दिलबहादुर छत्याल, नेपालगन्ज, माघ २५ प्युठानको स्याउलेबान प्रहरी चौकीमा शुक्रबार राती एक सशस्त्र समूहले आक्रमण गर्दा एक जना प्रहरीको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्। आक्रमणकारीले प्रहरीको हातहतियार पनि लुटेर लगेका छन्। यो चौकी सदरमुकामदेखि १०/१२ घन्टाको पैदल दुरी छ। शुक्रबार राती १२ बजेतिर ५०/६०जनाको समूहमा आएको सशस्त्र समूहले रोल्पाको सिमानासँग जोडिएको उक्त प्रहरी चौकीमा आक्रमण गरेको हो। मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक मदनबहादुर खड्काका अनुसार सशस्त्र समूहको आक्रमणबाट मृत्यु भएकामा प्युठान निवासी सुमन जीसी छन्। घाइतेको अवस्था सामान्य छ। चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १० जना प्रहरी कार्यरत थिए। बिहानसम्म सबै जना सम्पर्कमा आइसकेको प्रहरीले जानकारी दिएको छ। सशस्त्र समूहले ५ थान राइफल लुटेर लगेको प्रहरी नायव महानिरीक्षक खड्काले बताए। दाङ, रोल्पा र प्युठान सदरमुकामबाट थप प्रहरी बल घटनास्थलतर्फ पठाइसकिएको जानकारी उनले दिए। गएको प्रहरी टोलीले आक्रमणकारीको खोजी गर्नेछ। आक्रमणको जिम्मेवारी कसैले पनि लिइसकेको छैन। प्रहरीले भने माओवादीबाट असन्तुष्ट भई छुट्टिएको समूहले आक्रमण गरेको हुन सक्ने आशंका गरेको छ। प्रहरी टोली पुगिनसकेकाले विस्तृत जानकारी आउन बाँकी छ। |