"आत्महत्या र यसका कारणहरु "
लेखिका: मिना सुब्बा , कनेक्टिकट। यु एस ए।
हामी सानो हुदॉ फलनाकी छोरी रूखमा झुण्डिछे,,फलनाकी बुहारीले मेटासिड खाइछ भन्ने सुन्थ्यौ। अनि अनेक अड्कल बाजीका कुराहरू सुनिन्थे। धेरै जसो महिलाहरूको चरित्र प्रति नै शंका -उपशंका गर्थे। यदा -कदा पुरूषहरूले बिष खाएको, पुलबाट हाम फालेको जस्ता घटनाहरू पनि सुनिन्थे। तर मानिसहरू नामर्द वा हूत्तिहारा भनेर गालि गर्थे पुरूषहरूलाई। मानिसहरूको बुझाई यस्तो थियो कि आत्महत्या त महिलाले मात्र गर्ने गर्छन्, मर्द वा पुरूषले होइन भन्ने। जब मैले आत्माहत्या सम्बन्धि लेखहरू पढें, त्यो बेला म छक्क परे। किनकी मेरो सोचाईंमा पनि महिलाहरूले नै बढि आत्माहत्या गर्छन् भन्ने तर म पनि गलत रहेछु।प्राय लेखहरू, रिसर्चहरू पनि नेपालमा किन महिलाहरू ले आत्माहत्या गर्छन् भन्ने मा नै रहेछ। तर नेपालमा मात्र नभई विश्व भर नै पुरूषको आत्माहत्या गर्ने दर बढि रहेछ। WHO (2015) को अनुसार विश्वमा बढि आत्माहत्या गर्ने देशहरूको सूचीमा नेपाल सातौं स्थानमा परेको रहेछ। त्यो सूचीमा उल्लेख भए अनुसार नेपालमा बार्षिक प्रति एक लाखमा ३०.१ जना पुरुष र २०.० जना महिलाहरूले आत्माहत्या गर्ने गर्छन् ।बिकशीत देशहरू र बिकासोऩ्मुख देशहरूमा आत्माहत्या दर धेरै फरक पाइएको रहेछ। धनि देशहरूमा महिलाको तुलनामा पुरूषहरू ३% बढि र न्यून र मध्यम आम्दानी भएका देशहरूमा १.५ % बढि पुरूषहरूले आत्महत्या गर्ने गरेको पाइएको छ।नेपालमा बार्षिक ६८४०जनाले आत्माहत्या गरेर ज्यान गुमाउदा रहेछन।
हामी सबैले आत्महत्यामा नितान्त व्यक्तिगत कारणहरू, मानसिक स्थिति नै आत्महत्याको कारक हो भन्ने सोच्दछौ। तर सामाजशास्त्रीय दृष्टिकोणमा भने समाजिक कारणहरू आत्माहत्याको मुख्य कारक मानिएको छ। हामीहरू आत्महत्या गर्ने व्यक्तिलाई दोषी, अपराधी मान्छौ तर समाजशास्त्रले कुनै पनि व्यक्तिले आत्महत्या गर्नुमा सामाजलाई पनि दोषी मान्छ अथवा भनौ समाज र आत्महत्या एक अर्कामा अन्तर सम्बन्धित छ।कुनै पनि व्यक्तिले आत्महत्या गर्ने निर्णय लिने बिन्दु सम्म पुग्नको लागि व्यक्तिगत समस्याहरूका साथै अप्रत्यक्ष रूप समाज र सामाजिक परिवेशको प्रमुख भूमिका रहेको हुन्छ।व्यक्तिगत समस्याहरू (लक्ष्य पुग्न नसक्नु, निको नहुने रोगहरू, आत्मीय मान्छेहरू गुमाएर, कूलतमा), सामाजिक, राजनैतिक, धार्मिक, आर्थिक समस्याहरूले गर्दा मान्छेहरूको आत्माहत्या गर्ने सोचाईलाई बढवा दिन्छ। सोसल डट अोर्ग को अनुसार ९०% आत्महत्या उपचार नगरिएको मानसिक विरामीको कारण हुने गरेको जनाइएको छ।
कुनै समयमा म सोच्ने गर्थे कि अब त आत्महत्या गर्ने को संख्या अबका दिनहरूमा घट्नेछन्। किनकि मानिसहरू पहिलेको तुलनामा धेरै पढेलेखेका छन्, समाज पहिलेको तुलनामा परिवर्तन भएको छ, स्वास्थ्यको पहुँच बढेकोछ या भनौ यावत् कुराहरुमा परिवर्तन भएकोछ, देशमा विकास भएको छ, सूचना र प्रविधी को क्षेत्रमा विश्वले ठूलो फड़को मारेको छ। तर समाचारहरू हेर्दा पत्याउनै सकिदैन कि अहिले पनि आत्महत्या यति धेरै हुदो रहेछ भनेर। हाल सालै यम बुद्धको ( स्व.अनिल अधिकारी) आत्महत्या को समाचार आयो अनि छक्का - पन्जाको पाइरेसी गर्ने युवकको पनि। त्यस्तै दलिद र गैर दलिद बीचको विबाहले मान्यता नपाउने भए पछि दुबै जना एउटै डोरीमा झुण्डिएर आत्महत्या, बिरामी र बिरामी कुरुवाले आत्माहत्या। यस्ता समाचारहरू पढ्दा कहलि लाग्छ। माथी उल्लेख गरिएको व्यक्तिहरू सामाजका केही उदाहरण मात्र हुन।कलाकार, सरकारी कर्मचारी, गृहिणीहरू,
युवायुवतीहरूले आत्महत्याको बाटो रोजेका छन्।किन मानिसहरू यस्तो बाटो रोज्छन्? के त आत्महत्या गर्ने हरू सबै मानसिक समस्याबाट ग्रसित हुन्छन् त ?
एक आत्माहत्या पनि परिवार, आफन्त र समाजको लागि धेरै र अपुरणीय क्षति हो। परिवारमा, समाजमा र राष्ट्रमा नै यस्तो दूर्घटना दोहोरिन नदिनका लागि व्यक्ति स्वयं, परिवार, समाज अनि प्रशासनको साथ, सहयोग र प्रतिबद्धताको जरूरत पर्दछ।आत्महत्याको दर घटाउने वा रोकथाम गर्ने अभियानमा स्वास्थ्य मन्त्रालयको प्रमुख भूमिका रहन्छ। WHO ले सन् २०२० सम्ममा विश्वको आत्महत्या दरलाई १०% घटाउने लक्ष्य लिएको रहेछ। यस लक्ष्यमा पुग्न सरकारमा बस्नेहरूले नीति निर्माण गर्ने र कार्यान्वयनको लागि सकरात्मक भूमिका निर्वाह गर्नु पर्छ। धेरै तथ्याकंहरूको अध्ययनबाट थाहा हुन्छ कि मानिसहरू मुख्य गरेर तीन तरिका अपनाई आत्माहत्या गर्ने गरेको देखिन्छ: हात-हतीयारको प्रयोग, निेसासिएर( डोरी,सारी, सलले पासो लगाएर) र बिषादीहरू( मेटासीड, मूसा मार्ने बिष) को प्रयोग गरेर। त्यसैले हातहतीयारहरू, बिषादीहरू, औषधीहरू, मदिराजन्य पेय पदार्थहरूको बेचबिखनमा कड़ाई गर्नु पर्दछ।स्वास्थ्य सेवाको पहुँचलाई सर्बसुलभ बनाउनु पर्छ। आत्माहत्या सम्बन्धी जनतेतनामूलक कार्यक्रमहरू गर्ने, सन्चार माध्यमहरूले आत्माहत्याको सामाचारहरू मात्र नछापी रोकथाममा सहयोग हुने खालका लेखहरू प्रकाशन गरि मानिसहरूलाई सतर्क बनाउन, कहॉ कहॉ बाट सहयोग लिने, र अत्यावश्यक फोन नम्बरहरू दिएर सहयोग गर्न सक्छ। प्रहरी कार्यलय, प्रशासन र जनस्वास्थय(अस्पताल) कार्यलय बीच राम्रो समन्वय हुनु पर्छ। दरबन्दी अनुसारको डाक्टरहरू, व्यवस्थित पोष्टमार्टम घर हुनु ज़रूरी छ किन भने आत्माहत्या भए पछि मृत शरिर भेट्टाउन नै धेरै दिन लाग्छ। अस्पतालहरू सम्म पुर्याउन पनि समय लाग्छ। अनि अस्पताल सम्म लाश बोकेर पुर्याएर पनि बेला पोष्टमार्टम हुन सक्दैन।लाश घर पनि व्यवस्थित नहुँदा मृतकों शरीर दूर्गन्धित हुन्छ। यी कारणहरूले मृतकको परिवारमा थप पिडा हुन्छ वा कहिले काहि अर्को दूर्घटना पनि हुन जान्छ।
आत्महत्या एकदमै अमानवीय, ग़ैरक़ानूनी र अपराधीक कार्य हो। यस्तो कार्यले परिवारमा, आफन्तमा र समाजमा नकरात्मक असर पार्दछ। जो-जो लामो समय देखि मानसिक पिडा, तनावमा हुनु हुन्छ बेलैमा डक्टरसंग परामर्श लिनु वेश हुन्छ। समाजमा जुन घरमा त्यस्तो दूर्घटना भएको छ ऊनीहरूलाई नराम्रो वचन, घृणा हैन सान्त्वना दिऊ, दु:ख सहयोग गरौं ।समस्याको अन्तिम समधान आत्माहत्या हुन सक्दैन त्यसैले विकल्पको रूपमा नरोजौं। सन्चार माध्यमहरूले यस्ता घटनाहरूको संवेदनशीलतालाई मध्यनजर राख्दै घट्नाबारे अतिरन्जित तरिकाले प्रचार नगरी रोकथाममा सहयोग पुग्ने लेखहरूलाई बढवा दिऊ।आत्महत्या रहित समाज निर्माणमा साथ दियौ।