राजा, संविधानसभा र अगाडिको बाटो
प्रदीप गिरी
अनेकौं द्वन्द्व हुँदाहुँदै पनि एकीकरणदेखि आजसम्म बडामहाराज पृथ्वीनारायण शाहका उत्तराधिकारी सम्मानित र निर्विवाद थिए । पुस १, २०१७ को घटनापछि राजा महेन्द्र गम्भीर विवादमा फसे । उनीमाथि घातक हमलासमेत भयो । तर पनि सुवर्णशमशेर वा बीपी कोइरालाले राजसंस्था नभएको नेपालको कल्पना कहिल्यै गरेनन् । सुवर्ण र बीपीको प्रत्यक्ष प्रेरणाबाट सशस्त्र मुठभेडको संगठनसमेत भयो । तैपनि नेपाली जनआन्दोलनले सामान्यतः र नेपाली कांग्रेसले विशेषतः संवैधानिक राजतन्त्रको लक्ष्मणरेखाको अतिक्रमण गरेन । त्यस्तै मर्यादाले गर्दा पछि फेरि जनरल सुवर्ण र बीपी राजासँग वार्ता गर्न प्रवृत्त भए । आज यो स्थिति छैन ।
दुवै नेपाली कांग्रेस सुस्तरी र निश्चितरूपले गणतन्त्रात्मक नेपालतर्फ उन्मुख भएका छन् । यस्तो बाटोमा मुलुक हिँडेको दुवै कांग्रेसको शीर्ष नेतृत्वलाई प्रीतिकर लागेको होओइन । पार्टीपंक्ति भने गणतन्त्रको गन्तव्यमा जान उद्यत छ । नेताहरूले कार्यकर्तालाई बुझाउने ठाउँ पनि छैन । श्री ५ ज्ञानेन्द्रको दुर्दान्त राजहठ र नेकपा -माओवादी) को प्रभाव र प्रसारको अभिवृद्धिले नेतृत्वपंक्तिको हात बाँधेको छ । यस्तै पृष्ठभूमिमा नेका प्रजातान्त्रिकले एकपटक फेरि बीचको बाटो लिएको छ, संविधानसभाको बाटो ।
संविधानसभा सर्वथा निःसर्त हुनेछ । त्यो सार्वभौमसत्ता सम्पन्न सर्वोच्च विधायिका हुनेछ । त्यसले २१ औं शताब्दीको देशलाई चाहिने संविधानको तर्जुमा गर्नेछ । मुलुक अहिले उग्ररूपमा आन्दोलित एवं द्वन्द्वरत छ । सार्वभौम संविधानसभाको गरिमामय सदनले कुनाकन्दरामा घन्किरहेको प्रत्येक सवालबारे विचारविमर्श गर्नेछ । राजतन्त्र, गणतन्त्र, संघीय प्रणाली, आरक्षणलगायत विषयमा त्यसै सभाले अन्तिम निर्णय दिनेछ । त्यो निर्णय प्रत्येक नेपालीले सहर्ष स्वीकार गर्नुपर्छ । अनिमात्र राष्ट्रमा दिगो एवं न्यायोचित शान्ति र स्थिरता स्थापित हुनेछ ।
नेपालको अस्तित्व, अस्मिता र ऐतिहासिक भवितव्यको सन्दर्भमा यताका दशकहरूमा राजतन्त्र, गणतन्त्र र संविधानसभाबारे अनेकौं पटक तीव्र विवाद भएको छ । ०७ सालको क्रान्तिको समापन संविधानसभाको सहमतिमा भएको थियो । कांग्रेसले संविधानसभाको चुनावनिम्त्ति लगातारजस्तो प्रतिबद्धता व्यक्त गरिरह्यो । राजा महेन्द्रको राजहठका अघि केही लागेन । ०१५ को आमचुनावमा राजनीतिक दलहरू सहभागी भए । चुनावले कांग्रेसलाई प्रबल बहुमत दियो । राजा महेन्द्रलाई त्यो स्वीकार भएन । राजाले बीपीको जननिर्वाचित सरकारलाई सेनाको सहायताले भंग गरे । मुलुकमा तानाशाही लादियो । पार्टी र जनता भीषण र निर्मम दमनको सिकार भए । कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा प्रतिरोधको लामो शृंखला चल्यो । प्रतिरोधका क्रममा दलहरूले हिंस्रक झडपदेखि सत्याग्रहसम्म अनेकौं प्रविधि अवलम्बन गरे । १५ मई, १९६६ मा सुवर्णशमशेरको नेतृत्वमा कोलकातामा केन्द्रीय समिति बैठकले फेरि संविधानसभा माग गर्žयो ।