शिव प्रकाश (हाल : बोष्टन/अमेरिका)
असत् - खेति !
उनीहरुले काला बाज उडाए
र, भने - यी सेता परेवा हुन् !
र, उनीहरुले ठाने -
हामीले भनेपछि मान्छेले पत्याउनेछन् !
उनीहरुले दानवीय स्वरुपको नाङ्गो रुप देखाए
र, भने - मानवताको यो नयाँ सँस्करण हो !
र, उनीहरुले ठाने -
हाम्रो संस्करणलाई मान्छेले मन पराउनेछन् !
उनीहरुले मृत्युका धुमधाम महोत्सवहरु मनाए
र, भने - शान्तिका लागि आहूति दिएका हुन् !
र, उनीहरुले ठाने -
हाम्रो अभियानलाई मान्छेले जयजयकार गर्नेछन् !
उनीहरुले षडयन्त्रका धेरै सुरुङहरु बनाए
र, भने - नयाँ निकासका यी छोटा बाटाहरु हुन् !
र, उनीहरुले ठाने -
अब सम्पूर्ण मान्छे यही बाटोमा हिड्ने छन् !
उनीहरु अझै प्रत्येक रात केही न केही गरिरहेछन्
र, प्रत्येक दिन ढाटिरहेछन् -
म निर्दोष छु / अनभिज्ञ छु
र, प्रत्येकले अहिले पनि ठानिरहेछन् -
मैले भनेको कुरा मान्छेले अझै पत्याउनेछन् !