सुनवल (नवलपरासी), श्रावण १७ - भारतीय सैनिकमा कार्यरत सुनवल-८, सिरानटोलका वसन्तबहादुर राना लन्डन ओलम्पिकमा प्रतिस्पर्धा गर्दै छन् । यता घरमा बाबु धनबहादुर र आमा गोमामायालाई गाउँलेको बधाई थाप्न भ्याइनभ्याई छ ।
'घरी पत्रकार आउँछन्, घरी खेलप्रेमी, छोरा ओलम्पिकमा खेल्न पाउने भयो भन्दै बधाई दिनेको ओइरो लाग्छ,' धनबहादुरले भने, 'छोराले यस्तो गर्ला भनेर पत्यार थिएन ।' परिवारका अनुसार उनको सानैदेखि खेलकुदमा रुचि थियो । निरन्तर प्रयासले ठूलो उपलब्धि हासिल गरेकामा आफूलाई भाग्यमानी ठानेको बाबुले बताए । 'गौरव महसुस भएको छ,' उनले भने, 'सम्पूर्ण नेपालीले गौरव मान्नुपर्छ ।'
२९ वर्षअघि स्याङ्जाको बासतारा बानेथोकबाट झरेका उनले भने, 'छोराले धन कमाउन सकेन तर नामचाहिँ कमायो ।' रूपन्देहीको सिमलार-१, चम्कीपुरमा २०४६ मा जन्मेका वसन्तबहादुर जेठा छोरा हुन् । परिवार बसाइँ सरेर सुनवल आएका थियो । पढ्दापढ्दै बुटवलमा १० वर्षअघि खुलेको गोर्खा भर्तीमा भर्ना हुन जाँदा दौडमा पहिलो भएर छोरा छनोट भएको धनबहादुरले बताए ।
वसन्तका भाइ रेशम फुटबलका राम्रा खेलाडी हुन् । अवसर नपाएर गाउँमै मसला उद्योग सञ्चालन गरेर बसेको बाबुले बताए । भारतीय सेनामा काम गरेका जेठो छोराले पैसा धेरै पठाएन । तर उसको पदकले दराज भरिएको छ । 'उसको कमाइ यही हो,' उनले भने, 'प्रमाणपत्र त कति छन्
कति ।' छोराको उपलब्धिले आमा निकै हषिर्त छिन् । 'रुस पुगेर खेलमा जितेको खबर पठाएको थियो,' आमाले भनिन्, 'पत्रिकामा छापिएपछि गाउँलेले तपाईंको छोरा ओलम्पिकमा खेल्ने भयो, भन्दै सुनाए,' छोराको प्रगतिले गद्गद् बनेकी आमाले भनिन्, 'सानैदेखि विद्यालयबाट फर्केपछि खेल्न जान्थ्यो, त्यही लगनशीलताले उसलाई यहाँसम्म पुर्यायो ।'
वसन्त वर्षमा एकपटक घर आउँछन् । कहिले दुई वर्षमा । आमाले भनिन्, 'माया लागेका बेला कहिले आफंै फोन गर्छु ।' गत माघमा महायज्ञ हुँदा पूजा गर्न घर आएका थिए । त्यसपछि आएका छैनन् । परिवारका सदस्यलाई फोनमा आफ्नो खेल ११ अगस्तमा हुने जानकारी दिएको उनले बताइन् । वसन्तले ओलम्पिकमा ५० किलोमिटर हिँडाइमा प्रतिस्पर्धा गर्नेछन् ।
http://www.ekantipur.com/nep/2069/4/17/full-story/352172.html