किन यस्तो घृणा राजाप्रति ?
29 04 2006
Changing the National Anthem (that sings the song of the kings) and renaming His Majesty’s Government to the Government of Nepal might seem like cosmetic changes. But these proposed changes symbolize Nepali peoples’ deep hatred to Monarchy. An article in Nepali:
दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
संसदको पुनस्थापनासँगै देखिएको हर्सोल्लासले देशमा प्रजातन्त्र पुनर्वहाली भएको भान दिएपनि वास्तविकता त्यो होइन । देशमा प्रजातन्त्र, खासगरी पूर्ण प्रजातन्त्र, आएको छैन । सकारात्मक पक्ष, यो यथार्थलाई सडकमा रहेर निरन्तर नेताहरुलाई खवरदारी गरिरहेका जनताले बुझेका छन् । प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइरालाले पनि लामो समयदेखि तर्क गर्दै आएका हुन् संसदको पुनस्थापना नै आन्दोलनको अन्तिम विन्दु होइन, बरु पूर्ण प्रजातन्त्रका लागि प्रस्थान विन्दु हो । त्यसैअनुरुप कोइरालाले संसदको पहिलो ऐतिहासिक बैठकमा नयाँ संविधान निर्माणका लागि संविधानसभामा जाने प्रस्ताव गरेका छन् । यो ठूलो मुद्धा हो र यसले धेरैको ध्यान खिचेंको छ । तर मलाई अचम्म लागेको कुरा चाहीँ सानातिना जस्ता देखिने कुराले हामीहरुलाई कति प्रभावित पारेको रहेछ भन्ने हो । कान्तिपुर दैनिकको ‘पाठक मन्च’ (जसलाई यसपालीको नयाँ बर्षदेखि झन्डै एक पेज स्थान दिइएको छ र सम्पादक नारायण वाग्लेका अनुसार पत्रपठाउने पाठकहरुको संख्या यति बढेको छ, सयौंले स्थानै पाउदैनन्।) मा देखिने जनधारणा, सडकहरुमा सुनिने आवाजमा एउटा वडो रमाइलो मतैक्यता पाइन्छ । कुन विषयमा त्यस्तो मतैक्यता ? दरवार र राजाप्रति रोस पोख्ने र राजतन्त्रलाई तिरस्कृत गर्ने कुरामा ।
देख्दा साना जस्ता लागेपनि निम्नलिखित कुरा वितेका बर्षहरुमा हामी प्रजातन्त्रवादी नेपालीहरुलाई कत्ति विझाएको रहेछ भन्ने प्रष्ट हुन्छ ।
१) राष्ट्रिय गान परिवर्तन गर्नुपर्छ- माओवादीहरुले आफ्नो प्रभाव क्षेत्रमा केही बर्षदेखि नै राष्ट्रिय गीत बदल्न लगाएका हुन् । अहिले यो मागले बुलन्दता पाएको हुन्छ । राजाको गुणगान किन गाउने हामीले ? अब जनताको गीतलाई राष्ट्रिय गान बनाउनु पर्छ ।
२) श्री ५ को सरकारको साटो नेपाल सरकार- हो त नि, किन श्री ५ को सरकार ? को हुन् ती श्री ५ भनेका ? त्यसैले नेपाली जनताको र नेपालको सरकारलाई नेपाल सरकार भनिनु पर्छ ।
केहीले यी कुरालाई मुल मुद्धा भन्दा बाहिरका श्रृंगारिक परिवर्तन पनि भन्लान् तर यस्ता सानातिना जस्ता देखिने कुराले नेपाली जनाताको मानसिकतामा गम्भीर असर पार्ने गरेको छ । नामै मात्रको परिवर्तनले पनि ठुलो महत्व राख्छ । २०४६ मा बहुदल मिलेयता पुराना नामलाई प्रजातान्त्रिक मर्म अनुरुप परिवर्तन गरिएको उदाहरण छ । जहाँ पनि ठूलो राजनीतिक बदलावसँगै तिनको मर्म अनुरुपका नाम लगाएतका परिवर्तन नौलो कुरा पनि होइन । हिजो संसदमा देखिएको एउट रुचिपूर्ण, उल्लासपूर्ण र ‘हो ठिक गर्यौ’ भन्न मनलाग्ने दृश्यको उल्लेख गरौं । (उप) सभामुख ग्यालरी बैठकमा छिर्दा सधै अधिलगाइने श्रीपेच र राजदन्ड यसपाली देखिएन । आन्दोलनकारी सांसदहरुले श्रीपेच अंकित लोगो कोटमा पहिरिएनन् । कुरो सामान्य र सानो हो । तर त्यसलाई सुन्दा र देख्दा मनमा यति आनन्द आयो, राजालाई ‘ठिक्क पर्यो’ भन्न मन लाग्यो, अनि त्यसबाट मिलेको सन्तुष्टिले आङ् सिरिङ्ग भयो । राजाप्रति धेरै नेपाली जनतामा यति घृणा मैले वितेका बर्षहरुमा कहिल्यै देखेको थिइन । शायद उनीहरु विभिन्न वाहनामा लादिएको राजभक्तिलाई नचाहदा नचाहदै मौनरुपमा स्वकारीरहेका थिए । जस्तो मैले पनि स्कुलमा ‘श्रीमान गम्भीर’ नगाएको होइन । यदाकदा अल्छीलागेको बेला ठट्टा गर्दै हामी ‘राजाको गीत किन गाउने’ भन्दै बिचबिचमा आफ्नै नाम घुसाउथ्यौं । तर त्यो ठट्टा अहीले गम्भीर घृणामा परिवर्तन भएको छ । कसैले राजाको पक्षपोषणा गरेको सुन्दा रगत उम्लिन थाल्छ, तर्क छाडेर हातपातमै उत्रिउँ जस्तो लाग्छ ।
हिजो अफिसमा कसैले राजालाई सेरेमोनियल बनाए भइहाल्छ नि, सेरेमोनियल भनेको सम्बैधानिक भन्दा पनि कम अधिकार हो, भन्दा अरु सहकर्मीहरुबाट यति तीब्र प्रतिक्रिया आयो, तत्कालै त्यहाँ उसले आफूलाई सच्याएर ‘हो, नेपालमा राजाको खासै काम चाही छैन’ भन्ने निस्कर्ष निकाल्नु पर्यो । स्वतन्त्ररुपमा सोच्ने नेपालीहरुलाइ के परेको छ भने समश्याको सबै जड राजा हुन्, यीनले हामीलाई सदियौं देखि शोषण गर्दै आएका छन्, यीनलाई राख्नु भनेको हाम्रो प्रगतिलाई रोक्नु हो । यो सोच सही हो । दुखि जनता भएका देशमा राजा महाराजाले सधै सुख सयलको जिन्दगी जिइरहका छन् । त्यसैले राजालाई नारायणहिट्टीबाट हटाइनु पुर्ब कोटका ब्याच, संसदका बैठकहरुबाट हटाइदा मन हलुंगा हुन्छ ।
अब अर्को एउटा महत्वपूर्ण कुरा । जव शाही नेपाली सेनालाई नेपाली सेना भनिनु पर्छ भन्ने कुरा आउछ यसमा चाहि जनताले नामको मात्र परिवर्तन चाहेका छैनन् । सेनाको कुनै तालिम नै नगरेका राजाले सैनिक पोशाक किन लगाउने, जनताले नछानेका राजाले किन देशको सेनाको उच्च जिम्मेवारी बहन गर्ने ? फेरी सेनालाई कागजमा मात्रै संसद अन्तर्गत ल्याएर पनि अर्थ छैन । सेनामा प्रगतीशील सुधार गरेर आन्तरिक प्रजान्त्रको अभ्यास थाल्नु अहिलेको सबैभन्दा ठूलो चुनौती हो । प्रजान्त्रको अभ्यास गर्ने सेनाले र प्रजान्त्रको महत्व बुझेका जर्नेलहरुले कहिल्यै निरङ्कुशताको वकालत र समर्थन गर्दैनन् ।
« Historic House Session Begins in Nepalese Capital The Royal Disconnect: Monarchy in Nepal »