाई निन्दा गर्ने वा विरोधका लागि विरोध किन गर्ने ? तर ५ हजार हामीले डाटा बटुल्यौं भने मलाई लाग्छ ३५ सय डाटा यस्ता छन् कि हामीलाई नियतबस दुख दिइनै राखिएको छ । यो मैले अञ्दाज गरेर भनेको हैन, मैले डाटा टिपेको छु ।
जस्तो कि अहिले दुई तीनवटा उदाहरण दिऔं, विरोध गर्ने कि नगर्ने ? करारमा रहेका भारतीय शिक्षकहरुलाई उपादान दिँदाखेरि अहिले हामीले १२ करोड रुपैयाँ त दिन्छौं । १२ करोड देशका लागि ठूलो कुरा भएन, व्यक्तिका लागि ठूलो कुरा होला । तर, हामीले करारमा रहेका सारालाई अर्बौं दिनुपर्ने स्थिति आउनु भनेको त्यसको विरोध गर्ने कि नगर्ने ?
अनि सिन्धुली बर्दिबासको सडकको कुरा, त्यसमा असाध्यै दुख दिएर बल्लबल्ल बनेको छ । त्यो बाटो बन्न नदिने भन्दै दबाव दिइयो । दबाव सेक्युरिटीको कारणले भनियो । हामीलाई किन बाटोघाटो बन्न नदिएको ? यस्ता कुराहरुको विरोध गर्ने कि नगर्ने ? अनि त्यो विरोध गर्दाखेरि विरोधका लागि विरोध गरिँदैछ, त्यो राष्ट्रवाद होइन भन्दा मलाई चाँहि पच्दैन । म यो कुरालाई पचाउँदिन ।
म पनि ०३६ साल र ०४६ सालको आन्दोलनमा लागेकै मान्छे हुँ । ०१७ साल पुस १ गते आयो । तर, महेन्द्रले पहाडबासीलाई भन्दा तराईबासीलाई यति धेरै फाइदा भएको छ कि डरलाग्दो फाइदा भएको छ । पहाडलाई खास फाइदा भएको छैन महेन्द्रको नीतिले । तर, हृदयेश त्रिपाठीको मुखबाट दिनको २५ चोटि महेन्द्रीय राष्ट्रवाद भन्दा मलाई बडो हाँस उठ्छ क्या !
भारतसँगको सम्बन्ध सुध्रिँने भनेको चाहिँ भारतले नेपालबाट जति आफ्ना अनावश्यक प्रभुत्वहरु जति झिक्दै जान्छ, उति हामी प्रो- इण्डियन भएर जान्छौं
अरुण सुवेदीले आफ्नो किताब ‘जल सपना’को एउटा प्यारामा भन्नुभएको कुरा म चित्त बुझाउँछु, त्यहाँ उहाँले लेख्नुभएको छ,- ‘नेपाल भारत सम्बन्ध कहिल्यै ढुक्कको र विश्वासयोग्य भएन । यो सम्बन्ध अरु बिग्रन सक्ने सम्भावना छ । भारतसँग सम्बन्ध बिगि्रएमा स्वतः चीनसँगको सम्बन्ध पनि बिग्रन जान्छ । त्यो अवस्थामा पश्चिमा रणनीतिको विजय हुनेछ । नेपाललाई आर्थिक र राजनीतिक रुपमा असफल द्वन्द्वग्रस्त र उग्र भारतविरोधी भावनायुक्त मुलुकमा परिणत गराउने प्रयत्न सफल भएमा मानवीय हस्तक्षेपका नाममा नीलो झण्डामुनि पश्चिमा चासो स्थापित हुनेछ । हामीले त दुःख पाउने नै छौं, भारत र चीनले पनि दुःख पाउनेछन् ।’
यो एकदमै भएको कुरा हो । यसको म एकसय एक प्रतिशत समर्थन गर्छु । अहिले नेपालको राजनीतिक परिदृश्य जे देखिइरहेको छ, यसको निश्कर्ष यही हो । हामी सिभिल वारमा पुग्छौं कि भन्ने पनि हो । देश रहन्छ कि रहँदैन भन्ने पनि हो ।
जहाँसम्म भारतसँगको सम्बन्धको कुरा छ, मलाई चाँहि कस्तो लाग्छ भने म २५/३० वर्षदेखि भारतको नीतिको विरोध गरेर आइराखेको छु, तर मेरो भित्री धारणाचाहिँ भारतसँगको सम्बन्ध बिग्रनुपर्छ भन्ने होइन । भारतसँगको सम्बन्ध सुधि्रनुपर्छ ।
र, भारतसँगको सम्बन्ध सुध्रिँने भनेको चाहिँ भारतले नेपालबाट जति आफ्ना अनावश्यक प्रभुत्वहरु जति झिक्दै जान्छ, उति हामी प्रो- इण्डियन भएर जान्छौं । आखिर हामीलाई चीनले के गर्दिया छ र ? खासै केही गर्दिएको छैन । बोर्डर कन्ट्रोलमात्रै गर्दिएको छ । हामीलाई खासै चीनले केही गर्दिएको छ ।
हामीलाई भारतले पैसा दिएको छ, पेट्रोल दिएको छ, औषधि पनि दिएको छ, लुगाफाटो दिएको छ । तर, पनि यो वैरभाव जन्माइराखेको त अनावश्यक प्रभुत्व जमाउन खोजेर मात्रै हो । प्रभुत्व शून्य गरेका दिन भारतको सबैभन्दा नजिकको मित्र कोही हुन्छन् भने ती नेपाली नै हुनेछन् ।
यो कुरा हामी नेपालीले जति बुझेका छौं, त्यो उनीहरुले बुझ्न नखोज्नु मलाई लाग्छ त्यो गलत कुरा नै हो ।
महाकालीदेखि कोशी र कर्णालीसम्मका कुरा
नेपाल र भारतको जल सम्बन्धका बारेमा लेखिएको पुस्तकमाथि भएको छलफलमा क्रममा त्यहाँ महाकालीको पञ्चेश्वर परियोजनादेखि कोशी सम्झौता, गण्डक सम्झौता अनि कर्णालीमा भएको भारतसँगको सम्झौताका विषयमा पनि कुरा उठे ।
विद्युत विकास विभागका पूर्वमहानिर्देशक डीपी सिंहले पञ्चेश्वर परियोजनाको विरोध गर्नेहरु राष्ट्रवादी नभएर अराष्ट्रिय तत्व रहेको बताए । सिंहले त्यसो भनिरहँदा पूर्व कम्युनिष्ट नेता नीलाम्बर अाचार्य उनकै बगलमा थिए ।
पूर्व जलस्रोत मन्त्री लक्ष्मण घिमिरेले चाँहि भारतले कोशी सम्झौतामा दिएको वचनसमेत अहिलेसम्म कार्यान्वयन नगरेको गुनासो पोखे । नेपालले भारतसँग गरेका सन्धीहरुमध्ये कोशीमा भन्दा गण्डकमा र अझ महाकाली सन्धीसम्म आइपुग्दा नेपालको हात माथि पर्दै गएको विश्लेषण सुनाए ।
तर, कांग्रेसलाई देश बेचुवा भन्ने कम्युनिष्ट नेताहरुले माथिल्लो कर्णालीमामा भारतसँग असमान सन्धी गरेर राष्ट्रघात गरेको घिमिरेले बताए । माथिल्लो कर्णालीको राष्ट्रघातमा विपक्षी दल एमाओवादीले समेत सहमति जनाएर गम्भीर गल्ती गरेको घिमिरेले गुनासो गरे ।
जल सपनाका लेखक अरुणकुमार सुवेदीले मोदी सरकारको नेपाल नीति असफल भएको टिप्पणी गरे । भारतले नेपालमा मन्त्री कसलाई बनाउने भन्नेजस्ता कार्यमा हात हाल्दा ऊ विवादमा पर्ने गरेको तर, पश्चिमाहरुले नीति निर्माणमा हस्तक्षेप गरेकाले आलोचनाबाट जोगिने गरेको सुवेदीले टिप्पणी गरे ।
नेपाल र भारतको जलसम्बन्धका विषयमा लेखिएको आफ्नो पुस्तक विवादास्पद भए पनि सन्देहास्पद नहुने उनले जिकिर गरे ।
- See more at: http://www.onlinekhabar.com/2015/09/324616/#sthash.Slk9Grml.dpuf