सरकारले तीन सुरक्षा प्रमुखलाई निलम्बन गरेपछि प्रधानसेनापति प्यारजंग थापाले दोस्रो पटक प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग ११ जेठमा भेट गर्नुभएको छ। सेनापतिको साथमा सेनाका बलाधिकृत रथि रुकमाङगत कटुवाल, रक्षासचिव विष्णुदत्त उप्रेती र गृहसचिव उमेशकान्त मैनाली पनि हुनुहुन्थ्यो।
विहान मन्त्रिपरिषद्को बैठक चलिरहेको बेला उहाँहरु प्रधानमन्त्री निवास बालुवाटर पुग्नु भएको थियो। बैठक लगत्तै उहाँहरुले प्रधानमन्त्रीसँग करीब १५ मिनेट कुराकानी गर्नुभएको थियो। देशको वर्तमान सुरक्षा अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको गृहसचिव मैनालीले पत्रकारहरुलाई बताउनु भयो।
यसअघि तीन सुरक्षा प्रमुखलाई निलम्बन गरिएको भोलिपल्ट सेनापति थापा र रथि कटुवालले प्रम कोइरालासँग भेट गर्नुभएको थियो। त्यसअघि लोकतन्त्रको पुनःस्थापना लगतै सेनापति थापा कोइरालालाई भेट्न महाराजगञ्जस्थित कोइराला निवास पुग्नुभएको थियो। तर अघिल्ला दुई भेटमा भएका कुराकानीबारे केही बताइएको थिएन। खासगरी सुरक्षा प्रमुखको निलम्बनको भोलिपल्टको भेटलाई निकै चासोपूर्वक हेरिएको थियो। किन कि उच्चस्तरीय जाँचबुझ आयोगले ४ वटै सुरक्षा पदाधिकारीलाई कारवाहीको सिफारिस गरे पनि सैनिक अधिकारीलाई सरकारले केही गरेको छैन।