सपनामा नेपाल
आज मैले अमेरिकामा
नेपालको सपना देखें
आंखा खोल्नै मन लागेन
धेरै बेरसम्म आंखा चिम्लेर
नेपालनै बिचरण गरिरहें ।
उहि धूलो, धूंबा
मोटरको चर्को आबाज,
टेम्पोमा कराईरहेका
मरन्यासे केटाहरु,
फोहोर बोक्ने थोत्रो ट्रक
नाक छोपेर हिडिरहेका मान्छेहरु,
अखबारमा कट्कटिएको
त्यहि बासि खबर,
भिडियो पसलको कोलाहल
साईकलमा तरकारी बेची रहेका भैयाहरु
टाढाटाढाबाट हेरि रहेका
मौन पहाड, धमिलो आकाश
ठिङ्ग ऊभिएका एक्ला रुखहरु
फोहोर मैलाको थुप्रोबाट चिहाईरहेको
उही आतंक , सन्त्रास
सडक] को बीचमा
उग्राईरहेका गाईहरु,
गरुंगो मन उदास अनुहार
यान्त्रिक मुस्कान
स्वचालित नमस्कार
सब उही सब उस्तै देखें
तर पनि किन हो
मनै बादल भएर
उडे जस्तै भयो ।
भित्र झलमल्ल घाम
खुले जस्तै भयो ।
मलाई आंखा खोल्नै मन लागेन
त्यही धूवां, धूलो र खलबलमा
डुबि रहुं जस्तो लाग्यो
अहाल बसिरहुं जस्तो लाग्यो ।
देशबासीहरु हो !
म सात समुद्र पारिबाट भनि रहेछु
देशप्रति बैगुनी कहिलै नहुनु
देश भन्नु ठूलो कुरो रहेछ !
अक्टोबर २६, २००२
अमेरिका