रमेशले अमेरिकामा बिहे गरे, सुशीलले सुटुक्क झयाइँ पारे
विदुर गिरी। नेपाली चलचित्रका कलाकारहरूले बिहेको साइत जुराउन सायद यही २०६३ साललाई नै कुरिहेका छन्। यो साल सकिन लाग्दा कलाकारहरू धमाधम बिहेबन्धनमा बाँधिन थालेका छन्।
नायिका जल शाहले यही वर्ष अमेरिका पुगेर बिहे गरिन्। कीर्ति भट्टराई यसै वर्ष इन्गेजमेन्टमा बाँधिइन्। नृत्यकलामा नाम कमाएकी र एउटा चलचित्रको नायिकासमेत भइसकेकी सीता गुरुङले पनि गत साता मात्र सुटुक्क बिहे गरिन्। केही महिनाअघि मात्र नायिका सज्जा मैनाली पनि लगनगाँठोमा बाँधिइन्।
यही क्रममा एक महिनाअघि अमेरिका पुगेका नायक रमेश उप्रेतीले उतै खुसुक्क बिहे गरेका छन् भने अर्का नायक सुशील क्षत्रीले पनि सकेसम्म गोप्य राख्दै काठमाडौंमा सुटुक्क बिहे गरेका छन्।
रमेशको गत शनिबार अमेरिकामै टीकोटाला गरेपछि सोमबार विधिपूर्वक धुमधामसँग बिहे भयो।
तीन महिना अमेरिका भ्रमण गरेर आउँछु भनेर त्यहाँ पुगेका नायक रमेश उप्रेतीले आफ्नो प्रेमलाई मूर्तरूप दिन किरण राणा नामकी युवतीसँग बिहे गरेका हुन्।
चलचित्रका लागि जग्गे र मन्त्रोच्चारणसहितको विधिपूर्वक परम्परा पूरा गर्दै थुप्रैपटक बिहेका सट दिएका कारण 'लगन नै टुंगियो कि क्या हो' भन्दै रमाइलो अभिव्यक्ति दिने गरेका नायक उप्रेतीले ५ वर्षदेखिको किरणसँगको प्रेमलाई अन्तिम रूप दिँदै सोमबार बाल्टिमोरको शिव मन्दिरमा विधिपूर्वक उनीसँगै बिहे गरेका हुन्।
नेपालमा रहँदै किरणसँग प्रेम भए पनि बिहेका लागि भने रमेशले अमेरिकालाई छाने।
५/६ वर्षदेखि अमेरिका बस्दै आई नेपाल आवतजागत गरिरहने धापासीकी किरण अमेरिकामा ग्रसरी (चुरोट पसल) सञ्चालन गर्छिन्। दुबैको सल्लाह र सहमतिबमोजिम नै उनीहरूले अमेरिकामा बिहे गरेको थाहा भएको छ। तर आफूले अमेरिका गएर बिहे गर्नेबारे रमेशले गोप्य राखेका थिए। यतिसम्म कि आफ्ना बिजीनेस पार्टनर अर्जुन श्रेष्ठ र अशोक शर्मालाई समेत यसबारे थाहा थिएन।
आफ्नो बिहेका बारे अन्यत्र गोप्य राखे पनि परिवारलाई भने जानकारी दिएको रमेशका नायक तथा मोडल भाइ दिवस उप्रेतीले जानकारी गराएका छन्।
सोमबार बिहान मन्दिरमा बिहे गरेपछि रमेश दम्पतीले साँझ बाल्टिमोरमै एक समारोहबीच पार्टी दिएका थिए। पार्टीमा करिश्मा मानन्धर, पूजा चन्दलगायत अमेरिकामा रहेका नेपाली कलाकारहरू पनि सरिक थिए। अमेरिकाको ग्रीनकार्डका लागि समेत प्रक्रिया चलाइरहेका रमेश सम्भवतः तीन महिनापछि काठमाडौं आउनेछन्।
यसै गरी मंगलबार नायक सुशील क्षत्रीले पुरानो बानेश्वरनिवासी सबिना खड्कासँग बाजा बजाएर बिहे गरेका छन्। उनले भने घरपरिवारले हेरिदिएकी युवतीसँग मागीविवाह गरेका हुन्।
राजु शाह, नारायण पुरीजस्ता आफूलाई ब्रेक दिने चलचित्रकर्मी तथा आफन्तलाई मात्र आमन्त्रण गरेर आफ्नो बिहेलाई सुशीलले सकेसम्म गोप्य राख्ने प्रयास गरे भने आगामी चैत ७ गते प्रीतिभोज आयोजना गरेर मात्र आफ्नो बिहे सार्वजनिक गर्ने योजना उनको छ।
त्यसै गरी ए बाऊ किन्देउ न भट्भटे बोलको चर्चित हास्य गीतका गायक श्रीकृष्ण लुइँटेल 'बोकेदाह्री'ले आइतबार भारतको पश्चिम बंगालस्थित सिलिगुडीको चर्चित कोरस ब्याण्डकी गायिका राधा अधिकारी उपाध्यायसँग लगनगाँठो जोडेको सुनसरी संवाददाता कृष्ण भट्टराईले जानकारी गराएका छन्।
सिलिगुडीका चर्चित साहित्यकार रामलाल उपाध्यायकी नातिनी राधासँग श्रीकृष्णको चिनजान डेढ महिनाअघि बोकेदाह्री कार्यक्रम लिएर सिलिगुडी गएकै बेला भएको हो।
त्यही कार्यक्रममा भएको चिनजानमा राधाको गायन र कलाबाट आफू प्रभावित भएपनि आफ्ना पिताको परम्परागत सोचका कारण पितालाई हेर्न लगाएर ओके भएपछि उनीसँग आफूले लभ शुरू गरेको श्रीकृष्णले बताए।
'यसअघि धेरै ठाउँबाट प्रस्ताव नआएका हैनन्। कहीँ बुबालाई मन नपर्ने त कहीँ आफैँलाई मन नपर्ने हुन्थ्यो। तर अहिले बुबाआमाले पनि मन पराउनुभयो, आफ्नो पनि लभ पर्यो। केटी र उनका परिवार पनि राजी भए र चारै पक्षको सहमतिले यो लगनगाँठो जोडिएको हो' -श्रीकृष्णले सुनसरी संवाददातासँग भने।
http://newsofnepal.com/kps/fullnews.php?serialno=5284&sec=41&ssc=53