संसदमा दुःखद र सुखद संयोग
किशोर सापकोटा, (काठमाडौं)। मेरा श्रीमान् बुद्धिमान पाख्रिनलाई माओवादीले अमानवीय तवरले हत्या गरेका थिए। मेरा श्रीमानको हत्यामा संलग्न भएकी भनिएकी देवी खड्का अहिले माओवादीको तर्फबाट सांसद भएर संसदमा आउनुभएको छ, म उहाँप्रति मानवताको व्यवहार गर्छु।
-शान्ति पाख्रिन, एमाले सांसद
नयाँ नेपालको निर्माण गर्न गठित अन्तरिम संसदमा थुप्रै रोचक र दुःखद संयोग छन्। माओवादीले श्रीमान्को हत्या गरेका चार महिला सांसद छन्।
राज्यको तर्फबाट आफन्त मारिएका १७ जना माओवादी सांसद बनेका छन्। धेरै मानिसलाई लाग्न सक्छ- अब यी बीच कस्तो सम्बन्ध रहन्छ ?
'उहाँहरू हतियारको राजनीति गर्नुहुन्थ्यो, हामी विचारको राजनीति गथ्र्यौं, अहिले विचारको राजनीति विजयी भएको छ' -सांसद पाख्रिनले नेपाल समाचारपत्रसँग भन्नुभयो। सांसद पाख्रिनले अहिलेसम्म देवी खड्कालाई चिन्नुभएको छैन।
'जुन झोलामा आतंककारीको टाउको ल्याउनु हुन्छ, त्यसै झोलामा इनाम लिएर जानुहोस्' भनेर घोषणा गर्ने तत्कालीन गृह राज्यमन्त्री देवेन्द्रराज कँडेल र उनलाई गोली प्रहार गरेर 'सफाया'गर्न खोज्ने माओवादी नेतृत्व अब संसद् भवनको ग्यालरी बैठकमा सँगै बस्ने भएका छन्।
'मेरो टाउकाको मूल्य ३५ लाख तोक्ने महाशयहरूसँग अब एउटै व्यवस्थापिकामा हामी आएका छौं, तर अब सबै व्यक्तिहरू नयाँ नेपालको निर्माणमा एकताबद्ध भएर जानुपर्छ भन्ने पक्षमा हामी छौं' -मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा माओवादी सांसद लोकेन्द्र विष्टले भन्नुभयो।
जनयुद्धका क्रममा भएका युद्ध अपराधबारेमा छानबिन गर्न एउटा 'ट्रुथ कमिसन' बनाउन आठै दल सहमत भइसकेका छन्, तर अन्तरिम संसदमार्फत केन्द्रदेखि मेलमिलापका प्रयास भने शुरू भइसकेको छ।
एमाले सांसद तीर्था गौतम, पार्वती चौधरी, पाख्रिन र नेपाली कांग्रेसका सांसद काशी पौडेलका पतिको हत्या माओवादीले गरेका थिए।
माओवादी सांसदहरूका पीडा पनि कम छैनन्। ती पीडालाई दबाउँदै माओवादी सांसदहरू राज्य संयन्त्रमा सामेल भएका छन्। माओवादी सांसद शीला यादवका पति, ससुरा, जेठाजु, देवर र नन्दको श्रीमान्लाई समेत सुरक्षाकर्मीले हत्या गरिदिएका थिए।
संसदमा दुःखद मात्र होइन सुखद पनि संयोग छन्। प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र मनोनीत सांसद सुजाता कोइराला बाबुछोरी हुन् भने एमाले सांसद अमृत बोहरा र अष्टलक्ष्मी शाक्य श्रीमान्-श्रीमती हुन्।
'पार्टीमा हामी सँगसँगै क्रियाशील थियौं भने २०४८ पछि पनि हामी सँगसँगै संसदमा थियौं, त्यसैले खासै फरक महसुस भएको छैन', सांसद बोहराले भन्नुभयो- 'केवल जिम्मेवारी थपिएको छ।'
यसै गरी नेपाली कांग्रेसका सांसद डा. रामशरण महत र नेपाली कांग्रेस (प्रजातान्त्रिक) का सांसद डा. प्रकाशशरण महत सहोदर दाजुभाइ हुन् तर फरक फरक पार्टीबाट सांसद सदस्य बनेका छन्। चितवनबाट मात्रै पाँच जना महिला सांसद बनेका छन्।