माधव नेपालको एक हप्ताभित्रै दोस्रो भारत भ्रमण नेकपा एमालेका महासचिव माधव कुमार नेपाल एक हप्ता भन्दा कम समयमा दोस्रो पटक एकाएक भारत भ्रमणमा जानुभएको छ।
श्री नेपालले भ्रमणको उद्देश्यका बारे काठमाडौंमा केही बताउनु भएन तर दिल्लीमा उहांले आफू मुटुको उपचारका लागि आएको उल्लेख गर्नुभयो।
बरिष्ठ भारतिय नेताहरूसंग भेट गरेर झण्डै तीन हप्ताको भ्रमणपछि शनिवार मात्र काठमाण्डौं फर्किनुभएका श्री नेपालको बुधवारको पुन:प्रस्थानलाई विष्लेशकहरूले अर्थपूर्ण रूपमा लिएका छन्।
श्री नेपालले सोमबार नेपालका लागि बृटिश राजदूत किथ ब्लुम्सफिल्ड, मंगलबार अमेरिकी राजदूत जेम्स मोरिआर्टी तथा बुधबार दिल्ली प्रस्थान गर्नु अगाडी भारतिय राजदूत शिव शंकर मुखर्जीसंग भेट गर्नुभएको थियो।
बुधवार नै अमेरिकी राजदूत श्री मोरिआर्टी पनि दिल्ली जानु भएको छ।
नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोइराला केहि दिनदेखि दिल्लीमै हुनुहुन्छ भने अन्य दलका केहि नेताहरू पनि दिल्लीमा भएको बुझिएको छ।
बुधबार नै दिल्लीमा भारतिय विदेशमन्त्री श्याम शरनले नेपालको स्थितिमाथि भारतले सावधानीपूर्वक निगरानी राखिरहेको र नेपालको संकट निकासका लागि नेपाली राजनीतिका हरेक पक्षसंग सम्पर्कमा रहेको बताउनुभएको थियो।
यद्यपि उहांले स्पष्ट रूपमा राजा र राजनीतिक दलहरूको नाम मात्र लिनुभयो र माओवादीहरूका बारेमा भने केही उल्लेख गर्नुभएन।
बांग्लादेशको राजधानी ढाकामा हालै सम्पन्न सार्क शिखर सम्मेलनका बेला भारतिय प्रधानमन्त्री मनमोहन सिंहले श्री ५ महाराजाधिराज ज्ञानेन्द्रसंगको भेटका अवसरमा राजनीतिक दलहरूसंगको एकतामा जोड दिनुभएको बताइएको थियो।
दिल्लीमा अनायास बढेको राजनीतिक चहलपहलका बारे कतैबाट केही नबताईएको भएपनि नेपालको संकट निकासका लागि ठूलै प्रयास भैरहेको पर्यवेक्षकको धारणा छ।
www.bbc.co.uk/nepali