[Show all top banners]

eternalbliss

More by eternalbliss
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 छापादेखि छापासम्म
[VIEWED 2074 TIMES]
SAVE! for ease of future access.
Posted on 03-27-09 8:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छापादेखि छापासम्म



2009-03-27,Friday


सिक्किमलाई भारतमा विलय गरिएपछि विरोधमा न्युरोडबाट निस्केको ठूलो जुलुसमा कैलालीको भट्ट थरको एउटा किशोर पनि थियो । जुलुसले बहुराष्ट्रिय जुत्ता कम्पनी 'बाटा शू' को सिसैसिसाको शोरुममा सुरुमा ढुंगा प्रहार र पछि तोडफोड गर्न थाल्यो । भट्टको जीवनमा यो पहिलो 'छापामारी' थियो र पहिलो ढुंगा प्रहार पनि । कालान्तरमा भट्ट माओवादी छापामार भयो र नेतृत्वका विभिन्न तह पार गर्दै अहिले मुलुकको श्रम तथा यातायातमन्त्री छ । तर, जीवनका यति धेरै रंग फेरिइसक्दा पनि धन्दा उही जारी छ : छापा मार्ने ।

कथा लेखराज भट्टको हो । छापामार हुँदै मन्त्री र विस्तारै छापामार मन्त्रीजस्ता देखिन थालेका उनलाई सडकमा उभिएर लाइसेन्स र ब्लुबुक जाँच्न, छतमा सामान छन् कि छैनन् भन्ने हेर्न र भाडा सोध्न के सनक चल्यो होला ? 'सनक होइन,' भट्टले भने, 'जिम्मेवारी हो । यो देशमा फाइल र फिल्डका बीचमा सबैभन्दा धेरै दूरी छ ।' अहिलेसम्म नागढुंगा, मनोहरा पुल, पुल्चोक, गैंडाकोट, भरतपुर र आँबुखैरेनी गरी छ ठाउँमा छापा मारिसकेका उनीसित ट्राफिक र शाखा अधिकृतको नेतृत्वमा यातायात मन्त्रालयको केन्द्रीय टिम पनि छ । केका लागि छापा मार्दै हिँडेको मन्त्री भएर पनि ? 'तोकिएको भन्दा बढी भाडा लिनेलाई, टिकट नदिनेलाई,' उनले छापा मारिने विषयको बुँदा सुनाए, 'कारवाही गर्न । लाइसेन्स, ब्लुबुक, रोड पर्मिट पनि हेरिन्छ ।'

मन्त्री आफंै फिल्डमा उत्रेर छापा मार्नुका तीन उद्देश्य रहेछन् । एक- बसको कन्डिसन र उसका कानुनी कागजपत्रहरू, दुई- निर्धारण गरेको भाडा दर लागू भएको छ कि छैन र तीन- छतमा यात्रु छन् कि व्यावसायिक सामान । यस्तो काम गर्न मन्त्री नै जानुपर्ने कारण के
छ ? ट्राफिक प्रहरी र मन्त्रालयअन्तर्गतका कर्मचारीको काम हैन र त्यो ? उनले छापामारीको पुष्टि गर्न तर्क दिए, 'सिस्टमले काम नगरेकाले आफैं जानुपरेको हो । 'हिजोको सिस्टमबाट अलिकति पनि परिवर्तन भएको पाइनँ र आफंै हिँडँे । अहिले ट्राफिकको मनोबल गिरेको छ । परिश्रमअनुरूपको पारिश्रमिक पनि छैन, सुरक्षा पनि छैन । धेरै कुरा लेनदेनबाट चलिरहेको छ । टेबल र सडकको दूरी धेरै छ नेपालमा । यो दूरी नमेटी परिवर्तनको अनुभूति हुन्न' उनले भने, 'व्यवसायीसँगै सरकारी संयन्त्रलाई पनि दबाब दिन र दम भर्न पनि सडकमा गएको हुँ ।'

के समस्या उनको मन्त्रालयको नाममा छैन ? श्रम र यातायात कुनै 'कनेक्सन' भएका कुरा हुन् ? यो बेवकुफी होइन ? प्रश्न सुनेर 'छापामार' मन्त्री हाँसे । 'सनकका भरमा बन्यो होला,' हाँसो रोकिएपछि उनले भने, 'तर, विभागहरू बेग्लाबेग्लै छन् । यातायात, श्रम र वैदेशिक रोजगारका तीन विभाग छन्, अब । यो मन्त्रालय मात्र होइन, अरू मन्त्रालय पनि अवैज्ञानिक छन् । नामकरण र संयन्त्रमा धेरै कुरा मिलेका छैनन् । तर, विभागहरू बेग्लै भएकाले काम गर्न असजिलो भएको छैन ।'

युद्धकालमा कतिपटक छापा मारे त उनले ? प्रश्न पूरा नहुँदै उनको जवाफ आयो, 'जनयुद्धकालमा म सैनिकभन्दा पनि संगठनतिर बढी थिएँ, त्यसैले युद्धमोर्चामा गए पनि एक/दुईवटाबाहेक 'रेड' गर्न गइएन,' स्मृतिको चक्कर लगाउँदै उनले जवाफ दिए, 'बिपी नगर इलाका चौकीमा र डोटीमा ०५८ सालको आक्रमणमा गएको थिएँ ।'

***

आफ्नो मन्त्रालयलाई बजेट कम भएको दुःखेसो रहेछ उनमा । 'श्रम मन्त्रालयले राज्यलाई कुल गार्हस्थ उत्पादनको १८ प्रतिशतबराबर रेमिटेन्स दिन्छ । र, सँगसँगै यातायात क्षेत्रले ७ प्रतिशत राजस्व दिन्छ' उनको दावी छ, 'तर, बजेट विनियोजन गर्दा यही मन्त्रालयमाथि सबैभन्दा बढी पक्षपात भएको छ ।'

मन्त्रीका रूपमा उनले आर्जन गरेको एउटा दिव्यज्ञान रहेछ : यहाँ फाइलहरू तल-तलमात्रै घुम्छन् । मन्त्री भएपछि पनि भट्टले हल गर्न नसकेका थुप्रै प्रश्न छन् । जस्तो : वैदेशिक रोजगार विभागका कागज, जेनेरेटर र तेलसमेत मेनपावरहरूसँग मागेर चलाउने सरकारले कसरी गर्छ नीतिनियमको कार्यान्वयन ? श्रम विभागदेखि यातायात विभाग, सीप तथा तालिम केन्द्र निर्देशनालय र मन्त्रालयसम्मको खर्च २८ करोडले पुग्छ ? श्रम विभागको डिजीलाई गाडीसम्म छैन, तर चमेलियाको गाडी शेरबहादुर देउवाले चढिरहेका छन् ।
बजेट विनियोजन हुँदा अन्याय भयो भनेर उनले अर्थमन्त्रीदेखि राजस्व सचिवसँगसम्म छलफल गरिसकेका रहेछन् । 'तर, यहाँ तल-तल घुमिरहन्छन् फाइलहरू,' उनले दिक्क भएझैं भने ।

बजेटको अभाव नभएको त कुन मन्त्रालयले पो भन्ला र ? उनको दुःखेसोको प्रसंग बदल्दै सोधियो, मन्त्री नै छापा गर्न गएको देखेपछि के प्रतिक्रिया पाउनुभयो ? 'जनता उत्साहित भएको पाएँ । मन्त्री नै 'फिल्ड'मा आएर हेर्छ भने हाम्रो गुनासा सुनिन्छन् भन्ने विश्वास पनि बढेको पाएँ,' उनले भने ।

उनी छापा मार्न जाँदा छतमा यात्रुहरू राखेर एउटा गाडी आयो । यो के गरेको भनेर सोध्दा छतमा मान्छे हालेर ल्याउनेले जवाफ फर्काएछ, 'लास्ट गाडी हो, ल्याइयो । नत्र, मन्त्रीको गाडीमा हालेर लैजानोस् ।' भाडाका विषयमा पनि त्यस्तै लफडा परिरहँदो रहेछ । उनले भने, 'यातायात व्यवसायी संघले आफैं छलफल गरेर सहमतिमा हस्ताक्षरसमेत गरेर निर्धारण भएको भाडादरमा व्यवसायीले आपत्ति जनाउनुपर्ने कुरै छैन । लागू गर्ने सन्दर्भमा उहाँहरूको कमान्ड कति छ भन्ने प्रश्न छ ।'

***

महानगरमा साँझ ६/७ बजेपछि गाडी नपाएर यात्रुहरू अलपत्र परिरहन्छन् । गाडी किन नचलेका हुन् ? 'पूर्वयातायातमन्त्री रमेश लेखकले महासंघको सिफारिसमा रुट पर्मिट दिने निर्णय गर्‍यो । अदालत र सरकारले स्विकार नगरेपछि महासंघले अनिश्चितकालीन हड्ताल गर्‍यो,' मन्त्रीले अर्को कारण पनि देखाए, 'अर्कातिर यातायात क्षेत्र पनि भ्रष्टाचारबाट बाहिर छैन ।' महानगरभित्र कसरी वैज्ञानिक रुट पर्मिट दिनुहुन्छ त ? 'छलफल चलिरहेको छ,' कूटनीतिक उत्तर दिए उनले । र, अघिल्ला सरकारलाई केही आरोप पनि लगाए, 'साझा र ट्रली बेचेर खाए, अघिल्ला सरकारहरूले । रोप-वे उखेलेर फालियो । यी संस्थाहरूको सम्पत्तिसमेत खोज्नुपर्ने स्थिति छ । सिन्डिकेटलगायत यातायात क्षेत्रका यावत् समस्याको हल खोज्न उच्चस्तरीय आयोग पनि बनिसकेको छ ।'


'सिन्डिकेटलगायत यातायात क्षेत्रका यावत् समस्याको हल खोज्न उच्चस्तरीय आयोग पनि बनिसकेको छ'माइक्रोमा ठेलमठेल हुन्छन् यात्रुहरू, विद्यार्थी सहुलियतको पनि उस्तै समस्या छ । यस्तो अवस्थाको कहिले अन्त्य गर्ने हो मन्त्रीज्यू ? 'महानगरभित्र रुटको, जथाभावी रोक्ने, मनपरी भाडा लिने कुरा रोकिन्छ,' उनले बाध्यता सुनाए, 'तर, सिटअनुरुप यात्रु बनाउन कठिन छ ।' अनि, साझा बस सेवा, ट्रली सेवा, रोप-वे कहाँ गए त ? 'साझा, रोप-वे र ट्रली बसलाई नयाँ ढंगबाट चलाउनुको विकल्प छैन । यातायात क्षेत्रमा राज्यसँग विकल्प नभएकाले हामी निरुपाय भएका छौँ,' साझाभित्रको स्थितिबारे चिन्ता व्यक्त गरे उनले, 'साझामा ९७ प्रतिशत सेयर भएको सरकारको कुनै हैसियत नहुने ३ प्रतिशत सेयर हुने पब्लिकको बोलवाला हुने स्थिति छ ।'

थोत्रा गाडी कहिले थन्काउने ? १५ वर्षभन्दा पुराना गाडीले धुवाँ बढी फाल्ने, इन्धन बढी खाने गर्छन् । किन जाँच्नुहुन्न ? उनले फेरि आफ्नो मन्त्रालयको दुःख देखाए, 'ट्याक्सीहरूको मिटर जाँच्ने नाप-तौल विभागसँग स्रोतसाधन छैन, जति खट्नुपर्ने हो, खटेका छैनन् । एक महिनामा सयवटाभन्दा बढी ट्याक्सीको मिटर जाँच्न सकिन्न ।' उनको आग्रह पनि रहेछ, 'यातायात र नापतौलका बेग्लाबेग्लै मन्त्रालय छन्, जुन वैज्ञानिक होइन । नापतौल उद्योग मन्त्रालयअन्तर्गत छ । मिटर जाँच्ने काम पनि उद्योग मन्त्रालयको हो । मिटरमा अर्थिङ दिएका हुन्छन्, क्लजदेखि, ब्रेक र हर्नमा समेत । चेक गर्ने संयुक्त टिम बन्नुपर्छ, प्राविधिक पक्ष नापतौलको छ ।'

मन्त्रीस्तरीय छापामार हुनका लागि जनयुद्धको छापामार अनुभव थियो उनमा । तर, यातायातका लागि ड्राइभिङ अनुभव छ कि छैन होला ? 'ड्राइभिङ मैले ४०/४२ सालतिरै सिकेको हुँ, सुरुमा ट्रयाक्टर चलाउन सिकेँ । लाइसेन्स धनगढीमा लिएँ ।' लाइसेन्स लिनका लागि पैसा खुवाउने चलन छ ? तपाईंले पनि खुवाउनुभयो कि ? 'पैसा खुवाउन परेन' उनले आफ्नो ट्रयाक्टर अनुभव पनि सुनाए, 'स्कट ट्रयाक्टर थियो, सेतो रंगको । कैलालीको अत्तरियामा लगभग ६ वर्ष चलाएँ ।' नाफा पनि कमाउनुभयो होला नि, ट्रयाक्टर चलाएर ? 'मान्छेका खेत जोतेको भएर त भोट पाइयो,' मुसुक्क हाँस्दै भने, 'तर, नाफा त के खाएर हुन्थ्यो ।'

***

भट्टको पुख्र्यौली घर डोटी थियो । विस. १९९७ सालमा बुबा कैलाली झर्नुभयो । २०१६ सालमा जन्मेका उनीचाहिँ २१ सालमा झरेका रहेछन् । राजनीतिमा उनी छापामार आन्दोलन हुँदै आए, जसरी यातायातमा खलासी पेसा हुँदै आएका हुन्छन् ड्राइभरहरू । उनी भन्छन्, 'अधिकांश ड्राइभर खलासी हुँदै आउँछन्, ड्राइभिङ इन्स्टिच्युटले पनि ट्रायल लिन आवश्यक फिल्ड छैन ।' चार लाखभन्दा बढी सार्वजनिक यातायात साधन छन् अहिले । तिनको तेलको दैनिक खपत २० लाख लिटरभन्दा बढी होला भन्ने अनुमान छ उनको । उनी रेलको निरीक्षण गर्न पनि आफैं जान खोजेका रहेछन् । भन्छन्, 'तर, सुरक्षाको कारण देखाएर जान दिएनन् ।' रेल्वे निर्माण अहिले भौतिक योजनाअन्तर्गत र सञ्चालन श्रम तथा यातायात मन्त्रालयअन्तर्गत छ । एउटै विषय पनि दुई मन्त्रालयतिर ? उनले भने, 'यातायातअन्तर्गत नै विभाग खडा गरेर रेल्वेको सञ्चालन, निर्माण आदि हुनुपर्छ ।'

***

मन्त्रीले आफू सक्रिय छु भनेर देखाउनका लागि यस्तो छापामार अभियान चलाएका हुन् कि अरू कुनै प्रोपोगान्डाका लागि होला ? 'छापा मार्ने काम प्रोपोगान्डाका लागि होइन, यो जारी रहनेछ । फिल्डमा नगई केही बुझिन्न । मन्त्रालयको नीति र योजना कार्यान्वयन भयो कि भएन, त्यो ठीक थियो कि थिएन, हेर्न त फिल्डमै जानुपर्छ,' उनले अरू मन्त्रीलाई पनि एकथान सुझाव दिए, 'म त अरू मन्त्रीलाई पनि फिल्ड जाने सल्लाह दिन्छु ।' केले यसरी फिल्डमै जान हौसायो मन्त्रीलाई ? 'भाडा निर्धारण त गरियो, तर लागू भएन । अनि, मलाई लाग्यो- अब फिल्डमै जानुपर्छ ।'

अहिलेको भाडादर मन्त्रीलाई नै कत्तिको वैज्ञानिक लागेको छ ? भने, 'मलाई त अब ठीकै छजस्तो लाग्छ । अहिलेसम्म व्यवसायी र सरकार बसेर हचुवा तरिकाले भाडा निर्धारण गर्ने चलन थियो । तर, अहिले विज्ञहरूको सिफारिसपछि निर्धारण भएको हो ।'

साना गाडीले सडक भरिएका छन्, यति धेरै साना गाडी किन ? 'यो देश कस्तो भने, पोखरीका लागि बजेट निकासा गर्‍यो, तर पोखरी खनेन । अनि, फेरि पोखरी मर्मतसम्भार भनेर बजेट लग्यो खायो । अनि, अन्तिममा फेरि बढी मान्छे डुबेर दुर्घटना भयो भनेर पोखरी पुर्ने बजेट निकासा गर्‍यो, अनि खायो । अब यी थोत्रा गाडीहरू हटाउनै पर्छ । एयरपोर्टमा चल्ने हरिया प्लेटका गाडी त अझ ब्रेक हानेको एक मिनेटपछि बल्ल ब्रेक लाग्नेखालका छन् ।'

कन्डक्टर, ड्राइभरले फोहोर शब्द बोल्ने गरेको सच्याउने योजना पनि रहेछ मन्त्रीको । भने, 'यातायात व्यवसायीसँग मैले पटक-पटक भनेको छु- प्रयोग गर्ने भाषाबारे स्कुलिङ गर्नोस् । मजदुर हुन्, रूपान्तरणका लागि समय लाग्छ ।'

समस्याको फेहरिस्त लामो छ । 'रुट पर्मिट नलिएका, सिटै नभएका, ब्लुबुक नै नभएका, लाइसेन्स नै नभएका पनि भेटिए,' उनको अनुभव छ, 'शून्यबाटै सुरु गर्नुपर्ने अवस्था छ, नम्बर-प्लेट परिवर्तन गर्ने, सरकारी अधिकृत र मन्त्रीले पनि नम्बर-प्लेट परिवर्तन गर्ने, अब यस्तो मानिन्न ।' चोरीका गाडीबारे मन्त्रीलाई केही जानकारी छैन ? '३५ सय देखि चार हजारसम्म चोरीका गाडी छन् भन्ने सुनेको छु, उपत्यकामा,' भने, 'दुई-ढाइ लाखसम्ममा कर्मचारीले ब्लुबुक दिन्छन् भन्ने सुनेको छु । राजस्व तिरेको कागज खोजेपछि बल्ल पत्ता लाग्छ । अहिले त रेकर्ड सिस्टम
नै छैन ।'

उनले आफ्ना प्रतिबद्धताको लामो सूची सुनाए, 'एक- भाडा कार्यान्वयन, दुई- लाइसेन्सदेखि ब्लुबुकसम्मलाई 'ई' सिस्टममा लैजाने, तीन- रेकर्ड सिस्टमलाई कम्प्युटरराइज्ड गर्ने, चार- भ्रष्टाचारलाई न्यूनीकरण गर्ने, पाँच- यातायात क्षेत्रलाई आवश्यक वैज्ञानिक नीतिनिर्धारण गर्ने, छ- दुर्घटनाको बिमाको व्यवस्था गर्ने, सात- रुट पर्मिट दिँदा सेवाका सर्तहरू खुलाउने, आठ- ट्राफिक कल्याणकारी कोषका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने र उसले पठाएको राजस्वको दस प्रतिशत ट्राफिक कल्याणकारी कोषमा हाल्नुपर्ने, नौ- अब जरिवाना पनि बढाउने ।' हेरौं, उनका प्रतिवद्धता कति पूरा हुन्छन् ।
Total Comments= 10

By: RAJ BARSINGHA THAPA
Email: RAJ24N@HOTMAIL.COM
Address: COLUMBIA CANADA
Posted Date: Fri,March 27,2009,1:36 am
Comments:

EXCELLENT JOB MINISTER BHATTA JYU.I WOULD LIKE TO APPRCIATE YOUR GOOD JOB.I WOULD LIKE TO WISH BEST OF LUCK.EVERYONE SHOULD SUPPORT AND HELP TO BABURAM BHATTRAI AND YOUR WORK,FROM THIS WAY WE REALLY CAN MAKE NEW NEPAL EXCEELLENT PLAN.GOD BLESS.
By: laxman
Email: shresthaman@yahoo.com
Address: japan
Posted Date: Fri,March 27,2009,1:49 am
Comments:

thanks for this news ... u r on the right track Mr Bhatta.. salam .. keep on
By: dambar
Email:
Address: dillibazaar
Posted Date: Fri,March 27,2009,2:06 am
Comments:

minister is also a part of the system .so it is very good .welldone.the only thing is whether it is continued or not.
By: prakash
Email: westernnepal@gmail.com
Address: Dhangadi
Posted Date: Fri,March 27,2009,3:51 am
Comments:

मनानीय मन्त्रिज्यु, तपाईंको कार्य राम्रो लाग्यो तर कार्यन्वयन हुने मा सन्का लाग्छ । दशै ताक को कुरा हो देश भरिका बस हरु सबै प्याक् थिए, टिकेट पाउनै मुस्किल । मलाई बच्चा हरु सँगइ महेन्द्र नगर जानु थियो सो एनतेन टिकेट पये । मिनी बस थपेको रहेछ । नाइट बसमा कती सिट हुनु पर्छ त्यो त तपाईं लाई पनि थाहै होला अनी त्यस्तै मिनी बसमा कती हुनु पर्ने त्यो पनि थाछ होला । मैले यात्रा गरेको मिनी बसको कुरा गर्दा त्यो बसमा सिट मा बस्यो भने खुट्टा खुम्च्यौने थाउनै थिएन , खुट्टा खुम्च्याओ भने बस्न नमिल्ने । त्यो बस सुदुर पश्चिमाञ्चल ब्याब्सही को हो ।
By: Bichar Neupane
Email: bicharyatri@gmail.com
Address: sindhupalchok
Posted Date: Fri,March 27,2009,5:23 am
Comments:

mantri hunuta yasto pho mantri.bhatta matra pachayoney k mantri haina ra?
By: Durga Thapa
Email: dibuthapa@yahoo.com
Address: Baglung Nepal, NOw in Macau
Posted Date: Fri,March 27,2009,5:33 am
Comments:

Khusi lagyo mantri ji ko chhapa marne shaili padhera. Tapai jasto neta lai yeha thangna ma sutauchhan desh ka chor harule bichar puryaunu hola. We support u.
By: bikash
Email: axlallstar@yahoo.com
Address: sydney
Posted Date: Fri,March 27,2009,6:27 am
Comments:

thanks to lekhraj bhatta to doing some works which help to make the new nepal. and u should have to change the rules and all system in that field. u should have to decrease the corrupction and totally control that the duplication documents.
By: NARAYAN
Email: NARAYANLIMBU57@YAHOO.COM
Address: MALAYSIA
Posted Date: Fri,March 27,2009,7:44 am
Comments:

SARHAANIYA 6 MANTRI JYU JUN TAPAILE JANATAKO LAGI SEWA GARNA AFAI KHATNU VAYAKO6 MA PANI TAPAI LAI MURI MURI DHANYABAD DINA CHAHAN6U
By: ram bhahadur Nepali
Email: i2rulyme@yahoo.com
Address: Banepa
Posted Date: Fri,March 27,2009,8:13 am
Comments:

Sabai bhanda sajilo traffic police ko promotion ra gred garda pratek traffic policde le maximum karbahi gareko record herera uniharulai puraskrit garyo bhane mantriko samaya save hunthyo ki. nepal ma sipahile gareko kaam ko bharma uska hakimle promotion khane gareka chha. sipahi sipahi bich kaam ko pratispradha garauda sayed yesle ramro pari party lyauchha.
By: nabin
Email: Nabin_gap@yahoo.com
Address: Lebanon
Posted Date: Fri,March 27,2009,8:18 am
Comments:

नयाँ नेपाल को नयाँ मन्त्री भनेको एस्तो हुनु पर्‍यो, जनता को गुनासो सुन्ने र समस्या समाधान गर्ने । काममा सफलता मिलोस, मन्त्री ज्यु लाई सलाम !!!!!!!!!!!!!!

http://www.nayapatrika.com/newsdetail.php?id=903271239567673&n_id=25

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
मन भित्र को पत्रै पत्र!
emergency donation needed
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters