जनआन्दोलन २ का क्रममा कडा सुरक्षा व्यवस्थाका कारण तोड्न नसकिएको इटहरीको मुख्य चोकमा रहेको राजा वीरेन्द्रको पूर्णकदको शालिक आज बुधबार साँझ युवा तथा विद्यार्थीहरुको समूहले तोडेका छन्। झम्पल र हथौडाले आधा घण्टासम्म ठोकठाक पारी सो शालिक ढालिएको हो। शालिक तोडेपछि केही विद्यार्थीहरुले राजमुकुट आफ्नो टाउकोमा लगाएर राजदण्ड हातमा बोकी रमाइलो पनि गरेका थिए।
इटहरी नगरपालिका अगाडिबाट राजतन्त्रको विरुद्ध चर्का नारा लगाउँदै वीरेन्द्र चोक आइपुगेका युवा तथा विद्यार्थीहरुको समूहले मूल गेट खोली पूर्ण कदमको शालिक तोडेका हुन् । शालिक तोडने कार्यमा सत्तासीन सात राजनीतिक दल र नेकपा माओवादी सम्बद्ध युवा तथा विद्यार्थीहरु सहभागी भएका थिए।
कपडाले छोपिएको शालिकलाई हिजो राजावादी भनाउँदाहरुले खोलेर सरसफाइ गरेका थिए।
तोडने कार्यक्रम लगत्तै आयोजित कोणसभालाई सम्बोधन गर्दै युवा तथा विद्यार्थीहरुले पुस १४ गते दिवंगत राजाको जन्मोत्सव मनाउने गोप्य तयारी राजावादीहरुले गरेको जानकारी प्राप्त भएकाले शालिक तोडनुपरेको बताए।
यता, काठमाडौँमा भने पुस १ गते महेन्द्रका शालिकहरुमा फूलमाला लगाउन राजावादीहरुले भ्याएका थिए।
इटहरीको कोणसभालाई प्रजातान्त्रिक राष्ट्रिय युवासंघकी केन्द्रीय सदस्य मीना श्रेष्ठ, अखिल एकीकृतका केन्द्रीय सदस्य मदन अर्याल,जनता बहुमुखी क्याम्पस स्ववियु सभापति रमेश पोखरेल लगायतले सम्बोधन गरेका थिए।
शालिक तोडनुअघि काठमाडौबाट प्रकाशित हुने आजको रुपरेखा साप्ताहिकले युवराज पारसको जीवनी प्रकाशित गरेको विरोधमा युवा तथा विद्यार्थीहरुको समूहले सोनी पत्रिका पसल इटहरीबाट सम्पूर्ण पत्रिका कब्जामा लिएका थिए।
फोटो र समाचार स्रोत: MYSANSAR.com