भाग-१
तिम्रो आगमनले भनेको थियो माया बानी हो भनेर ।पटक पटक एकै अनुहार देखेपछी त्यहि अनुहार पहिला दिमाग अनि मनमा बस्छ भनेर ।म अहिले सम्झन्छु , तिमी सारै कम बोल्थ्यौ तर धेरै बोल्ने म पनि कम बोल्ने तिम्रा अघि कम बोल्ने देखिन्थे । मलाई तिम्रो बोलि सुनिरहु लाग्थ्यो ।त्यसैले जब जब तिमी बोल्थ्यौ म सुनिरहन्थे । जब जब तिमी चुप हुन्थ्यौ म मौनता बिचमा तिम्रा शब्दहरु केलायीरहन्थे , निफनिरहन्थे बारम्बार , अनि त तिम्रा शब्दहरु साचा लाग्थे ,आफ्ना लाग्थे । अनि म सारान्श निकाल्थे त्यति धेरै काटेका पलको माया साच्चै नै बानि हो ।
मलाई याद छ राहुल जब जन्म्यो म अस्पताल आऊन सकिन त्यो दिन । बिराटनगर आउनु परेको थियो । कार्यालयको काम ,आर्थिक बर्षको अन्त्य र शाखा अधिक्रितको जिम्मेबारि शायद यी नै पर्खाल बने ।जब म हतार गरेर फर्के तिमी मेरो लागि स्विटर बुनेर बसिरहेकी थियौ । मैले सधै जस्तै तिम्रा आखा छोपे अनि तिमी सधै जस्तै मुस्कायौ अनि त्यहि हात तानेर तिमीले दिएको स्विटरले मलाई अझै न्यानो दिइरहेछ । शायद त्यो तिम्रो स्पर्शको ताप थियो जीवन भर नसेलाउने मलाई बानी परेको न्यानो ।
एक्लो छोरो सात क्लासमा एक दिन घर फर्केन । शायद जनआन्दोलनको बेला थ्यो त्यो । तिमी रोएर बाटो बाटो दगुरेकी थियौ । राति जब राहुल आयो घरमा उस्को अघि त म थिए तर पनि दगुर्दै तिम्रो काखमा बुर्कुसि मारेको थियो त्यसले ।शायद उसलाई पनि म जस्तै तिमीबाट छुट्टिन नसक्ने रोग लागेको थियो । जहा उसले मुन्टो लुकाउदा आशु परिवर्तन भएर मात्र हिक हिक रहन्थ्यो अनी तिम्रा शब्द सुन्ना साथ हिक हिक परिवर्तन भएर हासो । पक्कै पनि जादु हुनुपर्छ तिम्रो काखमा अथवा भनौ राहुल र मलाई तिम्रो काखको बानि लागेको थियो ।
एयरपोर्टमा तिमी र राहुल सारै रोएका थियौ ।म भने मर्द भयेर रुन सकिन । आशु त झरेको हो तर ट्वाईलेटमा गएर पुछेको थिये । राहुल को बिदाइ पछि तिमीले मेरो रुमाल माग्यौ अनी अन्गालो मार्यौ । तिमी मेरा आशु चिन्थ्यौ खुशि चिन्थ्यौ ।
क्रमश:
(भाग-२)
मलाई त्यो दिन झल्झलि याद आउछ जुन दिन राहुलले बाहिरैकी केटीलाई हाम्री बुहारी बनाएको खबरले म झोक्राएको थिए । साच्चै जीवन सोचे जति सजिलो छैन । नसोचेका कुराहरु बारम्बार भईरहनु नै जीवन हो जस्तो लाग्यो मलाई त्यतिखेर । राती तिमीलाई याद होला हामी धेरैबेर मौन रह्यौ । मैले राहुलको रिस सबै टिभीको रिमोटमा पोखे ।अनि धेरै बेरपछि मात्र तिम्रो काखमाँ सुस्ताएँ । तिमी भन्दा म चाडैँ नै टुक्रिन्थेँ जब जीवनले ठक्कर दिन्थ्यो , अनी निपुण तिमी मेरा टुक्रा टुक्रालाई जतन गरी गरी जोड्थ्यौ एउटा दरो म बनाउने प्रयासमाँ ।
भाग्य कठोर निस्केकै हो । उसलाई मेरो बानी पचेन ।तिमीलाई निको नहुने बिमार लागेको पनि मेरो कानले सुन्नु पर्यो ।जब जब तिमी विवश आँखाले मलाई हेर्थ्यौ , म तिम्रो आँखाबाट तिमी आफु जानुको भन्दा म एक्लो रहनुको पीर छछल्किएको पाउँथे । राहुलले एक चोटि उतै लगेर उपचार गरौँ भन्दा पनि तिमी मानिनौ ।तिमीलाई अन्तिम पटक ओढेको सेतो घुम्टो उठाएर हेर्नुको पिडा पोख्ने काख मैले भेटिन किनकि मलाई बानि परेको काख त मात्र तिम्रो थियो ।राहुल त्यतिखेर यहि थियो । उस्ले मलाई जाउँ नभनेको पनि होईन तर मलाई बिदेशी बुहारिको देशभन्दा आफ्नि प्रियेको गाउँ प्यारो लाग्यो ,चसक्क बिझ्ने भए पनि तिम्रो याद आफ्नो लाग्यो अनि तिमी पछी अँध्यारो कोठाको एकान्त आफ्नो लाग्यो ।मैले त्यहि नै रोजे ।राहुलले पनि आफ्नो कर्तब्य निभाउने बाटो निकाल्यो ।मेरो खाना र स्याहारसुसार रेश्माले गर्ने भई । रेश्मा तिमी चिन्छौ ,हाम्रो अफिसको घनश्याम काकाकी छोरी ।
सचिवको प्रबल दावेदार हुँदाहुँदै पनि मैले तिन वर्ष अघिनै जागिर छोडे । खोई किन हो मलाई खाएका नमस्कारहरु खोक्रा लाग्थे , भिड देख्दा पनि ति सबै समय समात्न एक्लाएक्लै ,छुट्टाछुट्टै दगुरिरहेको भान हुन्थ्यो । अनि म मेरो त्यो दौडको औचित्य देख्दिनथेँ । तिम्रो साथ एउटा लत बनेर बसेछ जीवनमा मलाई गारो पर्दैथ्यो त्यो छुटाउन । स्वीटर थियो तर तिम्रो स्पर्श हराएको थियो ,मेरा आँशुहरु थिये तर तिम्रो अँगालो हराएको थियो , म थिएँ ,,,,,,,,,,,,,,,,,खोई म थिएँ पनि के भनौँ तिमी हराएकी थियौ ।
क्रमश:
(भाग-३)
धेरै कुरा भुल्ने हुँदै गएको थिएँ । कहिले डायबिटिजको दबाई खान ,कहिले मर्निङ वाकमाँ जाँदा मफलर ओढ्न तर शायद यस्तो मलाई भगवानले तिमीलाई बिर्सोस भनेर बनाएको थियो , म त्यसमा अटेर गरीरहन्थेँ । एक दिन मैले बेडरुम लक गर्न बिर्सेँ ।त्यसको सरसफाई भने म आफैँ गर्थेँ । रेश्मालाई मैले मेरो एकान्तमाँ प्रवेश गर्ने मौका दिएको थिइन । म कोठा फर्किदा रेश्मा मेरो कोठाभित्र थिई । मैले धेरै पछि होला कसैलाई गाली गरेको ! वा पहिलो चोटि , तिमी त मेरो स्वभाव चिन्छौ ।उसले आँशुले टिलपिल भरिएको आँखाले मलाई हेरी अनी टेबलतिर फर्की ।भित्ताको मुस्काइरहेको तिम्रो तस्विर टेबलमाँ थियो ,हिजो मैले धेरै बेर हेरेपछि भोलि पुछ्नु पर्ला भन्ने सोचेको थिएँ ,बिर्सेछु ।ढोकाबाटै मैलो देखेर मात्र भित्र छिरेकी रहिछ ।पछि सोध्दा मात्र थाहा लाग्यो । तिमी मेरो बेवकुफि प्रति तस्वीर भित्रैबाट मुस्कुराईरहेकी थियौ ।मैले सकी नसकी सरी भनेँ । उ चुपचाप किचनतिर लागी ।पछी चिया ल्याउँदै भनी "आन्टी सारै राम्री देखिनुहुन्छ त्यो फोटोमाँ ।"मैले चिया सुरुप्प पार्ने बित्तिकै पत्तो पायेँ चिया खल्लो थियो ।रेश्माले प्रेस्क्रिप्सन पनि हेर्न भ्याईसकीछे ।तिम्रो रोग रेश्मामाँ सरेछ ।त्यहि दिन म बगैचामाँ डुल्न गएँ , चार वर्ष अघि तिमीले रोपेको एउटा बोट शिशिरभरि खङरङ्ग थियो बसन्तको आगमनले थाहै नपाई हरियो पालुवा आएछ ।तिमी देख्ने भए सारै खुशी हुन्थयौ होला !
म र रेश्मा भयेर चार दराजको छान मारेर भए पनि त्यो तिमीले बुनेको स्वीटर खोजेरै छोड्यौँ । तिमीले सपनामाँ मलाई पहिले जस्तै देख्न चाहेको बतायौ ।भोलिपल्ट मैले त्यो कुरा रेश्मालाई सुनाउँदा उ मुसुक्क मुस्काई ,उ हत्तपत्त मुस्काउँदिन तर मुस्कान गहिरो हुन्छ । अनि हामी दुवै त्यो स्वीटरको खोजिमाँ लाग्यौँ ।त्यो स्वीटर सँगै रेश्माले तिम्रो कुर्तासुरुवाल पनि भेट्टाईछे ,लगाउँछु भनेर जिद्दि गरी मैले नाई भन्न सकिन ।धेरै पछी त्यो स्वीटरको न्यानोपन फर्केछ । तिमीले यो रात सपनि हो म बिपनिमा हुन्न मात्र भनेको भए ,म जाग्ने दुस्साहस गर्दिनथेँ ।
रेश्मामा तिम्रो कुर्ता तिमीमाँ जस्तै सुहाएको थियो । तिमी जस्तै सालिनता ,कम बोल्ने अनि गहिरो मुस्कान शायद म एउटा लत छुटाउन अर्को लतको शीकार हुँदै गईरहेको थिएँ । एकदिन मैले हिम्मत जुटाएर रेश्मालाई मसँग बिहे गर्छौ भनेर सोधेँ । रेश्मा त केहि बोलिन तर उस्का आँखाले ऊ प्रतिको सहानुभुति र ऊ आफु बेचिएको स्विकार्य नहुने बताईसकेको थियो । त्यो दिन देखि रेश्मा मेरो मा आउन छोडी ।मैले किन जान्ने साहस जुटाउन सकिन ।मेरो बिवशतामा अरुले स्वार्थ देखे । तर अरुलाई के थाहा त्यो तिम्रो छायाँ थियो जस्ले रेश्मालाई मेरो निम्ति असाधारण बनायो ।प्रिये तिमीले यो पत्र नपाएपनि लेख्दै छु ।