कति हिँडे हुँला
यो जीवनमा म कति हिँडे हुँला !
यसरी -
कतिपल्ट बिसाएँ हुँला - यो अडेसोमा ?
मेरो सपनाजस्तो
बगिजाने यो खोलाको पानी
कहाँ पुग्यो होला अहिले...?
कठै ! यो रुख
त्यसै बूढो भएछ
धेरै अघि मलाई -
यसैमा झुन्डी मरुँ लागेको थियो
बचाएको थियो- यही रूखको त्यो यौवनले
त्यसको गोलो छायाँ
अझै हिँडिरहेछ- मेरो कुमकुम भएर ।
कति हिँडेँ हुँला
यो जीवनमा कति हिँडेँ हुँला !
मैले छोडेर आएकाहरुलाई भन्नु थियो-
मलाई लिएर आउनू !
मलाई छोडेर गएकाहरुलाई भन्नु थियो-
पुगेर मलाई भेट्नू !
उफ ! यो मध्याह्न
रगत खाने तिर्खा
कति निमोठ्नु निधारका यी निमुखा पसिनाहरुलाई ?
भिज्छ- सप्पै आङ
गल्छ- गोडा
थाक्छ- आँत
मैले त नुन ओसारेको हुँ
पानीको नाला
कर्कटपाता ओसारेको हुँ - पहाडलाई
यो बाटोका धुलोहरुमा
कहाँ हराउँछन् कहाँ- मानिसका पदचिन्हहरु !
कति हिँडेँ हुँला
यो जीवनमा कति हिँडेँ हुँला !
धर्ममा मरुँ भने कर्म गरेँ
धर्मैको त आयु हुन्छ/ आयुको त आयु हुन्छ
हिसाब हुन्छ
स्वर्गको कर्मको
नर्कको कर्मको
कर्मको कर्मको
छि: !
मानिसको कर्म
कतिपल्ट टेकाएँ हुँला-यो तोक्मा?
यसरी-
सबैलाई सुनाउँछु भनेर आफैंलाई
कतिपल्ट सुनाएँ हुँला- आफ्नो गीत..?
आपत्मा सघाउने रामलाई पनि थाहा छैन-
म कति हिँडेँ ?
विपत्मा सम्हाल्ने मेरी मायालुलाई पनि थाहा छैन-
म कतिपल्ट लडेँ-लडेँ !
अरु कसलाई थाहा हुन्छ
म नरोएको मान्छेको आँसुको कथा-
कसलाई थाहा हुन्छ..?
अहा !
कति हिँडेँ हुँला
यो जीवनमा म कति हिँडेँ हुँला
भारी बोकेर कविताको !