[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बौद्धिक शहरका गरीब माग्नेहरू
[VIEWED 2039 TIMES]
SAVE! for ease of future access.
Posted on 06-29-07 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौद्धिक शहरका गरीब माग्नेहरू

http://www.nepalirachana.com/ReadArticle.asp?ArticleID=609

श्रीओम श्रेष्ठ 'रोदन'

आँखालाई एकसरो चारैतिर घुमाउँछु । के छ त्यस्तो जवर्जस्ती आकर्षणा यो देशको । चुम्बकले फलामलाई तानेजस्तै तान्ने र समातेपछि छोड्दै नछोड्ने ! अमेरिका भनेपछि किन हुरुक्क हुन्छन् मान्छेहरू ? कुरो नेपालीको मात्र होइन । अमेरिका जान पाइन्छ भने जसले पनि जस्तोसुकै शर्त मान्न तयार हुन्छन् रे । तीनै महिनाको भिसा लगाउनको लागि वा लागिसकेकोलाई दसौं लाख खर्च गर्नेहरू पनि छन् रे । अमेरिकाको भिसा लाग्नु भनेको ठूलै रकमको चिठ्ठा पर्नुजस्तै बनेको छ ।

हो पनि । अमेरिकी भूमि पुगेपछि जसले पनि राम्रो काम गरेर पैसा कमाउन सक्छन् । कामको सम्मान छ । तर पैसा कमाउनु मात्रै त जीवनको अभीष्ट हैन नि । मानिस सामाजिक प्राणी भएकोले त्यसै प्रकारका दायित्व हुन्छन् नै । नत्र समाज विना बाँच्नेहरूको जीवन भित्रै जीवन खोज्नुपर्ने हुन्छ । पैसालाई मात्र ध्येय ठान्ने मानिस यहाँ मान्छेभन्दा बढी मेसिन बनेका छन् रे । तर पनि पैसाले नै जितेको छ सबैलाई ।

यस्तै अन्तरद्वन्द्वले गर्दा आउन सक्ने समयमा अमेरिका आउन सकिन म । भिसा पाएको तीन वर्षभन्दा बढी समय वास्ता नै नगरेर बिताएँ । यति लामो समयसम्म म अमेरिकासंग जितिरहें, निरन्तर जितिरहें । असन्तुष्टि कहिले बढेन ममा । तर थोरै समय बाँकी हुन थालेपछि चिन्ने जान्नेहरूको आँखामा कायर, मूर्ख बनेको लाग्न थालेको थियो । यही कारण म अहिले अमेरिकी माटोमा टेकिरहेको छु । हेर्छु गहिरिएर हेर्छु अर्थ खोजेर भित्रसम्म हेर्छु अमेरिकाको रहस्य खोजेर हेर्छु एक दशक अघि युरोपको चेक गणतन्त्र पुग्दाजस्तै अनुभव हुन्छ मलाई । त्यतिबेलाका दृश्यहरू अहिलेका दृश्यहरूसंग मिसिन थाल्दछन् ।

गाडी विष्णुजीले चलाइरहनु भएको थियो । हरिजी, मधुकरजी र म पछाडिको सिटमा बसेर गफ गरिरहेका थियौं । उहाँहरू तीनै जना डिभी परेर अमेरिका आउनु भएका मित्रहरू । विष्णुमणिजी रेयुकाई नेपाल पाटन शाखाको अध्यक्ष हुनुहुन्थ्यो । राष्ट्रव्यापी लघुकथा प्रतियोगिता उहाँकै कार्यकालमा शुरु भएको थियो । पहिलो कार्यक्रममा स्व. अधिराजकुमारी श्रुतिको उपस्थिति विशेष भएको थियो । मधुकरजीसंगको परिचय र मित्रता पनि रेयुकाइबाटै भएको हो । हरिजीसंगको मित्रता पारिवारिक रूपमा रहेको छ । साहित्यकार मित्र जय छाङ्छा मार्फत साहित्यकारकै रूपमा परिचय भएको थियो । अहिले यता आउनको लागि सल्लाह र भर पनि उहाँकै परेको थिएँ म । हरिजीको परिवारले अमेरिका टेकेको पन्ध्र महिना भैसकेको भए तापनि उहाँहरू तीनै जनाबीच परिचय र भेटघाट मेरै कारण आजै सम्भव भएको हो ।

चिल्ला र फराकिला बाटोको अनुशासनभित्र रहेर विष्णुजी गाडीको गति बढाइरहनु भएको छ । ठूला ठूला घरहरू संगै अमेरिकाको आकर्षणाले मलाई भुतुक्क पार्न खोजिरहेको छ । म साथीहरूसंग कुरा गरिरहेको भए पनि दुवै आँखा भने गाडीको सानो झयालबाट ठूलाठूला दृश्यहरूको स्वाद मानिरहेको छु । एकै पटक गाडी क्याम्ब्रिजको न्यु टाउन कोर्टमा आइपुगेर रोकियो । बाटोको छेउमा गाडी राखेपछि विष्णुजीले पार्किङको लागि पन्च गर्नुभयो ।

त्यहाँबाट सुटकेश गुडाउँदै सडक पारि पुग्यौं । घरको ढोकैसम्म पुग्ने मोटरबाटो भए पनि लैजान नपाइने रहेछ । यी घरहरू हाउजिङ कम्पनीका रहेछन् । तलबको निश्चित प्रतिशत मात्र भाडा बुझाए पुग्ने । अन्य भन्दा सस्तो

रे । प्रत्येक घरमा १२ परिवार बस्छन् । कसैलाई कसैको मतलव हुँदैन । सबै आ-आफ्नो समयमा आउने जाने भएकोले सबैसँग मूलढोकाको साँचो हुँदो रहेछ । चारैतिर बाटा छन् । बीचमा बगैंचा र बच्चाहरू खेल्ने ठाउँको व्यवस्था छ । वरपरको घरका लागि पार्कको बीचमा सानो घर छ र यहाँ सबैले आ-आफ्नो घरको फोहर ल्याएर राख्छन् ।

हरिजीले मूल ढोका खोलेर ३२ नम्बरको अपार्टमेन्टमा लैजानु भयो । चौथो तल्लामा पुगेपछि हरिजीले ल्याउनु भएको चिसो र चिप्ससंग यात्राका कुरा गर्न थाल्छौं । त्यसपछि देशको राजनीतिक आशा र शङ्काका कुरा । अमेरिकाका आकर्षणका कुरा, अमेरिकाको यान्त्रिकताका कुरा, काम बाहेक कसैलाई फुर्सद नभएका कुरा । विष्णुजी र मधुकरजी मलाई एक घण्टा टाढाको ठाउँबाट लिन मात्र आउनु भएकोले फर्किहाल्नु भो । त्यसपछि हामी दुजना मात्रै भयौं । भाउजू र सिरेन राति ११ बजेमात्र आइपुग्नु हुने रहेछ ।

म अहिले आफूलाई जति धन्य ठानिरहेको छु त्यति नै आभार जयजीसंग गरिरहेको छु । उहाँ यही दूतावासमा हुँदा गर्नुभएको निम्तोको कारण नै मैले भिसा पाएको थिएँ । तर उहाँ नेपाल फर्केर फेरि दिल्ली पोष्टिङ भैसक्नुभएको छ

अहिले । म भने बल्ल आइपुग्दैछु । यसलाई के भन्ने विमोह कि मोह ?

म अहिले जहाँ बसेको छु त्यो अमेरिकाकै बौद्धिक शहर मानिदो रहेछ । विश्वप्रसिद्ध हारवार्ड युनिभरसिटी यतै पर्दोरहेछ । यहाँ पढेको भन्दा मात्र पनि गौरब हुन्छ रे विश्वभरि । सडकैको पारिपट्टि नै विश्व प्रसिद्ध तीन आइटी मध्ये म्यासाचुसेट इन्फर्मेशन टेक्नोलोजी (एम आइ टी) पनि छ । यहाँबाट उत्पादित विद्यार्थीहरू विश्वभरि नै उत्कृष्टतापूर्वक प्रयोग भैरहेका छन् रे । भनिन्छ सेप्टेम्बर ११ मा न्युयोर्कको ट्विन टावरलाई ध्वस्त पार्ने व्यक्ति पनि एमआइटीकै विद्यार्थी थिए रे । हरेक पक्षका दुइ पाटा भएजस्तै सिर्जनात्मक र राम्रो हुने ठाउँमा विध्वंसात्मक र नराम्रो पनि भैहाल्छ ।

आज बिहान उठ्नासाथ क्यालेण्डर हेर्छु महिनाको पहिलो दिन । सिसाको झ्यालबाट बाहिर हेर्छु मस्तसंग हावा चलिरहेको छ । हरिया पात भएका र सेता फुलेका रुख र गुलाफी पात भएका रुखका हाँगाहरू पातहरूसंगै हल्लिरहेका छन् । झयाल खोलेर हेर्छु चीसो हावा आउँछ । आजको दिन चीसो होलाजस्तो छ । त्यसै पनि क्याम्ब्रिज सहर अमेरिकाको उत्तरी क्षेत्रमा भएकोले अन्यत्रभन्दा चिसो नै हुने रहेछ ।

तल चउरमा फोहरका सानासाना कन्टेनरलाई सानो ट्याक्टरजस्तोले पालैपालो तानेर ल्याउँदै लहरै मिलाउँछ र जान्छ । फोहरका थुप्रोमा हाम्रा खातेजस्तै एकजना काली केटी ठूलो झोला बोकेर आइन् र खोतलखातल पारेर केही पानीका र केही कोकका खाली प्लाष्टिकका बोतलहरू, क्यान वियरका बट्टाहरू लिएर गइन् । मलाई खासै अचम्म लागेन । हिजो पनि चाल्स रिभर पार्कको फोहर फाल्ने ठाउँबाट पनि एकजना बूढोले त्यसै गरेर बोतलहरू लगेको देखेको थिएँ । यहाँ यस्ता खाली बोतल जुन पसलमा लगेर दिए पनि पाँच सेन्ट पाउँदा रहेछन् । अचम्म त के हो भने, संसारभरिका मान्छे यहाँ काम गरेर पैसा कमाउन आउँछन् । जतिसुकै उच्च ओहदाका व्यक्ति पनि श्रम गर्न अप्ठेरो मान्दैनन्, जस्तै कामलाई पनि सानो मान्दैनन् । तर यहींका मान्छेहरू भने, काम गर्न नचाहेरै त होला नि, फोहरमा बोतल खोज्छन् । 'गरिबी र अल्छीले मात्र यस्ता काम गरेका हुँदैनन्' भनेर हिजो हरिजीले भन्नुभएको पनि कानमा गुन्जिरहेको छ ।

एकजना बूढी थिइन् रे । उनी यस्तै खाली बोतलहरू बेचेर एक डलर जम्मा हुनासाथ नजिकैको पसलमा गएर स्क्र्याच चिठ्ठा किनेर हेरिहाल्थिन् रे । चिठ्ठा नपर्नासाथ हतार गरेर जान्थिन् रे । एक दिन किन हतार गरेर जाँदी रहिछन् भनेर हेर्दा त बूढी बाटोमा पार्क गरिराखेको सानदार कार चढेर गएकी थिइन् रे । चिठ्ठा पार्नको लागि गरिबले जस्तै परिश्रम गर्नुपर्छ भन्ने मान्यता हो कि उनको सन्काहापन ।

बिहान सबैजना काममा गएपछि कोठामा म एक्लै भएँ । हावा लागिरहेको थियो । एक्लै निस्किएँ सेन्टर स्क्वायरतिर घुम्न । हिजो दीपक मुखिया भाइ र शान्ति लामा बहिनीले दिनभरिजस्तै घुमाउनु भएको थियो । त्यसैले सेन्टर स्क्वायरसम्म जाँदा अलमलिन्न भन्ने लागेको थियो । तर पनि जाने बेलामा बाटोमा देखिएका पसल र रेष्टुरेन्टका साइनबोर्डहरूलाई ध्यान दिंदै गएँ । सतर्क हुँदाहुदै पनि हिजो सजिलै पुगेको ठाउँमा पुग्न सकिन । बाटो वरपर गरेर खोज्न थालियो भने झन् अलमलिन्छ र फर्किन गाह्रो हुन्छ भनेर सीधा बाटोमात्र हिंडेको थिएँ । धेरै बेरसम्म पनि सेन्टर स्क्वायर पुग्न नसकेपछि फर्किन खोजें । जति अगाडि बढ्छु त्यति अपरिचित बाटोका पसल र रेष्टुरेन्ट देखिन थालेपछि म अलमलिएको पक्का भैसकेको थियो । तर कहाँ निर मैले बाटो बिराएँ भन्ने कुरामा छक्क परिरहेको थिएँ ।

हावाको जोड निकै बढिरहेको थियो । हाफ सर्टमात्र भएकोले चिसो पनि भैरहेको थियो । यो हावाले जोमसोमको हावालाई सम्झाइरहेको थियो । विस्तारै अगाडि बढिरहें ,नजिकै मोटर पार्किङको सानो काउन्टर थियो । त्यहाँभित्र एउटी काली केटी उभिरहेकी थिइन् । उनलाई मैले आफ्नो ठाउँ बताएर जाने बाटो सोधें । उनले बीचको एउटा सानो बाटो काट्दा दायाँ लाग्नुपर्ने ठाउँमा बायाँ लागेकोले यता आइपुगेको बताइन् र काउन्टरबाट बाहिर निस्केर मलाई बाटो देखाइदिइन् । सहयोगको लागि धन्यवाद दिएर म अगाडि बढें । हुन त म नयाँ मान्छे भएर मात्र अलमलेको होइन । पाँच वर्ष बसिसकेका दीपकजी र शान्तिजीलाई पनि हिजो निक्कै गाह्रो भएको थियो । झण्डै दुइ घण्टा जति बाटो खोज्दै हिंडेका थियौं हामी ।

वास्तवमा म आज पनि त्यहीं जान चाहन्थें । जहाँ हिजो माग्नेहरूले पैसा मागिरहेका थिए । हुन त आज पनि थुप्रै माग्ने नदेखिएका होइनन् । एउटी बूढीले त हातले रोकेर नै पैसा दिन भनेकी थिइन् मलाई । एकजना काले बूढा ह्विल चियरमा बसेर मागिरहेका थिए । गतिलै लुगा लगाएको त्यो माग्नेबूढो हातमा एउटा खाली बट्टा बोकेर मागिरहेको थियो । उनको अगाडिबाट हिंड्ने जो कोहीलाई तपाईसंग खुद्रा पैसा छ कि भनेर भनिरहेका थिए ।

हिजो भूमिगत रेल क्षेत्रमा रक्सीले मातेर प्लास्टिकको मुरली बजाएर बसिरहेको माग्नेलाई आज रेष्टुरेन्टको बाहिरको बेन्चीमा आनन्दले सुतिरहेको देखें । शायद आज उनलाई माग्नुपर्ने स्थिति छैन होला । यहाँ यस्ता फुर्सदिया र माग्नेहरू बढी मात्रामा कालेहरू नै छन् । प्रायः सबै आफ्नै धुनमा हिंडिरहेका देखिन्छन् तर बूढा र युवा कालेहरू भने ठूलो ठूलो स्वरले बाटोबाटोमा गफ गरिरहेका देखिन्छन् ।

सेन्टर स्क्वायरमा हिजो एक दम्पतिको माग्ने प्रकृया पनि रमाइलो लागेको थियो । एउटा ठेलगाडामा दुवैजना बसेका थिए । केही लुगाका पोकाहरू थिए । त्यहीमाथि दुइवटा कुकुर बसिरहेका थिए । त्यो ठेल गाडाको अगाडिपट्टि कागजमा लेखिएको थियो - हामी गरीब छौं सडकमा सुत्छौं । बाँच्नु हाम्रो अधिकार हो । बाँच्नको लागि खानुपर्छ र खानको लागि सहयोग चाहन्छौं ।

यी गरीब दम्पति मागेर बाँच्छन् तर जोडी कुकुर पालेका छन् । गरिबीको कारण माग्नुलाई अधिकार ठान्छन् । यी माग्नेभन्दा नजिकै गीत गाएर मागिरहेकाहरू प्रति भने मलाई श्रद्धा जाग्छ । एकजना बूढी र अर्को काले केटो, केही फरकमा बसेका थिए । दुवैजना साउण्ड सिस्टमसहित स्ट्याण्ड माइकमा गितार बजाएर गीत गाइरहेका थिए । उनीहरूले थापेका सुटकेशजस्तामा अलिअलि पैसा पनि परिसकेका थिए । उनीहरू पूरा अभिनय गरेर गाइरहेका थिए । अगाडि नै बसेर भने कसैले सुनिरहेका वा हेरिरहेका थिएनन् । बाटो हिंड्नेहरूले पल्याक पुलुक मात्र हेरिरहेका थिए । यस्ता स्ट्रिट सिंगरहरू शुक्रवारको साँझ विशेष जम्मा हुँदा रहेछन् ।

आज एक्लै र फुर्सदमा थिएँ । त्यसैले यिनीहरूको गतिविधि अझ राम्रोसंग हेर्ने विचार गरेको थिएँ । तर के गर्नु सेन्टर स्क्वायरसम्म पुग्न बाटोले नै साथ दिएन । एकनाशको हावाले पनि निकै चिसाइसकेको थियो । हुन त त्योभन्दा बढी हराउँछु भनेर डराएको थिएँ त्यसैले कोठामा फर्किहालें ।
 
Posted on 06-29-07 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो लाग्यो। तर एउटा कुर भन्न मन लाग्यो:

" जतिसुकै उच्च ओहदाका व्यक्ति पनि श्रम गर्न अप्ठेरो मान्दैनन्, जस्तै कामलाई पनि सानो मान्दैनन् । "

एस्तो चै अली हैन होला, शिरिश जि। ति कुराहरु सब खोस्टा कुरा हरु हुन।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters