[Show all top banners]

nepcha1
Replies to this thread:

More by nepcha1
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 जातीय राज्य बिरोधि आदिबासीहरु
[VIEWED 2004 TIMES]
SAVE! for ease of future access.
Posted on 07-07-12 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It's good to see their voices. I think these are honest politicans/people. We should give chances to these honest/unbiased voices.
I like when Kripasur Sherpa argued that the jatiyata is needed only in the other region, and not in Terai. They talk about one madhes as if there is only one ethnicity there, and want to impose one language as hindi over maithili or bhojpuri. They don't care about preservation of ethnic culture or language.

Kripasur Sherpa
www.bbc.co.uk/nepali/multimedia/2012/07/120707_jatiyanepal.shtml

Sugat Kansakar
www.janaaasthanews.com/temp.php

Bhim bahadur tamang
www.bbc.co.uk/nepali/multimedia/2012/06/120620_sandarva20.shtml

 
Posted on 07-07-12 5:56 PM     [Snapshot: 133]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

राजा र राजतन्त्रप्रति अब नेपाली कांग्रेसको मोह छैन

 
(5 votes, average 3.00 out of 5)
१९९१ मंसिर ८ गते इलाममा जन्मेका कुलबहादुर गुरुङ नेपाली कांग्रेसका वयोवृद्ध नेता हुन्। बीपी कोइरालाको मेलमिलाप नीति कार्यान्वयन गर्दै पहिलो पटक नेपाल आउन तयार हुने कार्यकर्तामध्ये एक थिए उनी। गुरुङलाई इलामेलीहरु केबी सर भनेर आदर गर्छन्। जनजाति पृष्ठभूमिका नेता गुरुङ जातीय कुरा गर्दा भावुक भए। गुरुङसँग नागरिकका बसन्त बस्नेतले गरेको कुराकानीः 

आफूले पहिलो अध्यक्षता गरेर थालेको संविधानसभा विनासंविधान विघटन हुँदा कस्तो कस्तो लागेन?

सुरुवात मैले गरें। त्यो आफ्नो ठाउँमा छँदैछ। यसको सुरुवात नै आशंकाबीच भएको थियो। संविधानसभा चुनावको मिति तोक्दै उम्मेदवार पनि तोकिए। तोक्नेमध्ये म पनि एक थिएँ। तर हामीलाई कतै चुनाव हुँदैन कि भन्ने शंका थियो। त्यसमाथि मिति पनि सारियो। निष्पक्ष चुनाव नहोला भन्ने आशंकाबीच तयारी सुरु भयो। आखिरमा खुमबहादुर खड्का, गोविन्दराज जोशीजस्ता मान्छे पनि भागेर हिँड्नुपर्‍यो।

संविधान कसको कारणले नबनेको?
चुनाव हुनु अगाडि संविधानसभाको कल्पना गर्ने जो मानिसहरू थिए, उनीहरूका कारणले नबनेको। चुनाव हुनुअघि बनेको अन्तरिम व्यवस्थापिका संसद एक वर्षसम्म रह्यो। त्यो बेला अन्य देशका उदाहरण दिने मान्छेहरूले संविधान बनाउने क्रममा के के कमजोरी हुनसक्छन् भन्ने कल्पना गर्नसक्नुपर्थ्यो। 
ती भनेका चाहिँ को हुन्?
सुवास नेम्वाङ र गिरिजाप्रसाद कोइराला। गिरिजाप्रसाद कोइराला जसले संविधानसभाका लागि २००७ सालदेखि कुरा उठाउनुभएको हो। १४ सालमा पनि उठ्यो। त्यसकारण संविधान बनाउने क्रममा कस्ता कस्ता अड्चन आउन सक्छन् भन्ने उहाँलाई थाहा छ। तर केवल चुनाव गराउने बाहेक उहाँले अरु केही सोच्नु भएन। सुवासले पनि यसरी लैजाउँ भनेको भए यस्तो हुने थिएन।
गिरिजाबाबु बितिसकेपछि पनि दुई वर्ष संविधानसभा रह्यो। त्यसको दोष पनि उहाँलाई नै?
हाम्रो पनि जिम्मेवारी छ। तर संविधान निर्माणका लागि अरु देशमा झैं हामीलाई बाटो बनाइदिनुपर्थ्यो। बाटो नबनाई टुँडिखेलमा कुद्न लगाए। 
बाटो त संविधानसभाले नै बनाउने होइन?
हो तर उसलाई पनि गाइड गर्ने त्यो भन्दा अगाडि केही हुनुपर्छ। जस्तो भारतमा पनि भयो, अरु देशमा पनि। ज्ञान नभएको नभएको होइन यहाँ। ज्ञान भएर पनि त्यसो नगर्ने तिनै दुईजना हुन्। 
गिरिजाप्रसाद तपाईंका नेता, सुवास स्कुलका विद्यार्थी। तपाईं आफैंले यसो गरौं भन्नुभएको भए भइहाल्थ्यो नि?
सुरुवातमा आफ्नै पार्टीको नेता गिरिजाप्रसादलाई भन्ने गरेको हो। म, लक्ष्मण घिमिरे, विनयध्वज चन्द गएर अलि परिमार्जन गरेर जानुपर्छ भन्थ्यौं। उहाँ 'होइन, यो एकदम राम्रो छ' भन्नुहुन्थ्यो। 
सुवास नेम्वाङसँग चाहिँ के कुरा हुन्थ्यो?
एक त सुवास मेरो उबेलाको चेलोमात्रै हो। अहिले उसले धार बेग्लै बनाइसकेको हुनाले मैले सोधिबस्नु, भनिबस्नु, सल्लाह दिइबस्नु आवश्यक ठान्दिनँ। विचार, सिद्धान्त र आदर्श बेग्लै भइसकेपछि मान्छेलाई कुरा लाग्दैन। उसले भेटघाट हुँदा मेरो पुरानो गुरु भन्नु र मैले पनि मेरो विद्यार्थी हो भन्नुबाहेक अरु कुरा हुन्थेन। बीचमा चाहिँ कहिलेकाहिँ अलि दह्रो भएर जाँदा राम्रो हुन्छ भन्ने गरेको थिएँ।
उहाँ भेट्न आउनुहुन्थ्यो?
अहँ। कहिले पनि आएन। झलनाथचाहिँ आउँथे। 
झलनाथ बढी रिसेप्टिभ छन् कि सुवास?
दुवै उस्तै हुन्। सिद्धान्त विचार आदिले पनि निर्धारण गर्छ यो कुरा। झलनाथसँग चाहिँ जेलमा पनि सँगै बसेको हुनाले अलि बढी रिसेप्टिभ ऊ थियो होला। 
संविधानसभाको सिंगो अवधिलाईचाहिँ कसरी मूल्यांकन गर्नुहुन्छ?
अन्तरिम संविधानले दिएको समयमा निर्माण गर्न नसकेर म्याद थप्नेतिर जान थालियो। गल्ती त्यहीँ भएको हो। दिइएको समयमा काम गर्दै लगेर अन्त्यमा नपुगेको म्याद थपेको भए हुन्थ्यो। सुरुमा म्याद त्यत्तिकै सक्ने, अनि म्याद थप्ने। गल्ती त्यहीँ भएको थियो।
सभा पुनर्स्थापना गर्ने कुरा चल्दैछ नि?
संसारमा संविधानसभा सकिएर फेरि ब्युँतेको मैले देखेको छैन। त्यसमाथि संविधानसभाको बनौट नै उत्ताउलो किसिमको सुरु भएकाले राम्रो गर्छ भन्ने लागेको थिएन। 
धेरै कम उमेरका सभासद् चुनिएर आएकाले त्यसो भन्नुभएको? 
प्रक्रिया नै उत्ताउलो थियो। 'स्वर्गबाट कामधेनु गाई सबैको घरमा आइहाल्छिन्, स्वर्गबाट कल्पवृक्ष पनि आइहाल्छ। त्यो बेला संसारलाई कुनै दुःखै हुँदैन, नेपाललाई पनि हुँदैन, नेपालीले केही सोच्नैपर्दैन, आफैं सरररर टकटकटकटक बन्दैजान्छ' यस्तै सोचे सबले। जबकि संविधानसभामा अड्चन आइपर्छन् भन्ने सबैलाई थाहा थियो। 
तपाईं दोस्रो ठूलो दलको पुरानो नेता भएर पनि पर्याप्त भूमिका खेल्नुभएन नि? 
यत्तिकै समय गुजारेको होइन। माओवादी सरकारमा आउनुअघि, संविधानसभा बन्नुअघि, संसदमा आउनुअघि हामीले साह्रै ठूलो बहस गर्‍यौं। ३१ सदस्यीय केन्द्रीय कार्यसमितिमा २८ एकातिर, ३ एकातिर हुँदा पनि हामीले कुरा बाहिर ल्याउन सकेनौं। किनभने त्यतिखेर गिरिजाबाबुले बन्दुक बोकेर जंगल पसेको माओवादीलाई शान्तिपूर्ण ढंगले सडकसम्म ल्याइपुर्‍याउनुभएको छ भन्ने आम धारणा थियो। चाहे राजावादी हुन्, चाहे माओवादी सबै 'गिरिजाबाबु अझै २०-२५ वर्ष बाँचिदिनुपर्छ भन्थे। तर गिरिजाबाबु बाँच्दैमा सबै कुरा बनिनेवाला थिएन। सबैले उहाँलाई सघाउनुपर्थ्यो। नसघाउने, अनि उहाँले राम्रो गर्नुभएको छ मात्रै भन्ने।
गिरिजाबाबुको कदमप्रति अझै असहमत हो तपाईं?
हो। ममात्रै होइन, अरु साथीहरू पनि छन्। अब तपाईं मलाई सोध्नुहोला, 'त्यसबेला यो कुरा तिमीहरूले किन बाहिर भन्न सकेनौ?'

त्यै त किन सक्नुभएन?
त्यसो गर्दा गिरिजाबाबुको विरोध गरेको जस्तो देखिन्थ्यो। राणाकालको बेला सात खत माफीको चलन थियो। कसैलाई पाँच खत, कसैलाई तीन खत। गिरिजाबाबुलाई चाहिँ सात खत माफी थियो। कसैले चोर्‍यो, तर त्यो बाहुन छ। माफी दिने कि नदिने? टंकप्रसाद आचार्यलगायत प्रजापरिषदका कतिपय मान्छेहरू बाहुन भएकैले फाँसीमा गएनन्। उनीहरूलाई सात खत माफी थियो। त्यस्तै हाम्रा नेतालाई पनि सात खत माफी थियो। हामीले त्यो कुरा बाहिर ल्याइदिएको भए तपाईंहरू नै भन्नुहुन्थ्यो, 'बल्लबल्ल माओवादी जंगलबाट सदनमा आएको छ। यो बेला विकास होइन, शान्ति चाहियो। अहिले गोली चलेको छैन, मान्छे मरेको छैन। तिमीहरू विरोध गर्ने?'
यो प्रश्न त अहिले गरे पनि भयो। शान्ति भड्केको थियो भने?
त्यो त अहिले भन्नुहुन्छ नि। म तपाईंलाई मैले सिकेको पाठ भनूँ? ०१४ सालको भद्रअवज्ञा आन्दोलनमा हामीलाई पनि सामेल गर्नूस् भन्दै कम्युनिस्ट नेता पुष्पलाल र केशरजंग रायमाझी आएका थिए। बीपी कोइरालाले नेपाली कांगे्रस, राष्ट्रिय कांग्रेस, प्रजा परिषद् एकताबद्ध बनाउँदै आन्दोलन गरे तर कम्युनिस्टलाई हुलेनन्। उनले भने, 'तिमीहरू संवैधानिक राजतन्त्र मान्दैनौ तर हामी अहिलेसम्म मान्छौं। त्यसैले तिमीहरूसँग संयुक्त संघर्ष हुन सक्दैन। तिमीहरूलाई संविधानसभा निर्वाचन चाहिन्छ भने आफ्नो तरिकाले संघर्ष गर न। तिमीहरूसँग हाम्रो कुरा मिल्दैन। हामी कम्प्रोमाइज गरेर जान तयार हुन्छौं तर तिमीहरू 'फाइट टु द फिनिस' गर्न चाहन्छौ। यो बीपीले भनेको कुरा हो। पछि ०३६ सालको जनमतसंग्रहका बेला पनि यही कुरा भएको थियो। हामी नै हो, बीपी कोइरालालाई कम्युनिस्टसँग मिलेर जानुपर्छ। बीपीले भन्नु भो, १० वर्षपछि बरु प्रजातन्त्र आओस, कम्युनिस्टसँग मिलेर जानुहुँदैन।' बीपीको यो विचारकै कारण १५ सालको चुनावमा कम्युनिस्टले चार सिटमात्रै जिते। तर गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिाजापंसाद कोइरालाले ०४६ सालमा कम्युनिस्टसँग मिल्ने हुँदा ०४८ सालमा त्यत्रो शक्ति भयो एमाले। तीन नेताको असक्षमता भनूँ कि के भनूँ, समय परिस्थितिलाई चिन्न सकेनन् वा बाध्यता पर्‍यो कि। झण्डै परिणाम बराबरी आयो। 
यो त देश कस्तो हुन्छ भन्ने भन्दा पनि आफ्नो पार्टी ठूलो हुन्थ्यो कि सानो हुन्थ्यो भन्ने कोणबाट गरिएको तर्क भएन?
होइन, कुरै त्यो हो नि। 
त्यसो भए १२ बुँदे समझदारी नै गलत थियो?
हो। १२ बुँदे गर्दा गल्ती भएको कुरा हामीले त्यो बेलै गिरिजाबाबुलाई भनेका थियौं। चाँडोभन्दा चाँडो करेक्सन् गर्नुस् पनि भनेको थियौं। माओवादीले घरजग्गा फर्काउँछौं भनेको जनतासँग गरेको तमसुक हो नि। त्यसबारे माओवादीसँग संघर्ष पनि भइबस्यो। माओवादीले समझदारी पालना गर्नु पर्दैनथ्यो? फर्काउँछौं भनेर लेखेको होइन? खोई त? फर्काएनन् त!
संविधानसभा पनि असफल हुनु नै थियो, भयो होइन त?
असफल हुन्छ भनेर त सुरुवातमै मैले भन्दिएको थिएँ। त्यही भएर असहमति पनि जनाएको थिएँ। 

बीपीसँग मिलेर बनाउन खोजेको कांग्रेस र हिजोआजको कांग्रेसबीच कति भिन्नता छ?
बीपीका पालामा पनि मतभेद हुन्थ्यो, कहिलेकाहिँ स्थिति जटिल नै पनि बन्थ्यो। तर उनी सम्हालेर अघि बढ्थे। अहिले चाहिँ बाहिर पोखिइसक्यो, सम्हाल्ने कोही छैन।

दस्तावेजहरूले चाहिँ बीपीलाई स्वयं कांग्रेसबाट पटक पटक अप्ठेरो परेको देखाउँछन्!
ठीक हो। तर पहिले इस्युमा विवाद हुन्थ्यो, अहिले व्यक्तिमा हुन्छ। बीपीले संविधानसभाको चुनाव छाडेर संसदको चुनाव सकार्दा गणेशमानजीले चार घण्टा लगातार भाषण गर्नुभएको छ। बीपीले भन्नुभो, अहिले राजनीतिको पोको दरबारसँग छ। उसले अलिकति सडकमा कहिलेकाहिँ पोखिदिन्छ, हामीचाहिँ त्यसैमा झगडा गरी बसेका छौं। त्यसैले दरबारबाट झिकेर जनतामा पोको ल्याउन संसदको चुनावमा जाउँ।' नभन्दै दुई तिहाई बहुमत आयो। पछि मेलमिलापको नीति लिएर जाँदा पनि कुनै पनि मान्छेले मानेका थिएनन्, तपाईं जानुपर्छ भनेर। 
समग्र राजनीतिलाई बुझ्ने मामिलामा बीपी जुन विन्दुमा उभिनुभएको थियो, तीन दशक बितिसक्दा पनि तपाईं अझै त्यहीँ उभिनुभएको?
राजाले आठ वर्ष थुने बीपीलाई। फाँसी दिने कुरा पनि सुनिन्थ्यो। त्यस्तो अवस्थालाई पनि सजिलै ल्यान्ड गरिदिए बीपीले। बीपीलाई राजतन्त्रबाट खतरा थियो, तर उनी परिस्थितिलाई आकलन गर्नसक्थे। उनी राजा पनि यो देशको एउटा कि स्टोन हो भन्ने गर्थे। 
बीपी राजासँग मिल्नुपर्छ भन्ने, राजाका मान्छे चाहिँ छानिछानी कांग्रेस मार्ने। एकतर्फी प्रेम!
देख्दाखेरी त्यस्तो देखिएको हो। बीपी २०३३ पुसमा आउनुभो, म कात्तिकमा आएको। आउनुअघि केहीचाहिँ पहिले नै गइदिऊन् भन्ने उहाँको भित्री चाहना थियो। कोही पनि जान नमान्ने। म, धर्म गौतम, वासु कोइराला : हामी तीन जना नेपाल आउन तयार भयौं। राजासँगको सम्बन्धलाई दुरत्व र सामीप्यमा बुझ्ने कुरामा बीपीपछि समाल्नेले सोचिदिएनन्।

मेलमिलापलाई नयाँ ढंगबाट व्याख्या गर्ने भन्दैछन्। माओवादी जनताको शक्ति बढी रहेछ कि राजा? 
माओवादी बढी देखिएको होइन। यहाँ त कांग्रेसले ऊसँग सम्पर्क बढाएको हुनाले ऊ बढी देखिएको मात्रै हो। उसले कांग्रेसलाई खोजीखोजी, एमालेलाई सोधीसोधी, राप्रपालाई रोजीरोजी भनिबस्दा पनि गिरिजाबाबुले यो सिस्टमको विरुद्धमा कसैसँग सम्झौता गर्नुपर्छ भने नरकमा गएर भए पनि गर्छु भन्दिनु भो। यस्ता कुराले हामी पछि परेको हो।
फेरि राजा फर्काउने त्यसो भए?
राजा र राजतन्त्रप्रति अब नेपाली कांग्रेसको मोह छैन। 
ढलिसकेपछि त्यसो भन्नुभएको?
होइन, होइन। 
गिरिजाबाबु र ज्ञानेन्द्रबीचको इगोले गणतन्त्र आएको पनि भन्छन् नि?
त्यो तपाईंहरूलाई थाहा होला। तर साफ कुरा के हो भने, गिरिजाबाबु अन्तिमसम्म पनि गणतन्त्रको पक्षमा हुनुहुन्थेन। यो पक्का हो। पूर्व पश्चिम सबैतिरका कार्यकर्तासँग पनि राजा फाल्ने कुरा कहिल्यै भन्नुभएन। हामीसँग सल्लाहसमेत नगरी एकैपल्ट उहाँले आमसभामा अचानक के भन्दिनु भो भने, 'हामीले भनेको गणतन्त्र, एमालेले भनेको गणतन्त्र र माओवादीले भनेको गणतन्त्र फरक छ।' यसरी उहाँ अचानक गणतन्त्रवादी बन्दिनुभो, तर ती गणतन्त्रबीचको फरक के हो भनेर कहिल्यै भन्नुभएन। 
कांग्रेसले यसरी गणतन्त्र स्वीकार्‍यो। अनि मात्रै गणतन्त्रको एजेन्डा देशभर फैलिएको हो। यसअघि थिएन। इगोले हो कि के हो? यसको अलिकति पृष्ठभूमि छ, तर त्यो म भन्दिनँ। मलाई दुःख नदिनुहोला। 
गणतन्त्र आएको भन्दा नआएकै जाती?
हामीलाई चाहिएको के? गणतन्त्र, लोकतन्त्र, प्रजातन्त्रबीच के फरक छ?
लोकतान्त्रिक गणतन्त्र भन्ने पनि छ नि त?
के फरक छ? एमालेले, माओवादीले व्यवस्थापिका संसद राखौं भने। व्यवस्थापिका र संसदबीच के फरक छ?
केही पनि छैन। अनि किन राख्नुपर्‍यो? माओवादीलाई खुसी पार्न राखेको होइन?
तपाईंहरूले नै राखेको त हो नि!
मैले नै त होइन। म नेता होइन, एउटा कार्यकर्तामात्रै हो (हाँसो)।
बीपीको संगतबाट स्थापित भएको नेता पछिल्लो दिनमा त केही चर्चै सुनिन्न तपाईंको?
पुरानो पिँढीलाई नयाँ पिँढीले पखाल्छ भन्छन् नि! त्यै भएको होला। 
तपाईंहरूको मध्यमार्गी धार थियो भन्छन् नि? हरायो? 
त्यो तपाईंहरूले नै भन्नुभएको हो। अरुले भनेका छैनन्।(हाँसो)। म मध्यमार्गी होइन पनि। 
कट्टरपन्थी हो?
म कट्टरपन्थी नै हो। मैले जति पनि कुरा राख्ने गरेको छु, कट्टरपन्थी ढंगले नै राख्ने गरेको छु। 
ए, त्यसो भए दुई कट्टरपन्थी हाबी हुने भएछन् : मोहन वैद्य र तपाईंहरू!
कसरी?
उनीहरू पनि १२ बुँदेयताको प्रक्रिया गलत थियो भन्छन्, तपाईंहरू पनि। 
हामीले १२ बुँदेको सबै कुरा गलत भनेका छैनौं, त्यसको कार्यान्वयनमा गलत भयो। 
जे भने पनि सार एउटै त हो नि?
होइन, होइन। कांग्रेसले सुरुवातदेखि नै जुन ढंगले कार्यान्वयन गर्नुपर्थ्यो, त्यसरी गरेन भन्दैछु म। 
कमल थापाको राप्रपा नेपाल शक्तिमा उदाउन चाहेको देखिन्छ। विचार जे सुकै भए पनि त्यो कति विश्वसनीय शक्ति हो?
कमल थापाको जुन ढंगको उपस्थिति छ, मलाई राम्रो लाग्छ। तर उनीहरू हिजो जुन पृष्ठभूमिबाट आएका छन्, उनीहरूले यी कुराहरूलाई अगाडि लैजान सक्दैनन्। अर्को कुरा, यो परिस्थिति ल्याउन जुन शक्तिले भूमिका खेल्यो, त्यो फर्कन सक्दैन।
यत्रो जातीय मुद्दाहरू उठिरहेछन्। तपाईंचाहिँ पुरानै अडानमा हुनुहुन्छ?
आज म जे भन्दैछु। यो परम्परावादी चिन्तन होइन। आज एमालेले यही जनजाति ककस बनाएकाले अहिले दुःख पाइराखेको छ। मैले उनीहरूमध्ये धेरैलाई भनेको छु, 'तिमीहरूको यो कुन ढंगले जाँदैछ?' जनजाति ककसको सुरुवात उनीहरूले गरेको हो। त्यो नगर्नु है, त्यसले राम्रो हुँदैन है भनेर मैले त्यो बेलै भनेको हो। तर एमालेले गर्‍यो भनेर कांग्रेस पनि अघि लाग्यो। अहिले कांग्रेस पनि पछुताउँदैछ। उनीहरूले गलत कुरा गर्दै गए, त्यसैलाई नयाँ मान्दै गए। मैले त्यो गर्नु हुँदैन भन्दै आएको छु।

पुरानो राज्यसत्ता खाइपाइ गर्न आएकाले विरोध नगर्नुभएको भन्ने आरोप पनि तपाईंलगायत केही पुराना नेतामाथि लगाउँछन् नि?
आरोप त जसले जसलाई जे लगाए पनि भइहाल्छ। भन्दिनु मात्रै हो। एउटा गीत छ नि, 'भन्दिनेलाई भन्दे भैगो, बिर्स घरबार, फौजीलाई कहाँको दसैं, कहाँको तिहार।' परिवारलाई खुसी पार्न फौजमा जागिर खाऊ भन्नु रे। अनि खाएको भोलिपल्टै बिर्सिहाल भन्दिनु रे। त्यसकारण भन्नेलाई जे भन्दिए पनि भइहाल्यो। तर वास्तवमा त्यसो होइन। पार्टी भनेको त सिद्धान्त, आदर्श, दर्शन हो। अरुले यो बु‰नुपर्‍यो। 
दसवर्षे युद्ध, जनआन्दोलन, अन्तरिम संविधान सबैले राज्य पर्याप्त समावेशी भएन, जनताको अझै पहुँच बढाउँ्क भन्दैछन्, यो गलत हो र?
ठिक छ। नयाँ चाहिँ के भएर हुन्छ त? बीपीले बालिग मताधिकारको आधारमा चुनाव लड्नु समाजवाद हो भन्थे। अहिले यहाँ भोकै बसेको मान्छेलाई एक मुठी चिउरा दिनु समाजवाद हो भन्थे। नीति त्यसरी बनाउनुपर्छ। माथिबाट नीति बनाएर के गर्नुहुन्छ? निःशुल्क शिक्षा भन्नुहुन्छ तपाईंहरू। यहाँ कसले निःशुल्क शिक्षा पाएको छ? सिंहदरबारमा नीति बनाएर हुन्छ? यत्रो वर्ष भयो स्थानीय चुनाव नभएको। दुर्गम गाउँमा निरन्तर पठाइरहेको बजेट कसले खाइरहेको छ?
त्यही त कसले खाइरहेको छ?
हो, त्यही भएर एउटै खालको नीति बनाउनुस् न, दस वर्षसम्म लागू गराउनुस्। तर त्यो दुरदराजमा गएर गराउनुपर्छ। म शिक्षामन्त्री भएको बेला कुनै ठाउँमा यस्तो पनि देखियो। एक विद्यालयमा सात शिक्षक थिए, विद्यार्थीचाहिँ दुई जना। नीति त छ नि, कहाँ गयो, कसले खायो? जिशिअले त्यो काम गरेको छ त?
पहिचान भन्ने पनि छ नि त?
त्यही त। त्यो पहिचान भन्ने पनि कागजमा हुने पहिचान हो? त्यो जान्नेबुुझ्नेहरूले भन्ने कुरामात्रै हो। दुरदराजमा मान्छे गिठ्ठाभ्याकुर खान नपाएर च्याउ खाइरहेछन्, मरिरहेछन्। संघीयताले तिनलाई खान दिन्छ?
उनीहरूचाहिँ तपाईंहरूले भन्नेगरेको प्रजातन्त्र र लोकतन्त्रले के दियो त भनी प्रश्न गर्दैछन्! 
उनीहरूले दिनेचाहिँ के छ त फेरि? त्यही केन्द्रमा भएको त्यहाँ लैजान्छौं भन्छन्। म त्यो भन्दिनँ। विकेन्द्रीकरण गर्छौं भन्ने हो भने गर, तर पार्टिकुलराइज गर न। शिक्षालाई गर, स्वास्थ्यलाई गर। दूरदराजमा लगेर त्यसलाई फ्याँक न। अनि पो हुन्छ। 
यो पनि पुरानै कुरा!
पुरानै कुरा। तर कार्यान्वयन भएन। 
पहिचानको अभ्यास धेरै देशमा भएको छ। यहाँ दिन के को आपत्ति?
हो, भएको छ। तर यहाँको पहिचानको कुुरा फरक छ। एउटा विदेशीले अर्को देशमा गएर राज्य गर्दाखेरि त्यो देशको रैथाने मान्छेले मागेको पहिचानको कुरा हो त्यो। यहाँ त्यस्तो पहिचानको कुरा छैन। (भावुक हुँदै) यहाँ वर्षौंवर्षदेखि एउटै धागोमा उनिएर बसेका मान्छेहरूको पहिचानको कुरो छ।

सब पुगिसरी आएकै रहेछ। फेरि ०६२/६३ सालको आन्दोलनचाहिँ किन गर्नुभएको त?
आन्दोलन गरेकै हौं। ००७, ०१८ सालमा पनि गर्‍यौं, तर ती आन्दोलनमा कांग्रेसले जनता कति मार्‍यो? अनि ०५७ देखि ०६२ सालसम्म कति मरे जनता? तपाईंले आँकडा गर्नुभएको छ? स्कुलमा पढाउँदै गरेको शिक्षकलाई बाहिर निकालेर गोली हानिएको छ (फेरि भावुक हुँदै)। के त्यो सत्तासँगको लडाइँ थियो? राजासँग लडाइँ थियो? कि जनतासँग थियो? माओवादीले कसका विरुद्ध लड्यो? यसको लेखाजोखा भएको छ?

(गला अवरुद्ध भयो गुरुङको, त्यसपछि एकछिनका लागि अन्तर्वार्ता रोकियो।)

ठीक छ, माओवादीप्रति तपाईंहरूका प्रश्न होलान्, उनीहरूका पनि तपाईंहरूप्रति होलान्। तर इतिहासलाई कुनै प्रश्नमा पुर्‍याएर छाड्दिन मिल्छ?
तपाईं यसलाई सामान्य प्रश्न नठान्नुस्। यो निकै गम्भीर प्रश्न हो। 
पार्टीको झण्डा बोकेका मान्छेभन्दा धेरै पर बसेका मान्छेहरू पनि पहिचान खोज्दैछन्। उनीहरूलाई चाहिँ सम्बोधन गर्नु पर्दैन?
कागजमा मात्रै सम्बोधन गरेर भएन। अहिलेसम्म गरेकै त छन् नि त्यसरी, कसले बाँकी राखेका छन् र? जिल्लामा पार्लियामेन्ट खडा गर्दैमा दुरदराजका समस्या सल्टिइहाल्छन् भन्ने ठान्नुभएको छ? भइराखेका बद्मासी कम गर्ने उपायहरूको पो खोजी गर्नुपर्छ। 
यस्तै अवस्था रहे राष्ट्रिय पार्टीहरू खुम्चिँदै जाने, क्षेत्रीय जातीय पार्टी मौलाउँदै जाने पो हुन् कि?
नेपालको सामाजिक आर्थिक संरचना जस्तो छ, त्यस्तै परिणाम आउँछ। तर त्यही भइहाल्छ भन्ने पनि छैन। राष्ट्रिय पार्टीहरूले जसको पायो त्यसको पछि नलागी राष्ट्रियताको बारेमा गम्भीरतापूर्वक सोचे भने परिस्थिति अर्को ढंगले अघि बढ्न पनि सक्छ। 
तपाईंहरू सत्तामा रहेको बेला कांग्रेसमाथि राष्ट्रियताको प्रश्न उठ्यो। अहिले माओवादीमाथि। यो राष्ट्रियता भन्ने कुरा पनि यस्तै यस्तै रहेछ हगि?
अस्ति एउटा धुरन्धर कम्युनिस्ट भेटिएका थिए। उनीचाहिँ एउटाबाट अर्को कम्युनिस्ट हुँदै, माओवादीबाट अर्को माओवादी हुँदै बसेका रहेछन्। जयनेपाल पनि भने। उनी भन्दैथिए, 'हिजोआज त म कम्युनिस्टहरूलाई पनि गाली गर्ने भएको छु।' मैले पनि भन्दिएँ, 'ए, तिमी अहिले कम्युनिस्टलाई गाली गर्दैछौ? ००७ सालदेखि कांग्रेसलाई तिमीहरूले गाली गरेको हो कि होइन? गण्डक बेचुवा, कोसी बेचुवा, टनकपुर बेचुवा भनेको हो कि होइन? राष्ट्रियता बेचुवा, दलाल भनेको हो कि होइन? तिमीहरूले चाहिँ के के गर्‍यौ त अहिले? तिमीहरू आफूचाहिँ के भयौ? हामीले अरुण तेस्रो सुरु गर्दा विरोध गर्ने तिमीहरू होइनौ? त्यो भएको भए आज अन्धकारमा बस्नुपर्थ्यो? हामीले २० वर्ष पहिले सोचेको कुरा तिमीहरू आज सोच्दैछौ।' 
कम्युनिस्टहरूको, माओवादीको कमजोरी होला। तर जनमतको त्यति ठूलो हिस्सा प्रतिनिधित्व गर्ने त्यो शक्तिमाथि किन त्यत्रो अविश्वास?
माओवादीले कसरी प्रतिनिधित्व गर्न पाएको छ भन्ने पछि कुनै मौकामा म भनूँला। माओवादी र हामीमा धेरै नै फरक छ। माओवादीले राजासँग हाम्रो कार्यगत एकता थियो भनेको हो कि होइन? त्यसैले उनीहरूले केही समयका लागि मान्छेको आँखामा छारो हाल्ने प्रयत्न गरेका मात्रै हुन्। हामीले छारो हालेनांै। कांग्रेसका त्यति धेरै मान्छे किन मारे उनीहरूले? कांग्रेससँग के को रिस थियो?

सुशील कोइराला प्रधानमन्त्री बन्ने हल्ला छ। तपाईंले पनि प्रधानमन्त्री बन्ने आकांक्षा राख्नुभएको हो?

गिरिजाबाबु हुँदैखेरी नै सुशील, रामचन्द्रको सामू शेरबहादुर देउवालाई मैले भनेको थिएँ, 'तीनपटक प्रधानमन्त्री भइसक्यौ, अब रहर पुग्यो होला।' रामचन्द्र पनि सभामुख, उपप्रधानमन्त्री भइसकेको मान्छे। मैले सबैलाई भन्दिएको थिएँ। उमेरले पनि म तपाईंहरूभन्दा सिनियर नै हुँ। त्यसबेलाचाहिँ तपाईंले मेरो नाम प्रधानमन्त्रीका लागि सुन्नुभएको होला (हाँसो)।

सभामुखकै हैसियत बराबरको सुविधा पनि माग्नुभएछ!
संसद सचिवालयले नै मलाई लेखेरै ले भने। अढाई तीन महिना मैले संसद चलाएँ। एक पैसा पनि दिएका छैनन्। मान्छेलाई सुविधा त चाहिन्छ नि। जस्तो कि अहिले तपाईंको अफिसमा बोलाउनु भो भने म आउन सक्दिनँ। गाडी भयो भने सजिलै आउन सक्छु। गाडी दिन अप्ठेरो छ भने भन, नत्र मलाई पनि देऊ भनेर मैले भनेको हुँ। 
पैसा पनि माग्नुभएको?
राजपत्रमा नै सभामुख भन्नाले ज्येष्ठ सदस्य भन्ने बुझाउँछ लेखेको छ। 
कतिपय नेताचाहिँ युवा हुन्जेल लोभी, बुढा भएपछि सन्यासी भएको देखिन्छ। तपाईंचाहिँ उल्टो पर्नुभएछ!
तपाईंलाई कस्तो लाग्छ? प्रधानमन्त्री त मभन्दा बुढो हुन्जेलसम्म गिरिजाबाबुले चलाएको होइन? म त बुढै भएको छैन। 
ए, प्रम हुने योग्यता त भर्खर पो पुग्दैरहेछ!
(हाँसो) होइन, गिरिजाबाबु त्यसरी नै जानुभो, किसुनजी पनि त्यसरी नै। त्यसैले राजनीतिमा संघर्ष गर्दै जाँदा त्यो उमेरमा प्रम माग्नु आश्चर्यजनक मान्नुहँुदैन। 
युवाहरूले नेतृत्व माग्दैछन्?
इलाममा अस्तिको चुनाव मैले आफ्नै विद्यार्थीसँग लडेको हुँ। कांग्रेसको क्षेत्र नं एक र दुईका उम्मेदवार पनि मेरा विद्यार्थी थिए। मसँग लड्ने एमालेको पनि मेरै विद्यार्थी थियो, धर्म उप्रेती। 
त्यहाँका मान्छेले मलाई नै भोट दिए त मैले के गरुँ? त्यो मेरो दोष हो? ए, यो बुढो भयो, यो काम लाग्दैन भनेर दिएका हुन्? धर्म उप्रेती मभन्दा पढेको मान्छे, एमए बिएल गरेको। वकिल पनि हो। तैपनि उसलाई दिएनन्, मलाई नै दिए। मैले के गरुँ?
इलामका कार्यकर्ता निरोज खड्गीले भन्दैथिए, 'अरु सबै कुरा ठिकै हो, बेलाबेला कार्यकर्ताहरूसँग आएर बसिदिए हुने।'
गइरहेकै छु। अस्ति पनि एउटा प्रशिक्षणमा गएको थिएँ। जमाना फेरियो। अमेरिका र यहाँमा फरक हुन छाड्यो : सञ्चारको कारणले। इलाम गएको बेला कार्यकर्तासँग बसेकै छु।

इलामसमेतलाई मिलाएर लिम्बुवान बनाउनुपर्ने कुरा उठ्दैछ नि?

त्यो लिम्बुवान भन्ने शब्द भर्खर जन्मेको हो। इतिहासमा त्यस्तो छैन। पल्लो किराँत भन्नेचाहिँ थियो। तर त्यसमा पनि इलाम पर्दैन। 
ल एकछिनका लागि पल्लो किरात नै भयो रे!नामकै लागि राख्दिए केही फरक पर्दैन। 
अनि जातीय पहिचान माग्नेले पनि त्यस्तै त भनेका हुन् नि?
होइन, उनीहरूले त्यसो भनेका होइनन्। उनीहरूले भनेको कुरा अर्कै हो। उनीहरू के आधारमा लिम्बुवान, खम्बुवान, तमुवान भन्दैछन्? त्यसको कुनै आधार नै देख्दिनँ म। न जनसंख्याको प्रतिशत छ, न केही छ। तमुवान भन्दैमा हुन्छ? गुरुङको प्रतिशत त्यहाँ कति छ? पहिचान भन्दैमा हुन्छ? जनसंख्या पनि छैन, किपटको एरिया पनि छैन। 
संघीयतासम्बन्धी विवादले नै संविधान नबनेको भन्छन्। 
पक्का हो। 
चुनाव भयो भने फेरि त्यसैमा पुगेर संविधान निर्माण अड्कन्छ होला!
अब पनि सहमति हुने विश्वास छैन। फेरि संविधानसभा चुनाव त मर्दा पनि हुँदैन। मान्छेले मान्दैनन् पनि। 
हुनै सक्दैन भन्ने आधार के छ?
यही तीन चारवटा पार्टीले संघीयताको अन्तिम फैसला गर्न नसकेर संविधानसभा गएको। त्यसबेला नफुकेको गाँठो अब फुकाउलान् भन्ने के आधार छ?

त्यसमा तपाईं पनि पर्नुहुन्छ?
कांग्रेस भएको नाताले म पनि पर्छु। अरे म ००७ सालमा कांग्रेस भएरै काम लागेको हो। जनजाति भएर काम लागेको होइन। बलबहादुर राई बितेको १३ दिनको दिन जनजातिको यहाँ त्यहाँ भनेर बखेडा गर्दैथिए। मैले भनें, 'माफ गर्नुहोला। बलबहादुर राईले ००७ सालमा बन्दुक बोक्दा जनजाति कांग्रेस भएर बोकेका थिएनन्। मीनबहादुर गुरुङ, जमानसिंह गुरुङ, योगेन्द्रमान शेरचनले ००७ सालमा जनजाति भएर लागेको होइन। जीवनभरि कांग्रेस भए, कांग्रेस भएर मर्न चाहे। अब कांग्रेस भएरै मर्न दिनूस् न।' मैले त्यसै भनें। 
एमालेका अशोक राईजस्तै पुराना नेताचाहिँ किन पार्टी छाड्न लागेका होलान् त?
त्यो त उहाँहरूलाई नै थाहा होला। कसैको मन साह्रै दुःखेर भाँचिएर जान्छन्, कसैको चाहिँ मन दुःखे पनि सँगै बसिरहन्छन्। 
पहिले शिक्षक हुनुहुन्थ्यो। शिक्षक भएरै बसेको भए बरु ठिक हुन्थ्यो जस्तो लाग्दैन?
ठिक भन्नु भो अहिले। हिजोआज मलाई पनि यस्तै लाग्छ। शिक्षक हुँदा धेरै इनर्जी थियो ममा। 
स्कुलका केटाकेटीलाई पाठ बुझाउन सजिलो कि कार्यकर्तालाई बुझाउन सजिलो?
केटाकेटीहरूलाई सजिलो (हाँस्दै)। कार्यकर्ताहरू तर्क गर्न थाल्छन्, उनीहरूचाहिँ एकोहोरो पढ्छन्।
संविधानसभा अध्यक्ष बन्नुभएका तपाईंका विद्यार्थी सुवास नेम्वाङलाई गुरुको तर्फबाट सयमा कति नम्बर दिनुहुन्छ? 
नराम्रो त गरेनन् तर राम्रो पनि होइन। तैपनि पास मार्क दिनसक्ने कुरै छैन। संविधान बनेको भए दिन्थें होला। बिहानदेखि रातिसम्म बैठक राख्थ्यो। मैले भनें, 'यसरी राखेर हुँदैन। दिनको चार घण्टा मात्रै देऊ न समय।' 
चित्रबहादुर केसीले संघीयता नै अफाप हो भन्नुहुन्छ। उहाँको कुरा कस्तो लाग्छ?
संवैधानिक समितिमा उनी पनि छन्, म पनि। त्यहाँ भएका कत्तिवटा पार्टीका नेताहरूले 'चित्रबहादुर दाइ र तपाईंको कुरा नै ठिक हो' भनेका छन्, अनि मैले यहाँ के कुरा गर्नु? म त उसको पक्षमा हो।
तपाईंका अर्का विद्यार्थी झलनाथ खनाल प्रधानमन्त्री र एउटा ठूलो दलको अध्यक्ष हुनुभयो। उहाँलाई पनि अंक दिनुपर्‍यो भने?
उहाँलाई अंक दिए पनि हुन्छ नदिए पनि हुन्छ। आफ्नो ढंगले चलाएर जानुभो, पार्टी चलाइरहनु भएकै छ। बिचरा उहाँलाई आफ्नै पार्टीले धोका दियो। त्यही भएर असफल हुनु भो। 
राष्ट्रपति सक्रिय हुने हल्ला छ। 
राष्ट्रपति अघि बढ्नु उचित छ। तर उहाँ एक्लै अघि बढेर केही पनि हुनेवाला छैन। बहसहरू पूर्ण नभई उहाँ सक्रिय हुनुको अर्थ छैन। दर्विलो राष्ट्रपतिको परम्परा छैन यहाँ। 
उहाँले स्पेस बढाएको हेर्न रहर गर्नेहरू पनि छन् नि त?
त्यही त। अधिकार नदिने, अनि उसैसँग गुहार माग्न जाने? कोही सक्रिय हुनुपर्‍यो भन्दैछन्, अनि छिसिक्क केही गर्‍यो भने फेरि विरोध सुरु भइहाल्छ।

सुशील कोइराला प्रधानमन्त्री बन्ने कुराचाहिँ के हो?
सिंगो देशको कुरा सहमतिबाटै तय गर्नुपर्छ। कोही व्यक्तिले रहर गरेरमात्रै हुँदैन। 
हिजो गिरिजाबाबुको स्मृति दिवस थियो जानु भो?
बिरामी थिएँ, जान सकिनँ। 
हिजो दिवस हो भन्ने थाहाचाहिँ थियो?
आयोजकहरूले अघिल्लो दिन बेलुका खबर गरेपछि थाहा भो।


 
Posted on 07-08-12 8:05 PM     [Snapshot: 352]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मर्ने बेलामा पनि बुद्दी नआएको बुडोले ( गिरिजा ) माओबादीले रास्ट्रपति बनाइदिने आस्वासन पछी लागे पछी सुलीमा सुताइदिए | कमसेकम आज यो हाल त हुने थिएनकि ?
बि पी ले दैनिक झपार्दै होलान  |


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
Another Song Playing In My Mind
Alert: Turbo Cancers: A Rising Global Threat
Does the 180 day auto extension apply for TPS?
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters