पर्सा, मुलुकमा जातीयता, क्ष्ाेत्रीयता र धार्मिकताको आधारमा विभिन्न माग राखी आन्दोलन चलेका बेला यहाँ भने साम्प्रदायिक सद्भावको उदाहरणीय कामको थालनी भएको छ । यहाँका हिन्दु र मुस्लिमले वैशाख ३० देखि रामजानकी मठमा सुरु हुन लागेको रामजानकी प्राणप्रतिष्ठा सहहरिहर महायज्ञको आयोजना गर्न लागेको छन् । यसको समितिमा स्थानीय हिन्दु र मुस्लिम दुवै समुदाय सम्मिलित छन् ।
जिल्लाको बैरियाविर्ता गाविसमा यी दुई समुदायबीच परापूर्वदेखि न त कुनै झगडा भयो न वैमनस्याले ठाउँ पाएको छ । दुवै समुदायको भाइचारा उदाहरणीय बनेको छ । एकअर्काको सुख दुःख र धार्मिक समारोहमा पनि दुवै समुदाय सरिक भएर समाजमा धार्मिक सद्भाव र एकताको गतिलो सन्देश दिइरहेका छन् ।
महायज्ञ आयोजक समितिमा हिन्दुका साथै मुस्लिम समुदायका अगुवा पनि पदाधिकारी छन् । मुस्लिम समुदायले महायज्ञका लागि अर्थ संकलनदेखि महायज्ञ स्थलको निर्माण, साजसज्जाजस्ता काममा पनि सहभागी भएका छन् । महायज्ञस्थल निर्माणमा हिन्दु र मुस्लिम समुदायका गाउँले झन्डै बराबरकै संख्यामा खटिएका छन् ।
गाउँमा आयोजना हुन लागेको ठूलो धार्मिक अनुष्ठानका कारण मुस्लिम समुदाय उत्तिकै उत्साही र हषिर्त छ । महायज्ञ आयोजक समितिको कोषाध्यक्षमा मुस्लिम समुदायका सेठ मिया छन् । महायज्ञका लागि मुस्लिम समुदायले पनि गच्छेअनुसार आर्थिक र अन्न सहयोग गरिरहेको उनले बताए । 'हिन्दु समुदायको पर्वमा हामी किन सहयोग गर्ने' कुनै पनि मुस्लिम व्यक्तिले अहिलेसम्म नभनेको
उनले बताए ।
आयोजक समितिका सदस्य महम्मद हनिफ यहाँका मुस्लिम समुदायलाई आवश्यक पर्दा अर्मपर्मदेखि, विवाह, मलामीसम्ममा हिन्दुहरू बिनाभेदभाव र छुवाछूत सरिक हुने भएकाले आफूहरू पनि सोहीअनुसार लागेको उनले बताए । 'मर्दाको मलामी पर्दाको जन्ती भनेकै छिमेकी त हुन् नि,' उनले थपे ।
गाउँमा करिब ६० प्रतिशत हिन्दु र ४० प्रतिशत मुस्लिम बसोबास
गर्छन् । हिन्दु र मुस्लिमको नाउँमा झगडा, कलह वा पानी बाराबारजस्ता अन्य गाउमा हुने गरेका कुरा यो गाउँमा कहिल्यै नभएको स्थानीय रितेश त्रिपाठीले बताए । महायज्ञ संयोजक एवं रामजानकी मठका महन्थ सञ्चित दास गाउँका हिन्दु र मुस्लिम समुदायले काँधमा काँध मिलाएर यज्ञ पूरा गराउन लागेकामा खुसी भएको बताउँछन् । यज्ञको सबै धार्मिक अनुष्ठानमा मुस्लिम पनि प्रत्यक्ष्ा सरिक हुने बताउँदै उनले आफूले व्यक्तिगत रूपमा कुनै धर्मावलम्बी वा समुदायलाई उपेक्षा या भेदभाव नगरेको उनले बताए ।