[Show all top banners]

_____

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 धनीबाट सुख पाउँछु भन्ने गरिब मुर्दावाद लोग्नेबाट सुख पाउँछु भन्ने स्वास्नी मुर्दावाद – रुदाने
[VIEWED 1771 TIMES]
SAVE! for ease of future access.
Posted on 03-08-15 7:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरैले 'थाहा' नपाएकी रुपचन्द्र विष्टकी बहिनी





ह्याप्पी नारी दिवस !
‘माननीयज्यू नमस्कार, म सेतोपाटीबाट।’
‘ए, तपार्इं नै हो,मलाई संसदमा जाँड खाएर बबाल गरी भनेर लेख्ने?’
हामीले त्यस्तो समाचार लेखेजस्तो लागेन। ‘हामीले लेखेको छैन,’ मैले भनेँ– ‘तपाईंका बारेमा बल्ल थाहा पाएर फोन गर्दैछु।’ 
कसैले उनलाई पछाडिबाट सेतोपाटी होइन भनेको पनि सुनेँ। 
‘भर्खरै चितवनबाट आएँ,’ उनले भनिन्– ‘आज आउनु भयो भने भेट हुन्छ।’ 
 
०००
 
सबैले थाहा पाएको उनको परिचय नेपाली कांग्रेसकी सभासद गीता वाग्ले। अनि धेरैले थाहा नपाएको अर्को परिचय भने थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टकी बहिनी।
 
दोस्रो परिचयले मलाई उनका बारेमा जान्न डोहोर्‍याएको थियो। उनले दिएको ठेगाना टिप्न थालेँ। उनी भन्दै गइँन्– धापासीमा नेचर्स क्लबभन्दा चार-पाँच घर अगाडि बढेपछि गीता वाग्लेको घर जसले पनि देखाइदिन्छन्। 
 
नभन्दै त्यस्तै भयो। बाटो देखाइदिए। घरमा पुग्दा उनका पति श्रीभक्त अच्युत वाग्ले र उनी बैठकमा थिए। 
 
रुपचन्द्र विष्टको अनुहारसँगै मिल्दोजुल्दो र उस्तै हक्की स्वभावकि ६५ वर्षीय माननीय गीता कुराकानी गर्न तत्पर थिइँन्। उनलाई खुल्न कुनै समय लागेन। त्यसमा पनि आफ्ना दाजुको सम्झना उनलाई भल फ़ुटेसरि आयो। उनका प्रत्येक घटना र सम्झनामा रुपचन्द्र बोलिरहेका थिए। 
०००
धनीबाट सुख पाउँछु भन्ने गरिब
मुर्दावादै मुर्दावाद
लोग्नेबाट सुख पाउँछु भन्ने स्वास्नी
मुर्दावादै मुर्दावाद
–    रुदाने
 
बाइरोड हुँदै हेटौडा जाँदा बाटोमा भेटिएका यी कविता पंक्ति मेरो सम्झनामा बसेको बर्षौं भयो। ठाउँठाउँमा ‘थाहा’ लेखेको देखिन्थ्यो। ‘थाहा’ के हो मैले थाहा पाएको थिइनँ। 
 
यो ‘थाहा’ लेख्दै हिड्ने कुन मनुवा होलान् भन्ने मनमा लागिरहन्थ्यो। विस्तारै यिनका बारेमा सुन्न पाइयो। रुदाने भनेको त रुपचन्द्र विष्ट, दामन, नेपालको छोटकरी रुप पो रहेछ!
 
भर्खरै प्रजातन्त्र आएको थियो। २०४७ सालको निर्वाचनमा यिनी पनि संसद्को उम्मेदवार बने। दूर्भाग्य, उनले जित्न सकेनन्। 
 
जनपक्षीय उम्मेदवार बनेर राष्ट्रिय पञ्चायतमा खैलाबैला मच्चाउने रुदानेको ठाडो शैली, इमानदार छविको अहिले पनि चर्चा हुन्छ। राम्रा मानिसहरूलाई यिनले प्रशंसा गर्दाको आफ्नै शैली थियो। मन नपरेकालाई र मनले खाएकालाई यिनी ‘भाते’ भन्दै गाली गर्थे। 
 
मकवानको सदरमुकाम हेटौडा र उनको कार्यथलो उत्तरी मकवानपुरका दामन, पालुङ र घर्ती गाउँमा उनका किस्सा कति हो कति सुन्न पाइन्थ्यो। सरकारी अड्डाका हाकिमहरूले होटलमा भात खाँदा छोडे भने पसलेलाई रुदाने भन्ने गर्थे रे– यो भातेलाई फेरि खान नदिनू।
 
०००
 
सारा दुनियाँलाई ठाडै गाली गर्ने र मन नपरेको कुरामा प्रतिक्रिया दिइहाल्ने जन्ड स्वाभावका रुदानेले घरमा पनि कहाँ बाँकी राख्थे र? अनि उनले माया गरेकी बहिनी पनि बेलाबेलामा उनका निम्ति एउटी ‘भाते केटी’ मा सिमित हुन्थिन्। 
 
उनले बलियो हुन र पढ्न प्रेरित गरेकी बहिनी गीता आफ्ना दाइलाई वर्षौंपछि उत्तिकै चाखसँग सम्झदै थिइँन्। 
 
‘दाइको राजनीतिको सबैभन्दा ठूलो कमजोरी कसैलाई विश्वास नगर्नु हो,’ उनले भनिन्– ‘सबैलाई शंका गरे कसरी संगठन हुन्छ र?’
 
दुई दाजुबहिनी एउटै राजनीतिक सिद्धान्तभित्र लामो समयसम्म अटाउन सकेनन्। रुदानेको पार्टी मकवानपुरमा मात्र थियो। बहिनी गीतालाई भने कम्तीमा देशभरि नभए पनि आधाआधी ठाउँमा आफ्ना दाइको पार्टी हुनुपर्छ भन्ने लाग्थ्यो।
 
दाइको राजनीतिले आफूलाई कतै पुर्‍याउँदैन भन्ने भएपछि बहिनी गीता कांग्रेसको राजनीतिमा प्रवेश गरिन्। कांग्रेस परिवारमै बिबाह गरेकी गीताका निम्ति राजनीति सजिलो पनि भयो। 
 
उनले कांग्रेस नेता बिपी कोइरालालाई काठमाडौं, जयबागेश्वरीमा गएर भेटिन्। गणेशमान सिंहलाई पनि भेटिन्। 
 
बिपी नेपालकै बिचार भयो। त्यहि विचार उनले बोकिन्। २०३८ सालमा स्वतन्त्र उम्मेदवारका रुपमा राष्ट्रिय पञ्चायतको उम्मेदवार हुँदा गीताले संविधानसभाको माग गरेकी थिइन्। संयोगले अहिले उनी संविधानसभाकै सदस्य बनेकी छन्। 
 
२०४२ सालमा कांग्रेसले तत्कालीन पञ्चायत विरुद्ध सत्याग्रह सुरु गरेपछि गीता पनि त्यसमा सहभागी भइन्। उनले सत्याग्रहमा भाग लिएपछि दाइ रुपचन्द्र उनीसँग १४ वर्षसम्म बोलेनन्। उनी सत्याग्रहमा भाग लिनु अघिसम्म आमाको मुख हेर्न मन लाग्यो भन्दै बहिनीको घरमा आउने गर्थे। 
 
अन्तिम अवस्थामा रुदानेलई वीर अस्पताल लगियो। उनी बेहोस् भएको थाहा पाएपछि गीता दाइलाई हेर्न भनेर गइँन्, जसले उनी सिकिस्त हुँदा बोकेर अस्पताल लगेका थिए। 
 
उनी अगाडि भएकै बेला डाक्टरले रुपचन्द्रलाई सोधे– तपाईं कतिचोटी मन्त्री हुनुभयो? 
 
‘विज्ञापन गरेका थिए, दरखास्त हाल्ने मानिस भेटेनन्,’ यति भनेर रुपचन्द्र फिस्स हासेको गीता अहिले पनि सम्झिन्छन्। 
 
०००
 
सात वर्षको उमेरमा आमा बितिन्। रुपचन्द्र विष्टसहित सात दाजुभाइकी यी एक्ली चेली उनीहरूले सेता लुगा लगाएर किरिया बसेको देखेर पूरै इन्तु न चिन्तु भइँन्। रुपचन्द्रले त्यो बेलाको शान्तभवन अस्पताल (हाल पाटन अस्पताल)मा यिनलाई बोकेर लिएर गए। 
 
आमाको असामयिक निधनले तीन महिनाम्म बोल्न, हिड्न, पढ्न सबै बिर्सिइन् उनले। आमा गुमाएकी भर्खरकी यी बालिकालाई आफूले छोरी बनाउन चाहेको प्रस्ताव एक पश्चिमा गोरीले राखिन् पनि। ‘हाम्री आमाकी यत्ति एउटी छोरी मात्र हो, दिन्न’ रुपचन्द्रले ठाडै जवाफ दिएछन्। 
 
रुपचन्द्र २०३८ सालमा राष्ट्रिय पञ्चायतको जनपक्षीय उम्मेदवार बनेर चुनाव लड्न आए। त्यतिबेला उनका ज्वाइँ श्रीभक्त अच्युत वाग्ले हेटौडा कपडा कारखानमा श्रमिक कल्याण अधिकृतरुपमा कार्यरत थिए। 
 
चुनावअघि नै रुपचन्द्रले दामनको शिखरकोटमा श्रमदानबाट गाउँ पञ्चायत भवन र घर्तीगाउँमा जनकल्याण हाइस्कुल बनाएका थिए। त्यसको निर्माणमा उनी आफैंले ढुंगा र काठ बोकेको स्थानी बासिन्दा अहिले पनि सम्झना गर्छन्। उनले सबैलाई पैसा होइन श्रमदान गर्न प्रेरित गरेका थिए। 
 
त्यतिबेलै त्यति ठूलो भवन बनाइदिएका कारण अहिले कृषि, स्वास्थ्य सेवा केन्द्रका कार्यालयहरू राख्न सजिलो भएको छ।  
 
उनले केही समय दामनमा भ्यू टावर लिएर पनि सञ्चालन गरेका थिए। उनले त्यो बेला बाख्रा पालन गरेको पनि स्थानीय बासिन्दा सम्झन्छन्। 
 
श्रीभक्त उनले भ्यु टावर संचालन गरेको बेला पहिलो पटक दामन गएका थिए। त्यो बेलामा आफ्ना एक्ला ज्वाइँलाई उनले दाल, तरकारी, मासु, अण्डा मिसाएर खान दिएका थिए। 
‘खानु न छोड्नु जस्तो देखिन्थ्यो,’ उनी सम्झन्छन्– ‘सामान्य मानिसले त्यसरी खाने कल्पना गर्न सक्दैन। रुदाने सामान्य जीवन बाच्थे।’
 
त्यो बेला उनले ठूल्ठूला कुकुरहरू पालेका थिए। उनको एउटा कुकुरलाई गाडीले ठोक्काएर मारिदिएपछि उनले त्यो ड्राइभरलाई सजाय दिएका थिए। 
रुपचन्द्र विष्टले नहुने काम गर्ने जोसुकैलाई आफैं सजाय दिइहाल्थे। 
 
उनी साह्रै शंकालु थिए। त्यही भएर हत्पत्ति कसैले दिएको खाँदैनथे। कुनै होटलमा गएर खाँदा पनि आफैं भान्छामा गएर पस्किएर ल्याउथे र खान्थे। फेरि थप खाना कसैले ल्याएर हाल्दिए पनि उनी खाँदैनथे। 
 
‘दाइलाई कसैले बिख हालिदेला भन्ने शंका भैरहन्थ्यो,’ गीता भन्छिन्– ‘हामीकहाँ आएका बेला मात्रै उहाँले राम्ररी खाना खानु हुन्थ्यो।’ 
 
उनी 'बडी बिल्डर' थिए। घरैमा उनले शारीरिक व्ययामका निम्ति उपकरणहरू राखेका थिए। भारी उचाल्ने, शरीर तन्काउने आदि अनेकन अभ्यास उनी गरिरहन्थे। कालीमाटीको लालबहादुर भन्ने पहलमानलाई उनले एक दिन लड्नका निम्ति ललकारे। बहिनी गीता भने दाइलाई केही होला भन्ने डरले रुन थालिन्। 
 
‘हे भाते केटी रुने हो? तँ त एकदम हुनुपर्छ,’ उनले रुन थालेकी बहिनीलाई सम्झाउँदै लालबहादुरसँग कुस्ती खेल्न थाले। 
 
एकै छिनमा लालबहादुर पराजीत भयो। 
 
त्यस्त पहलवान रुपचन्द्रको जीवनको पछिल्लो क्षण भने सजिलो भएन। सक्रिय राजनीतिमा लागेपछि उनले शारीरिक अभ्यास गर्न भ्याएनन्। ‘उहाँको खानपिन पनि राम्रो भएन्,’ गीता भन्छिन्– ‘उनको हेरबिचार गर्ने मानिस पनि कोही भएन।’
०००
 
रुपचन्द्रलाई मानिसहरूलाई गाली गर्ने र ठाडो शैलीमा कुरा गर्ने भनेर चिन्छन्। तर, उनीमा प्रचुर करुणा थियो। 
 
बुढी महिलाले मल बोकेको देखे भने उनी आफैं तिनलाई सघाउन तम्सिन्थे। उनीहरूले दुई दिन लगाएर पनि बोक्न नभ्याउने मल उनी एकै छिनमा बोकेर सिध्याइदिन्थे। 
 
बहिनी गीताको पाठेघरको शल्यक्रियाका निम्ति भेलोर लैजानु पर्ने भयो। उनीहरू काठमाडौंबाट त्यसतर्फ प्रस्थान गर्ने दिनमा बसपार्कमा उनी आए। आँखाभरि आँशु पार्दै उनले बहिनीलाई राम्रो उपचार गराउनू भन्दै पैसा हातमा हालिदिए। उनले तिमीलाई रगत चाहियो भने यसैले हाल्नु भने। 
 
२०३६ सालको जनमत संग्रहका बेला ज्वाइँ श्रीभक्त सिकिस्त भई अस्पताल भर्ना भए। उनी त्यो रातभरि ज्वाइँसँगै हेटौडा अस्पतालमा बसे। उनी निर्वाचनको काममा समेत गएनन्। 
 
‘कोही पनि बिरामी भयो भने त्यसलाई सहयोग गर्न उहाँ पुगिहाल्नु हुन्थ्यो,’ गीता भन्छिन्। 
०००
रुपचन्द्रले काठमाडौंकी धनी कुलघरानाकी महिला उमा शाहसँग बिबाह गरेका थिए। उनले बिबाह गर्दा भनेको थिए– कसैलाई निम्ता हुन्न, कसैलाई भोज हुन्न र बिबाहको कार्ड बाँडिन्न।
 
‘म उमा शाहसँग जिन्दगीको साथी भएँ,’ उनले घोषणा गरेपछि बिबाह सम्पन्न भयो। उमा तीन वर्षसम्म उनीसँग बसिन्। उनका एकछोरा र एक छोरी पनि भए। काठमाडौंमा सुखमा हुर्किएकी उमाका निम्ति रुपचन्द्रले बाच्ने जीवन सहज थिएन। भारी बोकेर हिड्नु पथ्र्यो। उनी जोसुकैलाई मेहनत गर्न लगाउँथे। 
 
अन्तत: उमाले उनीसँग बस्ने नसक्ने ठहर गरी पारपाचुके गरिँन्। 
 
०००
 
रुपचन्द्र चुनावमा आफूले छापेका पर्चासमेत बेच्थे। जनआन्दोलनपछिको निर्वाचनमा भाग लिँदा पनि उनले आफ्ना पर्चा सर्वसाधारणलाई बेचेका थिए। 
 
स्थानीय व्यक्तिहरू ‘लोपचन’ भाषण गर्न आउँदैछ भन्दै सुन्न आउने गर्थे। उनले मकवानपुरको राजनीतिमा जागरण ल्याएका थिए। 
 
उनी पञ्चायतकै बेलामा पनि तत्कालीन मण्डलेहरूलाई ठाडै गाली गर्थे। ‘ए भाते हो, अर्काका छोरी बुहारी बिगार्दै हिड्छस्,’ उनी मण्डलेहरूलाई थर्काउथे। 
 
शिक्षालाई उनले सबैभन्दा धेरै महत्व दिने गरेका थिए। गाउँघरमा घुम्दा सबैलाई पढ्न प्रेरित गर्थे। बुढाबुढीलाई समेत प्रौढ शिक्षा कक्षा लिन सुझाव दिन्थे। 
 
‘भविश्यमा पैसा सानो हुन्छ, चिनिँदैन,’ उनी पढ्न आग्रह गर्दैै भन्ने गर्थे।
 
रुपचन्द्रको शिक्षाप्रतिको मोहलाई ध्यानमा राख्दै उनका भाइ गुणचन्द्र विष्टले दाजुका नाममा शिक्षामा सहयोग पु¥याउन थालेका छन्। ‘पोल्ट्री किङ’ भनेर समेत चिनिने गुणचन्द्रको आध्यात्मिक क्षेत्रमा स्वामी कृणानन्द भारतीको परिचय छ। 
 
गुणचन्द्रले बहिनी गीताको चितवन निर्वाचन क्षेत्र नं. ३ मा स्कुलहरूलाई सहयोग पनि पु¥याउँने भएका छन्। ‘स्कुललाई छाना र फर्निचरका निम्ति १० लाख रुपैयाँ दिन्छु भनेका छन्,’ गीताले जानकारी दिइँन्। 
 
०००
 
गीताको बिबाह उनलाई मन पराउने चितवनका श्रीभक्त अच्युत वाग्लेसँग भयो। हेटौडामा एउटै स्कुलमा पढ्दा श्रीभक्तले उनलाई मन पराएका थिए। 
 
‘मलाई लभजस्तै हुन गयो,’ श्रीभक्तले भने। 
 
अनि उहाँले मन पराउनु भएको छ भन्ने तपाईंलाई थाहा थियो त? गीताले भनिन्– ‘किन थाहा नपाउनु, पछि लागेको लाग्यै। त्यसपछि बिहा गर्नै पर्‍यो नि,’ उनले भनिन्। 
दुबैजना निकैबेर हाँसे। 
 
त्यो फरक समय थियो। क्षेत्री परिवारकी गीतालाई उपाध्याय बाहुन परिवारका श्रीभक्तले बिबाह गर्नु त्यति सजिलो थिएन। उनले गीता बाहेक अरुसँग बिबाह नगर्ने अड्डी लिएपछि बाबु रामचन्द्र उपाध्याय वाग्ले तयार भएका थिए। रामचन्द्र २००८ सालमा पश्चिम ३ नं. तनहुँको जनसरकारका अर्थमन्त्री थिए। त्यसका मुख्यमन्त्री थिए– श्रीभद्र शर्मा। 
 
२०२३ सालमा बिबाह त भयो। क्षेत्रीकी छोरीले पकाएको खान तयार थिएनन् परिवारका सदस्य। एक दिन श्रीभद्र घर आएपछि छोराहरूलाई लुगा फुकालेर खानु पर्ने नियम नलगाउन र गीताले पकाएको खान उचित हुने सल्लाह दिए। समय परिवर्तन भइसकेको हुनाले यस्ता नियममा बाधिनु हुन्न भन्ने उनको सल्लाह थियो। 
 
यो सल्लाहले काम ग¥यो। पछि ससुरा र परिवारका निम्ति गीता नै सबैभन्दा मनपर्दी भइँन्। गीताले स्कुलमा ११ वर्षसम्म पढाइन्। घरपरिवारमा राम्रो प्रभाव पारिन। समाज सेवामा पनि सक्रिय हुन थालिन्। 
 
दाइ रुपचन्द्रसँग बगावत गरेर कांग्रेसमा लागे पनि गीताका निम्ति संसदमा आउन सजिलो भएन। उनलाई ल्याउन आश्वासन दिएर  पनि त्यसको कार्यान्वयन भएन। पछिल्लो संविधानसभा निर्वाचनमा उनको सक्रियता देखेपछि प्रधानमन्त्री सुशील कोइरालाले उनलाई मनोनयन गरे। चितवन क्षेत्र नं. ३ मा गीतालाई उम्मेदवार बनाएको भए जितिने रहेछ भन्ने कोइरालालाई पनि लागेछ।  
गीता मंगलादेवी सिंह नेपाल महिला संघको केन्द्रीय अध्यक्ष भएका बेला केन्द्रीय सदस्य थिइन्। 
 
०००
 
रुपचन्द्रका धेरैजसो गुण बहिनी गीतामा पनि देखिन्छन्। पञ्चायतकै बेला थियो। चितवनमा उनी राजनीति गर्न थालिसकेक थिइँन्। त्यो बेला अञ्चलाधीशहरूले राजनीतिमा आएका महिलाहरूलाई आफ्नो खेलौनाजत्तिकै व्यवहार गरेको उनले देखेकी थिइँन्। 
 
‘यिनलाई नतर्साए महिलालाई खेलौना बनाउन छाड्दैनन् भन्ने मलाई लाग्यो,’ उनले भनिन्– ‘राजनीतिमा राम्रो घरका महिला आउन् भन्ने मलाई थियो।’
 
एक दिन जिल्ला पञ्चायत सभापति सहित भएर टेबुलमा खुट्टा राखेर चुरोट खाँदै राजनीतिमा लागेका महिलाहरूसँग जिस्किरहेको देखेपछि उनले तर्साउने बिचार गरिँन्। ‘बाहिर गएर लठ्ठी ल्याएर आएँ,’ उनले भनिन्– ‘तिनका गोडामा लठ्ठीले हाने अनि सोधे,  
 
यो तेरो बाउको घर हो कि अफिस?’ 
 
त्यो दिनदेखि उनीहरू सतर्क हुन थाले। उनको यो खरो व्यवहारको चर्चा विस्तारै हुन थाल्यो। 
उनी महिलामाथि कुटपिट भएको देखेपछि सहन्नन्। बिबाह गरेको एक वर्ष मात्रै भएको थियो। घरकै साँधमा राति रुवाबासी भएको सुनिन्। 
 
उनी जुरुक्क उठेर गइँन्। छिमेकीले पत्नीलाई कुटिरहेका थिए। उनले तिनलाई पछाडिबाट लाठोले हानिन्। ती व्यक्ति ६-७ महिना बोलेनन्। तर २०४२ सालमा राष्ट्रिय पञ्चायतको उम्मेदवार बन्दा तिनै मानिसले सहयोग गरे, सबैलाई भने – यो महिलाले अन्याय सहन सक्दिन, भोट हाल्नु पर्छ। 
 
२०४८ सालमा उनका पति श्रीभक्त काँचो छाला संकलन तथा विकास संस्थानको जनरल म्यानेजर थिए। उनीहरू धनगढीमा गएका बेला एउटी महिला रुदै सेल पकाइरहेकी थिइँन्। उनका आँशु पीठामो खसिरहेको थियो। उसको पति चाहिँ रक्सीले मातेर मेरो सम्पत्ति माइतमा लैजान्छेस् भन्दै गाली गरिरहेको थियो। 
 
उनले त्यही फेला परेको दाउरो टिपेर हानिन्। जड्याहा पतिले पुलिस बोलाएर ल्यायो। प्रहरी पनि रक्सीले मात्तिएको थियो। त्यसलाई पनि रक्षक नै भक्षक भन्दै आक्रमण गरिन्।  
 
बैतडीमा राति सुतेका बेला फेरि उनले महिला रोइरहेको आवाज सुनिन्। उनी आवाज आएतिर गइँन्। त्यहाँ पनि रक्सीले मातेको पतिले खानेकुरा मीठो भएन भनेर हिर्काइरहेको थियो। त्यसलाई पनि उनले आक्रमण गरिँन्। त्यसपछि त्यो पतिले पत्नीलाई त्यहि  गीता वाग्लेसँग जा, म राख्दिनँ भनेछ। 'हुन्छ तैले भन्दा राम्रो गर्छु भनेर तयार भएकी थिएँ।'
 
धेरै ठाउँमा महिला माथि समस्या हुँदा उनी प्रहरी प्रशासन होइन आफैंले तिनलाई कारवाही गरेर समस्याको समाधान गर्न अघि  सर्छिंन्। 
 
ठ्याकै दाइको स्वभाव।
 
रुपचन्द्रले खराब काम गर्ने व्यक्तिहरूलाई भन्ने गर्थे– ‘तेरो शरीरको ढ्याक पृथ्वीको भारलाई हो।’ 
दाइको यो अभिव्यक्ति उनी कहिल्यै बिर्सनन्। मानव जीवन जहिल्यै कामको हुनुपर्छ भन्ने उनलाई लाग्छ। 
 
एउटा पत्रिकाले गीतालाई रक्सी खाएर दिउँसै बबाल गर्ने भनेर लेखेछ। त्यो समाचार आएपछि लेख्नेहरूलाई नै मुस्किल परेछ। 
 
हुन पनि यस्ती मान्छेलाई रक्सी खाएको आरोप लाग्यो, जो २२ वर्षकी हुँदा रक्सी खाएका मानिस उनको घरको बाटो हिड्ने आँट गर्दैनथे। 
 
आफैं गाडी लिएर हिड्ने गीतालाई बेलाबेलामा ट्राफिक प्रहरीले मापसेको बारेमा सोधिरहेका हुन्छन्। धेरैले अनुहार हेरेकै भरमा छाडिदिन्छन्।
 
हालै एक दिन काठमाडौंमा एक महिला ट्राफिक प्रहरीले सोधिछन्– ‘हजुरआमा ‘मापसे’ त गर्नु भएको छैन?
उनले भनिछन्– ‘खै ल्या तेरो मेसिन र जाँच।’
 
होइन जानु हजुरआमा जानोस भने पनि उनी जाँच नगरी जान तयार भइनन्। ‘ममाथि प्रश्न उठाएपछि जाँच गर्नुपर्छ,’ उनले अड्डी लिएर जाच गराइछाडिछन्।
 
जिन्दगीको कुनै जाचमा फेल भएको रुपचन्द्रकि बहिनीलाई 'थाहा' छैन।  

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
nrn citizenship
Breathe in. Breathe out.
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters