मनका धनी, धनका गरिब
आईतबार , २७ वैशाख २०७२ २:५८ पम
महाविपत्तिमा मनमनमा सहयोगी भावना उर्लेको छ । राहत जुटेको छ । तर, यहीबेला थुप्रै धनीहरुको मानसिक दरिद्रता पनि देखिएको छ ।
महाभूकम्पको १० दिन बितिसक्दा पनि राहत नपुगेको गाउँ खोज्दै हामी रसुवा र नुवाकोट जाँदै थियौं ।
विपत्तिले मलाई एकैपटक दोहोरो भूमिकामा खटाएको थियो, एक पत्रकार, अर्को राहतकर्मी । चिनजानका मनकारीहरुको सहयोगमा जुटेका राहत सामाग्री लिएर एउटा टोली रसुवा र नुवाकोट हिडेका थियौं ।
२३ बैशाखको मध्यान्ह हामी नुवाकोटको गेर्खु गाउँ पुग्यौं । हामी पुग्नासाथ चार बिस काटेकी जस्ती देखिने महिला “म बुढीको यो संसारमा कोही पनि छैनन्, साह्रै दुःख पाईरा’छु” भन्दै हाम्रो गाडी छेउ आइन् ।
यात्राले थाकेका हामी भोकाएका पनि थियौं । केही खाएर राहत वितरण गर्ने हाम्रो सोचाइ थियो । तर, ति वृद्धाको अवस्था देखेपछि मैले आफूलाई रोक्न सकिन । एउटा चाउचाउ र दुई प्याकेट बिस्कुट उनको हातमा राखिदिँदै भने, “अहिले यो खाँदै गर्नुस् अरु पछि दिउँला” । तर, चाउचाउ मात्र आफूसँग राखी उनले भनिन्, “बाबु, मलाई किन यति धेरै दिएको ? बिस्कुट अरुलाई देऊ !”
हाम्रा गाडी चालक सानुकान्छा तामाङले रु.५५ निकालेर दिँन खोज्दा वृद्धाले ‘पैसा किन दिन प¥यो मसँग राख्ने थैली पनि छैन्’ भन्दै पटुकीतिर राखिन् ।
त्यहीबेला हिमालकी फोटो पत्रकार देवकी विष्टले ‘आमैको घर कहाँ हो ?’ भन्दै अंगालो मात्र के हालेकी थिइन्, हत्तपत्त हात तल झर्दै उनी ‘लौ नानी यो के गरेको ? म त दमीनी हुँ, नछोऊ’ पो भन्न थालिन् । वृद्धाको कुरा र व्यवहारले हामी हेरेको हेरेकै भयौं ।
“आमाको नाम के हो ? कति वर्ष पुग्नु भयो ?” मैले सोधे । “खोई नाम त थाहा छैन्, ९० सालमा भुइँचालो जाँदा ४ वर्षकी थिए”, उनले यती भन्दासम्म मेरा आँखा रसाइसकेका थिए । देवकीको हालत पनि त्यस्तै थियो । अरु साथी अचम्म मानिरहेका थिए । जतिबेला पनि हसाँइरहने चर्चित हाँस्यकलाकार मनोज गजुरेलसमेत गम्भीर देखिन्थे ।
महाभूकम्पको राष्ट्रिय संकटमा धेरै मनकारी उद्धार र राहतमा होमिएका छन् । कति प्रवासी नेपाली राहत बाकेरै स्वदेश फर्किएका छन् कतिले उतैबाट दिल खोलेर सहयोग गरिरहेका छन् । तर, यस्तोबेला पनि मानिसमा स्वार्थी प्रवृत्ति सकिदों रहेनछ ।
राजधानीमा अपार्टमेण्ट र सग्लै घरमा बस्नेहरुले राहतको पाल हारालुछ गरेको दृश्यले यस्तै मानसिक दरिद्रता देखाउँथ्यो । ‘म सँग छ तर ऊ सँग छैन, मलाई होइन, उसैलाई दिनुहोला’, भन्ने ति वृद्धाको जस्तो मन भएकाहरु दुर्लभ देखिए ।
अघिल्लो दिन नुवाकोटकै बट्टारमा चिया पिउन रोकिएको हाम्रो गाडी राम्ररी चिहाउने त्यहींका एक किराना पसले थिए । गाडीमा झुल देखेपछि विना लाज भने, ‘माथि रसुवातिर मच्छर लाग्दैन, यी झ्ूल हामीलाई दिनुस् ।’ त्यहाँका केटाकेटीलाई बिस्कुट बाँडदा हात थाप्ने धेरै अधवैंशे नै थिए ।
पोखराका युवा उद्यमीहरुले रसुवामा राहतका लागि ल्याएका पाल र खाद्यान्न पहिल्यै राहत पाइसकेकाहरुले ‘तपाईंहरु जानुस् हामी आफै बाँड्छौं’ भन्दै कब्जामा लिएका थिए । बल्ल तल्ल उनीहरुबाट फिर्ता पाएको ४० प्रतिशत सामान लिएर दावा फिञ्जोक र उनका इटालीयन साथी शास फिञ्जो पनि हामीसँगै गेर्खु पुगे ।
कलाकार गजुरेल र रमेश बरालले पनि सिन्धुपलाञ्चोकका केही स्थानमा टाठाबाठा गाउँलेद्वारा भएका यस्तै घटना सुनाइरहेका थिए
। मन्द विष सरह नेपालीमा फैलिरहेको ‘मै खाऊँ, मै लाऊँ’ मानसिकताले समाज कुरुप र संवेदनाविहीन बनाइरहेको छ ।
महाभुकम्पको कहरपछि देश सम्हालिदैछ । विपत् व्यावस्थापनमा अझ् धेरै कठिनाइ छन् । विपत्को दुई सातासम्म पनि कति ठाउँमा पीडितले राहत देख्नै पाएका छैनन् भने खोसेरै दोहोरो तेहोरो राहत बटुल्ने पनि हाम्रै वरिपरि छन् ।
गेर्खुमा पनि त्यस्तै देखियो, पाल र खाद्यान्न पहिल्यै लिइसकेकाहरु समेत ‘हामीले पनि पाउँनु पर्छ’ भन्दै अड्डी कस्न् थाले । भीड निक्कै बढेको थियो । नाक, काँन र घाँटीमा सुन ढल्काएकाहरु पनि ‘यो चाहियो र त्यो चाहियो’ भन्दै हारालुछ गर्न थाले ।
हामीले बाँडेको राहत सामाग्री न सरकारको थियो न कुनै संस्थाको । देशविदेशमा रहेका मनकारीहरुले वास्तविक पीडीतसामु पुर्याउन ब्यक्तिगतरुपमा उठाएको रकमबाट किनिएको थियो ।
हुनेखानेको भीडमा म ति वृद्धालाई खोज्दै थिए । तर, उनी देखिइनन् । हामीले स्थानीय युवा दामोदर घिमीरेलाई आमैका लागी खाद्यान्न, ब्ल्याङकेट दिन भनेर छुट्याईदियौ । एक्लो र जसले दिन्छ उसैको घरमा बस्ने भएकाले उनलाई पाल छाड्न परेन ।
थामिनसक्नुको भीड बढेपछि बाँकी राहत सामाग्री गाडीमा हालेर हामी फर्कियौं । कच्ची सडकमा धुलो उडाउँदै गाडी गुडिरहँदा मैले समाजको त्यस्तो विभेद सहेर पनि अरुका लागी सोच्ने उनै मनकारी आमैलाई सम्झें । धन भएका तर मन नभएकाहरुसँग ति आमैको तुलना गर्न पटक्कै सकिनँ ।
- See more at: http://www.himalkhabar.com/?p=101629#sthash.ervKWzW7.dpuf