जनता नै भेडा भएपछि कसको के लाग्छ र
By mysansar, on February 7th, 2011
-चन्द्र भण्डारी-
जनता नै भेडा भए पछि कसरि स्थिति सुध्रने ? यी भेडालाइ न त संविधान नै चाहिएको छ नत विधिको शासन नै । यीनलाइ त कल, छल, वल, आफ्नो काम पट्याउन पाए भयो । यी भेडाको झुण्ड चुनाव जिताएको भोली पल्टवाटै नेताको ढोका ढक्ढक्याउन पुग्छन र नियम मिचाएर जागिर लगाइदे, ठेक्का मिलाइदे, नयाँ नाम राखेर किर्ते पासपोर्ट वनाइदे, टेष्ट नै नदिइकन ड्राइभिङ लाइसेन्स मिलाइदे, मेरो भान्जालाई पुलिशको खोरबाट निकल्दे वा जेलवाट निकाल्दे, मलाई स्कूलको अध्यक्ष वनाइदे भन्दै नेताको घर घेर्न पुगिहान्छन् । यो काम गर्नु हुदैन अथवा यो काम म गर्न सक्दिन भनो भने औंला ठड्याएर तँलाइ अर्को चुनावमा देख्लास् भन्दै रिसाइहाल्छन् । उस्तै परे हाताहात नै गर्छन । नेताले वाध्य भएर जे पनि हुन्छ र गर्दिन्छु भन्नु पर्छ । यी भेडाले निम्त्याएको परिणामले देश अझै कति ओरालो तिर नै भासिने हो थाहा छैन । यीनले गरेका कुकाम त कति छन् कति छन् तर केहि कुकामहरु तल उल्लेख गरिएको छ ।
१. यी भेडालाइ सवै भन्दा नचाहिएको चिजै संविधान छ किनकी यस्ले जागीर दिदैन, ठेक्का मिलाउदैन, यस्ले वढुवा दिदैन, लोड सेडिंग घटाउदैन, यस्ले विदेश पठाउँदैन नत यस्ले मुल्य वृध्दिलाइनै घटाउँछ । यी भेडालाइ मजवुत कुलो भयो भने सवैका खेतमा पानीलाग्छ भन्ने कुरा कसरी वुझाउने । बिडम्बना चाहि के छ भने यिनले ६०१ को जम्वोलाइ तिनको जिम्मेदारी निभाउन जति ढिलो भए पनि हाँसी हाँसी पालेकाछन । यो जम्बोलाई हतार लगाउनु पर्छ भन्ने पनि भेडा लाई ज्ञान छैन ।
२ . यी भेडाले आफ्ना छोराछोरी, भान्जाभान्जी, नातागोता भन्दा अरुलाई मान्छे नै गन्दैनन् । उनलाइ चाँहि राम्रो गरिदिनु पर्यो, अरुलाई जे गरे पनि हुन्छ भन्ने ठान्छन् । यीनलाइ सामान्य नेपाली उखान तँलाइ खाने वाघले मलाइ पनि खान्छ को मर्म थाहा छैन । आखीर राम्रो वाटो वनायो भने त उनका मान्छेलाई पनि हुन्छ, अरुकालाई पनि हुन्छ, सवैलाइ हुन्छ नि । सवै भेडालाइ पानि चाहिएको छ तर सवैजना कुलो भत्काएर आफ्ना खेतमा पानी हाल्न खोज्छन् अनि कहाँवाट हुने ।
२. यी भेडाहरुलाई अरुको उन्नती सँगै आफ्नो पनि उन्नती जोडिएको हुन्छ भन्ने कुराको हेक्का छैन । त्यसैले अरुको प्रगतीमा जल्छन्, मर्छन्, तड्पिन्छन् र प्रगति गर्नेहरुलाइ झट्टीले हान्न थाल्छन् । अरुले दुख गरेर कमाएको सम्पत्ति खोस्न जान्छन् । यीनीहरु तोडफोड गर्न र वन्द हड्ताल गर्न सुरीएर लाग्छन् । यी भेडाले उध्योगपति, व्यापारी, उध्यमीहरुले धेरैलाइ रोजगारी दिएका हुन्छन् जस्वाट धेरैको गुजारा चलेको हुन्छ भन्ने कुरा बुझेका भए किन वारैमास कालीदास सैलीमा हड्ताल गर्थे, किन टायर वाल्थे, किन उद्योग व्यावसाय नै वन्द गर्ने खालका माग राख्थे । यी भेडा उध्योग वन्द हुँदा पनि गर्व गर्छन् । यीनलाई आफ्नो रोजगारी सकिएको भन्दा अरुलाइ दुख दिएकोमा मजा छ । अनि हाम्रो आर्थिक अवस्था कहिले सुध्रने ।
३. यी भेडालाइ आफ्नो व्यवहारले गर्दा आफुलाइनै दुख हुन्छ भन्ने थाहा भै दिएको भए सार्वजनिक ठाउँमा रहेका पानीका धारा भत्काउने, पानीका पाइप काट्ने, विजुली चोर्ने, स्कुलका झ्याल ढोका फोर्ने, पुस्तकालयका किताव चोर्ने, पाना च्यात्ने, जताततै फोहोर फाल्ने, थुक्ने, आफुले पुरागर्नुपर्ने सामान्य जीम्मेदारी पनि पुरा नगर्ने तर अरुले जिम्मेदारी पुरा नगरे मार्न पनि तयार हुन्थेनन् होला ।
४. यी भेडाहरु अनियमितताको पराकाष्टा नाघ्न पनि तयार हुन्छन् । यी किर्ते कागज वनाएर ३ ठाउँमा भोट हाल्छन् र गर्वका साथ् प्रजातन्त्रको हिमायती भएको देखाउँछन् । तीनवटा ठाउँवाट वृध्द भत्ता लिन्छन्, किर्ते गरेर नागरीकतामा नाम फेर्छन्, जन्ममिति फेर्छन्, घुस ख्वाएर जे पनि गराउँछन् । यीनले पासपोर्ट वेच्छन्, घुस ख्वाएर अर्कै नाममा नयाँ पासपोर्ट वनाउँछन्, अनि गीरीजा यस्तो, माधव नेपाल उस्तो, झलनाथ चोर भन्दै हिड्छन् ।
५. यी भेडा जनतालाई आफ्नो काम पट्याउन पाए भयो । यीनले लाइनमा लागेर पर्खिन जानैकै छैनन् । अरुको पालो सकेपछि आफ्नो पालो आउँछ भनेर वुझन अझैँ कति वटा शाषन व्यावस्था ल्याउनु पर्ने हो थाहा छैन । हुदा हुदा यीनले मन्दिरमा देउताको दर्षन गर्दा पनि लाइन मिचेर गर्छन । लाइनमा लाग्नु भनेको प्रजातन्त्रको पहिलो पाठ हो भन्ने कुरा थाहा भै दिएको भए यी भेडाले पाँच जनाको लाइनमा ठेलम्ठेल गरेर अङ्ग भङ्ग गर्ने थिएनन् । पुलीस भाइहरुले पनि यी भेडालाइ लाइन मात्र लाग्न सिकाइ दिएका भए प्रजातन्त्रको पर्खालमा एउटा इटा थपिन्थ्यो ।
७. यी भेडालाइ न्याय पनि तात्तातै चाहिन्छ । आफुलाइ रीष उठेको मान्छेलाइ तत्कालै पुलीसले २-४ थप्पड नहाने यीनले पुलीस चौकी घेरेर हैरान पार्छन् । वाटो छेक्छन् ,चौकि जलाउँछन्, मान्छे मार्छन, अनि यीनलाइ विधीको शाषन तिर कसरि लान सकिन्छ र ।
८. यी भेडालाइ घुस नख्वाइकन काम गराउँदा पक्का लाग्दैन र घुस ख्वाएरै छोड्छन् ।
९. यी भेडाले के ठान्छन् भने पढेका मान्छेले सवैथोक जानेको हुनुपर्छ । एउटै डाक्टरले सैयौं होइन हजारौं विराम चट्टै निको पार्नै पर्ने हुनु पर्छ । निको नपारे डाक्टरलाइ पिट्ने अस्पताल नर्सिंग होम भत्काउन थाली हाल्छन्।
१०. यी भेडा जनताले सवैकाम महत्वपुर्ण हुन्छ र सवैकामलाइ सम्मान गर्नु पर्छ भन्ने जानेका भए धेरैले मुग्लान पनि धाउनु पर्थेन । धनि मानि भेडा पनि छोरा छोरीलाइ उनीहरुको इच्छा विरद्ध डाक्टरै वनाउने वा इन्जिनीयरै वनाउने पाइलोटै वनाउने भनेर लाग्थेनन् होला । यीनलाइ सरिरका सवै अँगको महत्व भए जस्तै समाजिक आवस्यकताले जन्माएका सवै कामको महत्व हुन्छ भनेर कस्ले वुझाइदिने । यीनको यो सोचले गर्दा हाम्रामा कामको सम्मान छैन । यीनले अरु मान्छेलाई कि त तलका नै देख्ने र घटिया ब्यबहार गर्ने कित माथीका नै देख्ने र तेलले मालीस लगाउने गर्छन् । यीनले वरावरी त देख्दै देख्दैनन् र विडम्वना के छ भने प्रायजसो भेडा कम्युनिष्ट हुँ भन्छन आफुलाई ।
११. यी भेडा यति धेरै भेडा छन् कि यीनलाइ आफ्ना पार्टिका नेताले विषै पिलाए पनि तालि ठोक्छन् र अन्य पार्टिका नेताले जति राम्रो कुरा गरे वा मह नै पिलाएपनि थप्पड हान्छन् । यीनको अलिकति पनि विवेक भै दिएको भए समाजमा राम्रा चिजको कसरी अनिकाल हुन्थ्यो । यीनको दिमाग उल्टो कचौरा जस्तो छ त्यस्मा राम्रो कुरा ठ्याम्मै अटाउँदैन ।
१२. सरकार आफैमा निकम्मा भै सक्याछ तर यी भेडाले भने त्यही फुकीढल सरकारलाइ जे मा पनि अति धेरै विश्वास गर्छन् । मुल्य वृध्दि नियन्त्रण सरकारले, घुस नियन्त्रण सरकारले, स्कुलको पढाइ सरकारले, उखुको मुल्य सरकारले, कालो वजारी सरकारले, उपभोग्य वस्तुहरुको आपुर्ती सरकारले, जे पनि सरकारले । यी भेडालाइ जे पनि सरकारले गर्न सक्छ भन्ने लाग्छ । त्यसैले त छट्टु नेताहरले हामी यो गर्छौं त्यो गर्छौं भनेर खोलै नभएको ठाउँमा पुल हाल्छौं भन्दा पनि भेडिएर तिनै ठगहरुको पछि लाग्छन् अनी इमान्दार नेतालाइ पाखा लगाउँछन् । जीवनभर ठगीदा पनि अझैँ होस पस्तैन अनि कसरी हुन्छ प्रगति ?
१३. यी भेडालाइ संचार माध्यमले जे पस्किए पनि हुन्छ । यीनले श्रीखण्ड र खुर्पाको वीँड एउटै ठान्छन् । मेहनत नै नगरिएको पाँडे गालि र मेहनत लगाएर अनुसन्धानवाट तयार पारिएको चीजलाइ भेडाले उस्तै ठान्छन । यीनले संचार माध्यमको गुणस्तरलाइ वुझने भै दिएको भए तीनले त राम्रो मात्र पस्कन कर लाग्थ्यो । यी भेडालाइ जे हाल्देपनि भै हाल्यो अनि कस्ले मेहनत गर्ने वेकारमा । भेडाले काठमान्डू का समाचार मात्र समाचार ठान्छन । त्यसैले संचार माध्यमले पनि तिनको फुँदो सँधै काठमाडौँ र नेता तिरै फर्काएका हुन्छन ।
१४. संसार साघुरिएर एउटा गाउँ जस्तो भै सक्यो तर यी भेडाको संसार यति सिमित छ कि कति त भाइ बन्धु भन्दै वंसावलीका पछि लागेका छन् । कति चाँहि जातीय राज्य भन्दै उल्टो वाटो हिडेका छन् । कति तामाङ गेदुङ भन्छन्, कति याक्थुम चुम्लुङ भन्छन् , अनी कति पहाडे र मधिशे भनेर उफ्रंछन । यीनलाइ व्यष्टि र समष्टिको हेक्का त छैन छैन यीनलाइ समाज र आफु वीचको अन्तरसंवन्ध पनि थाहा छैन । यी भेडाहरूलाई खाली आफ्नो नाता-गोता, भाइ-वन्धु, आफ्नो जात-थर भए यीनलाइ केहि चाहिदैन । कति भेडा त युरोप अमेरीकाको डेमोक्रेशीको सोफामा वस्छन् तर नेपालमा चाँही इथियोपीयाको उदाहरण दिएर जातीय राज्यको झ्याली पिटाएको देख्दा दिक्क लागेर आउँछ । यी भेडा अलिकिती पनि जिम्मेवार भै दिए त कम से कम युरोप अमेरीकाको उदाहरण दिदा हुन् नी । जातीय राज्यको अनिकालमा कता कता इथियोपीयाले झन्डा उचालेछ, यीनलाइ उफ्रन पुगीहाल्यो ।
१५. यी भेडा जनताले आफुले सम्मान नपाएको र हेपिएको भनेर किचोला झीक्छन् तर यीनले अरुलाइ सम्मान गर्न जानेकै छैनन् । अरुवाट सम्मान पाउन पहिला आफुले अरुलाइ सम्मान गर्न सिक्नु पर्यो नि ।
१६. यी भेडाले नियम कानुनको पालनाको महत्व वुझेकै छैनन् । यीनले नीयम कानुन मिचेर काम गराउने नेतालाइ पुरस्कृत गर्छन् । चुनावमा जिताउँछन् । नियम कानुन मिच्न नसक्नेलाइ यीनले अँध्यारोमा राख्छन् वा पाखा लगाउछन । यीनले भनेको जस्तो भै दिने हो भने पढ्दै नपढेका यीनका मान्छेले राम्रा राम्रा जागीर खान पाउनु पर्ने, लोकसेवा आयोगले यीनका मान्छेलाई मात्र जागीर दिनुपर्ने, भँसार एयरपोर्ट पनि यिनकै मान्छेले भरिनु पर्ने, विना प्रतिश्पर्धानै ठेक्का पट्टा पाउनु पर्ने, अनि यीनका मान्छे नै उपभोक्ता समितिका अध्यक्ष, स्कुलका अध्यक्ष, वन समितिका अध्यक्ष हुनु पर्ने । यीनका मान्छेले अपराध गरे पनि तत्कालै छुट्नु पर्ने, अपराधको सजाय भोग्नु नपर्ने । यिनकै मान्छेले भ्रष्टाचार गर्न पनि पाउनु पर्ने, कामै नगरी पुरस्कार पाउनु पर्ने ।
१७. यी भेडा जनतालाई राम्रो-नराम्रो, थोरै- धेरै प्रगति-अधोगतीको पनि हेक्का हुदैन । यीनले भन्न जानेको के हो भने सवै जोगी कानै चीरेका । यीनले सवै वर्ग, जाती, समुह, क्षेत्र, लिंगलाइ एउटै हुन भन्ने सोच्छन् । एउटा झापालीले चोरयो भने सवै झापाली चोर हुन्छन् । एउटा मधिशीले ठग्दा सवै मधिशे ठग हुन्छन् । एउटा नेताले चोर्दा सवै नेता उस्तै देख्छन् । एउटा लिम्वुले जाँड खाएर हल्ला गर्यो भने लिम्वु जति सवै जँड्याहा हुन्छन् । अरु त के यीनलाई १६ घण्टाको लोडसेडिङलाइ घटेर दुइ घण्टामा झारे पनि यीनले सरकारलाइ गाली गर्न छोड्दैनन् । यीनले मेहनती मास्टरको मेहनत, मेहनती नेताको मेहनत, इमान्दार कर्मचारीको इमान्दारीता कहिलै देख्दैनन् अनि सवैलाइ एउटै देख्छन् । त्यसैले राम्रो गर्न खोज्ने मान्छे पनि यीनका नजरमा ठग र चोर सरहका ठहरिन्छन् ।
१८. यी भेडा समाजवाद र साम्यवादका भाषण सुन्दा सुन्दै झाडा-पखालाले मर्छन् । यीनलाइ साना साना कुराको सुधारवाट नै ठुला कुराको सुधार हुन्छ भन्ने ज्ञान छैन । यीनको आँगन झारले ढाक्छ, यीनका छोराछोरी पढाइमा फेल हुन्छन् , यीनका पशुमा नामले लाग्छ तर यीनी समाजवाद र साम्यवादका गीत गाउँन छोड्दैनन् । आमुल परिबर्तन भन्न छोड्दैनन ।
१९. यी भेडालाइ पैसा भन्दा ठुलो केहि लाग्दैन । यीनलाइ साहित्य, कला, संगित, दर्षन भन्दा कस्ले के खायो, के लायो, कस्ले के गर्यो भने चीयो चर्चा गर्दैमा वित्छ । नेतालाइ गाली गर्नमै वित्छ । अनि कसरि प्रगति हुन्छ ?
२०. यी भेडालाइ केहि नै थाहा नभए पनि यीनले नजानेको केहि नै छैन । जे का कुरा गरेपनि यीनले झन् जान्ने भएर गफ लगाइहाल्छन् । तर यीनको तरीका भने फरक छ । यीनको विचारमा डांडा र झापडले सवै कुरालाइ ठीक पार्छ । यहि सोचेर धेरै भेडा माओबादीको बन्दुकको पछी लागे । त्यसैले कतिले त नेपालमा फेरी अर्को जंगवहादुर आए हुन्थ्यो भन्ने ठानेका छन् । यीनलाइ वर्मा र उत्तर कोरीया देखाएपछि मात्र थाहा पाउँथे उनले खोजेको जंगवहादुरको परिणति । यीनले छलफल र वहसलाइ झगडा ठान्छन् । अनि मुर्दा शान्तिलाइ शान्ति ठान्छन् । त्यसैले कतिले त राणाकाल र पंचायत काललाई नै स्वर्ण युग ठान्छन । सान्ति सुरक्षा खच्किए पछी त अरु उपलब्धि हरु सुन्यमै जाने रहेछन । नत्र त बोहुदलीय व्यवस्थामा तुलनात्मक रुपमा प्रगति भएकै हो । सान्ति सुरक्ष्या पनि सुध्रन्थ्यो होला यदि सबै भेडाले आ-आफ्ना अपराधी भाइ , भतिज, भान्जाले अपराधको सजाय भोगुन भन्ने हो भने । अपराधि कसैलाई समात्न नै पाएको हुदैन अघिनै छुटाउने भेडाको जत्था तयार भएको हुन्छ अनि कसरि समाजमा सान्ति आउँछ ? यिनै भेडाहरुले गर्दा नै राजनैतिक कारण बाहेक नेपालमा कोहि पनि सक्तिमा रहेको मान्छेले अपराध गरे बापतमा जेल जानु परेको छैन, जतिसुकै जघन्य अपराध गरेपनि ।
यी भेडालाई कसरि मान्छे बनाउने होला?
मैले माथि गरेका गालि पढेर पनि तपाइलाई मसँग रिस उठेन भने म तपाई बुद्ध नै भएको मानौला । तपाईंलाई यो लेखले जति धेरै रिस उठाउन सक्यो त्यति नै यसले सार्बजनिक जीवनका क्षेत्रमा ब्यबहार परिवर्तन गर्न मद्दत गर्थ्यो कि । नेतालाई र सरकारलाई गालि गर्नु भन्दा पहिले हामी जनताले पनि यो बिग्रिएको स्थितिको अलि अलि जिम्मेवारी लिने हो कि । म पनि यिनै भेडाको बथानको एउटा भेडा हुँ तर कमि कमजोरीको जिम्मा हामीले पनि लिनु पर्छ भन्ने खालको भेडो हुँ । तर हामीले चाहेमा भेडा बाट मान्छे हुन सकिन्छ । मैले देखेका र भोगेका आधारमा भेडा वाट मान्छे हुने केहि सुझावहरु राख्न चाहन्छु ।
१. हामीले के बुझ्नु जरुरि छ भने हाम्रा व्यक्तिगत समस्या नै राष्ट्रिय समस्या हुन । जागिर लगाइदे भनेर नेताकामा धाउँदा तपाइंले तपाईं जस्ता जागिर खोज्ने धेरै छन् भन्ने बुझ्नु पर्छ । बेरोजगारी हाम्रो राष्ट्रिय समस्या हो । यो समस्यालाई एउटा नेताले एक दुइ जना मान्छेलाई प्रहरीमा र एकदुई लाई सेनामा राखेर टार्न सक्दैन । न त यसले ठिक ठाउंमा ठिक मान्छे लाई नै राख्न सक्छ । त्यसैले नेता संग तपाइलाई मात्र नियम मिचेर जागिर लगाई माग्नु भयो भने अहिले कै ताल भइ नै रहन्छ । एकदुई जना सक्तिसाली नेताले दुइ चार जनालाई जागिर लगाइदेलान तर राष्ट्रिय समस्या जस्ताको तस्तै रहन्छ । तर तपाइले यी व्यक्तिगत समस्याको नीतिगत उत्तर खोज्नु भयो भने यसले सबैलाई काम गर्छ । जस्तै तपाइले तपाइको जिल्लामा यति मान्छे बेरोजगार छन् । यति मान्छेलाई रोजगारी दिन तपाइले के गर्न सक्नु हुन्छ भनेर नेतालाई सोध्ने हो भने नेताले पनि यसलाई ठुलो गरि सोच्न सक्छन । यसै अनुसारको समाधान को पनि खोजि हुन सक्छ । जब हामीले व्यक्तिगत समस्या लाई राष्ट्रिय समस्याका रुपमा हेर्छौं तब यसको सहि समाधान तिर जान्छौं । तपाई एउटाले कतै घुस ख्वाएर काम गराउनु भएको छ भने घुस एउटा राष्ट्रिय समस्या रहेछ भन्ने बुझ्नु पर्छ । तपाइलाई सरुवा गराउनु छ भने कर्मचारीको सरुवा एउटा रास्ट्रिय समस्या रहेछ भन्ने बुझ्नु पर्छ । यसको समाधान पनि नीतिगत रुपमा खोज्यो भने यो समस्या सदाका लागि सकिन्छ । नत्र त काम कहिले पनि सकिदैन ।
२. म एउटाले गरेर केहि हुदैन भन्ने मान्यता हामी धेरै संग छ । तर सबै काम एउटाले गरेर नै हुन्छ । काठमान्डूको फोहोर मैला, धुलो धुवा सबै एकएक जना मिलेर धेरै भएको त हो नि । तपाइले आफ्नु जिम्मेवारी निभाउने, अर्काले अर्काको जिम्मेवारी निभाउंछ, यसरीनै सबैले आआफ्ना जिम्मेवारी निभाउने हो भने जुनसुकै समस्या समाधान नहुने कुरै छैन ।
३. हामि धेरै जसो अवस्थामा आफुलाई उपभोक्ताको हैसियत वाट मात्र हेर्छौं तर हामी उत्पादक पनि त हौं नि । हामि सुशासन खोज्ने उपभोक्ता मात्र हैनौ तर हामी सुशासन दिने उत्पादक पनि त हौं । तपाइले तपाइको काममा ठग्नु हुन्छ भने र सबैले त्यसै गरे भने हामि सबै ठगिएनौ त । एकजना सिक्षकले स्कुलमा नपढाई खाली सरकार लाई गाली मात्र गरेर हिडे भने कसरि हामीले गुणस्तरीय सिक्षाको आसा गर्ने ? आफुले राम्रो नदिने तर अरुबाट राम्रो खोज्ने भनेको आकास तिर फर्किएर थुकेर मलाई चाहिं त्यो थुकले नछोओस भने जस्तै हो । हामी जो जुन पेशामा छौं त्यहीं पेशामा नठगी काम गर्ने हो भने हामी सबैको काया पलट हुन धेरै समय लाग्दैन ।
४. नियम कानुन भनेको ट्राफीक नियम जस्तै हो । जति सुकै खत्तम भए पनि नियम कानुन पालना नगर्ने वित्तिकै दुर्घटना हुन्छ । त्यसैले कुनै पनि काम कानुन मिचाएर गर्नु वा गर्न लगाउनु हुदैन । कुनै पनि समाजका नियम कानुनहरु सतप्रतिसत ठिक र ब्यबहारिक हुन्छन भन्ने छैन । तर हामीले समाजमा दीगो सान्ति खोज्छौं भने हामीले नियम कानुनको मर्यादा गर्नै पर्छ । मेरो काम चाहि जसरि पनि गरि हालौं भनेर हामीले कानुन मिच्दा के बिर्सनु हुदैन भने मेरै जसरि अरुले पनि मिचे भने के हुन्छ । नियम कानुनलाई समय अनुसार परिमार्जन गर्नु पर्छ र त्यो सधै सान्तिपूर्ण बाटोबाट हुनु पर्छ । यदि कुनै नियम सान्धर्विक छैन भने शान्तिपुर्ण रुपमा त्यसको परिवर्तनकालागी लाग्नु पर्छ । हामि नियम कानुन मिच्छौँ र नेतालाई पनि मिच्न लगाउछौं । नियम मिच्न नसक्ने नेतालाई हामीले रुचाउदैनौं । जसले नियम कानुन मिच्न सक्छ, अनियमित तरिकाले काम गराउन सक्छ त्यस्तैलाई हामि राम्रो मान्छौं । हामीले कुलो भत्काएर आफ्ना मात्र खेतमा पानि लगाउन खोज्नु हुदैन । त्यसो गर्दा तपाईं एउटालाई फाइदा भए पनि सिङ्गो समाजलाई घाटा हुन्छ , अन्त्यमा तपाईं लाई नै घाटा हुन्छ ।
५. मेरा भान्जालाइ पुलिसले समात्यो भनेर पुलिसकामा भान्जा निकाल्न जानु हुदैन । अपाराध गरेको भए जो भए पनि अपराधको सजाय पाउनुपर्छ । यदि आफुले भान्जा उकास्ने हो भने अरुले पनि अरुका भान्जा उकास्छन् अनि अपराधि भनेको जस्का आफ्ना मान्छे छैनन् तिनै मात्र हुन्छन् । हाम्रोमा अपराध वढ्ने कारण के हो भने अपराधीले दण्ड जरिवाना तिर्नै पर्दैन तिनै आफ्नो मान्छेका कारणले ।
६. नेतालाइ गालि गर्न तत्काल वन्द गर्नु पर्छ । नेतालाई हामी जनताले नेता वनाएको हो । हामी जस्तो खोज्छौं हाम्रा नेताले त्यस्तै दिन्छन् । हामीले नै राम्रो नखोजे पछि नेताको के दोष भयो । राजनैतिक दलहरु प्रतिको हाम्रो घृणाले अन्ततोगत्वा कुनै पनि खालको निरंकुस शासन लाई ठाउँ दिन्छ ।
७. ” तैंले यति लेख्दैमा गोजीको त दिनु पर्दैन नी, लेख्दे न तेरो के जान्छ” भनेर जे पायो त्यही हामी कर्मचारी र नेतालाइ लेखाउँछौं । किर्ते कागज, किर्ते नागरिकता, किर्ते प्रमाण, किर्ते प्रमाणपत्र, किर्ते रिपोर्ट इत्यादि । घुस लिएर किर्ते गर्ने गिरोह जताततै छ । यो पनि आकास तिर फर्केर थुके जस्तै हो । यो किर्ते संस्कृतिले हामीलाइ सहिवाटो तिर लाग्न दिदैन । अनि समग्र समाज नै भ्रष्ट हुन्छ ।