बुद्धिबहुलाको रजाइँ
Friday, 08 July 2011 14:31 अभय
(0 votes, average 0 out of 5)
तत्कालीन राष्ट्रिय पञ्चायतका जनपक्षीय सदस्य रूपचन्द्र विष्टलाई राजाका दूत वीरेन्द्रकेशरी पोखरेललगायत एक दर्जन व्यक्तिले मन्त्री बन्न प्रस्ताव पठाएका थिए। प्रस्तावको खिल्ली उडाउँदै उनले भने, 'रापस (राष्ट्रिय पञ्चायत सदस्य) जनताले पठाएको प्रतिनिधि हो, मन्त्री राजाले बनाउने र व्यवस्था चलाउने ठेकेदार हो। म जनप्रतिनिधि, राजाको भाट हुन र व्यवस्था टिकाउन मन्त्री हुने कुरै छैन।' परिणामस्वरूप उनलाई जेल हालियो। राजा वीरेन्द्र प्रधानमन्त्री मरिचमान सिंहसित बारम्बार भन्थे रे, 'उनको कुरा विचारणीय छ।' जेलमा पनि प्रधानमन्त्री सिंहबाटै 'महाराजको इच्छाअनुसार रूपचन्द्रले रोजेकै मन्त्रालय वा सबै मन्त्रालय हेर्ने विनाविभागीय मन्त्री' बन्न प्रस्ताव आयो। जबाफमा उनले भने, 'जनप्रतिनिधि रूपचन्द्रलाई गरिबमारा, मुलुकमारा, बजेटमारा मन्त्रीको हुलमा सामेल हुने जनादेश छैन। श्रम गर्ने किसान, मजदुर, नारीस कमाइ खाने शोसक, सामन्त, पुँजीपति। यस्तो अपराधी व्यवस्था बदल्ने, अनिमात्र मन्त्री हुने।'
रूपचन्द्रको यो शैली गणतन्त्र नेपालमा किम्बदन्तीजस्तै लाग्छ। मन्त्री हुन २०१५ सालमै विश्वबन्धु थापाले कस्तो कृत्य गरेका थिए भन्ने बीपी कोइरालाले 'आत्मवृत्तान्त'मा उल्लेख गरेका छन्। मन्त्री पदकै लागि मधेसी जनअधिकार फोरम चार टुक्रा भइसक्यो। यही पदकै रडाकोले नेपाल सद्भावना पार्टीमा कैयन् चिरा परिसक्यो। क्रान्तिबाट आएको एनेकपा (माओवादी) मा समेत ११ मन्त्रीका लागि १ सय १० जनाको नाम प्रस्तावित भएको घटना ठूलै हास्यको विषय बन्यो। बारम्बार जनविद्रोहको चेतावनी दिने मोहन वैद्य समूह स्वयं मन्त्रिपरिषद्मा समावेशी प्रतिनिधित्व नभएको भनी अध्यक्ष प्रचण्डलाई हैरान पारिरहेका छन्।
रूपचन्द्रका सहयोगी तथा अधिवक्ता रामनारायण बिँडारीका अनुसार विकास, निर्माणबारे उनी जनतालाई भन्थे, 'तरकारीजति बजेट मन्त्रीले लिन्छन् र दरबारमा बुझाउँछन्। बेसारजति बजेट विकासमा लगाउँछन्। विकास सरकारले गर्ने हो, त्यो अपराधी र माफियाको कब्जामा छ। त्यसैले तिम्रा गाउँको विकास तिमी आफैँ गर र यो अपराधी व्यवस्था बदल्न सहयोग गर।' विष्टको विचार थियो, राजनीति बहुदलीय, प्रशासन निर्दलीय हुनुपर्छ। राजनीतिलाई निर्दल बनाउनै मिल्दैन किनभने विविध विचारबाट राजनीति चल्छ। प्रशासन दलीय हुनै हुँदैन किनभने यो देशको हो। दलका नेता, कार्यकर्ता नै प्रशासनिक अधिकारी भएपछि निष्पक्ष काम हुनै सक्दैन। जनताभन्दा उसलाई दलका कार्यकर्ता, आफन्त र स्वार्थ ठूलो हुन्छ।
विडम्बना, रूपचन्द्रले औँल्याएको खोट गणतन्त्रमा पनि उस्तै छ। अहिले व्यवस्था बहुदलीय गणतान्त्रिक छ तर राजनीति निर्दलीय। उनको एउटा नारै थियो, 'राम्रा जति हाम्रा।' सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द हुन् वा गिरिजाप्रसाद कोइराला, माधव नेपाल, झलनाथ खनाल वा पुष्पकमल दाहाल 'प्रचण्ड', सबैको राजनीति उस्तै छ। सबैजसोले देशको मन्त्री भएर दल र आफन्तको स्वार्थमा काम गरेका छन्। संवैधानिक परिषद् प्रमुख नियुक्तिमा अहिले दलहरुबीच खिचातानी छ। एनेकपा (माओवादी), नेपाली कांग्रेस र नेकपा (एमाले) तीनै दल आ-आफ्ना मान्छे राख्न जोरजुलुम गरिरहेका छन्। सबैको जोड 'राम्रो' होइन, 'हाम्रो' मान्छेमा छ। यसरी छानिएका 'हाम्रा' मान्छेले देश र जनतालाई दिने सेवा पनि 'हाम्रै' मा सीमित हुन्छ। नेता र मन्त्रीचाहिँ 'हाम्रा जति राम्रा' मानिरहेका छन्। मन्त्री आफ्नो स्वार्थ मिल्ने कर्मचारी रोज्छ। सम्पादक आफ्नो अन्धप्रशंसक पत्रकार रोज्छ। हाकिम आफ्नो दास कारिन्दा रोज्छ। परिणाम जनता 'राम्रा'को सेवा होइन, 'हाम्रा'को सास्ती भोग्न बाध्य हुन्छन्।
नयाँ मन्त्रिपरिषद् बन्नेबित्तिकै संस्थानहरुमा राजनीतिक नियुक्ति सुरु भइहाल्छ। पहिलेका अध्यक्ष वा महाप्रबन्धकका ठाउँमा नयाँ मन्त्रीको दलका व्यक्ति आउँछन्। प्रशासन पूरै त्यही दलको कब्जामा पुग्छ। त्यही दलका व्यक्तिले बढुवा खान्छन्, नियुक्ति पाउँछन्। यस्तोमा देश दलका कार्यकर्ता वा अवसरअनुसार दल बदल्ने चाटुकारहरुको कब्जामा पुग्छ। यस्तै व्यवस्थामा सम्पादकको कुर्सीमा बगरे पुग्ने र बगरेको काम गर्न सम्पादक बाध्य हुन्।
रूपचन्द्र अधिकांश मान्छेलाई 'तँ, भाते, कुकुर' भनेर दपेट्थे। सुन्दा अत्यन्त कटु लाग्ने यी सम्बोधन आममान्छेको मनोविज्ञानविरुद्ध थिए। आत्मसम्मानै नभएको मान्छेे पनि अरुले आफूलाई सम्मान गरोस् भन्ने चाहन्छ। बिँडारीका अनुसार विष्ट तर्कविहीन थिएनन्। उनी हातमा ठेला उठेका श्रमिक, किसान र मजदुरलाई 'तपाईँ' भन्थेँ। दुनियाँले 'जीहजुरी' गर्ने सरकारी अधिकारी, सामन्त र मालिक वर्गलाई 'तँ, भाते, कुकुर' भनेर हकार्थे। मानिसहरु सामान्यतया व्यक्तिको उपस्थितिमा 'तपाईँ' र अनुपस्थितिमा 'तँ' सम्बोधन गर्छन्। उपस्थितिमा होस् वा अनुपस्थितिमा, 'तँ' लायकलाई 'तँ' र 'तपाईँ' लायकलाई 'तपाईँ' भन्नुपर्छ भन्ने उनको ठाडो तर्क थियो।
'भाते' र 'कुकुर' सम्बोधनमाथि पनि उनको तर्क कम थिएन। भातेको अर्थ हो, परिश्रमबिना भात पचाउने। ब्रह्माण्डमा सबैभन्दा विवेकशील मानिएको मान्छे विवेक गुमाएपछि भाते हुन्छ। ऊ शक्तिको आडमा शोषण गर्छ, पशु-व्यवहार देखाउँछ। हावा, पानी, घाम, माटो, वर्षा प्रकृतिले दिएका सार्वजनिक उपहार हुन्। सार्वजनिक सम्पत्ति निःशुल्क उपयोग गरेपछि कामचाहिँ नितान्त व्यक्तिगत गर्नु हुँदैन, सार्वजनिक हितकै गर्नुपर्छ। घाम, पानी, हावा, माटोको तिरो तिर्न कम्तीमा दिनको पाँच मिनेट सत्य थाहा पाउन, पाँच मिनेट थाहा पाएको सत्य फैलाउन र अर्को पाँच मिनेट फैलाएको थाहा कार्यान्वयन गर्न सदुपयोग गर्नुपर्छ। बल्ल 'भाते'को कलंकबाट मुक्ति पाइन्छ। कुकुरको अर्थ हो, विवेक प्रयोग नगरी पक्ष, विपक्षमा लाग्ने। घुस दिने, आफूलाई फाइदा हुने काम गरिदिने, झुटो प्रशंसा र चाकरी गर्नेका पक्षमा सत्य र ठीकलाई मिचेर पनि लाग्नु कुकुर प्रवृत्ति हो। कसैका पक्षमा नलाग्ने, सत्य र ठीकका पक्षमा लाग्ने, त्यसैका लागि सक्रिय हुने हो भने बल्ल 'कुकुर' कलंकबाट मुक्ति पाइन्छ। बिँडारीका अनुसार यी मान्छे बिउँझाउन गरिएको थाहा अभियानका केही उपाय थिए। मान्छेको स्वभाव जस्तो छ, त्यस्तै सम्बोधन गर्न सानोतिनो हिम्मतले सकिन्न। यस्तो व्यवहार देखेर विरोधीहरु उनलाई 'बहुला' भन्थे। जबाफमा उनी भन्थे रे, 'मेरो नाम बहुला, तेरो बुद्धि बहुला!'
महत्वपूर्ण पदमा अवसरवादी चाटुकारको कब्जा हुनु, सही मानिस टिक्नै नसक्ने हुनु र संक्रमणकाल अनन्त हुनु देश बुद्धिबहुलाको कब्जामा परेको सबैभन्दा ठूलो प्रमाण हो। माफ गर्नुस्, सुन्दा कटु लागे पनि, हामी 'तँ', 'भाते', 'कुकुर' र 'बुद्धिबहुला' उपाधिका सर्वाधिक योग्य अधिकारी हौँ।
('थाहा' अभियानका सूत्रधार रूपचन्द्र विष्टको स्मृति अवसरमा)
source:http://www.nagariknews.com/opinions/98-opinion/28596-2011-07-08-08-47-24.html