[Show all top banners]

SurNaTal
Replies to this thread:

More by SurNaTal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

ThahaChaena

somewhereondearth
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 पोखरा: मेरो सुन्दर यात्रामा

[Please view other pages to see the rest of the postings. Total posts: 95]
PAGE: <<  1 2 3 4 5  
[VIEWED 25794 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-04-08 4:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पोखरा: मेरो सुन्दर यात्रामा - १

त्यो मिनिबस चिप्लिरह्यो; सुलुलु सुलुलु। साँझको ६ बज्यो। बन्दिपुर जाने दोबाटो काटियो। ब्यास गुफा जाने दोबाटो पनि। बिस्तारै अंध्यारोले ढाक्न थाले पनि सगरमा अलेली उज्यालोपन बाँकि नै थियो। मैले एकैछिन पर्दा लगाएँ। झ्यालको। भित्र गण्डकि भेकका लोक भाकाहरु गुन्जायमान छन्। म असिम आभारि छु, ति गुरुजि संग कि उनले हाम्रो यो यात्रलाइ लोक भाकाहरुसंग भिजाइदिए। जवकि धेरै यस्ता बस यात्राहरु हिन्दि गितहरुले भरिएका हुन्छन्। म कदाचित् भन्दिन मलाई "य लाल रंग कब मुझे छोडेगा" मन् परोइन भनेर। तर यस्ता यात्राहरुमा मलाइ लोक भाकाहरुसंग जुन आत्मियता, रोमन्चकता र सामिप्यता गासिएको छ, त्यो अरु केहिमा थिएन, छैन र हुन सक्दैन।

बजिरहेको चक्का सकिएछ क्यारे, लोक भाका रोकियो। खै किन किन वातावरण अचाक्लि उकुसमुकुस लागिरहेछ। फेरि पर्दा खोलें, सायद मुक्ति को खोजि। पर पहाडहरु अलेलि देखिदै थिए, तर ति हरियाबाट अंधेरा काला बनिरहेछन्। पहेँला सगरहरु आफैँ मात्र हो संसार भनेझैं पहेंल्लिरहेछन्। म एकाग्र झ्याल बहिर भुलिरहेछु। हेर्दा हेर्दै मेरो संसार निष्पठ्ठ अंधेरो बनिरहेछ। मानौ अव कहिल्यै घामका किरणहरु फर्किने छैनन्। तर त्यो सानो संसार - यात्रको एउटा फिलिंगो - एक टुक्रा जिन्दगि - त्यो मिनिबस भित्रको संसार; सायद अझै उज्यालो छ। यस्तो लाग्छ, पर्दा बाहिरको निपठ्ठतासंग यसको कुनै साइनो छैन। तर मलाइ किन किन त्यो पर्दा बहिरको अंध्यारोले खेदि रहेछ। यो भित्रको लर्खराउंदो प्रकाशको कुनै मतलव देख्दिन म। पर्दा बाहिरको एक बित्ता संसारलाइ पनि आफ्नो बनाउन नसक्ने यो सिमित प्रकाशको के अर्थ। यो बनावटि प्रकाश को के भर, जुनै बेला पनि झ्याप्प निख्रिदिन सक्छ। मलाइ सुर्यको प्राक्रितिक प्रकाश चाहिन्छ, घामको न्यानोपन सहितको; निस्कपट, निस्छल्, धोका को कुनै गन्ध रहित। मैले कहिल्यै रात ढलेर मिर्मिरे उशाले समपुर्ण संसार नढाकेकि देखेको छैन र मलाइ तेहि सदियौं को निस्छलता चाहिन्छ। यधप्पि, घाम हाललाइ बिलाएकि छिन, र म वर्तमानमा बिलाएको घामलाइ अंगालेर वास्तबिकताबाट भाग्न सक्दिन।

त्यो अँधकार संसारमा एउटा छुट्टै सानो समाज छ। २०-२५ यात्रुहरुको। जहां झलमल्ल बत्तिहरु बालिएका छन्, संगितहरु गुन्जिएका छन्। अफसोस, यो समाज हो झै पनि लाग्दैन फेरि। सबै आ-आफ्नो तालमा आ-आफ्नै जिन्दगिमा गुज्रिरहेका। कोहि गफगाफमा। कोहि अर्को सिटकि किसोरीका चेहराहरुमा। कोहि जिवन साथिका न्याना अंगालाहरुमा। कोहि नवप्रेमि का ढाडसहरुमा। कोहि प्यारि निद्रा देबिसंग। म सर्सरति सबै वातावरण नियाल्छु - मेरो त्यो तत्कालिन सिमित दुनियाको। गुरुजि steering कहिले यता कहिले उता घुमाइरहेछन्, एकोहोरो। लाग्छ उन्को जिवन पनि तेहि steering हो, कहिले यता र कहिले उता घुमिरहेको। तर त्यो मिनिबस र उन्को जिवनमा अतुलनिय फरक महसुस भैरहेछ। उनि चाहुन त सक्छन, झ्याप्प ब्रेक दबाउन - त्यो मिनिबसको। तर उनको आफ्नै जिन्दगि त चलिनै रहन्छ - मेरो जस्तै। यि जिन्दगिका steering र ब्रेकहरु अरु कसैको हातमा छ, हामि त सिर्फ एउटा मिनिबस हौं। कुनै काठ्मन्डु पोखरा चालिरहेका, कोहि पोखरा काठ्मन्डु। आउदा जादा भेट हुने; मुंग्लिन् र आंबु खैरेनिहरुमा।

हैन, यस्तो पनि त हो, यो सानो यात्राका सबै जिन्दगिहरुको steering र ब्रेक त उहि गुरुजि संगै छ। के भर, कतै अरुहरुको यो जमात सहित उनि बिलाउन्, सेतिका गहिराइहरुमा। जिवनको ब्रेक कुनै अद्रिस्य सक्ति (हुन सक्छ त्यो भगवान होस्) संग छ भन्दा एक् किसिमको ढुक्क हुने रहेछ, तर तेहि ब्रेक कुनै अर्को जिवात्मा संग छ भन्दा त जिवन कहालि लाग्दो बन्दो रहेछ। निमेश् भर्को यो उद्बेग पनि कति बिकराल। आखिर जिवन के हो र, फगत अनुभुतिहरु बाहेक। कहिले बोझिला, बफिला। कहिले रमाइला, उन्मक्त। र जिवन फगत एउटा सिंगो यात्रा न हो - हजारौं टुक्रा टुक्रि यात्राहरु जोडिएको। बिचमा सयौं मसिना यात्राहरु आउँछन्। र ति यात्राहरुमा कोहि आफ्नाहरु आउँछन् र पराइ भएर बिलाउँछन्, कोहि पराइहरु आउँछन् र आफ्ना भएर जान्छन्। हजारौं हजार अरु तथाकथित सामुहिक यात्राहरु पनि आउँछन् - जहाँ आफु एक्लै हिडिन्छ तर देख्नेले अरुसंग देखिदिन्छ। ति गुरुजि जिवन भर एक्लै यात्रामा होलान्- आफुमा। तर म देख्छु - उन्को अधिकांस यात्राका टुक्राहरु अरु जिन्दगीहरुसंग गासिएका छन्।

पोखरा: मेरो सुन्दर यात्रामा - २

...............................................
जिवन यात्रा हो। कुनै अतिसयोक्ति छैन। अतिसयोक्ति यस मानेमा छ कि चाहेको गोरेटो सधै भेटिदैन। चाहेको रफ्तार सधै मिल्दैन। चाहेको साथ सधै मिल्दैन। चाहेको जिवन सबैलाइ मिल्दैन। अझ यसो होला; चाहेको जिवन कसैलाइ मिल्दैन। त्यहि वास्तबिकताले पोलिरहेको छ। गएका सुनौला ३ दिनहरु अव म संग छैनन्। गएका ३ दिनहरुका चलायमानताहरु म संग अव बाकि छैनन्। पुन: त्यस्तै अवसरहरु आउलान् न-आउलान्, तर यो एउटा याद बनेर जिवन इतिहास कोरिएको छ। म मेरो तेहि यात्रा बिवरण उतार्ने जमर्को गरिरहेको छु। आफ्नो इतिहास लेखिरहेछु। अरुहरुका लागि। सायद हामी जे लेख्छौं, आफ्नो अनुभव् अरुको भन्दा श्रेयस्कर छ भनेर प्रमाणित गर्ने जमर्को हो। तेसैले म जे लेख्ने प्रयास् गरिरहेछु, सायद् भन्न खोजिरहेछु कि मेरो पोखरा भ्रमण अरुको भन्दा अलग थियो। सुन्दर थियो। रोमान्चक थियो। उल्लास र खुसिले भरिएको; एउटा उत्क्रिस्ठ यात्रा थियो। वास्तवमा यि हरफहरु पढिरहने जो कोहि पोखरा यात्रामा गएको छ। र त्यो जो कोहि को अनुभव मेरो भन्दा कम्सल कदाचित होओइन। तर पनि म किन चाहिरहेछु, यो लेखौं? थाहा छ मेरो अनुभव अरु कोहि तथकथित अनुभव भन्दा कुनै अर्थमा श्रेयस्कर छैन। तै पनि किन म सुर् न तालका सब्दहरु जोडेरा काहानिहरु बुनिरहेछु? किन म जिउनु को सट्टा समयको यो सानो टुक्रालाइ इतिहास लेख्नमा खर्चि रहेछु? यत्राको त्यो समय म मेरो अर्थको सुन्दरता जिए। सकियो। याद मनमा हुने हो, छदै छ। मलाइ किन अक्षरहरु संग यो मोह? के छ यि सब्दहरुमा जो सदैब घोचिरहन्छन। यो लेखौं। उ लेखौं। आफुमा जे छ त्यो देखाउन लाएक हैन भन्ने जान्दा जान्दै पनि किन मन आफ्नो हठ छाड्दैन र यो unicode खुलि रहन्छ? यि यावद प्रष्नहरुको तगारो तेर्सिरहेकै भए पनि म थामिन सक्दिन र आफ्ना वाइयत दिन चर्या हरु ओकलि रहन्छु।

छेवै को अर्को सिटमा दल बिर राइ छ, मस्त निद्रामा। म आफ्नो मन मिटर घुमाइरहेछु, तेति पुराना नभैसकेका बिगतहरु तर्फ। करिब् २ महिना अगाडि होला, संगम बस्यालले सुनाएथ्यो - "दाई, बिदाको लगत्तै पछि पोखरामा अन्तर क्याम्पस भलिवल प्रतियोगिता छ। खेल्न जानु पर्छ है।" मलाइ थाहा छैन रगत कसरि बिकसित हुन्छ। मेरा बाबा एउटा कनिस्ठ सरकारि जागिरे थिए। खेलको नाममा तास को "साइटिङ वा फुट्टिकट" बाहेक केहि मन पर्थेन। मेरि आमा जिवन भरकि ग्रिहिणि, उनले खेल के हो कहिल्यै बुझ्ने मोउका पाइनन। मेरो रगत कसरि बिकसित भयो कुन्नि। खेलको नाम सुन्ना साथ कण कण उर्लेर आउँछ। भलिवल होस्, कि ब्याडमिन्टन्, वा फुटवल वा क्यारिम् बोर्ड वा डन्डि बियो वा कवर्दि वा जो कोहि खेल मेरो सम्मुख भएर गुज्रिये, तिनिहरुले मेरो रगत प्रदुसित गराइरहे। कोहि नचिनेको मान्छे उफ्रिरहेको होस् र एउटा खेलाडिको नपुग होस्; म लुत्त छिरिहाल्ने। म असिम असांस्क्रितिक् बिकास भएँ, खेलको मामलामा। अझ यो त जिवनमा पहिलो अवसर थियो, त्यो इस्तरको प्रतियोगितामा भाग लिन पाउने। सहर्स स्विकारे - "भै हाल्छ नि, तिमिले भनेपछि।"

मलाइ थाहा छ, म कुनै उच्च क्षमताको खेलाडि हैन - खेल जुन सुकै होस्। सिक्यो, अलेलि आउँछ, तेसैमा फुर्कियो। बस। सायद लाटो देशको गाँडो तन्नेरि बनिरहें, सधै भरि। खेल्न उत्पाद इच्छा हुनु मात्रै खेलमा उत्क्रिस्ठ दक्षता हुनु हैन। उत्क्रिस्ठ खेलाडि हुन जन्मदै केहि लिएर आउनु पर्छ। मैले जति लिएर आएको छु, त्यो मेरै कलेज भित्रका प्रतियोगिताहरुको लागि मात्र ठिक हो। यो अन्तर क्याम्पस प्रतियोगिताको लागि हैन। अफसोस, हामीमा अलिकता फरियावाद जहापनि चलि हाल्छ। तेसैले म जत्तिकै; वा हुन सक्छ म भन्दा उच्च गुणस्तरका; कति अरु खेलाडिहरु छाडेर संगमले मेरो नाम लियो होला। तर म अझै यो मानेमा इस्पस्ट छैन कि कुन प्रक्रितिको फरियावादमा संगमले मलाई नातेदार ठानिरहेछ। म साधारण Voter बाहेक केहि हैन, उस्को खेमाको। के तेहि पर्याप्त थियो? जसरि सुकै होस्, कसैले मलाइ नातेदार संझेर गुण लगाउछ भने केलाई त्यो कस्तो नाता हो भनेर खोतल्ने जरुरि? म कुनै अलौकिक प्रणि हैन। मानविव स्वार्थलाई म किन अंगिकार नगरौं? हो तेसैले, अरु राम्रा खेलाडि छुटेका हुन् कि नहुन, म बोलाइएँ। तेहि महत्वपुर्ण हो। तेहि सम्पुर्ण हो।

दिनहरु बित्दै थिए। निर्धारित मितिको एक साता जति अघि दल बिर राइले पुन: अन्तिम निधो गर्न खोज्यो - "पोखरा जाने हैन त?" दल बिर टोलिको प्रमुख खेलाडि। मेरुदन्ड भनौ न। पहिलो सर्टर, हाम्रो भलिबल टिमको। तर मेरो परिस्थिति अलिकता प्रतिकुल बन्दै थियो। सहरभरि बिरामिको ताति लागिरहेको थियो। बुबा, दिदि, भाउजु सबै बिरामि। भ्याइ नभ्याइ थियो हामी भचेका दाजु भाइलाई। तैपनि मेरो खेल र त्यो प्रायोजित यात्रा दुबै प्रतिको आकर्षणले घच्घच्याइ रह्यो र लोभि आकांक्षाहरुलाइ मिच्न सकिन। हुन्छ भनिदिएं। टोलि बन्यो - "दल बिर राइ, सुर् न ताल्, दर्पण कार्की, प्रेरित उपध्याय, संगम बस्याल्, लवण सिलवाल, सुमन राम घिमिरे, सम्पुर्ण क्षेत्रि र अरु १-२"। मेरो फोटो लगियो। मेरो नामको जर्सी बन्यो। र म त्यो अन्तिम बिन्दुमा पुगें - जहाँवाट मलाइ यो भ्रमण परित्याग गर्न अधिक असहज थियो।

माघ २२-२५ को प्रतियोगिता कार्यक्रम हुनुपर्छ। प्रेरित उपध्यायको assessment पर्यो रे, २२ मा। हाम्रो खेलहरु २३ देखि मात्रै राख्न आग्रह गरियो। २२ को सांझतिर बाटो लाग्ने सहमति भयो। म तेहि मनस्थितिमा २१ गते बुबालाइ भेट्न तिन्कुने गएं। बुबालाइ कफले अझ च्यापेको रहेछ। होस्टेल फर्कने कुरा भएन त्यो दिन। मन अझै अन्योलमा पर्यो, "बुबालाइ कस्तो हुने हो, पोखरा जानेकि नजाने!" बिहान सम्ममा बुबालाइ अलिक् बिसेक् भयो। होस्टेलमा के पुगेको थियें - "काहा हराएको, हामि त दिउसै जान लागेको" भन्छ दल बिर। Assessment हुने भोलि आउछन् रे, अरु आजै। Assessment त मेरो नि थियो, तर हाप्ने बाहाना मिलिराछ। यस्तो मौका थोरै आउछ, उपयोग गर्नै पर्यो। त्यो उपयोग सदुपयोग हो कि दुरुपयोग त पछि नै थहा होला, अहिले जाँच छल्न पाए पुगि गो नि। सायद वर्तमान सबैभन्दा प्यारो हुने रहेछ। परिक्षा फारम पनि भर्नु थियो, यता उति गरेर ३१०० भेला पारें र गोर्कि भनिने गोबिन्द कार्किलाइ जिम्मा लगाएर १२ बजे क्यम्पस गेट पुगें। हो यहाँ बाट सुरु भयो मेरो प्रायोजित पोखरा यात्रा। खेलाडिको पदवि सहितको; सम्पन्न र संभ्रान्त यात्रा।

हामी ८ जना, त्यो group मा। २ वटा Taxi हरु जावलाखेल हुदै चक्रपथ निस्किए र कलंकितिर हुइकिए। मलाइ अव पैसा कति पर्ला वा यो सस्तो त्यो महंगो संग सरोकार छैन। भ्रमणका नाइकेहरु पनि अरुनै छन्, आफु त ठ्याक्क Taxi आइपुगे पछि चडे पुग्यो। मलाइ चिसो चाहियो वा तातो भन्दे पुग्यो, त्यो तुरुन्त आइपुग्ने। उफ्। मोज् नै होला यो। सायद् अर्काको बाउको श्राध्य हो कि। २ बजेतिर एउटा मिनि बसले हामिलाई सर्लक्क निल्यो - कलंकिमा; र चिप्लन थाल्यो - त्यो पस्चिमतिरका ससाना थुम्काहरु तर्फ। मुग्लिङ सम्मको वाटो उहि हो - धेरै पटक नापिएको। यो ११० KM सडक अर्को एकपटक नापिउन्जेल हामी रमाइला कुराहरुसंगै हाँसिरह्यौं। नौबिसेका पुरि तरकारिहरु, मलेखुका माछाहरु, र गोर्खाबाट झारिएका रसिला सुन्तलाहरुले मुख ब्यस्त बनिरह्यो। यो सडकमा म सायद् २० भन्दा बढि पटक ओहोरदोहोर गरिसकें हुंला। दिवा बस, रात्रि बस, बिहानिमा, सांझमा; सबै संभावित समयहरु। ढल्किंदो मध्यान्नको यो समय त्यो ओरालो झर्न उत्क्रिठ थियो। दक्षिण पस्चिम मुख फर्काएका पहाडहरुम घामको न्यानो पोतिएको छ। थानकोट तलका घुम्तिहरु, बेंसिका फाँटहरु, त्रिसुलिका बगरहरु र किनारै किनार लमतन्न सडकहरु - द्रिश्य मनमोहक छ, आकर्षक छ। कति सुलुत्त चिप्लिएछ समय। दायाँ बायाँ पसलहरु देखिए। मुग्लिङ् आइसकेछ। पाइन्टको खल्तिमा राखेको घडि निकालेँ। त्यो संधै पाइन्टमै हुन्थ्यो। किन चेन फेर्नलाइ खर्च गर्नु? समय हेर्न मिलि हाल्छ। ५ बजेको रहेछ। सांझको।

 

पोखरा: मेरो सुन्दर यात्रामा - ३ 

यो बिचमा तेस्रो बर्षको दर्पण कार्की संग नजिकको घुलमेल भयो। उ अनुहारमा अलेली कालो देखिन्छ, तर दिलको बहुत सफेद; शान्त, सौभ्र, गम्भिर तर सरल पनि, र एकदम सहयोगी। अरु त प्राय नजिकैबाट चिनेकाहरु नै थिए।

मेरो लंगडो घडीको सुइ घुमी नै रह्यो र हामीलाई पेटमा राखेर हाम्रो मिनिवस पनि उसरिनै दौडिरह्यो। नारायणी तरेर आँवु खैरेनी तिर हुंकिदै गर्दाको यो भु-बनावट तुलनात्मक हिसाबले नौलो छ। जम्मामा दुइपटक नापेको हुंला मुंग्लिङ पोखरा खन्ड। पहिलो रात्री बस थियो; कास्की नौडडा तिर लागेको, तरुनो र उत्साहित एउटा नयाँ overseer बोकेर। अर्को दिवा बस थियो, उत्साह जती उतै बेचेर फर्किरहेको बुढो Overseer लाई राजधानी धकेलिरहेको। गोर्खा तर्फ छुट्टिने दोवाटो नगिचै पुगेपछी बस रोकियो। चौकी जांच छरे। संकटकालको। वसवाट ओरालियो। बस हामीलाई छोडेर डेड दुई सय मिटर पर पुगेर रोकियो। अगाडिकाहरु हिंड्न थाले। म उनिहरुको पछि पछि लागें। जांच होला भन्यो - भएन। अव त होला भन्यो - भएन। आखिर बस सम्म पुगियो र चढियो। कसैले १ शब्द केही सोधेन। मैले कौतुहलता राखें "खै चेक?" अनि पो थाहा लाग्यो तेही पैदल यात्रा नै checking रहेछ। सैनिकहरुले ब्यक्तिको हिडाइवाट पत्ता लगाउंछन रे; कोही Military training लिएको सैनिक वा छापामार हो कि होइन भनेर। वाउ, रमाईलै भो। कोही भुस्तिग्रे ब्याराके आएर यो गर र उ गर यता फर्कि र उता फर्कि भन्दै लछार पछार नगरिकनै पनि सैनिक जाँच हुने रहेछ; त भैगो।

र पुन: हुंइकियो हाम्रो मिनिबस - गाउँनै गाउँ तर्फ। मलाइ यस्तै यात्राहरु सबैभन्दा रमाइला लाग्छन्। दायाँ बायाँ हल्का भिरालाहरुमा सुन्दर गाउँहरु, खेत र मकैवारिहरु, हरिया चौरहरु र बिचै बिचै चिप्लिएको चिल्लो सडक। कति सुन्दर थियो तनहुको त्यो पाटो। बस दमौलितर्फ दौडिरहेथ्यो र हाम्रा साथिहरु बसमा चुट्किलाहरु दौड्याइरहेथे। धेरैजसो so called non-veg joke हरु। मलाइ गारो यसर्थ हुन्छ यि यात्राहरुमा कि अधिकांस केटाहरु जो संग मेरो सहयात्रा रह्यो - उ drinks गर्छ र अस्लिलता जोडिएका joke हरु भन्छ। यस अर्थमा म जहिले पनि एक्लै पर्छु।

यहांनिर पनि केटाहरु अस्लिल जोकहरु सुरु गरिरहेछन्। सबैलाइ स्वतन्त्रता छ: आ-आफ्नो तवरको रमाइलो गर्न। मलाइ केहि आपत्ति हैन, कस्ले कस्तो जोकहरु भनिरहेछ संग। म प्रायस स्रोता हुं, सुनिदिन्छु। भैगो। तर आपत्ति यस मानेमा भै रहन्छ कि आफ्नो स्वतन्त्रताको प्रयोग सदैव नै अरुको स्वतन्त्रतामाथि दख्खल पुग्ने गरि उपयोग गर्छन्, यि मेरा सहयात्रिहरु। किन कहिल्यै यि तरुनाहरुको भिड यो ख्याल गर्दैन कि आफ्नो क्रियाकलापले अरुहरु कसरि पिल्सिरहेछन्। तेहि बसमा धेरै छोरिमान्छेहरु पनि यात्रा गरिरहेछन्; जहाँ यि मेरा उरन्ठेउले सहयात्रिहरु ठुलो ठुलो स्वरमा अस्लिल संवाद र चुट्किलाहरु गरिरहेछन्। कोहि दिदिबहिनिहरु दाजुभाइ संग होलान्, कोहि बा-आमा संग; उहिहरुलाइ कति उकुस्मुकुस बनिरहेको होला यो यात्रा, यो फोहोरि वातावरण। अफसोस, म मौन छु। किन केहि भन्न सकिरहेको छैन कसैलाई? सायद बहुमत उहिहरुकै थियो र मैले एक्लो ब्रिहस्पति बन्ने प्रयास गरिन।

र मेरा यि निरिहपनहरु सदैव बिझाइ रहन्छन्, यस्ता यात्रहरुमा। तर यो र यस्तै एक्लोपनाहरुलाई, यो पटक भने जहां जहां आवस्यकता पर्थ्यो; दर्पणले कार्कीले हटाइदिन्थ्यो। उ drinks गर्दैन - म संगै; उ चुरोट पिउदैन - म संगै; उ अस्लिल जोकहरु गर्दैन - म संगै; उ तरुनिहरुलाई छेड्छाड् गर्दैन - म संगै। सायद अरुहरुको नजरमा हामि असामयिक थियौं। वा हामिले समय र उमेर बिचको तालमेल बिर्सेका थियौं। तर हाम्रा आफ्नै सिद्धान्तहरु थिए, जिवन र जगत प्रतिका। र कम्तिमा म (किनकि दर्पण को बारेमा त म केहि भन्न सक्दिन) खुसि थिएं र छु, मेरा आफ्नै तौर तरिकाहरुमा। अफसोस्, मैले उस्लाइ सधै साथ दिन सकिन। म मेरिजतिर लाग्थें - प्रत्यक सांझहरुमा र उ बिछ्यौनातर्फ मोडिन्थ्यो मेरिजका खालहरु छाडेर।

"कता हराइ रहनु भएको सुर् न ताल् जि" दलबिरले आफ्नो मौलिकपन कायमै राख्यो। उ सुतिरहेकै मानेथें, कतिबेला ब्युझिएछ। य हो त म त हराएछु, स्म्रितिपटलमा। "हैन तेहि मोरो कठमान्डु घुमिरहन्छ नि, जता गएपनि।" सायद सत्य नै बोलेको हुंला। उस्ले पत्याएन र मैले आफैंले नसुनेको, नदेखेको र नसोचेको आक्रितितिर इंकित गर्यो, "हो कि झ्याल कुमारी तिर हराएको हो?"। के उत्तर दिने सोच्दैथें; उ पुन: तन्द्रा तिर फर्किसकेछ। कस्तो २८६ (Predecessor of Pentium Processors) जस्तो गिदि मेरो, जहिले पनि ढिला चल्ने? अनायस कुनै रोमान्चकताको बर्षा भएझैं। हैन को होलि त्यो झ्याल कुमारि? कोहि त पक्कै होलि, कहिं कतै। तर किन झ्याल कुमारिनै। के उस्को घरमा झ्याल नहुन सक्दैन? उफ्फ्। My stupidity।

राति ७ बजिसकेको रहेछ। डुम्रे पुगेको हुनुपर्छ। मलाइ पहिलो पोखरा भ्रमणबाट फर्किँदाको दिवा बस यात्रा संझना भैरहेछ। पोखराबाट निस्किने बेलामा देखिएको सेतिको गल्छि, नागबेलि सडकको वारि पारि पोक्चा पोक्चि थुम्काहरु, हरिया झाडिहरु; कति रमाइलो द्रिश्य थियो, लेखनाथ नगरपालिका र डुम्रे बिचको। आज त संसार पुरै अंध्यारो छ। क्षितिजका पहाडहरु पनि देखिन छाडिसके। मलाइ त्यो मनमोहकता मिस् भइरहेछ। म सांघुरिएको छु, सानो टुक्रो संसारमा, यहि मिनिबस। कता कता आँखा लोलाएझै भएका रहेछन्। एक्कसि चर्को स्वर गुन्जिएको छ, बहिर। "धोकेवाजहरुलाइ मर्न पनि पर्दैन कि कसो। यिनिहरुले त नर्कमा पनि ठाउ नपाउलान्। ...." के भेछ कुन्नि? कस्ले कस्लाइ कसरि धोका दियो त? कराउने मान्छे अधबैसे अधबैसे सुनिन्छ। हाम्रो पनि बस रोकिएको छ। झ्याल खोलें। एउटा ३५-४० को मान्छे, एउटि ७०-७५ कि बुढि आमै, एउटि ३०-३२ कि अधबैंसे आइमाइ, एउटि २०-२२ कि युवति, २ जना स-साना बालिकाहरु। तुरुन्त दिमागमा एउटा चित्र तयार भयो। धार्दिङ तिरका किसानहरुको एउटा परिवार पोखरातिर कोहि आफन्तलाइ भेट्न निस्केको हुंदोहो। बुढा बाउ खसिसकेका हुंदा हुन। जेठि बहिनिलाइ कोहि ट्रक ड्राइभरले उडाएको हुंदो हो। माइलो भाइ पोखरा तिर हवल्दार हुंदोहो। कान्छो भाइ घरमा बस्तु भाउ गर्न बसेको होला। बुढि आमा, धर्म पत्नि, कान्छि बहिनि र २ वटि छोरिहरु संगै माइलो भाइलाइ पनि भेट्ने र सहर पनि घुम्ने अभिलाशामा निस्केको हुंदोहो, त्यो अधबैंसे मान्छे। अफसोस्, मुंग्लिङमा चडेको उनिहरुको त्यो सरल परिवारलाई पोखरा पुर्याउन दौडिएको बसले डुम्रेमै अलपत्र छाडिदिएछ। सायद उनिहरुको बसमा त्यो परिवार बाहेक अरु कोहि बांकि भएनन् होला त्यहा आइपुग्दा र सोझा देखेर ड्राइभरले बस यहा बाट अगाडि जांदैन भन्दै ओरालेर थकाल्नीको भट्टि पसलतिर मोडियो होला।

हो यस्तै धोकाहरुबिच चिप्लन बाध्य छ यात्रा। बिस्वास नगरेपनि यात्रा चल्दैन। गरेपनि जहांतहिं आफ्ना स्वर्थका लागि सोच्नै नसकिने धोकाहरुले पिरोलिरहन्छ। म चाहन्छु कसैको बिस्वास नगरूँ, अबिस्वास पनि। तिमि जो हौ, तिमिलाइ पनि म बिस्वास नगर्न चाहन्छु। तर के यो संभभ होला? के आधा भन्दा भढि जिन्दगिको प्रस्तावित सहयात्रा बिस्वास बेगर संभव होला? जे होस्, म तिमि जो हौ, तिमिलाइ अविस्वास चाहिं पक्कै गर्न सक्दिन। विस्वासका बारेमा चाहिं उमेरले कुनै पाठ सिकाउदै जाला भन्ढानेको छु।

.............................

 
Last edited: 18-Jan-08 03:07 PM

 
The postings in this thread span 5 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-30-08 8:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la Suntale Ji, pokhara pani aaipugisakecha


 
Posted on 02-08-08 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पोखरा: मेरो सुन्दर यात्रामा

---------------------------

अफसोस् - माउतेहरुले तेहि बिहान होटेल छाडिदिए र म उनिहरुकै पछि लाग्न बिवस थिएं।

भोलिपल्ट सखारै PN क्याम्पस तिर लागियो। १०:३० मा पहिलो खेल थियो, ताहाचल क्याम्पस संग। एक्छिन practice गरियो। हामी राम्ररी finguring गर्न पनि नजान्नेहारु राष्ट्रिय स्तरका खेलाडिले भरिएको ससक्त प्रतिद्वन्दी संग पौंठेजोरी खेलिरहेछौं। लाजमर्दो छ हाम्रो स्थिती। तर चित्त बुझाहुने एउटा बाटो छ। वा आँफै संग माफि माग्ने एउटा संकिर्ण सोचाइ छ; हामी इन्जिनियरिंगका विद्यार्थी, पढ्न जान्दछौं, खेल्न जान्दैनौं। उफ्; कसैले तपाईं भनोस नभनोस आँफै मपाइं। कुरै न हो - हामीलाई खेलिरहन फुर्सद हुँदैन। अरुहरुले पनि IOE को भनेपछि शाहनुभुती दिन्छन, सम्मान त कुन्नी के लाई दिने हो र। शायद तेसैले पनि मलाई कुनै फिक्री छैन, हाम्रो प्रस्तुती कस्तो होला भनेर।

हामीहरु सबै underhand भल्थ्यौं। अरु कुनै पनि टोलिमा त्यस्तो खेलाडी देखिन्नथे जो underhand service गरुन्। केटीहरु पनि उफ्री उफ्री overhand rolling service गर्थे। second court बाटै पनि कस्सेर सट हान्ने केटीहरु देख्दा लाग्थ्यो हामी त उनिहरु संग पनि भिड्न सक्दैनौं। पहिलो खेल सुरु भयो। खेलको स्तरको कुनै कुरा गर्नु लज्जास्पद थियो, उनिहरुका धेरै त service पनि उठाउन सकेनौँ हामीले। मैले नै २-४ receive हरु बिगारें। कस्तो नमज्जा लाग्यो। चित्त बुझाउने प्रयास गरें - कहिलेइ practice छैन। फन फनि घुम्दै आउंछ भकुन्डो, कसरी उठोस् ठीक ठाउंमा? राइले पनि कुनै राम्रा प्रहार गर्न सकेन। अरु सबैको पनि ताल उस्तै थियो। दर्पण ले अलिकता इज्जत राख्यो। बस। तथापी TT को जस्तो गणना प्रणालिले सहयोग गर्‍यो र ११ नम्बर ल्याउन सफल भयौं। जित्ने त कुनै संभावना नै थिएन।

अर्को बिजोग को स्थिती थियो एउटा मात्रै अतिरिक्त खेलाडी र एउटा मात्रै सहयोगी। सम्पूर्ण पर हाम्रा लुगा कुरेर बस्थ्यो र प्रेरित हाम्रो पक्षमा हुटिंग गर्थे, बस। २-४ तस्बिरहरु खिचिए र हाम्रो पोखरा भ्रमणको उदेश्य पुरा हुँदै गयो। पहिलो खेल सकेर महेन्द्र पुल पुगियो। होटेल कैलाशमा २ वटा कोठाहरु निर्धारण गरिए। हिजोको भन्दा राम्रो थियो यो होटल। उसरिनै खाटहरु जोडीए र आ-आफ्ना स्थान रोजिए। भोकले पेलिरहेथ्यो। खाना अधिक मिठो लाग्यो। भोक र भोजन दुबै मिलेपछी यस्तै हुन्छ। युद्ध जित्ने आशा छैन, तै पनि भाग्नु भएन। पुन: रणभुमि फर्कीइयो। २-४ अरु हरुका खेलहरु हेरियो। मन कहिल्यै नभर्ने थिए प्रदर्शनहरु। सबै भन्दा उत्क्रिस्ठ प्रदर्सन एक्जना तराइतिरको खेलाडिको थियो; जर्सी नम्बर ९; रारा क्याम्पस; बिरगन्ज। मैले हेरुन्जेल उस्का कुनै पनि सटहरु खेर गएनन। एउटा देब्रे सट त प्रतिद्वन्दीको छातीमा ढल्नेगरी लागेथ्यो। यती चुस्त, तेज र स्पस्ठ प्रहार गर्त्यो उ कि हेर्दा हेर्दै सबै भिड उस्को फ्यान बन्यो। र पोखराको यो खेलकुद महोत्सब यसर्थ पनि महत्वपूर्ण लाग्यो कि सबै कोर्टहरुमा दर्सकहरु खचाखच थिए। यसरी हाजारौं दर्सक हरुले भलिबल हेरेको मैले कहिल्यै देखेको थिन।

३ बजेतिर हाम्रो अर्को खेल सुरु भयो। प्रतिद्वन्दी इन्जिनियरिङ्ग अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस। आफ्नै भाई कलेज जस्तो; आफ्नै मान्छेहरु संग खेलिरहेझैं। अफसोस, खेलको स्थिति हामीले सोचे भन्दा बिल्कुल भिन्न रह्यो। उनिहरु त ताहाचल क्याम्पसका भन्दा कडा निस्किए। खचाखच भरिएका भाई बहिनिहरुले हामीलाई जिस्क्याइ रहे। संगै सहानुभुती पनि पस्किरहे। हामीले हाम्रा जर्सीहरुमा नाम पनि लेखेका थियौं। उनिहरुलाई सजिलो भएछ जिस्क्याउन। "'सुर न ताल' दाई पछाडि फर्केर सर्भिस गर्नुस्न", झटारो हान्दै थिन एउटी नारी स्वर। धेरै तेस्ता नारी स्वरहरुले हाम्रो समर्थन पनि गरिरहे - खेलभरी; शायद सहानुभुतीको समर्थन। र अर्को कुरा के पनि अनुभभ भयो कि उनिहरु हाम्लाई आदर-सत्कार गर्छन्, उनिहरुका दाइहरु जस्तै। इन्जिनियरिङ्ग पढ्दाको यो दाजु भाईको साईनो र संगै आउने आत्मियता साच्चै अतुलनिय थियो, जीवनभर। म भन्दा अगाडिकाहरुलाई म जहिले पनि दाई वा दिदीको रुपमा सम्मान गरिरहन्छु, र म पछीकाहरुले तेही सत्कार दिइरहेको पांउछु, सदैब। PN क्याम्पस बाट बहिर गेटमा आइपुग्दा धेरै उनै भाई बहिनीहरु हामी संगै थिए। मेरो ब्यक्तिगत चिनजानको कोही थिएन त्यो क्याम्पसमा। उसै २-४ सामान्य चिनजानहरु भए। उनिहरुको बस न-आउन्जेल हामी पनि तेहीं भुलिरह्यौं। रमाइला कुराकानी संगै।

र यो दिनभरको PN क्याम्पस प्रांगणले एउटा पातलो आकृतिलाई नजिक्याइरह्यो। मनभरि। सबै रंगिचंगी पहिरनहरुको बिचमा यता उता गरिरहेको त्यो सेफद कुर्ता सलवार र गोरो गोलो अनुहारले दिनभर नै मेरा अंखा तानिरह्यो। म उन्कै पछि पछि त लागिन, तर जब जब उनी मेरो नजरको पारीधी भित्र हुन्थिन, अंखाहरु उन्को चेहरामा डुबुल्कि मारिरहन्थे। उनी भिन्न थिइन, पहिरनमा र नै मेरा नजरहरु अड्किएका हुनुपर्छ, उनिमा। तर जब नजर अड्किदै जान थाल्यो - तब त्यो साधा सेतो कुर्ता सलवारमा उनी खुलिरहेकी चन्द्रमा जस्तै उज्जेल्लिदै गइन। उनी तिनै भाई बहिनिहरुको भिड्मै थिइन। तर अरु धेरै जस्तो uniform मा थिए। उनी भिन्न। उनिहरु बस कुरिरहे। म नजर घुमाइरहें, उनी र उन्को ४ जनाको समुहतर्फ। हामी पनि उनिहरुको क्याम्पस घुम्न जान हिंडेका थियौं। उनी संग परिचय को कुनै मौका पर्ला कि भन्ने अर्को सुन्दर सपना पनि बुनिदै थियो। बिचैमा नाइकेहरुले भोलिमात्रै भाईबहिनीहरुको क्याम्पस जाने भनेर ट्याक्सी पक्डिए। सपना बुनिदा बुनिदै टुट्यो। उन्को हसिलो मुहार र त्यो सेफद कुर्ता सलवरको आकृतिलाई तेही छाडेर आफ्नो बाटो समाउन बिबस भए। ट्याक्सी हिड्दा धेरै केटा केटीहरुले हात हल्लाएर हामीलाई बिदा गरे। तर उन्का हातहरु उसै झुन्डिरहे। हाम्रो ट्याक्सी घुमेर उनीहरु छेउ हुँदै हुइकियो, उनी आफ्नै धुनमा लिन थिएन, हाम्रो प्रस्थानले उनमा कुनै अनुभुती छाडेन। म के नै गर्न सक्थेंर, सम्झनाको सानो फिलिङो ईतिहासतर्फ धकेल्न बाहेक। जीवन यस्तै हो, क्षणभरमा कोही जानी नजानी रंगिन सपनाहरु भरिदिन्छ र अनायसै सपना जस्तै बिलाएर जान्छ, पुन: कहिल्यै नझुल्किने गरी। 

Last edited: 08-Feb-08 02:15 PM

 
Posted on 02-08-08 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"धेरै केटा केटीहरुले हात हल्लाएर हामीलाई बिदा गरे। तर उन्का हातहरु उसै झुन्डिरहे। हाम्रो ट्याक्सी घुमेर उनीहरु छेउ हुँदै हुइकियो, उनी आफ्नै धुनमा लिन थिएन, हाम्रो प्रस्थानले उनमा कुनै अनुभुती छाडेन। म के नै गर्न सक्थेंर, सम्झनाको सानो फिलिङो ईतिहासतर्फ धकेल्न बाहेक। जीवन यस्तै हो, क्षणभरमा कोही जानी नजानी रंगिन सपनाहरु भरिदिन्छ र अनायसै सपना जस्तै बिलाएर जान्छ, पुन: कहिल्यै नझुल्किने गरी।  "

very descriptive and very emotive writing, as usual.  duitai kura tapaiko katha ma kati dherai milera bageko paaincha sarara...

. aba bus ta chaina k ali chaado gudaunus bhannu hai ,  tara katha ali chito chtio tasnuparyou surnatalji.


 
Posted on 02-08-08 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भन्दा अघिल्लो भाग पढेर प्रतिकृया लेखिदिनु भएकोमा भौते, नेप्चे, GP, दिपका र कान्छा लाई हार्दिक धन्यवाद। बिबिध कारणले यो धागोमा फर्कन यतिका समय लागेकोमा क्षमा चाहन्छु।

प्रेरणा, प्रेरणाको लागि धन्यवाद।  


 
Posted on 02-08-08 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिलो पटकमै पढियो पुरा! पिएन र पश्चिमान्चल क्याम्पसको पोखरा यात्राको पाचौँ पार्टले पहिले जस्तै यसपाली पनि पुलकित पार्यो! ! पृथ्वीनारायण क्याम्पसको प्राङ्गणमा प्रिय पहिरनमा पहिलो पटक प्रेममय प्रेमसुधाको पानस बाल्न सफल उनै अपरिचीत पारंगत शोडषीको प्यारो बिदाईले यो पितृको पत्थर प्राय:  पेटमा पनि प्रेमको प्यास पुलकित पार्यो! प्रेरणाले पहिलेको पोस्टमा पठाएको प्रेरणा जस्तै प्रेरणा, म यो पार्ट पढेर प्रेरित हुन पुगेकोले प्रेरणामाथि अझ प्रेरणा पोस्ट गरेर पठाउँदै छु! स्विकार्नुहोस पुन्तले.....आच्या...सुन्तलेज्यू!!


 
Posted on 02-08-08 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पितृ हरु कति पात्तेका पुर्णध्यान पर्मेश्वोरमा लगाएर प्राथनागर्नु पर्नेमा यो "प्रेम को प्यास पुलकित भयो "भनेर प्यार्प्यार कराउन किन परेको भन्ने पार्ट मैले पटक्कै नबुझेको कत्ति पढ्दा पनि ?


 
Posted on 02-08-08 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी इन्जिनियरिंगका विद्यार्थी, पढ्न जान्दछौं, खेल्न जान्दैनौं----लौ न हो र भन्या 

सुन्तले ज्यु, यो पाली त पोखरा घुम्ने भन्दा पनि बढी त खेलकुद महोत्सबको बारेमा रहिछ। हजुरको कथामा जहिले जिवन्त बर्नण पाउँछु र मलाइ तेहि नै हजुरको कथा को बिशेषता लाग्छ। अब अर्को भाग पनि छिट्टै लेख्नुस् है।

 माइला दाई बल्ल तल्ल प्रेरणा भन्न जान्नु भएछ, खुशी लाग्यो  अब देखी पेर्ना नभन्नुस् है मेरो प्रेरणालाई, तर के गर्नु झन्डै सुनतले ज्युलाई पुन्तले बनाइसक्नु भएको रहिछ

Last edited: 08-Feb-08 03:27 PM

 
Posted on 02-08-08 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले जी,

"हामी इन्जिनियरिंगका विद्यार्थी, पढ्न जान्दछौं, खेल्न जान्दैनौं।" - हो र भन्या? तपाईंलाई देखेर त्यस्तो त लाग्दैन त।

तपाईं ले शब्दहरु सँग खेल्ने लुकामारी सारै रमाइलो लाग्छ। हुन त अरु खेल को पनि तपाईं कुशल खेलाडी नै हो, तर शब्द को यो खेलमा चाइ तपाईं पारङगत हुनु हुन्छ। तपाईं को शब्द हरु पढेर घटनाहरु आँखाकै अगाडी नाचे जस्तो भान हुन्छ। बाकी भागहरु पनि चाडै पढ्न पाइयोस।


 
Posted on 02-16-08 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रेरणा, बिर्खे दाई, दिपिका र नेप्चे
तपाईंहरुको साथले नै यो यात्रा यहाँ सम्म तान्न सकेँ। धेरै धेरै आभारी छु।

मेरो लामो र पट्यार लाग्दो पोखरा यात्रामा साथ दिनु हुने सम्पूर्ण साझा बासिहरुप्रती हार्दिक आभार ब्यक्त गर्दै यो अन्तिमा भाग प्रस्तुत गरेको छु। भुल चुक लिने दिने। धन्यवाद। 

Last edited: 16-Feb-08 09:26 PM

 
Posted on 02-16-08 8:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तिम भाग

जीवन यस्तै हो, क्षणभरमा कोही जानी नजानी रंगिन सपनाहरु भरिदिन्छ र अनायसै सपना जस्तै बिलाएर जान्छ, पुन: कहिल्यै नझुल्किने गरी। 

होटल फर्किएपछि एकैछिन महेन्द्रपुलबाट तल भास्सिएकी सेतीलाई हेर्न गएथ्यौं। कसरी भास्सिएकी छिन सेती? तेती गहिराइमा। हेर्न पनि कहाली लागेर आउने। २-४ थप तस्बिरहरु खिचिए। यि यात्राहरुमा निक्कै समय यिनै तस्बिरहरु खिच्नमा पनि बित्छन। जीवन कहिलेई बर्तमान सम्पूर्णत: जिउन सक्दैन र भबिस्य तिर फर्कन्छ। किन तत्काल भन्दा तस्बिरमा उतारिएको अवास्तबिक भुत बढी रसिलो बन्ने होला?

त्यो रात खाना खानु अगाडि साथीहरुले २-४ बोतल सान्मिगेल र २-४ क्वाटर ब्याक पाइपर सकाए। दर्पण र म चिसो पेय पदार्थमा अल्मल्लिरह्यौं। खाना खानेबेला सम्ममा धेरैहरु लर्बराइसकेका थिए। बोली पनि र खुट्टा पनि। नसाले बातावरण पनि नसिलो बनाइदिदै गयो। होटलका सेविकाहरु जिस्काइए - कामुक पारामा। उनिहरु शायद विवस छन, जीवन गोरेटोलाई यिनै पिडादायक सांझहरुसंग साटिरहन। हाम्रो समुह पनि उहिहरुका लागि आप्ठ्यारा ग्राहक मध्यको एक भयो होला। तथापी हामी १-२ नशामा नभएकाहरु पनि भएकोले स्थिती अनियन्त्रित हुन पाएन। म घोत्लिन्छु, हाम्रा चेलीहरु कसरी पिल्सिरहेछन। देशमा र बिदेशमा पनि। आफ्नो अस्मिता, इच्छा र चाहनाहरुलाई बन्धी बनाएर। २ मुठ्ठी सासका लागि। आफ्नो मात्र पनि हैन, धेरै पारीवेसहरुमा, आफ्नो परिवारको लागि पनि। अझ बेचिएका र बिवसतावस कोठी पुगेका नारीहरुका पिडाहरु त संझदा पनि मन अमिलो भएर आउंछ।

भोलिपल्ट बिहानै पुन: पि एन क्याम्पस पुगियो। पश्चिमाञ्चल क्यम्पसका बहिनिहरुको पनि खेल रहेछ। राइ, म र दर्पण केटाहरुको खेल हेर्न तिर लाग्यौं। अरुहरु सबै केटीहरुको तिर लागे। हिजो राती प्रेरित उपाध्याय र अरु २-३ जना पनि आइपुगेथे। प्रेरित एउटा हौवा character. उसको दिनचर्या नै केटीहरु जिस्क्याउनु हो भन्न मलाई कुनै अप्ठेरो पर्दैन। उनिहरु निर्देसित आँखाहरु लिएर केटीहरुका भिडभाडामा बिलाए। बहिनिहरुको खेल कस्तो रहेछ त भन्ने उत्सुकताले हामीलाई पनि त्यता डोर्यायो, एकैछिन। मिनभवन क्याम्पससंग परेको रहेछ। हिजो हाम्रो जस्तै नाजुक स्थितिमा थिए उहिहरु। म हिजोको हिरो जर्सी नम्बर ९ को खेल हेर्न बहुतै लालायित थिएं। तर बहिनिहरुको खेल ९ बजेनै सकियो र साथीहरुले अर्को एक डेड घण्टा कुर्ने कुनै जाँगर देखाएनन। अनी हामी इन्जिनियरिङ्ग अध्ययन संस्थान, पश्चिमाञ्चल क्यम्पस घुम्न भनेर भाई बहिनिहरुका पछि लाग्यौं।

पोखरा उपत्याकाको उत्तर पश्चिम कुनामा हुनुपर्छ, बगरबाट २-३ KM हो कि, पहाडको फेदमा हल्का भिरालो। दुरुस्त दर्जनौं छात्रबासहरु, आकर्शक बस्तुकलामा सजिएका प्रशासनिक र सैक्षिक भवनहरु, भर्खर जवानी फक्रिरहेका तरुना तन्नेरी अनुहारहरु, यत्र तत्र रुखका छहारिहरु, सितल तापिरहेका विद्यार्थीहरु, रमाइला चिनजान र भलाकुसरिहरु, overseer पढिरहेका भाई बहिनिहरुका सद्भाव र सत्कारहरु; २ घण्टाको त्यो अती सुक्ष्म समय अती सुन्दर स्‍मृतिहरु उझेल्न सफल थियो। यधप्पी मन अझै कता कता हिजोको सफेद कुर्ता सलवारको खोजिमा छ। संका छ - मैले उन्लाई भेटेर पनि नचिनेको हुन सक्छु, कुनै अर्को पहिरनमा भेटिएकि भए। मैले कदाचित त्यस्तो सोचेको होइन, दिमागले। तथापी मन शायद त्यो उनको कुर्ता सलवारमा बढी आकर्शित थियो, र नै मुहार तुरुन्तै भुलिदिएं। जे होस्, जसरी होस, उनी मेरो सामु झुल्किनन त्यो दिन, र शायद जीवन पर्यन्त झुल्किने छैनन। वा झुल्किए पनि म उन्लाई चिन्ने छैन वा चिने पनि जुना भावनाको गहिराइमा त्यो दिन म थिएं, उप्रान्त पुगुंला - नपुगुंला।

खाना पछि हामी महेन्द्रगुफा पुग्यौं। उपत्यकाको उत्तर पश्चिम भित्तो हुनुपर्छ। बशौं देखी बयान सुनिएको ढाँड। बाटोको दाँयाँ बायाँ सुन्दर बगैचा। प्रेमालापमा मग्न जोडीहरु। उत्तिस घारिहरु, स-साना खोल्सा खाल्सी, चिस्यानहरु। र दाँयाँतिर ह्वात्त मुख उखारेको अजंघको सर्प जस्तो। महेन्द्रगुफा। मानिषले आधुनिकता पोतिदिएको, प्राकृतिकता कम। कन्क्रिटका सिँडिहरु, बिजुली को उज्वालो। ढाँडको माथि भित्ताहरुबाट रसाएका पानीका थोपाहरु तुप्प तुप्प झरिरहेका र भिराला सिँडिहरुलाई चिप्लो बनाइदिएका। १०-१५ मिटरजती तल झरे पछि गुफा को प्रमुख भाग पुगिने। मानौं त्यो बढेमानको अजिंगरको मुखबाट ओरालो झरेर अब हामी पेटसम्म पुगेका छौं। अफसोस। अलिकता मात्रै अगाडि पुगे पछि बाटो भत्किएको रहेछ। अगाडि न-बढ्ने सल्लाह दिइयो। कस्तो नमज्जा। आफुलाई अलिक परैसम्म पुग्न मन थियो, धर्तिमुनीको त्यो मनमोहकतामा म अघाउन पाइन। झन्डै तेती त म मेरो गाउंको चितुवा ढाँडमा पनि छिरेको हुँला। कुनै बिजुली बेगर, कुनै फलामे बार बेगर, राँको बालेर। मन अलिकता अत्रिप्त नै लिएर फर्किएं म र लागेँ नाइकेहरुको पछि-पछि।

फर्कंदा के आइ सिंह पुलबाट पुन सेतीलाई निहालेँ। उस्तै गरी बिकराल। सातो जाने गरी भास्सिएकी छिन्, महेन्द्र पुलमा जस्तै। पोखरा साच्चिकै प्राकृतिक छटाहरुकि धनी छिन। यिनी सेती नदी, त्यो महेन्द्र गुफा, त्यो चमेरे गुफा। तेहिँ तल शहर संगै जोडीएको फेवाताल र उसको आँगनमा उत्रिएको माछापुच्छ्रेको छायाँ। अलि तल पातले छांगो। पश्चिमतिरको त्यो सारांगकोट डाँडो र त्यहाँ बाट देखिने मनमोहक द्रिस्यहरु। पुर्वतिर थोरै पर बेगनास ताल। बिन्देवासिनी र ताल बाराहीका आशिर्वादहरु। र नै पोखरा पोखार बनेकि छिन्।

हामी आज रातिको बसबाट फर्कने सुरमा छौं। मलाई कम्तिमा फेवामा डुंगा खियाउन र डेभिस फलमा पुगेर उनी डेभिस प्रती श्रद्धान्जली दर्साउने मन छ। अर्को ट्याक्सी लिएर हामी शहरको दक्षिण पश्चिम किनरातर्फ हुइकियौं। फेवाको किनारै किनार। सुन्दर, सफा, हरियो। Lake Side रमाइलो थियो। पर्यटकहरुको आकर्शण। दुई समुहमा बाडियौं हामी। अनुभविहरुले डुंगा मात्रै भाडामा लिए र बाटो लागे। म आला काँचाको समुहमा परें। हामीले डुंगा र माझिदाइ पनि संगै लियौं। यधप्पी, हाम्रा रहरहरुले हामीलाई पेलिरहे र माझिदाइ सिर्फ गुरु बने हाम्रा। दाबिलो कता जसरी राख्ने र कसरी पानी फाल्ने जस्ता बिधिहरु सिकाइरहे। कुनै बेला नाउ असन्तुलित हुन्थ्यो र पानीको सतह सम्म पुग्दथ्यो। मन झसंग पर्दै गर्दा म धिकार्थें - मेरो पौडी नजान्नुको वास्तविकतालाइ। किन सबै ऐरे गैरे ले सिकिरहदा म लम्फु हाडी र मसाने दहहरुमा दुबुल्की मार्न सकिन? शायद म अलिक सानो थिएं होला र अलिक ठुलाहरुले बस्तु धान चोर्न पुग्लान कि भनेर मलाई कुरुवा राखिराखे हुन, आफुहरु बाकटे हानिरहंदा। किन म कहिल्यै अगुवा बनिन, वा बन्न सकिन वा चाहिन? केटा केटीमा पछुवा बन्नुको पिडा आज फेवाको बिचमा भोगिरहेछु। तैपनी म किन अझै नाइके बन्ने प्रयास वा चाहना गर्न सक्दिन? यही भ्रमणमा पनि त माउतेहरुको रहरमा मैले आफ्ना रहरहरु बिर्सनु परिरहेछ। किन म आँफैँ माउते बन्न सक्दिन? शायद म मा त्यो खुबी वा त्यो भगवानले नै दिएर पठाउने सामर्थ्या छैन कि म समुहहरुमा नाइके बन्न सकुं, बक्ता बन्न सकुं। म सदैब पछुवा र स्रोता रहें र रहिरेछु।

माझिदाइ थिए र एउटा आँट थियो। अरु छेउछाउका डुँगाहरुलाई हेर्छु। केटाकेटिहरु, बुढाबुढीहरु, सबै थरी मानिषहरु निस्फिक्री रमाइ रहेछन। म निर्भिक बन्दै गएं। किन डराउनु, आखिर दुर्घटनामै मर्न लेखेको भए त्यो जहाँ पनि पर्न सक्छ-गाडीमा, रेलमा, प्लेनमा, घरमा, आँगनमा। जहिंतहिं। मेरै मामा भर्यांगबाट लढेर ठहरै भएथे। मेरै फुपुकी सासु भात अड्केर बितिथिन। मेरो मिल्ने साथी तेही जडिबुटिको ओरालोमा साइकलबाट लडेर बितेथ्यो। म उड्न सक्दिन, त के म हवाइ जहाज नचड्ने। अनी सबै डरहरुलाई पाइताला मुनी घुसारेर म दाबिलो चलाइरहें। पहिले पहिले घुमाउन अलिक अप्ठेरो हुन्थ्यो। बिस्तारै जता चाह्यो उतै लान सक्ने भयौँ हामी। ताल बाराही पुगेर आशिर्वाद लियौं र पुन डुंगा खियाउने खेलमा फर्कियौं। कहिले पारी किनरा छुने रहर, कहिले युगल जोडीहरुको पिछा, कहिले साथीहरुको नाउमा ठोक्याउने खेल। आदी-इत्यादी।

माझी दाई पोखरा फेवातालको
लाउँ माया साचैको नलाउँ हो ख्याल ख्यालैको।

मन त भरेको थिएन, पानी संग खेल्ने। तर समयले नेटो कट्नै लागिसक्यो। फेवा संगको २-३ घण्टाको सुमधुर पिरती पछि हामी ५०० रुपैयाँ माझिदाइ लाई बुझाएर बाटो लाग्यौं। माझिदाइ, हामी तपाईंको सद्भाव र अतिथी सत्कार प्रती सदैव ऋणी हुनेछौं।

र पोखरा बिमानस्थल हुँदै हामी थोरै बेरलाई डेभिस फल र गुप्तेस्वर फुफा पुगथ्यौं। शहरको सुदुर दक्षिण किनरा होला त्यो। फेवाको पानी त्यो डेभिस फल हुंदै बहिर निस्केको हुनुपर्छ। सेतो छंग छंग छहरो। तल अनकन्टारतर्फ हुर्रिएको। अफसोस हामीलाई त्यो अतुलनिय प्राकृतिक छटा प्रती मितेरी गांस्न धेरै समय उपलब्ध भएन। पारी गुम्बा माथिको डाँडाबाट सुर्य ओझेल पेरिसकेथे। तेसैले हामी सिधा पोखरा बसपार्क तर्फ बताससियौं, मनमा अमिट याद र संझना बोकेर। अर्को एउटा मिनीबस हामीलाई बोकेरा सेती किनार तर्फ हुइकियो र मेरो सुन्दर पोखरा यात्रा सानो नोट बुकमा कैदी भयो। यो एउटा त्यस्तो यात्रा थियो, जहाँ म जीवनमा पहिलो र शायद अन्तिम पटका खेलाडीको रुपमा सम्मनित थिएं। अभुतपुर्व र अबिस्मराणिय अनुभुतीहरु जीवन पर्यन्त रही रहनेछन।

अस्तु।


 
Posted on 02-17-08 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कथा पढेर एउटा गीतको याद आयो जवनामा सुनेको :

माछापुछ्रे हिमालको सिर फेवा ताल रमेको
पश्चिमको याद मलाई पोखरा घुमेको
रुपा ताल बेग्नाश ताल्मा मनै रमेको
सेथी नधी।।। सेती नधी बगे जस्ताइ चोखो मन बुझौला
महेन्द्र गफअंा गयी सितल तपौल
बाराही माताजिको पूजा गरौला

माछापुछ्रे हिमालको सिर फेवा ताल रमेको
पस्छिम्को याद मलाई पोखरा घुमेको

कथा रमाइलो छ, रमाइलो भो पढेर। 


 
Posted on 02-17-08 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

suntale kya daami cha.
 
Posted on 02-17-08 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Surnatalji, असाध्यै रमाइलो गरि पोखरा को यात्रा गराउनु भयो हामि रिडर्स हरुलाइ, धन्यबाद! अरु पनि लेख्दै गर्नुस तपाइ को लेखन्सैलि एकदमै डिस्क्रिप्टिभ छ- खास गरि प्रक्रिति को बर्णन गराइ। पढ्दा यस्तो लाग्छ, मानौ, त्यो फेवा को पानि छहरा बनेर आफ्नै अगाडि छङछङ खस्दैछ र हावा ले उढाएर ल्याएका साना साना पानि का छिटाहरु ले आफैलाइ छोइरहेछन । please keep on sharing/writing your wonderful experiance, and make sajha a worthwhile place to visit  for literary thirst.


अनि, उता मेरो धागोमा छोडेको कमेन्ट को लागि यतै धन्यबाद टक्र्याए है, त्यो मरिसकेको धागो लाइ ब्युताएर माथि ल्याउन मन नलागेर।  


 
Posted on 02-17-08 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले ब्रो दामी गयो है यो सन्स्मरण, सामान्य घटनालाई एसरी रमाइलो तरिकाले बयान गरेको मन पर्‍यो। ल अब फेरी अर्को लेख्न शुरु गर्नु पर्‍यो ब्रोदर

 
Posted on 02-18-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले ज्यु, यो पोखराको यात्रा हजुरको मात्रा नभएर हाम्रो पनि सुन्दर यात्रा हुन गयो। नपुगेको ठाउँ भए पनि हजुरको बर्णनले गर्दा आँफैनै त्यहा पुगेको भान भयो। बसमा नचढे पनि आँफैनै त्यो बसमा बसेको अनुभब गरियो। महेन्द्र गुफा नदेखेपनी आँफै नै त्यहा अगाडि उभिएर त्यो प्रकिर्तिक सुन्दरता को बयान गरिरहेछु झैँ लाग्यो। कन्क्रिटका सिँडिहरु र बिजुली को उज्वालो आँखामा झल झल नाच्न थाले र निस्कर्श चै मैले यो निकाले कि पोखरा चै जानै पर्ने ठाउँ रहेछ।

हजुरलाई धेरै धेरै धन्यवाद हामीलाई यस्तो सुन्दर यात्रामा साथ लग्नु भएको मा।

Last edited: 18-Feb-08 10:21 AM

 
Posted on 02-18-08 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन याद पनि कस्तो आएको भन्या, कति बोतल सान मिगेल र कति ब्यागपाइपर भनेर!

जे होस, यो यात्रा संस्मरणले मलाई पनि आफ्ना पुराना दिनहरु ताजा गराए! तपाइँले साँच्चिकै घुमेको जसरि बर्णन गर्नुभयो। पूर्वको यात्रा बिबरण जति रमाइलो थियो तपाइँको यो त्यतिनै मोहक लाग्यो! पछि अरु अरु पनि पढ्न पाउने आशामा छु। शुभकामना छ!


 
Posted on 02-18-08 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले ज्यु, लेखाइ त सदा झै उत्कृष्ट छ। तर  कता कता अली हतार हतार गरेर कथा सकाएको हो कि जस्तो भान भयो मलाई त?  धेरै भै सकेको थ्यो पोखरा न गको पनि, तपाईं को कथा पढेर फेरी एक चोटि पोखरा पुगेको भान भयो। नेपालमा पोखरा चाइ एक चोटी पुग्नै पर्ने ठाउँ हो। मौका मिले अरु रचना पढ्ने पनि मौका दिनुहोला।
 
Posted on 02-18-08 9:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्क बहादुर जि, गीत सुने सुने जस्तो लाग्छ, तर ठ्यक्क सम्झन सकिन। कुनै दिन दाई भाई भेट भ छ भने जमाउला नि त त्यो गीत पनि।
अनी मेरो धागो थोरै भ नि तानी दिनु भकोमा धन्यवाद।

uptown या नि ठुलि, तिम्रो दिल साच्ची ठुलो छ। सदैव यस्तै सुबेक्षा हरु पाउन सकौं।

PJ या नि प्रेरणा, दिपिका, NKC या नि नेप्च्चे र बिर्खे दाई,
 तपाईं हरुको बिशेष आशिर्वाद ले मात्रै यो यात्रा सस्मरण लम्याइरहन सक्ती मिल्यो। मलाई थाहा छ एस्ता सस्मरणहरु चट्ट मनमा भिज्ने कथा वा ट्वाक्क दिमागमा चडने कबिता वा गजल जस्तो आकर्श हुँदैनन, धेरै हरुलाई। फेरी मइले तेती धेरै न्याय गर्न पनि कहाँ सके र, यात्रा सस्मरण भनेर धेरै हद सम्मा ब्यक्तिगत अनुभुतिका खस्रा शब्दहरु मात्रै ओकली रहे। यधप्पी, यो धागोमा सुरु देखी अन्त सम्म साथ दिनु भयो, मेरो अहो भाग्य। सदैव आभारी रहने छु। र यो प्रयास खासमा मेरो आफ्नो कुरा पस्कनु मात्रा नभएर तपाईंहरु जस्ता चुस्त लेखकहरुलाई अरु प्रस्तुती पस्कन दवाब दिनु पनि हो, अन्यथा नलिनु होला।

Amajing या नि झिल्के भाई, 
आफ्नो त्यो सुन्दर Rose शाहीत को धागो तानी रहदा पनि फुर्सद मिलाएर यता आएर भलाकुसरी गरिदिनु भो, म खुशी भए। हौसलाको लागि धन्यवाद।

र सम्पूर्ण साझा बासिहरु, यो धागोमा खर्चिनु भएको समयको लागि हार्दिक अभार ब्यक्त गर्न चाहन्छु,

सुर न ताल   

 


 
Posted on 02-19-08 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

।।।

म एकाग्र झ्याल बहिर भुलिरहेछु। हेर्दा हेर्दै मेरो संसार निष्पठ्ठ अंधेरो बनिरहेछ। मानौ अव कहिल्यै घामका किरणहरु फर्किने छैनन्। तर त्यो सानो संसार - यात्रको एउटा फिलिंगो - एक टुक्रा जिन्दगि - त्यो मिनिबस भित्रको संसार; सायद अझै उज्यालो छ। यस्तो लाग्छ, पर्दा बाहिरको निपठ्ठतासंग यसको कुनै साइनो छैन। तर मलाइ किन किन त्यो पर्दा बहिरको अंध्यारोले खेदि रहेछ। यो भित्रको लर्खराउंदो प्रकाशको कुनै मतलव देख्दिन म। पर्दा बाहिरको एक बित्ता संसारलाइ पनि आफ्नो बनाउन नसक्ने यो सिमित प्रकाशको के अर्थ……

सबै आ-आफ्नो तालमा आ-आफ्नै जिन्दगिमा गुज्रिरहेका। कोहि गफगाफमा। कोहि अर्को सिटकि किसोरीका चेहराहरुमा। कोहि जिवन साथिका न्याना अंगालाहरुमा। कोहि नवप्रेमि का ढाडसहरुमा। कोहि प्यारि निद्रा देबिसंग

….गएका सुनौला ३ दिनहरु अव म संग छैनन्। गएका ३ दिनहरुका चलायमानताहरु म संग अव बाकि छैनन्। पुन: त्यस्तै अवसरहरु आउलान् न-आउलान्, तर यो एउटा याद बनेर जिवन इतिहास कोरिएको छ। म मेरो तेहि यात्रा बिवरण उतार्ने जमर्को गरिरहेको छु। आफ्नो इतिहास लेखिरहेछु। अरुहरुका लागि। सायद हामी जे लेख्छौं, आफ्नो अनुभव् अरुको भन्दा श्रेयस्कर छ भनेर प्रमाणित गर्ने जमर्को हो।…..

….धेरै पटक मरेर जिउन बाध्य छ यो जिन्दगी। कति सपनाहरु मरिरहन्छन्। कति इच्छा - आकंक्षाहरु मरिरहन्छन्। कति रहर अनि चाहानाहरु मरिरहन्छन्। कति आशा र अभिलाशाहरु मरिरहन्छन्। कति लक्ष तथा उदेश्यहरु मरिरहन्छन्। कति भवनाहरु, मनहरु र मुटुहरु मरिरहन्छन्। तै पनि तन प्रतिको लालशा बांच्न खोजिरहन्छ। सयौं आत्मसम्मानहरु, इमानहरु, नैतिकताहरु, अपनत्वहरु र आत्मिय साथहरुको मृत्‍यु सहंदै पनि यो शरिर बाँच्न चाहन्छ। बिवस। खै के को लोभ हो यो;…………………

…….यता उता गरिरहेको त्यो सेफद कुर्ता सलवार र गोरो गोलो अनुहारले दिनभर नै मेरा अंखा तानिरह्यो। म उन्कै पछि पछि त लागिन, तर जब जब उनी मेरो नजरको पारीधी भित्र हुन्थिन, अंखाहरु उन्को चेहरामा डुबुल्कि मारिरहन्थे। उनी भिन्न थिइन, पहिरनमा र नै मेरा नजरहरु अड्किएका हुनुपर्छ, उनिमा।….के नै गर्न सक्थेंर, सम्झनाको सानो फिलिङो ईतिहासतर्फ धकेल्न बाहेक। जीवन यस्तै हो, क्षणभरमा कोही जानी नजानी रंगिन सपनाहरु भरिदिन्छ र अनायसै सपना जस्तै बिलाएर जान्छ, पुन: कहिल्यै नझुल्किने गरी। ….”

दाई, सरुभक्तले कतै लेखैका छन् । घट्ना हरु सामान्य हुन्छन्  । तर सम्झनाहरु असामान्य । जब मसंग अब त लेख्ने बिषय छैन होला जस्तो लाग्छ तब तब मलाई हजुरका रचनाले प्रेरणा दिन्छन् । यस्तो पो लेखाई, यस्तो पो पोखाई । अनि फेरि लेखुं लेखुं जस्तो लाग्छ । निम्छरा मानेका बिषय, भोगाईलाई पनि मीठो आभाष र जीवनसंगको गहिरो बन्धनका साथ जोडेर, जसरि लेखाई बाट्नु हुन्छ । म संधै नतमस्तक हुन्छु । कुनै ठुलो लेखक पढेजस्तो । धन्यबाद दाई ।

अनि त्यो IOE को दाजु भाई, दिदि बहिनि को सम्बन्ध । उल्लेख गरिदिनु भएको मा धन्यबाद ।

लेख्न नछोडनुहोला ।


 
Posted on 02-19-08 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झापाली भाई,

सुन्दर शब्दहरुको लागि धेरै धेरै धन्यवाद। पुल्चोक र परीवेसको आत्मियताले सधैं पुलकित बनाउछ। साच्ची अशिम उच्च कोटिको समय थियो त्यो।

र भाईको ठेट नेपाली सब्दहरुको चयन साह्रै मन पर्छ मलाई। जस्तो एही पनि, 'निम्छरा' सब्द कती चिटिक्क मिलेको छ। अरु सयौं शब्दले व्याख्या गर्न नसक्ने परिस्थितीहरु यि ठेट शब्दहरुले कती सजिलै उझेली दिन्छन। 

धन्यवाद है त फेरी एक पटक।


 



PAGE: <<  1 2 3 4 5  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Travelling to Nepal - TPS AP- PASSPORT
Does the 180 day auto extension apply for TPS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters