[Show all top banners]

_____

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 छोराले कोरियन भाषा सिक्यो, सराद्धे पढ्दिँन भन्छ
[VIEWED 1725 TIMES]
SAVE! for ease of future access.
Posted on 08-20-16 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


छोराले कोरियन भाषा सिक्यो, सराद्धे पढ्दिँन भन्छ

प्रचण्डज्यू ! पाँच लाख चाहियो, अब म घर बनाउँछु !

अरुण बराल

bahun

 ‘शासक जाति’ को उपमा पाइरहेका ‘पहाडे बाहुन’हरु अचेल गाउँका कुना-कन्दरामा के-कस्तो दैनिकी गुजारिरहेका होलान् ? या उनीहरु शहर/विदेशतिर लागिसके ?

दोलखाको जुगुबाट काठमाडौं आएर पशुपतिको चौबाटोमा बसेका पुरोहित लक्ष्मीप्रसाद घिमिरेको अनुहारमा हामीले ‘पहाडे बाहुन’ समुदायको समग्र विम्व खोज्ने प्रयास गर्‍यौं ।

नेपाली समाजमा आएको परिवर्तन, पहिचानको आन्दोलनले ल्याएको बहस, जनजाति-दलितको हकाधिकार, मधेसको बुझाइ अनि राजनीतिक दलहरुको भवितव्यका बारेमा अन्य समुदायका मानिसले जस्तै पहाडे बाहुनले पनि अतिशय चासो देखाइरहेका छन् ।

प्रतिशतका हिसाबले आगामी चुनावमा यो समुदायको मतप्रतिशतको ठूलो महत्व रहनेछ, दलहरुका लागि । ‘पहाडे बाहुन’ भनिए पनि यो समुदायको बाक्लो बसोबास तराई-मधेसमा समेत छ । तराईका झापा लगायतका जिल्लामा ‘पहाडे बाहुन’ को बाहुल्य छ । कुन दललाई पहिलो बनाउने वा तेस्रोमा झारिदिने भन्ने निणर्ायक भूमिकामा यिनै पहाडे बाहुनहरु छन् ।

जनैपूर्णेको पूर्वसन्ध्यामा पशुपति अगाडि बाटैमा बसेर घिमिरेसँग हामीले केही जिज्ञासा राख्यौं । भूकम्पपछिको गाउँको अवस्था, विगतको सशस्त्र द्वन्द्वकालको परिस्थिति अनि सिंहदरबारको राजनीतिका बारेमा हामीले लक्ष्मीप्रसादको विचार बुझ्न खोज्यौं । यस अर्थमा कि उनको अभिव्यक्तिसँग ‘पहाडे बाहुन’ समुदायको अभिमतलाई सामान्यीकरण गर्न सकियोस् ।

घिमिरेले पहिले माओवादीलाई र त्यसपछि एमालेलाई भोट हालेका रहेछन् । उनले प्रचण्डलाई केपी ओलीकै हविगतमा नपुग्न र बोलेको कुरा पूरा गर्न सुझाव दिएका छन् । भूकम्प पीडितलाई एकमुष्ट ५ लाख रुपैयाँ उपलब्ध गराउन घिमिरेले प्रधानमन्त्रीलाई चुनौती दिएका छन् ।

बाजे, तपाईको छोटो परिचय पाम न…

मेरो नाम लक्ष्मीप्रसाद घिमिरे हो । म दोलखा जुगु गाविस वडा नम्बर ५ मा वि.सं २००८ सालमा जन्मेको हुँ । अहिले ६५ वर्षको भएँ ।

पहिले गाडी थिएन । गाउँबाट बाह्रबिसेसम्म हिँडेर आउँदा एक दिन लाग्थ्यो । हामी नुन लिन बाह्रबिसे आउँथ्यौं । ढाकर बोकको हो मैले त्यसबेला । अब त १५ मीनेट नजिकसम्म गाडी जान्छ, उखुबारीसम्म। अहिले वषर्ायाममा गाडी जाँदैन ।

म गाउँबाट उहिले सर्वोच्च अदालतसम्म मुद्दा लड्न आएँ । क्षेत्रीय अदालत रानीपोखरीको किनारमा थियो । त्यहाँ पनि धाएँ । अहिलेसम्म लफडा त्यसै छ भने पनि हुन्छ, ३५ सालतिरदेखि । मुद्दा अहिले छैन, तर लफडा छ ।

०००

दुःखी मान्छे हुँ म । १० वर्षको हुँदा बुबा बद्रीनाथ जानुभएको थियो, उहाँ फर्केर आउनुभएन ।

हामीले ३२ वर्षपछि बुबाको किरिया गर्‍यौं ।उहाँ ०१९ सालमा तीर्थ जानुभएको थियो । म कान्छो छोरो १५ वर्षको थिएँ । दाइ पनि हुनुहुन्छ । अहिले गाउँमै हुनुहुन्छ । तीर्थ जाने भनेर जजमानसँग हिँड्नुभएको, जजमान फर्केर आउनुभयो, बुबाचाँहि फर्किनुभएन । जजमानले हामीलाई यस्तो भयो भन्न पनि सक्नुभएन, त्यस्तै भयो ।

मैले स्कुल जम्मा तीन दिन पढेको हुँ ०२२ सालमा । गाउँमा स्कुल तयार भएको थियो । स्कुलमा पदमबहादुर हाम्रो जजमान हुनुहुन्थ्यो । म पढ्न गएको, पार्टीमा लेखेर सोध्नुभयो । मैले क ख, नाम आदिबाह्रखरी घरमै चिनिसकेको थिएँ । उहाँले पार्टीमा लेखेर दिनु भो, मैले आउँछभनें ।

त्यसपछि उहाँले के पढ्न आएको त बाजे भनेर सोध्नुभयो । मैले श्राद्ध पढ्न आएको भनें । श्राद्ध त दाजुहरुसँग पढ भने । अनि आफैं दाजुहरुसँग सिकें । यहाँ गुररुहरुसँग पनि चोर्छु, माग्छु ।

यस्तै गरेर नै कर्मकाण्ड गर्दै यहाँसम्म आइयो । कर्मकाण्ड गर्छु, गरुड पुराणसम्म भन्छु । व्यासासनमा बस्न सक्दिँन । संस्कृतबाट नेपालीमा उल्था भएका किताब पढ्छु ।

गाउँमा खेती छ । धान पनि हुन्छ, बारी पनि छ । तर, अब बाँझो बस्न लाग्यो । मकै, धानको मिसमासे भात खाने अवस्थाको परिवार हो हाम्रो ।

Bahun-(2)

गाउँघर छाडेर काठमाडौं पस्नुको कारणचाहीँ के हो ?

छोराछोरी गाउँमा काम गर्न सकिँदैन भन्छन् ।चार छोरी र दुई छोरा छन् । ठूलो छोराको मात्रै बिहे भएको छ । गाडी चलाउँछ । कर्मकाण्ड गर्नुहुँदैन भन्छ । पशुपतिमा नबस्नुचाँहि भन्न सकेको छैन । तर, अब हामीचाँहि यस्तो कर्मकाण्ड गर्दैनौं भन्छ ।

कान्छाले बीए सक्यो । कर्मकाण्ड पनि जानेको छ त्यसले । तर, कोरियन भाषा पढेर मैले कोरियनमा नाम निकालिसकें, यहाँ सराद्धे पढ्छु ? भन्छ । अब के भन्नु ?

युगअनुसारको गर्न थाले । छोरीहरु पनि यहीँ (काठमाडौंमै) छन् । आमा वहाँ एक्लै छे, म भोलि जान्छु ।
म यहाँ (पशुपतिमा) धेरै बस्दिँन । केटाकेटी मैतीदेवीमा बस्छन् । उनीहरुलाई भेट्न आएका बेला । यसो चाडबाडमा पशुपतिमा आएर यसरी बस्छु । म धेरैजसो गाउँमै बस्छु ।

गाउँमा घर त भूकम्पले लडायो होला हैन ? सरकारले राहत दियो कि दिएको छैन ?

लडेर झ्याराम्मै त भएन, तर नयाँ घर बनाएको वर्ष दिनमात्रै भएको थियो, माछाको काँडाजस्तै बनाइदियो ।

सरकारबाट पाउने राहत त पाइयो नै । घर बनाउने ५० हजार रुपैयाँ अझै पाएको छैन, भर्खर सम्झौतामात्रै भएको छ ।

हामीलाई एकपटक १५ हजार दिएको थियो । एकपटक १० हजार र एकपटक दुईहजार दियो । त्यो पायौं । संघसंस्थाले दिने जिन्सी चिज चाँहि के भइदियो भने उहाँहरुको पनि आँखा छैनन् क्या ! त्यो संयोजक भन्ने डाँकै हो । उसका जिम्मामा छोडियो । उसले आफ्ना मान्छेलाई, नजिकका मान्छेलाई धेरै पार्‍यो । बाख्रापालनको पैसा ६० वर्ष कटेको भनेर मलाई दिएन । त्यो पनि संयोजकद्वारा लेखाएर आ-आफ्ना भाइभतिजालाई, भाञ्जालाई दियो । सबैलाई दिएन । थोरै दिन्छ । माथिबाट पनि उसैलाई जिम्मा लाउँछ ।

तपाईको विचारमा बाहुन कस्तोखालको जात हो ?

बाहुनहरुमा पनि मर्यादा छैन अचेल । सबैभन्दा पहिले त ब्राहमणहरुको आत्मा पनि सुध्रिनुपर्छ । शुद्ध भएरमात्रै ब्राह्मण भइन्छ । म ब्राह्मण हैन, बाहुनमात्रै हुँ । किनभने मसँग त्यो आचरणछैन ।

पहेंलो लुगा लगाउँदैमा जोगी हुँदैन । खरानी घस्दैमा साधु हुँदैन । लट्टा त भालुले पनि पालेको हुन्छ, के त्यो जोगी हो त ? त्यो गधा खरानी देख्नेवित्तिकै ब्लाङ्गै पछारिइहाल्छ, त्यो साधु हुन्छ ? चन्दन लाउँदैमा ब्राह्मण हुँदैन । मेरोचाँहि भनाइ यही हो ।

गर्न त मैले पनि कर्मकाण्ड गरिराखेको छु ।मलाई यसैले पाल्यो । छोराछोरी पढाइयो । तर, भित्रैबाट म आफैं सन्तुष्ट छैन । बाहुनले गर्नुपर्ने कर्म खोई त ? दान लिनु, दान दिनु, वेद पढ्नु, खाने चिजहरुमात्रै खानु । आत्म सुद्ध बनाउनु । लोभ नगर्नु ।

तर, लोभ नगरेर हुन्छ ? कसैले दुई पैसा दिन्छ कि भनेर यहाँ लोभले बसेको त हो नि म । खान खाँचो पनि छैन, तैपनि हेर्नु न, यहाँ यसरी बसिराखेको छु । यहाँबाट दुईचार बोरा चामल आए छोराछोरीले खान्थे भनेर बसिराखेको छु ।

अस्ति सोमबारका दिन ६८३२ रुपैयाँ भएछ एकै दिनमा ! हिजो एक हजार रुपैयाँ भयो । दिनको हजार हुन्छ, कुनै दिन रित्तै जानुपर्छ । रित्तै गइयो भनेर दिक्क मान्नु पनि हुँदैन ।

परिस्थितिले गर्दा वा युगले गर्दा हामीसँगआचरण नै छैन । कर्मकाण्ड हामी गर्छौं गर्न त । तर, कसरी गर्छौं ? देखाउनेमात्रै हो । अब माथिका आचार्य पास गर्नेहरुले पनि सोचे हुन्छ । कस्ता गाईको गहुँत ? कस्ता गाईको दूध ? कस्ता गाईको घिउ ? त्यसबाट मात्रै पञ्चगव्य बन्नुपर्ने हो । तर, खोई ?

बाहुन दुःख पनि सहने, सुख पनि सहने जात हो। बाँच्नु कति छ, फ्याटै मरिन्छ भनेर जाने त छाड्दिँदो हुँ । कतिबेला मरिन्छ, बाहुनले पनि जान्दैन, डाक्टरले पनि जान्दैन । अरुलाई बचाउने डाक्टरकिन मर्छन् ?

म दोलखामै जन्मेको बाहुन हुँ । कति पुस्ताभयो त मलाई थाहा भएन, तर हाम्रा पूर्खाहरु दोलखाकै काभ्रेबाट छुटिएर जुगु गएका रहेछौं । (काभ्रे जिल्ला हैन, दोलखाको काभ्रे गाविस) काभ्रेबाट हाम्रो अहिलेको गाउँमा गएको ११ पुस्ता भएछ । त्यहाँ घिमिरे धेरै छैनौं । हामी बसेको ठाउँ गाउँको पुछारमा पर्छ । त्यहाँ बढी क्षेत्रीहरु छन् । अलि माथि तामाङहरु छन् । अलि पर दमाईहरु, कामीहरु छन् । अलि टाढा सार्कीहरु पनि छन् ।

तर, अब हामीले यसोभन्दा अलिकति अप्ठ्यारो पर्ला । कामी, दमाई सार्कीहरु भन्दा ।

दलितहरु भन्नुपर्‍यो अब…..

दलित भन्ने त मलाई अलि मनपर्दो काम भएन । किनभने दलित त जुगौं जुगका लागि भयो अब । दलितमा लगेर राखिदियो । कुन संस्थाले हो वा सरकारले भन्यो, त्यो दलित भन्नुहुँदैन । दलित भन्नुहुँदैनथ्यो मेरोचाँहि विचारमा ।

किन ?

दलित भनेपछि त अब बीसौं युग बिते पनि दलितको दलितै रहन्छ, चाहे धनी होस् चाहे गरिब । अब त्यसको जातै दलित भइगयो नि । कामी दमाईचाँहि भन्न नपाउने रे, अब दलितचाँहि मजाले छाती ठोकेर भन्न पाइएन ? दलित भन्न पाइयो कि पाइएन ? संविधानमै दलित भनेर लेखिदियो । यसलाई तजातै बनाइदिइगयो नि । हटायो भनेको मजाले थुप्राइदियो दलितमा लगेर । कामी, दमाई, सार्की पोडे इत्यादि थिए, अब दलित भन्दियो र एउटा जात बनाइदियो ।

तपाई पुरोहित काम गर्ने मान्छे, बाहुनका पूर्खाले यो छुवाछुत र जातपातको विभेद गराए । यसबारे तपाई के भन्नुहुन्छ ?

छुवाछुत…. सबै एकै हुनुपर्छ भन्छन् । अब मयहाँ बसिराखेको छु, कोही गोदान गर्छु भनेर आयो भने कामी आए पनि गर्दिन्छु, दमाई आए पनि गर्दिन्छु । सार्की आए पनि गरिरखेको छु । यहाँ जात कसले सोध्छ? जात सोधिराखिँदैन ।

तर, हामीले कार्जे गर्दिँदैमा, गोदान गरिदिँदैमा ऊ ठूलो मान्छे भैगो त अब ? उ त अब दलितको दलित नै हुने भो !

तपाई तामाङ गाउँमा जन्मे हुर्केकोबाहुन हो । दोलखा जिल्लालाई ताम्सालिङ बनाउने चर्चा पनि चलेको हो, जनजातिको अधिकार पहिचानका बारेमा तपाई के भन्नुहुन्छ ?

तामाङ, गुरुङ, मगर यिनीहरुलाई जनजाति भन्छ। आदिवासी पनि भन्छ क्यार ! तिनीहरु आदिवासी भए, क्षेत्रीबाहुनचाँहि कहाँबाट आयो त ? हाम्रो पूर्खाचाँहि कहाँबाट आयो ? हामीचाँहि के हो त ?

अर्को कुरो, दलित-जनजाति भनेर नेताहरु भुक्नुहुन्छ । कराइराख्नुभएको छ नि, कुनचाँहि दलितलाई ल्याएर प्रधानमन्त्री बनाउनुभो ? आफैं कुद्नुभएको छ त कुर्सीतिर । उहाँहरुको पार्टीमा पनि छन् तदलितहरु । त्यो पार्टीको सेवा दलितले पनि गरो । जनजातिले पनि गरो । खै दलित र जनजातिलाई प्रधानमन्त्री बनाए ?

गोल्चे सार्की माननीय भए रे भन्ने सुन्याथें । उहाँको उछृंखलता, उहाँले व्यहोरा देखाइदिनुभो । रामचन्द्र पौडेललाई झापडै हान्दिनुभो । तर, अहिले उहाँको नामै आउन छाड्यो ।

उहाँको त मृत्यु भएको धेरै वर्ष भइसक्यो नि तपाईलाई थाहा छ ?

हो र ? त्योचाँहि थाहा भएन । नामै आउन छाडेको थियो !

०००

तामाङले बेसी सडाएर खान्छ । एक महिनालाई खाने उसले सातै दिनमा खाइसक्छ । त्यहाँबाट रस झिक्छ र पिउँछ, छोक्राजति फालिदिन्छ । त्यो अन्न बचाएर राख्नुपर्छ भन्ने उसलाई ज्ञान छैन ।

मेरो भनाइमा त दलित, जनजाति अथवा कुनैले पनि अनावश्यक खाने चिज होइन त्यो । फारुतिनो गरेर चलाउने उसले बाहुनबाट सिक्नुपर्ने हो । तर, उसको सिक्ने मनै छैन । अब हाम्रो खाने जात हो भन्दिन्छ ।

एकछिन माओवादीको ‘खेला’ कै कुरो गरम् ।

हाम्रो भन्दा माथिको दलितगाउँमा रक्सीका घ्याम्पा फोर्ने भनेर अभियान चलाए । तर, हाम्रो खाने जात हो भन्दै पट्टा खेले दमाईहरुले । बालखदेखि खाई आएको चिज, पूर्खादेखि खाइआएको चिज भने । अनितिनेरलाई बाहुनसरह कसरी भन्ने ? बाहुन भन्न मिल्छ ? बाहुनसँग सराबरी भन्न मिल्छ ? त्यसले उहिलेदेखि नै खराब चिज खाँदोरहेछ नि त । खानुहुँदैन है भन्दा त जातले पाएको भन्दै निहुँ खोज्छ । ‘खाने जात’ न रहेछ । हैन त ? त्यहाँ माओवादीलेे जाँडरक्सी बन्द गर्न सकेनन् । उनीहरुले हार खाए । तामाङ गाउँमा पनि त्यस्तै भो ।

अलिक माथि एकजना क्षेत्रीले रक्सीका धेरै पोकाहरु बेच्न राख्नुभएको रहेछ । त्यहीँ दोलखा जिल्लामा बनेको रक्सी अरे । माओवादीहरुले उहाँलाई चाँहि सक्नुभो क्या !

माओवादीहरुले चौरमा रक्सीका पोकाहरु निकाल्नु भो र पसले क्षेत्रीलाई छुरी दिनुभो । प्रत्येक पोकामा रोप्नोस् भन्नुभो । त्यहाँ रक्सीको खोलै बग्यो । पाँच दिनसम्म रक्सी गन्हाएर त्यो बाटो हिँडिनसक्नु भयो । भनेपछि उहाँलाई चाँहि माओवादीहरुले सक्नुभो । त्यसपछि उहाँले रक्सी बेच्ने पेसा नै छाडिदिनुभो । क्षेत्री गरेको पेसा थियो, आफ्नो जातको थिएन । उहाँ अहिले क्रिश्चियन धर्ममा जानुभएको छ ।

Bahun-(1)

ताम्सालिङभित्र बसोबास गर्ने बाहुनको अवस्था अहिले कस्तो छ ? अरु जातजातिले हेप्छन् कि राम्रो व्यवहार गर्छन् ?

बाहुनलाई पहिले-पहिले मनितो गर्थे । अहिलेपनि केहीमा छ । तर, अहिले हाम्रो बाहुनमा विकृति पसेको छ । कोही कमाउनको धन्दामा लागे, कोही क्रिश्चियन भए । तिनीहरुले हामीलाई अलिकति नराम्रो दृष्टिकोणले हेर्ने गरेका छन् । गाउँमा एक/दुईजना त्यस्ता छन् ।

मेरै गाउँमा मैले उसका बाऊको किरिया गराएँ, श्राद्ध गराएँ, सप्पै गराएँ, तर छोरो अहिले आएर क्रिश्चियन भएको छ । हामीलाई अलि योचाँहि होइन भन्छ । कसैले चाँहि कोहीको पुरेत तपाई, कोहीको पुरेत हामी भन्छन्, त्यस्तै छ गाउँमा ।

०००

माओवादी युद्धका बेलामा चाँहि पुरेत, जजमानमा मलाई पेलेकै हुन् । जजमान गर्न पाइँदैन भनेको हो माओवादीहरुले ।

पाइँदैन भनेपछि मैले सिधै भनें, तपाईहरुलाई मेरो घरमा भान्सा कसरी पाक्छ ? मेरो स्थिति यही हो, । मेरो पेसा नै यही हो । मसँग जातित्व छ, पेसा छ । यसोभन्दा एकजना मूर्खले त्यतिखेर मलाई गालामा एक चड्कन पनि हान्यो । त्यतिबेला मैले के सोचें भने कोही त मरिराखेका छन्, एक चड्कन त हिर्कायो, युद्धको बेला हो ।

त्यो ‘मूर्ख’ चिनेकै मान्छे हो । उसको परिवार कस्तो भने एकजना माओवादीतिर जाने, एकजना कांग्रेसतिर जाने, एकजना एमालेतिर । जहाँबाट भए पनि कहाँ पोखियो घिउ आफ्नै भागमा भनेजस्तो ।

कांग्रेसका तारा कोइरालाको भतिजो हो, उसले निहुँ खोजेर आएर मलाई गालामा एक चड्कन झापड लायो । ठीकै छ । ऊ पनि बाहुनै हो ।

अब गाउँघरको राजनीतिको कुरो गरौं….

हाम्रो गाउँमा एमालेको बाहुल्यता छ । त्यसकारण सुरुमा एमाले भइयो । केही गर्छ कि भनेर पहिलो संविधानसभामा माओवादीलाई भोट दिएको थिएँ । मेरो घरकै छेउमा मेरो जजमानकै छोरी देवी खड्कालाई मैले पहिलो भोट दिएँ । तर, यस्तै भो, दोस्रो चोटिदेखि चाँहि एमालेलाई नै ।

उहाँ (देवी) ले पनि विचार गर्नुभएन । उहाँको पनि परिवारै हाबी भयो क्या ! सबै हाम्रो, मेरो, अरु कसले बोल्न हुन्छ यहाँ ? भनेजस्तो भो । सन्तानै, परिवारै नयाँ राजाजस्ता भए क्या ! हामी नै सर्वेसर्वा भनेजस्तो भो । उहाँको चाहिँ परिवारै त्यस्तो भो । यो अन्तरवार्ता उहाँले पनि हेर्नुहुन्छ होला नि ?

उहाँमात्रै होइन, त्यो टोलै, त्यो माओवादी पार्टी नै सबै त्यस्तै भो क्या ! पार्टीमा लागेका मान्छे नै जम्मै हामी मात्रै हौं, अरु मान्छे नै हैनन् भन्ने भो क्या !

केपी ओली प्रधानमन्त्री भएपछि गाउँमा एमालेप्रति आकर्षण बढेको छ ?

हैन, ओलीले पनि गल्ती गर्नुभएको छ ।सबैलाई समेट्नुपर्छ क्या ! आफैंमात्रै सबै जान्ने ? टुक्कामात्रै जोडेर हुन्छ ? उहाँ हाम्रो पार्टीको नेता हो, तर उहाँले अलि बढ्ता टुक्का जोड्न लाग्नु भो नि । त्यो टुक्काले हुँदैन नि त । राजनेता भएपछि त सबैलाई समेट्नबल गर्नुपर्‍यो नि ।

संघीयतासहितको संविधान बनेको छ, तपाई कुन प्रदेशमा पर्नुहुन्छ, थाहा छ ?

हाम्रो दोलखालाई खै कुन प्रदेशमा पो मिसायो ? जनकपुर…… ए त्यो दुई नम्बर हो ? उसोभए हामीलाई काठमाडौंमै पार्‍यो । उता बाटो खोलेपछि हामीलाई जनकपुर जान पनि सजिलै छ ।

मुख्यमन्त्री बनाउनका लागि यिनीहरुले बिगारे । पाँच विकास क्षेत्र छँदै थियो, हामीलाई अर्थोक आवश्यक थिएन । यो के पो भन्छ, या…. प्रदेशको के आवश्यक ? यसलाई पाँचवटा प्रदेश बनाइदिएको भए कसैले विरोध गर्दैनथ्यो । पहाड-मधेस मिसिएको पनि थियो, मधेसीले पनि बोल्दैनथ्यो । अघि बोल्दैनथ्यो । अहिले उल्लाई प्रदेश किन चाहिएको छ ? के खोजेको छ उसले ?

पहाडबाट मधेसतिर बसाइँ जाने त हाम्रोमा माओवादीका पालादेखि नै कम भएको छ । तैपनि अहिले गाउँ उजाड छ । बूढापाका, आइमाई केटाकेटीमात्रै छन् । कोही मर्‍यो वा विरामी भयो भने बोक्ने मान्छे पाइँदैन । पहाडमा गाडी जाँदैन । बाटोको हालत त्यही हो ।

अन्त्यमा, नयाँ प्रधानमन्त्री प्रचण्डलाई केही सुझाव छ कि ?

प्रचण्डलाई मैले केही भनिराख्नुपर्दैन, उहाँले आफू सुध्रिनुपर्ने हुन्छ । उहाँले पनि आफ्नै मात्रै गर्न लाग्नुभयो भने उहाँको पनि हविगत त उही ओलीकै जस्तो हुन्छ । कांग्रेसको पनि त्यही हविगत हुन्छ ।

यिनीहरुले अहिले बाँडेर खान लागेका छन् । ओलीले ९ महिना खाए । प्रचण्डले ९ महिना खान्छन् । भोलि कांग्रेसले ९ महिना खाला । फेरि ओलीको पालो आउला ।

राजै फर्किए पनि हामीलाई त केही छैन । दुःखै गर्नु त हो नि । अहिले त ६०१ जना छन् राजाहरु । म त प्रचण्ड आए पनि त्यही भन्ने हो । हाम्रो दुःख छ । हामीले दुःख गरेर, परिश्रम गरेर खाने हो ।उनीहरु राजकुर्सीको मोजमस्ती

वहाँहरुले बाँडेर खाए पनि प्रचण्डले गरिबतिर यसो दृष्टि दिनुभो भने धन्य भन्नुपर्छ । तेस्रो पार्टी भन्दैमा उहाँलाई पनि अपशब्द भन्ने कुरो होइन ।

भूकम्प गइराखेको छ । हामीले दुःख पाइराखेका छौं । पहिले घर नबना, हामी राहत दिन्छौं भनेर रोक्यो । त्यो राहत पर्खिँदा पर्खिँदै चिसो भुइँको बास भएको दुई वर्ष भयो । हामी जसरी पनि बनाउँथ्यौं नि घर । उहाँहरुले नबना भनेर विज्ञापन गर्नुभयो । तर, राहत आउँछभन्दाभन्दै भन्दाभन्दै भन्दाभन्दै अहिलेसम्म आएको छैन ।

कता जिल्लातिर गएर भाषण गर्दैहुनुहुन्थ्योप्रचण्डले । पाँच लाख एकैचोटि दिने भन्नुहुन्थ्यो । लौ चाहियो त अब ! उहाँ प्रधानमन्त्री हुनुभो त ! ल यही पत्रकारमार्फत माग गरें, चाहियो अब  उहाँले बोल्या हो नि । बढ्ता बोल्ने ? पाँच लाख एकैचोटि दिए घर बन्छ हाम्रो पहाडमा । एक वर्ष अघि ८ लाख लगाएर बनाइरथें, ५ लाख पाएँ भने सानो बनाउँछु । एकैचोटि बन्छ ।
हामीलाई चाहियो अब ! बोलेको कुरा पूरा गर्नु परो नि !

२०७३ भदौ ३ गते १२:४२ मा प्रकाशित


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters