नेपाली युवतीको फोटो देखाएर विदेशमा मोलतोल
'अप्रेशन इगल'बाट समातिए युवती बेच्ने दलाल
२०७१ चैत ३ गते २०:३६ मा प्रकाशित
३ चैत, काठमाडौं । अफ्रिका र खाडी मुलुकका डान्स बारमा पुर्याइएका नेपाली चेलीहरु उतैबाट तेस्रो मुलुकमा बेचिन्छन् । पैसा कमाउने प्रलोभनमा डान्सर बनाएर लगिएका ती युवतीको पाइलैपिच्छे दलालहरुले मोलतोल गर्छन् ।
त्यतिमात्र होइन, उनीहरु जतिपटक बेचिन्छन्, त्यति नै पटक उनीहरुलाई नेपालबाट विदेशसम्म सप्लाई गर्ने नेपाली दलालहरुले आकर्षक कमिसन पाइरहन्छन् ।
गिरोहको धन्दा
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले करीव ६ महिना लगाएर गरेको ‘अप्रेशन इगल’को अनुसन्धानबाट यस्ता धेरै तथ्यहरु बाहिर आएका छन् । नेपाल प्रहरीको अप्रेसनको सफलतासँगै नेपाली युवतीलाई प्रलोभन दिएर बेचबिखन गर्ने एउटा ठूलै गिरोह समातिएको छ ।
फागुन २८ र २९ गते समातिएकामा गिरोहका नाइके ललितपुर इमाडोलका राजन भनिने राजेन्द्र सुवेदीसमेत छन् । उनले युवती बेचबिखनको टिकट लगायतको गोपनीयता कायम गर्न माउन्टेन टुर्स एण्ड ट्राभल्ससमेत सञ्चालन गरेको पाइएको छ ।
एक भारतीयसहित ७ जना समातिएकामा उनीहरुले राम्रा र आकर्षक युवती छान्नेदेखि त्रिभुवन विमानस्थल र विदेशमा सेटिङ मिलाउनेसम्मको काम गर्दै आएका थिए ।
पक्राउ परेकामध्ये सविनराज महर्जनले विभिन्न देशका एजेण्टबाट डिमाण्ड लिने र युवती छानेर पठाउने गरेको पाइएको छ । यिनको केन्या र तान्जनियाका डान्सबारमा लगानीसमेत रहेको प्रहरी बताउँछ । सुवेदीले देखाउनलाई मैतीदेवीमा कस्मेटिक पसल गरेका थिए । त्यस्तै अर्का अभियुक्त राजसिंह सुवालले उनलाई युवती बेचबिखन र संकलनमा सघाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
युवती बेचेको आरोपमा पक्राउ पर्नेमा बिराटनगरका सुनिल अधिकारी पनि छन्, जो माउन्टेन टुर्समै काम गर्थे । प्रहरीका अनुसार उनी युवतीहरु छनौट गर्ने कार्यमा सहभागी थिए । अर्का अभियुक्त संखुवासभा आँखीभुई घर भई हाल एयरपोर्ट अगाडि होटल व्यवसाय गर्ने आशिष भनिने केदारबहादुर खड्काले युवतीलाई विदेश पठाउन एयरपोर्टमा सेटिङ मिलाउने गरेको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै धनकुटा आँखीसल्लाका नवीन दाहालले युवती छनौट गरेर भारतीय नागरिक रियान भनिने तरुण रोजना खनगवाललाई जिम्मा लगाउने गरेको अनुसन्धानबाट खुलेको छ । यी सबैसँग मिलेर नेपाली युवती विदेशका डान्सबारमा लैजाने गिरोहका भारतीय सदस्य रियान भनिने तरुण रोजना खनगवाल हुन् । उनी आफैंले पनि नेपाली केटी लिएर जाने गरेका थिए ।
पक्राउ परेकामध्ये राजेन्द्र सुवेदी र नवीन दाहाल यसअघि पनि मान बेचबिखनको मुद्दामा पक्राउ परेका व्यक्ति हुन् ।
राजेन्द्रलाई विदेशका डान्सबारमा नेपाली युवती अवैधानिक रुपमा पठाउने गरेको अभियोगमा गत साल असोजमै सीआइबीले पक्राउ गरेको थियो ।
उनी र नवीनविरुद्ध मानव बेचबिखनको मुद्दा पनि चलेको थियो । पछि काठमाडौं जिल्ला अदालतले ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी छुटेका थिए ।
कहाँ बेचिन्छन् नेपाली चेली ?
नेपाली युवतीहरु तान्जनिया, केन्या, युएई, बहराइन, मलेसिया, युगाण्डा, ओमान लगायतका मुलुकका डान्सबार तथा होटलहरुमा पुर्याइने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उनीहरुलाई डान्स गर्दा प्रतिमहिना १ लाखभन्दा बढी तलब हुन्छ भनेर प्रलोभनमा पार्ने र कतिपयलाई श्रम स्वीकृति समेत मिलाएर पठाउने गरिएको छ । कतिपयलाई दिल्ली, मुम्बई र अहमदाबादबाट भिजिट भिसा लगाएर उडाउने गरेको पाइएको मंगलवार आयोजित पत्रकार सम्मेलनमा सीआइबीका प्रमुख डीआइजी हेमन्त मल्लले बताए ।
कसरी छानिन्छन् युवती ?
नेपाली दलाल गिरोहका सदस्यहरुको पहिलो काम भनेको आकर्षक युवतीहरुको छनौट गर्नु हो । उनीहरु यसका लागि बिभिन्न डान्स ट्रेनिङ सेन्टर तथा डान्सबारहरुमा घुमिरहन्छन् ।
महत्वाकांक्षी युवतीहरुको कमजोरीमा टेकेर उनीहरुले आकर्षक प्रलोभन दिन्छन् । त्यसपछि ती युवतीलाई विभिन्न स्टुडियोमा लगेर फोटो सेसन गराइन्छ । यो गिरोहले चाहिँ अधिकांश युवतीको फोटो सेसन बागबजारको फोटो बैंकमा गराएको देखिन्छ ।
टु पीस मात्रै लगाएर खिचिएका ती युवतीका तस्वीर दलालहरुले विभिन्न देशका डान्सबार सञ्चालक तथा दलालहरुलाई पठाउँछन् । उताबाट जो जो स्वीकृत हुन्छन्, ती युवतीहरुलाई विदेश पठाइन्छ ।
तस्वीर खिचेर पठाइएका करीव ८० प्रतिशत युवतीहरु नेपालका विभिन्न डान्सबारहरुमा कार्यरत रहने गरेको पाइएको अप्रेसन इगलका एक सदस्य प्रहरी निरीक्षक रञ्जकुमार दाहालले बताए ।
युवतीहरुको छनौटपछि ती युवतीका लागि मोलमोलाई हुने गरेको अनुसन्धानका क्रममा खुलेको छ । जसले बढी रकम दिन्छ, उसैलाई पठाइने गरिन्छ । छानिएका युवतीहरुका लागि कन्फरमेशन र तयारी स्वरुप सामान्तयः एक दुई लाख रुपैयाँ पेश्की वापत विदेशी दलालले नेपाली दलाल मार्फत रकम पठाउने गरेका छन् ।
सोही रकमबाट बार डान्सरका लागि आवश्यक पर्ने पोशाक तथा सिंगारका सामग्री गरिद गर्छन् । युवती गन्तव्यमा पुगेपछि उनले नाचेर कमाएको पैसामा समेत दलालको आधा हिस्सा लाग्छ ।
उतैबाट बेचिन्छन्
नेपाली युवतीहरुको भिसामा उल्लेखित भन्दा बढी अवधिका लागि विदेशी दलालले राख्ने भएमा सोवापत आकर्षक रकम नेपाली दलालले स्वतः पाउने गरेका छन् ।
केन्या र तान्जनियामा ३ महिना डान्स गरिसकेपछि त्यहीँबाटै मलेसियाको भिसा लगाएर मलेसियाका डान्सबारहरुमा नेपाली युवतीहरुलाई बेच्ने गरिएको डीआइजी मल्लले बताए । नेपालमा उडेपछि ती युवतीहरु चौबिसै घण्टा दलालको कब्जामा हुन्छन् । उनीहरुलाई एक दुई वा तीन देशका डान्सबारहरुमा बेचबिखन गर्ने गरिएको अनुसन्धानले देखाएको छ ।
डान्सबारमा नाच्ने युवतीलाई प्रत्येक दिन कमाउनुपर्ने टार्गेट दिने गरेको र सो टार्गेट रकम बराबरको कमाई नभएसम्म जबर्जस्ती काममा लगाउने गरेको पीडितहरुले बताएका छन् । विदेश लगिएका युवतीलाई दलालहरुले डान्सबार होटल आदिमा लामो समयसम्म कोठामा बन्धक बनाई यौनशोषण गर्ने वेश्यावृत्तिमा लगाउने गरेको समेत सीआइबीले जनाएको छ ।
- See more at: http://www.onlinekhabar.com/2015/03/253866/#sthash.gjOeuc3u.dpuf