दिनेश अधिकारी
लोक सुब्बा: एउटा परिस्थिति
लोक !
तिमीसँग मेरो पूर्वपरिचय थिएन
र, समाउँने अर्थमा
न कुनै साइनो थियो
न कुनै जुइनो थियो
थियो त केवल
नेपाल छोडेपनि तिमीसँग नेपाली नाम थियो
परदेशमा
त्यही तिम्रो नाम मेरा लागि प्यारो भयो
नचिन्दानचिन्दै पनि
तीमीलाई नसम्झन गाह्रो भयो
तिमी आयौ
र, भेटेपछि थाहा पाएँ-
कानुनका आँखामा
तिमी विदेशकै लागि स्वदेशी भइसकेका रहेछौ
भन्थ्यौ :
जहान-छोराछोरी यतैका हुन्, यतै छन्
अब त
नेपालको तलतल पनि लाग्न छोडिसक्यो...
मनमनै असहमत हुनुबाहेक
त्यतिखेर त केही भनिँन
मुकले जे भने पनि
लोक ! तिमी त्यस बेला पनि
नेपालकै मायाले वशीभूत थिये
होइन भने
म को थिएँ र तिम्रो ?
तर रगतको नाताजस्तो
मेरो आगमनको जनकारी पाउनेबित्तिकै
निर्धारित आफ्ना सारा कार्यक्रम छाडेर
तिमी मलाई भेट्न आएका थियौ
माटो फेर्दैमा मन फेरिँदैन लोक !
त्यस बेला तिमी
मनको भाषा मुखले चपाइरहेका थियौ
अथवा यसो भनुँ-
माइती भेट्दा
'म सुखी छु' भन्दै चेलीले
लुकाएर आँसु पुछेको कुनै क्षणलाई
तिमी आफ्नो व्यवहारले सम्झाइरहेका थियौ
यथार्थमा
छातीभरि नेपालकि तिर्खा लागिरहेथ्यो तिमीलाई
र, मलाई 'माध्यम' बनाएर
तिमी तिर्खा मेट्न कोजिरहेका थियौ
होइन भने त
लोक ! म को थिएँ ?... तिमी को थियौ ?...