प्रजातन्त्रको व्यथा, मेलमिलापको अन्तरकथा
रामचन्द्र पौडेल
- अहिले नेपालमा राजासँगको सम्बन्धबारे दुईथरी चिन्तन समानान्तर रूपमा चलिरहेका छन् । राजासँग दलहरूले मेलमिलाप गरेर जानुपर्छ, हत्या-हिंसा तह लगाएर 'प्रजातन्त्र दुरुस्त पार्न' राजालाई सहयोग गर्नुपर्छ भन्ने र राजा शासक बन्ने महत्त्वाकांक्षाबाट परिचालित छन्, राजा र माओवादी दुवैको तानाशाही आकांक्षालाई जनता सम्मिलित शक्तिले ठेगानमा ल्याउनुपर्छ भन्ने ।
अहिले राजा जस्तो नियत राख्दै, जुन शैलीमा बढिरहेका छन्, त्यसबाट के भोलि प्रजातन्त्र दुरुस्त अर्थात् जनतामा निहित सार्वभौमसत्तासहित फर्किन सक्ला ? 'मेलमिलाप' सम्बन्धी अनुभव कस्तो छ ?
१) नेपाललाई आधुनिक र प्रजातान्त्रिक युगमा प्रवेश गराउन सत्याग्रहदेखि सशक्त क्रान्तिसम्म प्राणको बाजी राखेर लडेको नेपाली कांग्रेसले राजसंस्था र प्रजातन्त्रलाई मिलाएर मुलुकको उन्नति गर्ने विश्वासका साथ राजा त्रिभुवनसँग मेलमिलापको हात अघि बढाएको थियो । राणाहरूद्वारा राज्यच्युत राजपरिवारसँग अंकमाल गर्दै प्रवासबाट फर्केको थियो । परन्तु 'अब उप्रान्त देशको शासन जनताले चुनेका प्रतिनिधिहरूद्वारा निर्मित संविधानको आधारमा चल्नेछ' भनेर घोषणा गर्ने राजाले जनअपेक्षाविपरीत अनेक छलछामका खेल खेल्दै ०७ सालको परिवर्तनलाई आफ्नै शक्तिवृद्धिका लागि प्रयोग गर्न सुरु गरे । परिणामस्वरूप 'संविधानसभा' त परै रहोस्, संसद्को निर्वाचन गराउनै पनि ०१४ सालको भद्रअवज्ञा आन्दोलन नहुँदासम्म आलटाल भइरह्यो । देशले प्रजातान्त्रिक विकासको प्रथम अभ्यासमात्र थालनी गर्न पनि एक दशक कुर्नुपर्यो । 'प्रजातन्त्रका प्रवर्तक' भनिएका राजा त्रिभुवनसमेत प्रजातन्त्रको कसौटीमा खरो उत्रेनन् । माक्र्सेली भाषामा भन्नुपर्दा आफ्नो वर्गचरित्रभन्दा भिन्न देखिएनन् । राजा महेन्द्रको त कुरै छोडौं ।
-
http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=42979