That's a load of cash bull
पशुपतिको भेटी १० महिनामै झन्डै ७ करोड
काठमाडौं, माघ १७ - सरकारले 'पशुपति मन्दिर तथा पूजा व्यवस्था नियमावली' लागू गरेपछि दस महिनामै झन्डै सात करोड रुपैयाँ भेटी संकलन भएको छ । गत वर्ष सरकारले पशुपति मन्दिरमा दैनिक भक्तजनहरूबाट जम्मा हुने भेटी पारदर्शी बनाउन 'मन्दिर तथा पूजा व्यवस्थापन नियमावली २०६८' लागू गरेको थियो । नियमावली लागू भएपछि दस महिनामा ६ करोड ७६ लाख ९४ हजार ५ सय ४८ रुपैयाँ आम्दानी भएको छ । जसमा भेटीबाट ४ करोड २४ लाख ३१ हजार ९ सय ८ रुपैयाँ र विशेष पूजाबापत २ करोड ५२ लाख ६२ हजार ६ सय ४० रुपैयाँ संकलन भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । गत चैत्र २६ गतेदेखि सरकारले मन्दिर तथा पूजा व्यवस्थापन नियमावली लागू गरेको थियो । कोषको आर्थिक शाखाका अनुसार आर्थिक वर्ष २०६७/६८ मा ९६ लाख र आर्थिक वर्ष २०६८/६९ मा १ करोड १२ लाख रुपैयाँ संकलन भएको थियो । नियमावली लागू हुनुभन्दा अघि मूल भट्टले आफ्नो स्वविवेकले मात्र पशुपति मन्दिर व्यवस्थापनका लागि खर्च उपलब्ध गराउने चलन थियो । नियमावली लागू भएपछि मूलभट्टको तलब निर्धारण गरिएको छ । मासिक डेढ लाख रुपैयाँ मूलभट्टको तलब तोकिएको छ । मूलभट्टको बस्न, खान, टेलिफोन लगायतका सेवा सुविधासमेत डेढ लाख रुपैयाँ निर्धारण गरिएको छ । अन्य पुजारीको पनि करिब एक लाख रुपैयाँ तलब तोकिएको छ ।
मन्दिरमा दैनिक तीसवटा भन्दा बढी विशेष पूजा हुने गरेको छ । विशेष पुजामा भक्तजनले तीस हजारदेखि एक लाख रुपैयाँ भेटी चढाउने गरेका छन् । नवग्रह, हनुमान, उन्मत्तभैरव र चौसठ्ठी लगायतका मन्दिरबाट हाल भेटी संकलन गरिन्छ । मन्दिरमा चढाएको जिन्सी रकम हिसाबकिताब भने कोषले हालसम्म सार्वजनिक गरेको छैन । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुशील नाहाटाले जिन्सीमध्येको लत्ताकपडा बिक्रीका लागि राखिने बताए । 'सुन, चाँदी नियमावलीअनुसार कोषमा राखिन्छ, अन्य चीज बिक्री गरेर पैसा कोषमा जम्मा गरिन्छ,' उनले भने । भक्तजनको सुविधाका लागि पनि विशेष कार्यक्रम ल्याउनेबारे कोषले छलफल गरिरहेको उनले उल्लेख गरे । सुरक्षा हिसाबले सरकारले पशुपतिका लागि छुट्टै व्यवस्था गर्नुपर्ने उनले बताए । 'भारतका मन्दिरमा पनि छुट्टै सुरक्षाकर्मी तैनाथ गरिएका छन् हामीलाई पनि छुट्टै चाहियो, जतिबेला जे पनि हुनसक्छ, यो संवेदनशील क्ष्ाेत्र हो,' उनले भने । संकलित रकम ३३ प्रतिशत सामाजिक क्षेत्रमा, ३३ प्रतिशत अक्षय कोषमा र बाँकी मन्दिर सत्तल जीर्णोद्धारका लागि प्रयोग गर्नुपर्ने नियमावलीमा उल्लेख छ । भेटीघाटीबाट संकलित रकम ५ वर्षसम्म कोषको खातामा जम्मा गर्ने प्रावधान छ ।