[Show all top banners]

Jawala
Replies to this thread:

More by Jawala
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Meetra

Nepali24
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 माओवादी सेनाको व्यवस्थापन
[VIEWED 1091 TIMES]
SAVE! for ease of future access.
Posted on 09-04-06 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माओवादी सेनाको व्यवस्थापन
डा. चन्द्र लक्सम्बा

माओवादी छापामारहरू वास्तवमै सेना हुन् ? के तीसँग राष्ट्रिय सेनामा सामेल हुने योग्यता छ ? सरकारी सेनामा समाहित गरियो भने अहिलेका माओवादी छापामारले भोलि राष्ट्रिय सेनाका रूपमा पक्षपातरहित व्यावसायिक धर्म निभाउलान् ? अनि दुई फरक पृष्ठभूमिका सेनाबीचको सम्बन्ध त्यतिखेर कस्तो होला ? यतिखेर धेरै 'विज्ञ'हरू यी प्रश्नमा घोत्लिइरहेका छन् र धेरैको उत्तर नकारात्मक छ ।
पहिलो प्रश्न हो, माओवादी जनसेना पूर्ण सेना हो कि होइन ? एउटा व्यावसायिक सैनिक र माओवादी छापामारमा फरक पक्कै छ । व्यावसायिक सेनामा एउटा युवाको प्रवेश सबैभन्दा पहिले छाती र पिडँुलाको नाप दिएर हुन्छ । शारीरिक रूपमा सक्षम सावित भएपछि उसले व्यवस्थित तालिम प्राप्त गर्छ र बल्ल मोर्चामा खटिन्छ । तर, एउटा माओवादी छापामारले पहिले विचार बोकेको हो, त्यसपछिमात्र बन्दुक । तर सेना हुन यो पहिलो र अन्तिम मापदण्ड होइन ।

राजनीतिक आस्थाको अर्को पाटो पनि छ । नेपाली सेनामा यतिखेर तिनीहरू नै दुई तिहाइ संख्यामा छन्, जो ०४६ सालपछि भर्ती भएका हुन् । सबैलाई थाहा छ, ०४६ को राजनीतिक परिवर्तनलगत्तै नेपाली समाजको यति गहिरो र सर्वव्यापी पार्टीकरण भयो कि झन्डै सबैजसो नेपाली कुनै न कुनै पार्टीका -कोही कोही त सदस्यता रसिद बाँड्न आउने जति सबैका) सदस्य थिए । ०४६ पछि शाही सेनामा भर्ती भएका अधिकांश युवाले कांग्रेस वा कम्युनिस्ट भएर निर्वाचन अभियानहरूमा सक्रिय सहभागिता जनाएका वा कम्तीमा राजनीतिक आस्थाका आधारमा कुनै एक पार्टीलाई मतदान गरेका थिए । तर, सेनामा प्रवेशपछि तिनले त्यो आस्थालाई पखालेको देखियो । त्यसैले माओवादीका हकमा पनि आशा गर्ने ठाउँ बाँकी छ ।

अर्को प्रश्न, माओवादी सेनाको योग्यतासँग सम्बन्धित छ । माओवादी छापामारमा जनजाति, महिला र दलित बढी छन् । ती राज्यले सबैभन्दा बढी उपेक्षा गरेको वर्गबाट आएका हुन् । तीमध्ये अधिकांशसँग सरकारी सेनामा आवश्यक मानिने न्यूनतम शैक्षिक प्रमाणपत्र छैन । तिनले सरकारी सेनाको जस्तो व्यवस्थित तालिम पनि पाएका छैनन् । तिनले जे सिके, सुविधासम्पन्न तालिम केन्द्रहरूमा होइन, असमान युद्ध मैदानहरूमा सिके । माओवादीका कमान्डरहरूले पनि पूर्व शाही सेनाका कमान्डरहरूले झैं संसारका श्रेष्ठ सैनिक विश्वविद्यालय वा तालिम केन्द्रहरूमा युद्धकौशल र रणनीतिको औपचारिक शिक्षा पाएका होइनन् । माओवादी छापामार र सरकारी सेनाको अर्को फरक के हो भने छापामारहरूले लडेर युद्ध सिके जब कि सरकारी सेनालाई युद्धकौशल सिकाएरमात्र युद्धमा पठाइएको थियो ।

व्यवस्थित तालिम पक्कै महत्वहीन कुरा होइन तर एउटा पूर्व सैनिकका रूपमा मेरो अनुभवले के भन्छ भने कुनै निजामती कर्मचारी र सिपाहीका योग्यताको मापदण्ड अलि फरक हुन्छ । त्यसो हुँदैनथ्यो भने अशिक्षित, दुनियाँबारे असाध्यै कम जानकारी भएका गोर्खालीहरूले संसारको युद्धविज्ञानमा यति गौरवमय ठाउँ बनाउने थिएनन् । हो, सबै माओवादी छापामार सेना होइनन् र माओवादी आफैंले पनि तिनलाई मिलिसिया र सेनाका रूपमा वर्गीकरण गरेका छन् । उनीहरूले 'सेना' मानेकामध्ये पनि थुप्रैसँग राष्ट्रिय सेनामा हुनुपर्ने न्यूनतम योग्यता नहुन सक्छ । तर माओवादीको मुख्य सैनिक सैन्यविज्ञानका हिसाबले सेना नै हो । सिपाही आखिर युद्धको प्रयोगशालाबाटै जन्मन्छ । युद्ध नै सिपाहीको विद्यालय र परीक्षा हो । माओवादीले दस वर्ष लामो युद्धमा त्यो परीक्षा दिइसकेका छन् ।

माओवादी विद्रोहका दस वर्षमा मुलुकले जनधनको ठूलो क्षति बेहोर्‍यो । त्यो विद्रोहका आर्थिक, राजनीतिक र सामाजिक पक्षबारे विभिन्न कोणबाट विभिन्न तर्क गर्न सकिएला । तर सैन्यविज्ञानका दृष्टिले यी दस वर्षका केही राम्रा पक्ष पनि छन् । दस वर्षको यो युद्धले नेपाली समाजलाई ठूलो घाउ दिएको होला तर युद्धविज्ञानका हिसाबले त्यो अनुभव एउटा पुँजी हो ।

नेपालको माओवादी छापामार युद्धको अध्ययन गर्न संसारका विभिन्न देशबाट थुप्रै टोली नेपाल पुगेका थिए । अमेरिकाले त ससानो क्षेत्रीय एकाइ नै गठन गरेको थियो । बेलायतबाट पनि एउटा टोली खटिएको थियो । दक्षिण र दक्षिणपूर्वी एसियाका यस्तै प्रकृतिका छापामार आन्दोलन दबाउन कुनै बेला बेलायतले गोर्खालीहरूलाई प्रथम पंक्तिमा उतारेको थियो । बर्मा -अब म्यान्मा) र मलायाका कम्युनिस्ट छापामारहरूलाई मूलतः गोर्खाली सैनिकले नै दबाएका थिए । तिनैका देशमा यति ठूलो छापामार युद्ध पश्चिमाहरूका लागि एउटा आश्चर्य थियो । हाम्रै बेलायती कमान्डरहरू हामीलाई सोध्थे, 'यो कसरी सम्भव भयो ?'

माओवादीले सैन्य विज्ञानका दृष्टिले आफूलाई एउटा सीमासम्म योग्य सावित गरे । संसारकै दुर्दान्त मानिने श्रीलंकाका तमिल छापामारलाई भारतले सुरुमा व्यवस्थित तालिम र हतियार दिएको थियो । सोभियत संघले अफगानिस्तानमा कठपुतली सरकार गठन गरेपछि अमेरिका, युरोप, अरब विश्व, पाकिस्तान र चीनले समेत मुजाहिद्दिनहरूलाई तालिम, हतियार र धन उपलब्ध गराएका थिए । भियतनामका कम्युनिस्ट छापामारहरूलाई त्यतिखेर समाजवादी विश्वले सबै सहयोग दिएको थियो । तर नेपाली माओवादीका हकमा यस्तो कुनै सहुलियत थिएन ।

दोस्रो विश्वयुद्धपछि छापामारहरूले शत्रु पक्षलाई दबाब सिर्जना गर्न प्रायः आत्मघाती आक्रमणहरू गर्दै आएका छन् र तिनले भिडहरूलाई निशाना बनाएर आमहत्या पनि मच्चाएका छन् । मध्यपूर्वका हमाज र हिजबुल्लाह र श्रीलंकाको लिट्टेमात्र होइन, कश्मीरका मुस्लिम छापामार र पूर्वोत्तर भारतका लडाकाहरूले यसैलाई मुख्य हतियार बनाएका छन् । तर, नेपालका माओवादीले त्यसो गरेनन् । यी दस वर्षमा उनीहरूले एउटै पनि आत्मघाती आक्रमण गरेनन् । हो, तिनले पटकपटक नाकाबन्दी र नेपाल बन्द गरे तर राष्ट्रिय राजमार्ग नै अवरुद्ध हुने गरी पुलहरू उडाएनन् । यावत ध्वंसकै बीचमा पनि उनीहरूले आतंकलाई भन्दा बललाई बढी जोड दिए । संसारका अरू छापामार युद्धभन्दा यो अलि नैतिक देखिन्छ ।

सरकारी सेना सबैभन्दा पहिलोपटक ११ मंसिर ०५८मा ब्यारेकबाहिर आयो । पहिलो वार्ता भंग भएपछि अनि माओवादीले दाङ र सल्लेरीका ब्यारेकमा आक्रमण गरेपछि संसदले संकटकाललाई अनुमोदन गर्‍यो । त्यतिखेर सेनालाई संसदमा रहेका झन्डै सबै दलको समर्थन थियो । अन्तर्राष्ट्रिय रूपमा भारत, चीन, अमेरिका, बेलायत र बेल्जियमले समेत आधुनिक हतियार, तालिम, युद्ध रणनीतिको प्रशिक्षण र सम्पूर्ण राजनीतिक समर्थन प्रदान गरेका थिए । माओवादी आतंककारी संगठन घोषित भइसकेको थियो र नेताहरूका नाममा रेड कर्नर नोटिस जारी गरिएको थियो । सेनालाई संकटकालीन अधिकार दिइयो । वास्तवमा त्यतिखेर सरकारी सेनासँग केवल अनुकूलता थिए, माओवादीसँग केवल प्रतिकूलता । तर युद्धमैदानमा सेनाले श्रेष्ठता सावित गर्न सकेन । जर्नेलहरू 'हामीले खम्पा विद्रोह र कांग्रेसका तीनवटा सशस्त्र क्रान्ति दबाएका हौं, माओवादीलाई पनि सय दिनभित्र दबाउँछौं' भन्थे । प्रहरी र माओवादीबीचको युद्धको सेनाले राम्राे अध्ययन गरेको र माओवादीको युद्धरणनीतिलाई राम्ररी बुझेको दाबी गरिएको थियो । तर केही मोर्चामाबाहेक सेना प्रभावकारी देखिएन । यत्ति हो, सेनाले माओवादीलाई राजधानी कब्जा गर्न वा स्थायी आधार तयार गर्न दिएन ।

शान्ति सैनिकका रूपमा 'रुटिन' भूमिका निर्वाह गर्ने र शाही उत्सवहरूमा कवाज खेल्नेबाहेक पछिल्ला चार दशकमा सेनाले अरू केही गरेकै थिएन । शाही सेनाको आर्थिक जीवन एकदमै अपारदर्शी छँदै थियो, अझ पहिलो संकटकालका असीमित अधिकारले सेनालाई स्वेच्छाचारी पनि बनायो । अचानक पाएको सत्ताको स्वादले सेनाको उपल्लो पंक्तिलाई हदैसम्म महत्वाकांक्षी बनायो । एकातिर अकर्मण्यता र भ्रष्टाचार, अर्कातिर सत्ताको स्वादले सैनिक संगठनलाई कति अप्रभावकारी तुल्यायो भने डेढ लाखभन्दा बढी सुरक्षाकर्मी तीस हजार माओवादी छापामार दबाउन असफल भए ।

युद्ध विज्ञानका दृष्टिले माओवादी हिंसाले माओवादीमात्र होइन, सेना, प्रहरी र सशस्त्र प्रहरीको युद्ध क्षमता पनि बढाएको छ । यी दस वर्षमा माओवादीले सिकेको छापामार युद्ध कौशल पनि देशकै पुँजी हो । हाम्रा छिमेकीसँग कथंकदाचित हामीले सैनिक प्रतिरोध गर्नैपर्ने विडम्बनापूर्ण अवस्था आयो भने युद्धको हाम्रो शैली पनि छापामार युद्ध नै हो । त्यसैले माओवादीको यो अनुभवलाई राष्ट्रिय सेनामा कति र कसरी समेट्न सकिन्छ, समेट्नुपर्छ । त्यो केवल माओवादीको पुँजी होइन । अमेरिकी र बेलायती सैनिक अधिकृतहरूलाई आश्चर्यचकित तुल्याउने त्यो युद्ध-अनुभवलाई हामीले खाडी राष्ट्रमा मरुभूमिमा पोखिन दिन हुँदैन । त्यो राष्ट्रिय क्षति हुनेछ ।

अन्यथा अर्थ नलागोस्, मेरो आशय शाही सेना र सबै माओवादी सेना गाभेर डेढ लाख सेना तयार गर्नुपर्छ भन्ने होइन । यसले अहिले र पछि पनि आर्थिक, राजनीतिक र कूटनीतिक समस्यामात्र ल्याउनेछ । नेपालमा यति ठूलो संख्यामा स्थायी सेना आर्थिक र व्यावहारिक रूपमा समेत उपयोगी छैन । हाम्रा तीनवटा छिमेकी आणविक शक्तिसम्पन्न छन् । तिनका नियमित सेनाको संख्यामात्रै झन्डै हाम्रो जनसंख्याबराबर छ । प्रविधिका हिसाबले त उनीहरूसँग हाम्राे तुलना गर्न खोज्नु पनि हास्यास्पद हुन्छ । हामीले न उत्तरी सीमामा सैनिक प्रतिरक्षाको कल्पना गर्न सक्छौं, न दक्षिणमा । त्यसैले नेपाललाई बीस हजारभन्दा बढी नियमित सेना आवश्यक नै छैन । एक सैनिकलाई पाल्ने स्रोतले झन्डै तीनवटा अध्यापक राख्न पुग्छ । गाविसमा हेल्थ असिस्टेन्ट पठाउन राज्यसँग पैसा छैन । कतिपय विद्यालयमा दरबन्दी पुगेको छैन । बजेट भने ब्यारेकमा बालुवामा पानी झैं खेर जाने स्थिति छ ।
संसारमै आजसम्मको आम नियम के हो भने प्रत्येक युद्धकालमा सेनाको संख्या बढ्छ र शान्तिकालमा घट्छ । नेपालमा पनि अहिले सरकारी सेनाको जुन संख्या छ, त्यो आन्तरिक युद्धको परिणाम हो । तर, रातारात ठूलो संख्यामा सेना कटौती गर्दा त्यो प्रत्युत्पादक हुन सक्छ । माओवादी सेनालाई समेट्न नसक्दा पनि देशभरि अरू थुप्रै 'जनतान्त्रिक तराई मोर्चा' गठन हुने सम्भावना छ । त्यसैले अन्तरिम अवधिका लागि सेनाको संख्या थोरै बढाउनुको विकल्प छैन । एउटा मापदण्ड तोकेर माओवादी जनसेनाको एउटा हिस्सालाई राष्ट्रिय सेनामा ठाउँ दिइयो भने उनीहरूले आर्जेको छापामार युद्धकलाले पनि राष्ट्रिय सेनामा ठाउँ पाउँछ ।

राजालाई परमाधिपति मानेको सेनाको लोकतान्त्रिक रूपान्तरण सम्भव छ भने प्रचण्डलाई परमाधिपति मानेको सेनाको रूपान्तरणचाहिँ असम्भव छ भन्न मिल्दैन । फेरि माओवादी जनसेनाको ठूलो हिस्सा सेनामा आउन तयार हुँदा पनि हुँदैन । त्यो राजनीतिक महत्वाकांक्षा बोकेको समूह हो । उसको 'करिअर' राजनीतिक हो, सैनिक होइन । त्यसैले मोटामोटी हेर्दा माओवादीको मुख्य सैनिक फोर्सको बढीमा एक तिहाइ हिस्सा अर्थात् करिब नौ हजारभन्दा बढी सेनामा आउने पनि छैन ।

वास्तवमा द्वन्द्व समाधानमा आएको पछिल्लो समस्या विशेष गरी माओवादीलाई हेर्ने दृष्टिकोणसँग सम्बन्धित छ । माओवादीको राजनीतिक र वैचारिक स्थिति जे भए पनि अहिलेलाई यो केवल एउटा पार्टीमात्र होइन । पहिले बाह्रबुँँदे र पछि आठबुँदे सम्झौताको गाँठी कुरो के हो भने माओवादी केवल आठौं पार्टी नभएर वैकल्पिक राज्यसत्ता हो । संयुक्त राष्ट्र संघसम्मले सरकार र माओवादीबाट एउटै बेहोराका तर बेग्लाबेग्लै औपचारिक पत्र खोज्नुको कारण पनि यही हो । नेपालको शान्ति स्थापनाको मूल चुनौती यी दुई राज्यसत्ताको एकीकरण हो । त्यसैले नौ हजार सेनालाई राष्ट्रिय सेनामा ठाउँ दिन कन्जुस्याइँ गरिन हुँदैन । अरू असी हजार सेनामा ती त्यसै बिलाउनेछन् । र, अरू सेनासँगै तिनको लोकतान्त्रीकरण सम्भव छ ।

-पूर्व बेलायती गोर्खा सैनिक डा. लक्सम्बा बेलायतको सरे युनिभर्सिटीमा अनुसन्धानरत छन् ।)

- http://www.kantipuronline.com/kolnepalinews.php?&nid=85040
 
Posted on 09-04-06 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow...this guy is really not biased. Never heard of this writer but seems like he's got some unbiased facts about Nepal situation. Good analysis.
 
Posted on 09-04-06 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chandra Daju,

I am very pleased to see your article . It is , in fact, an overall covered article for the subject matter. Enjoyed reading .

Many thanks to Jwala as well posting it here ..

thanks
an
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters