बज्या !
मलाई धन्धुकारीको आरोप लाउँछस् ?
मलाई संहारकारीको दोष लाउँछस् ?
संसारभरि मेरो खिल्ली उडाउँछस् ?
औँलो ठड्याएर मेरो नाकतिर ल्याउँछस् ?
बज्या किस्ने पहाडी !
मेरो नियतै खराब छ भन्छस् ?
सोझो हिँडिराछु, रगतमै शराब छ भन्छस् ?
चारपाटा मुडेर भञ्ज्याङ कटाइदिउँ तँलाई ?
मुन्टो चुँडेर माटो चटाइदिउँ तँलाई ?
बज्या नरहरि अचार्ज !
त्यत्तिकै मलाई खुनी भन्छस् ?
बित्थामा शकुनी भन्छस् ?
एई ! यता फर्केर धारे हात लाउँछस् ?
झन्डा बोकेर मतिर आउँछस् ?
बज्या गगने !
देउताको औतारलाई कंश भन्छस् ?
मलाई जङ्गबहादुरको वंश भन्छस् ?
टुँडिखेलमा लगेर झुन्ड्याइदिउँ तँलाई ?
खुट्टामा बाँधेर उभिन्ड्याइदिउँ तँलाई ?
बज्या शम्भु थापा !
मेरो मुन्टो बाङ्गो छ भन्छस् ?
लुगा लाइराछु नाङ्गो छ भन्छस् ?
मेराविरुद्ध कविता कोर्छस् ?
ताली सोर्छस् ? मेरो चैन चोर्छस् ?
बज्या अर्जुने पराजुली !
एई,
त्यो आकास थर्किने गरी जिन्दावाद भन्छौ ?
यो छाती चर्किने गरी मुर्दावाद भन्छौ ?
शिर ठड्याएर ठाड्ठाडा नारा लाउँछौ ?
मेरै घरतिरको बाटो जुलुस ल्याउँछौ ?
बज्या नन्दकृष्णे, बज्या रुविनेहरू
बज्या खगिन्द्रे, बज्या यज्ञनिधिहरू
बज्या बैरागी, बज्या हरिगोविन्देहरू
बज्या मास्टर, बज्या डाक्टरहरू
बज्या कर्मचारी, बज्या कामदारहरू
बज्या प्राध्यापक, बज्या बुद्धिजीवीहरू
बज्या पत्रकार, बज्या वकिलहरू
बज्या हिमाल, बज्या कान्तिपुरहरू
बज्या विदेसी,बज्या नेपाली नागरिकहरू !
:::लक्ष्मण गाम्नागे (काठमाडौं)
(नोट- कवितामा प्रयोग भएका नामहरू काल्पनिक हुन्- बज्या कवि । कविता कान्तिपुर दैनिक वैशाख १०, ०६३ बाट साभार)