Saptahik
टाइपिस्टदेखि टाइकुनसम्म
अश्विनी कोइराला
सन् १९९९ जुन ९ तारिख । हङकङको एयरपोर्ट बाहिर निस्केर शिवबहादुर केसीले एउटा ट्याक्सी समाते । हङकङ पुग्दा पनि उनी नेपाललाई सम्भिmरहेका थिए । मुखमा नेपाली गीत झुन्डिरहेको थियो । ट्याक्सी ड्राइभरले अंग्रेजीमा भन्यो, 'म तपाईंलाई चिन्छु, तपाईं हङकङ सोहो, सिभ होइन ?' उनले गुन्गुनाइरहेको नेपाली गीत बन्द भयो । उनले ट्याक्सी ड्राइभरलाई हेरे । चिनियाँ मूलको ड्राइभर सम्मानपूर्वक बोलिरहेको थियो, 'मैले टेलिभिजनमा तपाईंको आधाघन्टाको कार्यक्रम हेरें । तपाईं महान् हुनुहुन्छ ।'
दोलखाको दुर्गम गाउँमा जन्मिएका शिवलाई हङकङको एउटा ट्याक्सी ड्राइभरले चिन्नु त्यसै पनि अचम्मको कुरा हो । त्यसमाथि त्यहाँको राष्ट्रिय टेलिभिजन च्यानलले उनका बारेमा आधा घन्टाको कार्यक्रम बनाउनु कल्पनाबाहिरको कुरा थियो । शिव भन्छन्, 'जीवनको कथा अजीव हुन्छ । तपाईं कल्पना पनि गर्न सक्नुहुन्न, जीवन कहाँबाट सुरु हुन्छ र कहाँ प्रसिद्धि पाइन्छ ?' उनी फ्लासब्याकमा पुग्छन् । होचो शरीर, मोटो ज्यानका ५० वषर्ीय शिव आफ्नो कुरा सुरु गर्दा लामो सुस्केरा प\mयाँक्छन् । शरीरलाई खुला पारेर सोफामा ढल्कनुअघि भन्छन्, 'केही लिनुहुन्छ कि ?'
'म २०१३ सालमा जन्मिएको हुँ । बुबा किसान हुनुहुन्थ्यो, मेरा दुई दाजु बेरोजगार थिए । ८ कक्षा पढ्दापढ्दै मलाई घरमा बसेर केही हुँदैन, यो गरिबीबाट पार पाउन काठमाडौं जानैपर्छ भन्ने लाग्यो । त्यसपछि १५ वर्षको उमेरमा म काठमाडांै आएँ । मेरा एक जना काका दूरसञ्चारमा काम गर्नुहुन्थ्यो । उहाँले मलाई टाइप सिके भविष्य राम्रो हुन्छ भन्ने सल्लाह दिनुभयो । त्यतिखेर प्रशासन व्यवस्था विभागले ८ कक्षा पास गरेकाहरूलाई प्रतिस्पर्धाका आधारमा टाइप सिक्ने अवसर दिन्थ्यो । मैले टाइप सिक्ने क्रममा प्रथम स्थान ल्याएँ । एक वर्षसम्म कुनै काम पाइनँ ।
कहिले काकाकहाँ, कहिले दाजु पर्नेहरूकहाँ गएर रात बिताउँथें । कसैगरी पनि पढ्नुपर्छ भन्ने भावनाले गर्दा काकाको सहयोगमा दरबार हाईस्कुलमा रात्रि कक्षामा भर्ना भएँ । कापी-किताब किन्ने पैसा नहुँदा कुनै न कुनै काम गर्नु मेरो बाध्यता थियो । भाग्यले शिक्षण अस्पतालमा अस्थायी टाइपिस्टको भ्याकेन्सी खुल्यो । प्रमाणपत्र र टाइप स्पिडका कारणले मैले १ सय ३५ रुपैयाँ प्रतिमहिनाको जागिर पाएँ । २०२९ सालमा खाएको त्यो जागिर मेरो जीवनको पहिलो उपलब्धि थियो । म साह्रै खुसी थिएँ । जागिर भएकाले डेरा लिन सकेको थिएँ । त्यसभन्दा पहिलेसम्म कसले खान देला भन्ने लाग्थ्यो, जागिरपछि घरमै पकाउन थालेको थिएँ । एउटै तरकारीमा टन्न झोल हालेर आफ्नै कमाइले पेटभरि खानुको आनन्द कस्तो हुन्छ ? त्यो मलाई मात्र थाहा थियो ।
म दिनभरि काम गथर्ंे । राति स्कुल जान्थें । केही पैसा घर पठाउनुपर्ने हुनाले खान मन लागेका कुरा खान सक्दिनथंे । बिहानीको खाजामा दूध र पाउरोटी खानु त्यतिखेरका युवाहरूको सौखको कुरा थियो, आजको पिज्जा र मःमजस्तै, तर मलाई पुग्दैनथ्यो । दिउँसो जेरी र स्वारी खानेलाई पैसावाल मानिन्थ्यो । म जेरी र स्वारी खाने स्तरमा पुग्छु भन्ने मलाई कहिल्यै लागेन ।
एक दिन एक्सरेको टेक्निसियन हरिशरण जोशीले मेरो इमान्दारिता देखेर उनको व्यवसायमा सघाउने अनुरोध गरे । उनको घरमा पेइङ गेस्ट राख्ने चलन रहेछ । एकपल्टमा ४-५ जना विदेशी बस्दा रहेछन् । राति उनीहरूका लागि खाना पकाइदिने, खान दिने एवं अन्य कामका लागि पनि एकजना सहयोगी चाहिएको रहेछ । उनले मलाई त्यहीं बस्न दिने भए । यसो गर्दा मेरो डेराभाडा र खाने खर्च जोगिन्थ्यो । यो प्रस्ताव मेरा लागि आकर्षक थियो । मैले यसलाई ठूलो अवसरका रूपमा लिएँ । यसले मेरो जीवनमा नयाँ सम्भावनाको ढोका खोल्यो ।
पर्यटकको संगतका कारण मैले अंग्रेजी सिक्ने मौका पाएँ । क्याम्पस पढ्न थालेपछि जीवनमा केही गर्न सकिन्छ भन्ने आत्मविश्वास पलायो । त्यसपछि मैले जागिर छाडें । पुरानो बसपार्क र एयरपोर्टमा गएर राजधानी होटलका लागि पर्यटक ल्याउने काम पनि गर्न थालें । राजधानी होटलले मलाई महिनाको ३ सय दिन्थ्यो । जोशीजीको होटलमा पर्यटकहरूको संगतले मैले पर्यटकहरू कसरी खुसी हुन्छन् भन्ने कुरा थाहा पाइसकेको थिएँ । नरम र सरल भाषाका कारण धेरैजसो पर्यटक मेरो कुराबाट प्रभावित हुन्थे र मैले काम गर्ने होटलमा बस्न राजी हुन्थे । यो देखेर न्यूरोडमा खुलेको कोजी होटलले ५ सय रुपैयाँ दिएर मलाई हायर गर्यो । यो होटलमा पनि मैले मेहनतपूर्वक काम गरें । ठीक त्यतिखेरै सोल्टी होटलको भ्याकेन्सी विज्ञापन आयो । म त्यसमा सेलेक्ट भएँ र ५ सय ७५ रुपैयाँ तलब पाउन थालें ।