विरोधहरूका कारण संसदको कारबाही फेरि स्थगित:-
केही सातादेखि अवरुद्ध हुन थालेको ब्यवस्थापिका-संसदको बैठक आउँदो सोमबार सम्मकालागि पुन: स्थगित गरिएको छ।
लामो समयको स्थगनपछि बोलाइए बैठक बिहान ११ बजे शुरु हुने कार्यक्रम रहेको थियो तर मधेश क्षेत्रका र माओवादी विधायकहरुले कारवाही अवरुद्ध पार्ने चेतावनी दिएपछि बैठक शुरू नै नभै स्थगित भएको थियो।
लामो समयसम्म सदन अवरुद्ध भएकोमा असन्तुष्ट सभामुखले बीबीसीसंग कुरा गर्दै अर्को साता कारबाही शुरु हुने आशा व्यक्त गरे।
"अब सबै पक्षहरुसंग कुराकानी भैरहेको छ त्यसैले अर्को हप्तासम्ममा सदन चल्ने वातावरण बन्ने कुरामा म आशावादी छु," उनले भने।
नेम्वाङले सम्बद्ध दलका नेताहरुदेखि प्रधानमन्त्रीसम्मलाई भेटेर स्थितिलाइ सामान्य तुल्याउन पटक, पटक आग्रह गरेका थिए।
माओवादीहरू सदनबाटै गणतन्त्रको घोषणा गर्नुपर्ने माग गरिरहेका छन्।
मधेशका विधायकहरुले भने मधेशमा निर्वाचन क्षेत्र पुननिर्धारण गर्ने निर्णय खारेज हुनुपर्ने माग गरिरहेका छन्।
विरोधमा उत्रिएका मधेशका नेपाली कांग्रेसका एकजना विधायक जयप्रकास गुप्ताले पहिले निर्वाचन क्षेत्र पुननिर्धारण आयोगको प्रतिवेदन खारेज गर्नुपर्ने त्यसपछि मधेश आन्दोलनका अन्य विषयहरुलाई संबोधन गर्नुपर्ने बताए।
'अहिलेसम्म एउटा न्यायिक जाँचबुझ आयोग बनेको छैन। चालिसजना मान्छेको प्रहरीको गोलीबाट हत्या भएको छ।'
लामो समयदेखि संसंदको गतिरोध जारी रहँदा महत्वपूर्ण कानूनहरुको निर्माण गर्ने कामहरु ठप्प भएको महसुस गरिएको छ।
बिहीबारदेखि शुरु हुने भनिएको आठ दलको बैठकमा नेताहरु आगामि कार्यक्रमहरूबारे ठोस सहमतिमा पुगेमा आउँदो सोमबारदेखि सदनको कारबाही समेत सामान्य हुने अपेक्षा गर्न सकिन्छ।