शिव प्रकाश
बोष्टन, अमेरिका नोभेम्बर, १४
पर्जातन्त्रप्रति प्रतिवद्ध तथा आस्थावान नेपालीहरुको एक भेलाले १४ नोभेम्बरमा यहाँ क्षेत्रीय स्तरको नेपाली जनसम्पर्क समिति न्युइङ्लेण्ड च्याप्टर गठन गरेको छ ।
नेपाली जनसम्पर्क समिति उत्तर अमेरिकाको पहिलो क्षेत्रीय समितिको रुपमा गठित यस च्याप्टरको अध्यक्षमा सर्वसम्मतिले पेमानिमा शेर्पा चुनिएका छन् । एक्काइस सदस्यीय उक्त समितिको उपाध्यक्षमा अर्जुन देवकोटा, सचिवमा गौरीश्वर शर्मा, सह-सचिवमा रुद्र दराई र कोषाध्यक्षमा घनश्याम खड्का रहेका छन् ।
समितिका सदस्यहरुमा भने अनन्त घिमिरे, कृष्ण खनाल, पेशलराज रेग्मी, प्रकाश ज्ञावाली, विक्रम गुरुङ, सूर्य बहादुर थापा, सुमनमान सिंह र शिव प्रकाश पौड्याल छानिएका छन् । न्यू इङ्लेण्ड क्षेत्रमा अमेरिकाका महत्वपूर्ण छ राज्यहरु मेन, भर्मन्ट, न्यूहेम्पसायर, म्यासेच्यूसश, रोडआइल्याण्ड र कनेटिकट समवेश छन् ।
नेपाली जपसम्पर्क समितिका केन्द्रीय संयोजक डा. सुरेन्द्र देवकोटा र संयोजन समितिका सदस्य डा. शेखर रेग्मीको उपस्थितिमा गठित उक्त समितिको बाँकी रिक्त सदस्यहरु सर्वसम्मतिका आधारमा क्रमशः पूर्ति गरिँदै जाने निर्णय पनि गरिएको छ । प्रजातन्त्रको मूल्य र मान्यता तथा आस्था र आदर्शलाई समितिले सधैँ अँगाल्ने र मूलतः नेपालमा प्रजातन्त्रको विकास र सम्बर्द्धनका लागि तथा सामाजिक क्षेत्रको सुधारका लागि सहयोग गर्ने समितिले जनाएको छ । यसका अलावा अमेरिकामा रहेका नेपालीहरुलाई आइपर्ने कानूनीदेखि लिएर अन्य समस्याको समाधानका लागि संयन्त्रको विकास क्रमश गर्दै जाने बताइएको छ ।
समितिका भावी कार्यक्रम र योजना तथा उद्देश्यका बारेमा प्रकाश पार्दै संयोजक डा. देवकोटाले यहाँ रहेका नेपालीहरुका लागि क्रेडिट यूनियन पनि संचालन गर्ने सोचाइ रहेको कुरा पनि बताउनुभयो । संयोजन समितिका सदस्य डा. रेग्मीले संगठनकाबारेमा प्रकाश पार्नु भएको थियो । नेपाली कांग्रेससँग आवद्ध रहेको उक्त समितिको केन्द्रीय संयोजन समिति हालै मात्र गठन भइ संयुक्त राज्य अमेरिकास्थित टेक्सस राज्यमा दर्ता भएको छ ।
यसैबीच नव गठित उक्त समितिले एक प्रेस विज्ञप्ति जारी गरी मातृभूमि नेपालमा नेपाल सरकार, सात दल र माओवादीबीच हालै सम्पन्न सम्झैताको सहर्ष स्वागत गर्दै त्यसको अक्षरशः तथा पूर्णपालनाका लागि सबै पक्षसँग अपिल पनि गरेको छ । देशमा दिगो शान्ति कायम गर्न सबै पक्ष उत्तिकै उदारता र पूर्ण प्रतिवद्धताकासाथ जिम्मेवारीपूर्ण ढंगले अगाडि बढ्नुपर्ने विज्ञप्तिमा जनाइको छ ।