सर्वसाधारणलाइ अचाक्ली दु:ख दिन थोपरेको माओबादी अनिश्चितकालिन हड्ताल - फुस्सा भयो । सोझासाझा "जनता" (ती सर्वसाधारण हैनन, "जनता" हुन है)को घोडा चढेर प्रधानमन्त्री बन्ने सपनाको बेलुनमा हिजो खुसुक्क गएर सुदले काँनेर प्वाल पार्देछन, प्रचण्ड महाराजको बोलि नै बन्द । आज एकाएक आन्दोलन स्थगित ।
हुन त यो आन्दोलन यतिकै सकिन्छ भनेर मलाइ अप्रिल २८-३० तिरै लाग्या थ्यो । १-२ साथिभाइ र घरपरिवारमा कुरा गर्या नि हो - यो आन्दोलन २-४ दिनभन्दा बढी जाँदैन भनेर भन्या नि हो । साझामा लेखुँ लेखुँ जस्तो लाग्या नि हो । फेरी यतिकै के के मा भुलियो, लेखिएन । किन छिटै सकिन्छ जस्तो लागेको भन्दा खेरी, त्यो चाहि माओबादीले अचाक्ली उठाएको चन्दा हो । चालामाला देखियो - तिनीहरु नि आखिर पैसाकै लागि त रैछन । नेपालमा अचेल १-२-३नम्बरी काम गरेर पैसा कमाउने सबै माओबादीको ओत लाग्दा रहेछन । इमान्दारहरु त्यैको पुराना कमरेडहरुनि धमाधम पाखा लाग्दै र'छन ।
तर के भएर हो कुन्नि यो ३-४ महिना चाहि पैसा उठ्न छोड्यो अरे । घरजग्गा - ठेका पट्टातिरको कमिशन नि आउन कम भयो होला, वाइस्याललाइ पहिला जस्तो टेर्न नि छोड्यो होला । लाख जना भन्दा बढी वाइस्याल र तिनका आश्रितलाइ पाल्नु पर्यो, नेताहरुलाइ पजेरो, बलेरो चढ्नु पर्यो, ५-तारे होटल फेरी फेरी चियाचमेना गर्नु पर्यो, पैसो छिटछिटो सक्कियो होला, अनि गर्नु परेन त चन्दा संकलन, गर्नु परेन त आन्दोलन ?
यसपाली २ अरब भन्दा बढी उठा'का छन अरे । स-साना पसलमा समेत, चामल पसल भए ५-किलो चामल, मासु पसलमा ५-किलो मासु, जहाँ जे छ उठाका र'छन । २-टा ३-टा खापा भ'को अलि ठुलो पसल देख्नासाथ ४०,००० चन्दा चाहियो भन्दा र'छन । डर त्रासका मारे चन्दा संकलन त ब्यापकै भएछ नि । पैसो उठेपछि अलिकति इज्जत बचा'र निहुरमुण्टी लाउनी होला जस्तो लाग्या चै हो है । हिसाब किताव अनुसार स-साना अल्मलाउनी आन्दोलन चै हुँदै गर्लान, तर चन्दा आन्दोलन अब ६-८ महिनालाइ हुँदैन, त्यसपछि फेरी शुरु होला, - यो चै मेरो अनुमान मात्तै हो है ।
मलाइ खसखस लाग्या कुरो चै के भन्देखुन - ५ लाख मान्छे सडकमा ६-दिन उतारेका अरे । ५-लाख अलि बढी होला, मानुँ ३-लाख नै थिए अरे । तिनका सुत्ने ठाम त कता कता मिलाका थिए क्यार तर खाने बस्ने टट्टी गर्ने त सडक किनारै हो । १-जनाले दिनको २ लिटर सु-सु र आधा-किलो टट्टी मात्रै गरे नि कति भो ? ३६ लाख लिटर सु-सु, ९-लाख किलो टट्टी, यो सबै सडकबाट सफा गर्न त्यै प्रचण्डेलाइ लगाउनु परो । तिनले खाएर फ्याँकेका खाना, कागजका टुक्राटाक्री, थुक, चुँडिएका त्यागिएका जुत्ता चप्पल, वाइवाइको खोल, प्लास्टीकको झोला, पातको थाली, खाना पकाउने बालेको दाउराको खरानी, अर्ध जलेको दाउराको टुक्राटाक्री, ओ हो ओ हो, यो सबै फोहर कति होला ? यस्ता फोहर सामान्यत टट्टीको ३ गुणा हुन्छ, याने कि २७ लाख किलो । ढुंगामुढा, झण्डाको डण्डा, कपडा, पर्चाको कागज, मञ्च बनाउन प्रयोग गरी फ्याँकेको सामान, आदिको हिसाब त अझै गरेकै छैन । यो हिसाबले हेर्दा अहिले सडक अत्यन्तै फोहर छ । यो फोहर कसले सफा गर्ने ?