यो पनि पढ्ने कि ?
'जर्नी टु यार्सा’ भर्सेस 'जर्नी टु सिंहदरबार’
'हे र्नुस्, सातु र छ्याङ मिसाएर यसरी पिउनुपर्छ ।'
'यसरी पिउँदा के हुन्छ ?'
'भोक लागेका बेला भोक मर्छ !'
...संवाद सुनेर दर्शक गलल्ल हाँस्छन् । परर ताली बज्छ ।
गफ हाँसउठ्दो छ तर मर्म रुवाउने खालको । दीपेन्द्र भण्डारीको डकुमेन्ट्री फिल्म 'जर्नी टु यार्सा' नेपालको हिमाली भेगको गरिबीको जीवन्त चित्र हो । हिमालतिर पाउने यार्सा धेरै महँगो छ । त्यसलाई टिप्न त्योभन्दा धेरै गाह्रो छ ।
दुई महिनाका लागि सबैका घरमा ताला लाग्दै छन् । खाने, लाउने, ओढ्ने, ओछ्याउने, बालबच्चा, भेडा, कुखुरा जे छन्- सबै बोकेर लाग्छ ताँती अनकन्टार उकालो । काठमाडौंमा बस्नेको हेर्दै आङ सिरिङ्ग गर्ने भीरैभीर बडेमाका भारी बोकेका हजारौं बासिन्दा अघि बढिरहेका हुन्छन् । डोकामा पोकैपोका, त्यसमाथि खस्ने डरले डोरीले जेलिएका नानीबाबु ! सम्झँदा लाग्छ, हरिभक्त कटुवालको कविताजस्तो- यो जिन्दगी खोइ के जिन्दगी !
यार्सा टिप्ने शुल्क, त्यहाँ लाग्ने खर्च- सबै साहुको भर । यार्सा पाइएन भने त्यो पनि डुब्ने
डर । राम्रो लाउने र खाने अनुहारसम्म नदेखेका त्यहाँका बासिन्दाले धन्न भाग्यले दिएको यार्सा जुटाएर आधा पेट पिठो भर्न पाएका छन् । सानो कल्पना गरौं- यार्सा नहुनु हो भने उनीहरू कसरी बाँच्दा हुन् ? कति गरिब छ हाम्रो देश, कति दुःखी छन् यहाँका नागरिक !
कहिले पानी, कहिले हिउँ ! कतिको मृत्यु
हुन्छ । कति लेक लागेर पालभित्रै थला पर्छन् । कतिका हातखुट्टा हिउँले खान्छ । दुःखले जुटाएको यार्सा कहिले डाँकाले लुटिदिन्छन् । तर, पनि गुजारा त्यही हो । हरेक वर्ष त्यसरी नै मेला लाग्छ । बडो दुःखले आर्जेको केही हजार कमाइलाई 'भाग्यको फल' भन्दै त्यहाँका बासिन्दा पैसा थापेको दिन मीठो मुस्कान छर्छन् !
फिल्म प्रदर्शन सकिन्छ । दर्शकले दीपेन्द्रलाई सोध्छन्, 'तपाईंले मुख्य पात्र बनाएकी पुनीमाया कामीलाई के सहयोग गर्नुहुन्छ ?'
अर्को सुझाव आउँछ, 'दीपेन्द्रजी, यार्सा टिप्दा सबैभन्दा समस्यामा पर्ने बालबालिका रहेछन् । तपाईंको फिल्मको कमाइले उनीहरूका लागि त्यो ठाउँमा डे-केयर बनाइदिए हुने थियो ।'
डकुमेन्ट्री फिल्मको कमाइ कति नै होला र ! त्यसमाथि एक्लो मेहनतले पहिलो फिल्म बनाएको बन्दीपुरे ठिटो दीपेन्द्रसँग त्यति धेरै विकास गरिदिने हैसियत कहाँबाट होला र ! तैपनि उनले भने, 'पुनीमायाका दुइटा साना छोराछोरीलाई राम्रो स्कुलमा ल्याएर पढाउने तयारी गर्दै छु ।'
यो त थियो उपल्लो रुकुमको फिल्म ।
.............................
आउनुस्, एकछिन लागौं 'उपल्लो काठमाडौं' को फिल्मतिर ।
'हेर्नुस्, ब्ल्याक लेबलमा हनी -मह) मिसाएर यसरी पिउनुपर्छ ।'
'यसरी पियो भने के हुन्छ ?'
'मज्जाले लाग्छ !'
...न कोही हाँस्छ, न कसैले ताली बजाउँछन् ।
दीपेन्द्रले काठमाडौंकै फिल्म बनाए भने संवाद यस्तै राख्न सक्छन् । अर्को संवाद यस्तो हुन सक्छ-
'मेरो पजेरो छँदै छ, श्रीमतीको प्राडो । छोराको ल्यान्डरोभर, छोरीको टक्सन । अब चमेलियाको एउटा चिल्लो गाडी ल्याउन पाए...!'
'चमेलियाको गाडी ल्याउन पाए के हुन्छ ?'
'के हुनु, मस्ती हुन्छ नि !'
...अहँ, ताली बज्दैन ।
रुकुमको फिल्ममा दुःख छ, काठमाडौंको फिल्ममा मस्ती ! रुकुमको फिल्ममा घाँसलाई साग मानेर पकाइरहेको एउटा दृश्य छ । काठमाडौंको फिल्ममा कुखुरालाई बर्ड फ्लु लाग्यो भनेर वनबाट कालिज झिकाइरहेको दृश्य हुन सक्छ । आखिर काठमाडौंको फिल्मका हिरोहरू रुकुमका जनताले पनि छानेका हुन् नि ! तर रुकुम सधैं रुकुम छ, काठमाडौं सधैं काठमाडौं । त्यही भएर सर्वोच्च अदालतले भनिदियो- 'खबरदार ! काठमाडौंको फिल्म अब यसरी निस्पिmक्री चल्न पाउँदैन ।'
हुन पनि हाम्रा नेताहरू स्वार्थी भए । उनीहरूको जम्माजम्मी ध्याउन्न देश लुटेर आफ्नो दुनो सोझ्याउन केन्दि्रत छ । एकादुईलाई छाड्नु हो भने सबै उही ड्याङका छन् । आफूलाई राष्ट्रवादी भन्ने तत्कालीन राजादेखि साम्यवादी भन्ने माओवादीसम्ममा कोही फरक देखिएनन् । सत्ताको झगडामा सबै उत्तिकै लागे । सत्ता पाएपछि लुटपाटमा कोभन्दा को कमको शैली अपनाए ।
हिमाली भेगका जनता घर र स्कुलमा ताला लगाएर लालाबालासहित यार्सा टिप्न उकालो चढ्छन् । अलिकति अवसर पाएका नेताहरू साइकलबाट पजेरो हुँदै लालाबालासहित महलको बार्दली चढ्छन् । पद पाउन्जेल ब्रह्मलुट गर्छन् । पद सकिएपछि साबिकका सुविधाहरू बोकेरै र्फकन्छन् । राज्यका भ्रष्टाचार हेर्ने, नियमकानुन अनुगमन गर्ने, बदमासी गर्नेलाई घोक्रेठ्याक लाउने सबै निकाय उनीहरूसँग छुलछुली हुन्छन् । एकपटक शक्तिमा पुगेको व्यक्तिलाई छुने त परै जाओस्, औंलो उठाउने हिम्मतसम्म कसैले गर्दैनन् । त्यही भएर अराजकता, स्वेच्छाचारी, अनियमितता र मनपरीतन्त्र हावी भएको हो ।
यही कथामा आधारित फिल्म काठमाडौंमा २२ वर्षदेखि उत्तिकै हिट छ । कसैले ताली नबजाए पनि अपार भीडका साथ चलेकै छ । त्यसको हिरो बन्न हारालुछ भएकै छ । पात्र बदलिरहने र शृंखलाका रूपमा आउने त्यो फिल्म हो- 'जर्नी टु सिंहदरबार !'
..........................................
दीपेन्द्रले भने, 'फिल्म बनाउँदा लागेको खर्च उठ्यो भने भयो । बाँकी सबै रुकुमतिरै पठाइदिन्छु ।' तर, हाम्रा प्रधानमन्त्री र मन्त्री भएका नेताहरू भन्छन्, 'मौका पायौं भने भयो । भेट्टाएजति कुम्ल्याएर घरतिरै लान्छौं । गाडीदेखि साडीसम्म केही बाँकी राख्दैनौं ।'
यही हो दुइटा फिल्मको फरक । काठमाडौंको फिल्मका हिरोहरूले देश लुट्न छोड्ने हो भने मात्र पनि रुकुमका पुनीमायाहरूको 'जर्नी टु यार्सा' का दुःखद दिन सकिने थिए कि !
Source
Kantipur