भारतीय प्रहरीको गोलीबाट कयौं शरणार्थी घाईते:-
भारतीय सुरक्षाकर्मीले बल प्रयोग गर्दा दर्जनौ शरणार्थीहरू घाईते भएका छन्
स्वदेश फिर्तीको प्रयास गरिरहेका भुटानी शरणार्थीहरुमाथि भारतीय सुरक्षाकर्मीले मेची पुल पारीबाट गोली प्रहार गर्दा कम्तीमा १० जना घाईते भएका छन्।
मुठभेडमा अरु १०० जना जतिलाई चोटपटक लागेको छ।
सोमबार दिउंसोदेखि भारतीय सुरक्षाकर्मीले स्वदेश फिर्तीको प्रयास गरीरहेका हजारौं शरणार्थीहरुमाथि लाठि, अश्रुग्यास र ढुङ्गा प्रहार गरि रोक्ने प्रयास गर्दा मंगलबार अबेरसम्म तनावको स्थिति रहेको थियो।
भारत सरकारले त्यस क्षेत्रमा कसैले पनि आवतजावत गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरेको छ।
शरणार्थीहरूले उनीहरूको समस्यालाई भारत सरकारले सम्वोधन नगरेसम्म मेची पुलको धर्ना नछाड्ने बताएका छन्।
एकजना शरणार्थी नेता मोहन तामाङले भने, 'व्यवस्थित ढङ्गले अगाडि बढ्नुपर्छ भन्ने हाम्रो चाहना हो। तर दूर्भाग्यवश उतापट्टिबाट विशेष गरी अश्रुग्याँस प्रहार हुँदाखेरी हाम्रा नानीहरू बिचलित छन्, साथीहरू बिचलित भएका छन्।'
'जबसम्म हामी भुटान पुग्दैनौ, जबसम्म भारत आफैं समावेश भएर भुटानी शरणार्थी समस्या समाधान गर्दैन तबसम्म हाम्रो आन्दोलन जारी रहनेछ,' उनले भने।
विभिन्न शरणार्थी शिविरहरूबाट मंगलबार पनि शरणार्थीहरू बस र ट्रकका छतमा चढेर तथा सडकमा लस्करै पैदल मेची पुलतर्फ गैरहेका थिए।
घाईते शरणार्थीहरूलाई स्थानीय स्वास्थ्यकर्मीले घटनास्थलमै उपचार गरिरहेका छन्।
कतिपयलाई स्थानीय सवारी साधन तथा एम्बुलेन्समा राखेर अस्पताल पु-याउने काम भैरहेको छ।
भारतीय सुरक्षाकर्मीको अवरोध तोड्न खोज्ने एक दर्जन भन्दा बढिलाई उनीहरूले पक्राउ गरेको शरणार्थीहरूले बताएका छन्।
केही शरणार्थीहरू भागदौडमा मेची पुलबाट खसेर घाईते भएका छन्।
स्वदेश फिर्ती र तेश्रो मुलुक स्थानान्तरणका विषयमा भएको विवाद आइतबार दङ्गामा परिणत हुँदा दुईजनाको ज्यान समेत गएको थियो भने बेल्डाँगीस्थित शरणार्थी शिविरको अवस्था मंगलबारबाट सामान्य बनेको छ।
स्थानिय प्रशासनले उक्त क्षेत्रमा लगाएको कर्फ्यु आदेश हटाएको छ।
http://www.bbc.co.uk/nepali/news/story/2007/05/070529_refugee_injured.shtml
.