खस आर्यसम्बन्धी विवाद
Thursday, 24 May 2012 12:39 मोहनविक्रम सिंह
(10 votes, average 4.60 out of 5)
सरकारले खस क्षेत्री, ब्राह्मण, ठकुरी, दसनामी र दलितलाई खस आर्य र आदिवासीमा सूचीकृत गर्ने निर्णय गरेपछि देशमा नयाँ विवाद जन्मेको छ। खस क्षेत्रीले त्यसबाट आफ्नो स्वतन्त्र पहिचानको अन्त्य भएको भनेर विरोध गरिरहेका छन्। दलितले खस क्षेत्रीमा सूचीकृत गरिँदा आरक्षण समेतमा आघात पुग्ने ठानेर त्यस निर्णयको विरोध गरेका छन्। सबैभन्दा ठूलो विरोध आदिवासी र जनजातितर्फबाट भएको छ। खसलाई आदिवासीका रूपमा मान्यता दिने निर्णयको चर्को विरोध तिनैले गरिरहेका छन्। किन्तु, सरकारको खस क्षेत्री, ब्राह्मण, दसनामी र दलितलाई ‘अन्य'बाट हटाएर खस आर्य (खस) का रूपमा सूचीकृत गर्ने निर्णय सही छ। त्यो निर्णयले उनीहरूको ऐतिहासिक अवस्थासित मेल खान्छ। उनीहरूलाई आदिवासीका रूपमा सूचीकृत गर्ने प्रश्नबारे भने केही बेग्लै प्रकारले विचार गर्नु आवश्यक छ।
नेपालमा आदिवासी र जनजातिलाई प्रायः समान अर्थमा लिने गरिन्छ। त्यो सही धारणा होइन। को आदिवासी हो भन्ने मूलतः ऐतिहासिक आधारमा निर्णय गरिने विषय हो भने जनजातिबारे निर्णय गर्दा तिनको आर्थिक, सामाजिक, सांस्कृतिक तथा पिछडिएको अवस्थामा विचार गर्नुपर्छ। उक्त दुवै जातिहरूबारे संसारमा बेग्लाबेग्लै प्रकारले परिभाषा वा व्याख्या गर्ने गरिएको छ। देशैपिच्छे ती विषयमा बेग्लाबेग्लै निर्णय गरिएको पाइन्छ छ। उदाहरणका लागि, चीनले कुनै जातिलाई आदिवासी वा जनजातिका रूपमा व्याख्या गर्नेगरेको छैन भने भारतमा ब्रिटिस शासन कायम हुनुभन्दा पहिले बसोवास गर्ने सबै जातिलाई आदिवासीका रूपमा स्वीकार गरिएको छ।
नेपालमा पनि अन्तर्राष्ट्रिय व्याख्या र प्रचलनका साथै नेपालको खास विशेषतामा ध्यान दिएर को आदिवासी वा जनजाति हो वा होइन भन्ने निर्धारण गरिनु पर्छ। त्यसका लागि देशका ऐतिहासिक, राष्ट्रिय वा वस्तुगत विशेषताको मूल्यांकन गरेर वैज्ञानिक मापदण्ड निश्चित गरिनुपर्छ। अनि, त्यसैका आधारमा आदिवासी र जनजाति निर्धारण गरी तिनको एउटा सूची तयार पारिनुपर्छ। त्यहीअनुसार अहिले आफूलाई आदिवासी वा जनजातिका रूपमा दाबी गर्ने विभिन्न जाति तथा खस बारे पनि निर्णय गरिनुपर्छ।
अहिले कतिपय दलित समूहले खस आर्यमा सूचीकृत गरिएपछि उत्पीडित जातिका रूपमा प्राप्त विशेष अधिकार वा आरक्षणका सुविधा समाप्त हुनेछन् भन्ने आधारमा खस आर्यका रूपमा सूचीकृत गर्ने निर्णयको विरोध गरेका छन्। तर त्यो सही सोच होइन। शोषण, उत्पीडन वा पिछडिएका आर्थिक, सामाजिक अवस्थाको परिणामस्वरूप नै दलितहरूलाई विशेष अधिकार वा आरक्षण मिल्नुपर्छ। त्यसैले उनीहरूलाई खस आर्यमा राखिएकैले विशेष अधिकार वा आरक्षण समाप्त हुन्छन् वा हुनुपर्छ भन्न मिल्दैन। त्यसरी त ‘अन्य'मा परेका जात वा जातिलाई खस आर्यमा सूचीकृत गरेपछि त्यस जातिका महिलाका लागि निर्धारित विशेष अधिकार वा आरक्षण पनि समाप्त हुनेछ वा गर्नुपर्नेछ भन्नुपर्ने हुन्छ। खस जातिका महिलाहरूले पनि उनीहरूलाई खस आर्यमा सूचीकृत गरिनु हुन्न भनेर आवाज उठाए भने त्यो कति हास्यास्पद हुनेछ? दलितहरूका सन्दर्भमा पनि सत्य यही हो। दलितहरू बेग्लाबेग्लै जातिमा हुन सक्छन्। अहिले नेपालमा दक्षिणबाट आएका हिन्दूहरू, नेवार वा खस आर्य आदि बेग्लाबेग्लै जातिसित सम्बन्धित दलितह छन्। तर त्यस प्रकारको कुनै जातीय भिन्नताका कारणले उनीहरूको अवस्था वा उनीहरूलाई मिल्नुपर्ने विशेष अधिकार वा आरक्षणमा अन्तर आउने होइन।
खस क्षेत्रीद्वारा ब्राह्मण, दसनामी वा दलितसहित उनीहरूलाई खस आर्यका रूपमा सूचीकृत गर्दा तिनको स्वतन्त्र पहिचान समाप्त भएको मत पनि ऐतिहासिक तथ्यसित मेल खान्न। नेपालमा बेग्लाबेग्लै जातिहरू भिन्दाभिन्दै दिशाबाट आएका छन्। उत्तरतिरबाट मंगोल जातिका मानिस नेपालमा प्रवेश गरे भने वैदिक आर्य वा हिन्दू दक्षिणबाट प्रवेश गरे। खसहरूले पश्चिमबाट नेपाल प्रवेश गरेका हुन्। त्यो जाति मूलरूपमा गैरवैदिक वा गैरहिन्दू हो।
उत्तरतिरबाट नेपालमा आएका मंगोल र दक्षिणबाट प्रवेश गरेका वैदिक आर्य बारे खास मतान्तर पाइन्न। तर पश्चिमबाट प्रवेश गरेका खस बारे बेग्लाबेग्लै कोणबाट विचार गर्नु आवश्यक छ। प्रथम, खस जाति मूलरूपमा गैरवैदिक र गैरहिन्दू जाति हो। हिन्दूहरूको प्रभाव बढ्दै गएपछि अन्य कतिपय जातिले जस्तो खसले पनि हिन्दू धर्म अपनाउँदै र आफ्नो हिन्दूकरण गर्दै गएका थिए। द्वितीय, खस लामो ऐतिहासिक पृष्ठभूमि भएको विश्वको एउटा प्रमुख जाति हो। त्यो जातिले बेबिलोन, मेसापोटामियाबाट हिन्दूकुश, कास्मिर, हिमालय प्रदेश, गढवाल, कुमाउँ हुँदै नेपालमा प्रवेश गरेको थियो र पूर्वमा असामसम्म फैलिएको थियो।
अहिले खसहरूले आफूलाई हिन्दू नै बताउँछन्। पछि उनीहरूको हिन्दूकरण हुँदै गएकाले उनीहरूले त्यसरी सोच्नु स्वाभाविक नै हो। तर मूल उत्पत्तिका दृष्टिकोणले त्यो हिन्दू जाति होइन। खस र वैदिक आर्य दुवैले पश्चिम एसिया हुँदै नेपालमा प्रवेश गरेका थिए। खसहरू उत्तर पहाडको बाटो हुँदै पूर्वतिर लागेका थिए भने वैदिक आर्यहरूले सिन्धुघाटीको बाटो हुँदै गंगायमुनाको मैदानमा प्रवेश गरेका थिए। आर्यहरूभन्दा पहिले नै खसहरूले भारतमा र नेपालमा पनि प्रवेश गरेका थिए र उनीहरूले वेद वा हिन्दुधर्म मान्दैनथे। त्यसरी वैदिक आर्यभन्दा उनीहरूको जाति बेग्लै भएकाले र उनीहरूले वेद वा हिन्दू धर्म नमानेकाले हिन्दू धर्मालम्बीहरूले उनीहरूलाई म्लेच्छ, शुद्र भन्दै उनीहरूलाई अपमानित वा प्रताडित गर्दै गए। हिन्दू ग्रन्थहरूमा त्यस प्रकारका थुप्रै उदाहरण भेटिन्छ। तर खसहरूले सजिलैसित हिन्दू धर्म वा त्यो जातिको धर्मको आधिपत्य स्वीकार गरेका थिएनन्। खसजाति बारे विद्वानहरूले विस्तृतरूपले अध्ययन गरेका छन्। उनीहरू प्राचीन कालको नै एउटा प्रमुख जाति भएकोमा कुनै शंका रहन्न। प्राचीन हिन्दु ग्रन्थहरू मार्कण्डेय पुराण, भागवत पुराण, स्कन्द पुरायण, विष्णु पुराण, वायु पुराण, भविष्य पुराण, भागवत पुराण, कालिका पुराण, बृहत् संहिता, मनुस्मृति आदिमा किरात, हुण, यवन, कम्बोज, पल्लभ, दरद, सक, पौन्ड्रक आदि जातिका साथै खसहरूको पनि विस्तृत चर्चा छ। उक्त जातिहरूमध्ये कैयौँ इतिहासको विकास क्रममा हराउँदै गए वा हिन्दू जातिमा विलय हुँदै गए। कास्मिरको राजतरंगिणी र तिब्बतका प्राचीन ग्रन्थमा पनि खस जातिको उल्लेख गरिएको छ। ग्रिसका विद्वान्हरूले, पिल्नी (७९ इ.) र टोलेमी (१५१ इ.) ले पनि प्राचीन युनानमा खसको उपस्थिति रहेको चर्चा गरेका छन्। प्रो.एट्किन्सन, डा. आर.सी.मजुमदार, कुमाउँका प्रसिद्ध इतिहासकार बद्रिदत्त पाण्डेले पनि खस जाति बारे विस्तृत रूपले चर्चा गरेका छन्।
हिन्दू ग्रन्थहरूमा दिइएको विवरणबाट अन्य कैयौं जातिहरूले झँै खसले पनि वेद र हिन्दू धर्म अपनाउँदै गए र उनीहरूको हिन्दूकरण हुँदै गएको सहजै बुझिन्छ। लगातारको संघर्षपछि नै वैदिक आर्यले उनीहरूलाई जित्न सकेका थिए। भागवत पुराणमा भरतले खसका विरूद्ध युद्ध गरेको वर्णन छ। हिन्दू ग्रन्थहरूमा कृष्ण र कर्णले पनि खसका विरूद्ध युद्ध गरेको चर्चा पाइन्छ। कालिका पुराणमा वैदिक कालिका राजाका विरूद्धको युद्धमा खसहरूले राजा कालिकाको पक्ष लिएर लडेको बताइन्छ। महाभारतको युद्धमा खसहरूले कौरवको पक्ष लिएर पाण्डवविरूद्ध लडेको उल्लेख छ।
विद्वानहरूले वैदिक आर्यहरूको प्रवेशभन्दा पहिले नै खसहरूले कैयौं हजार वर्ष पहिले उत्तरी पहाडको बाटो हुँदै पूर्वमा आएर भारतमा प्रवेश गरेको यो मत प्रकट गरेका छन्। त्यस क्रममा उनीहरू नेपाल र आसामसम्म पनि पुगेका थिए। एट्किन्सनले गढवाल, कुमाउँ र नेपालमा खसहरूको बसोवास भएको बताएका छन्। विद्वान्हरूले खस धेरै नै लडाकु र घुमन्ते जाति भएको यो बताएका छन्। उनीहरूले ककेसस पर्वत र क्यास्पियन समुन्द्रबाट हिन्दूकुस पहाड हुँदै भारत र नेपालमा पनि प्रवेश गरेका थिए। इतिहासकारका अनुसार खसहरूले करिब चार हजार वर्ष पहिले बेबिलोन साम्राज्यमाथि आक्रमण गरेका थिए। पछि उनीहरूले गढवाल, कुमाउँ र पश्चिम नेपाल र पश्चिम तिब्बतमा पनि आक्रमण गरेका थिए। टुचीले आफ्नो पुस्तकमा हिन्दूकुश क्षेत्रमा ई.पू. १००० वर्ष पहिले नै दरद र चिनियाँ भाषाका साथै खसजातिको पनि आफ्नै भाषा र लिपि भएको पत्ता लगाएको उल्लेख गरेका छन्। वैदिक आर्यभन्दा पहिले नै प्रवेश गरेको र वेद तथा हिन्दूधर्म नमान्ने भएकाले हिन्दू जातिले बारम्बार उनीहरूका विरूद्ध युद्ध गर्नुका साथै आफ्ना ग्रन्थहरूमा उनीहरूका विरूद्ध व्यापकरूपले घृणा फैलाउने प्रयत्न गरिएको छ। स्कन्द पुराणमा खस, हुण, किरात, यवन अपवित्र गर्भबाट पैदा भएको उल्लेख छ। मनुस्मृतिमा खसहरूलाई ब्रात्य र ब्रिषल भएको बताइएको छ। मनुस्मृतिमा हिन्दू संस्कार नमान्ने वा त्यसका लागि अयोग्य र भ्रष्ट भएकालाई नै त्यसरी ब्रात्य र ब्रिषलका रूपमा व्याख्या गरिएको छ। खसहरूलाई अन्य हिन्दूग्रन्थमा पनि त्यही प्रकारले निन्दा गरिएको छ। द्रविण, पवन, शक, हुण, यवन, किराँत, दरद आदिको पनि त्यही प्रकारले निन्दा गर्दै उनीहरूले हिन्दू संस्कार अपनाएमा शुद्ध हुने बताइएको छ। त्यसको असर अन्य जातिका साथै अहिन्दू जातिहरूमा पनि पर्यो र उनीहरूले हिन्दू धर्म अपनाउँदै गए। तैपनि वैदिक आर्यहरूमा उनीहरूप्रतिको द्वेषपूर्ण दृष्टिकोण वायु पुराणमा लेखिएको यी भनाइबाट प्रष्ट हुन्छ : ‘कल्की युगको अन्तमा खसका साथै शक, यवन, गान्धार, पुलिन्दा, पल्लभ आदिको कल्कीद्वारा विनाश गरिनेछ।'
माथिको संक्षिप्त विवरणबाट खसहरू आर्य भए पनि उनीहरू आर्यहरूको बेग्लै शाखा र वैदिक आर्यभन्दा बेग्लै भएको प्रष्ट हुन्छ। पश्चिम गढवाल, कुमाउँ हुँदै नेपाल पसेका खसले हिन्दू धर्म अपनाउनुका साथै हिन्दू वर्ण व्यवस्थाअनुसार कैयौँ थरमा विभाजित भए पनि, ती खस क्षेत्री, ब्राह्मण, ठकुरी, दसनामी वा दलित आदि थरमा बाँडिएको भए पनि मूलरूपमा उनीहरू खस आर्य नै भएको ऐतिहासिक वास्तविकता हो। त्यस अवस्थामा अहिले उनीहरूलाई खस आर्यका रूपमा दिइएको पहिचान ऐतिहासिक यथार्थअनुरूपै भएकाले सही छ।
http://nagariknews.com/opinions/98-opinion/41140-2012-05-24-06-58-40.html