http://www.onlinekhabar.com/2012/12/23918/
पब्लिक फाइन्सका संचालक र कर्मचारी पक्राउ
९ पुस, काठमाडौं । ठगी मुद्दामा फरार रहेका पब्लिक फाइनान्स कोअपरेटिभ लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् । रामनारायण प्रधान, रोशन श्रेष्ठ, प्रताप केसी र रादेशकुमार प्रधानलाई आइतबार पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेश गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
सञ्चालक, पदाधिकारी र कर्मचारी रहेका उनीहरुले प्रचलित ब्याजदरभन्दा बढी ब्याज दिने, प्रत्येक निक्षेपकर्ताहरुलाई सुनको सिक्का दिने जस्ता आकर्षक प्रलोभनमा पारी सर्वसधारणलाई झुक्याएर निक्षेप जम्मा गर्न लगाएको फेला परेकेा थियो । २०६० साल भदौमा संस्था नै बन्द गरी संकलित निक्षेप तथा ब्याज समेत फिर्ता नगरी २ करोडभन्दा बढी रकम ठगी गरी उनीहरु फरार थिए ।
उनीहरुमाथि काठमाडौं जिल्ला अदालतले २०६२ साउनमा बिगो बमोजिम जनही १३ लाख ३७ हजार ५ सय ४७ रुपैंया र एक वर्ष कैद हुने फैसला गरेको थियो । यही कसुरमा फरार प्रतिवादी सरिता श्रेष्ठ २०६७ मंसिरमा पक्राउ परेकी थिइन् ।