गगन, सलाम छ तिम्रा प्रतिबद्धतालाई । पूर्ण प्रजातन्त्र प्राप्त गर्न तन, मन र वचनले जीवनपर्यन्त 'राजद्रोह' गरिरहने तिम्रा संकल्प पढेर अत्यन्त हषिर्त छौं । राजद्रोहको अभियोगमा अहिले कालकोठरीमा लामखुट्टेसँग मुकाबिला गर्दै पाकेटमारको सहयात्री बनेर बसेका तिम्रा आँखा बन्द छन्, आवाज निमोठिएका छन् । जेलको चौदिवारले तिम्रा स्वतन्त्रता यात्रामा अवरोध सिर्जना गरेका छन् । अँध्यारो कोठाले मध्ययुगीन शासनको झल्को गराउँदो हो । निरङ्कुशताको अविवेकी चरित्र अनुभव हुँदो हो । जेलको भित्ता छामेर सुस्केरा हाल्दै पलहरू बित्दा हुन् । अब तिम्रो यात्रा त्यति दूर छैन । बरु योसँगै तिमीलाई जेल पठाएर दीर्घ सत्ताकांक्षा राख्नेहरूको आर्यघाट यात्रा सुरु भएको छ ।
गगन, तिमी वीर तर सरकार काँतर बनेको छ । तिम्रा पाइला स्वतन्त्रताका खातिर रत्नपार्कतर्फ बढेका हुन् । लाखौं नौजवान युवाका लागि तिम्रा शब्द निस्किएका हुन् । समयानुकूल समाज रूपान्तरण गर्न तिम्रा हात उठेका हुन् । तर सत्ताकांक्षीलाई ती पाच्य भएनन् । 'प्रजातन्त्रको विकल्प प्रजातन्त्र' नै हुने समयमा बोलेर अपराध गर्?यौ । रत्नपार्कमा हक खोज्यौ, राज्य मेरो पनि हो भन्यौ । यसले अतिथि शासकका पारो ताते ।
बैंक डुबाएर १६८० नम्बर ल्याएको भए बरु ठिकै थियो, गोली हानेरै भए पनि झण्डा हल्लाउँदै 'सेवा' गरेको भए ठिकै थियो, उपचार खर्च अनि घरमर्मतको बहाना बनाएर खर्च बढाएका भए पनि स्यावासी पाउँथ्यौ । पञ्चायतको खोल आडेर प्रजातन्त्रको वाणी ओकलेको भए बेसै हुन्थ्यो । तर तिम्रो स्वाभिमानले त्यसो गर्न दिएन । आमाको हातको टीका थापी मृत्युको कफन बाँधेर नागरिकसँगै तिमीले मुक्तियात्रा तय गर्?यौ । त्यही आज तिम्रो अपराध ठहरिएको छ ।
'जसले मृत्युलाई जित्न सक्छ, त्यसलाई कसैले जित्न सक्दैन ।' प्रजातन्त्रका निम्ति सिउँदो रित्तिएका, कोख खाली भएका आमाहरूको तिमीलाई आशिर्वाद छ । हजारौं सहिदको मनोबल साथमा छ । अतः हाँक प्रजातन्त्रको रथ, त्यही रथमा सवार हुन पुस्तक राखेर एक हातमा मसाल र हर्काे हातमा पत्थर लिएर युवा विद्यार्थीहरू सडकमा निस्किसकेका छन् । तिमीजस्ता आस्थाका बन्दी उपयुक्त शिक्षा खोजेबापत भद्रगोल जेलमा पनि छन् । बस्ती-बस्तीमा पनि छन् । त्यस्ता व्यक्तिलाई थुन्ने जेलको पर्खाल होचो हुँदैछ । गगन, तिमीलाई शुभकामना छ, नागरिक अभिनन्दन छ ।
- पीपलमणि सिग्देलनारायण गाउँले
चावहिल, काठमाडौं