जी शाहको नामबाट मन छुने गीत लेख्दै आइरहेका राजा ज्ञानेन्द्र नृत्य विधामा पनि त्यतिकै पोख्त छन् भन्ने धेरैलाई थाहा थिएन। जब 'मै ठूली भै'छु रे, आइदेऊ घुम्टो ओढाइदेऊ' बोलको रेश्मा सुनुवारले गाएको रिमिक्स गीतमा राजा ज्ञानेन्द्र छमछमी नाच्न थाले, नारायणहिटीमा उपस्थित सबै छक्क परे।
घटना गत बिहीबारको हो। आफ्नो विवाहको ३६ औं वार्षिकोत्सवका अवसरमा राजा ज्ञानेन्द्रले सरकारीनिवास नारायणहिटी दरबारमै भव्य भोजको आयोजना गरेका थिए। बेलुका साढे आठदेखि बिहान चार बजेसम्म चलेको उक्त भोजमा उपस्थित करिब चार सय आफन्तसँग राजा ज्ञानेन्द्रले देशको बद्लिँदो परिस्थितिबारे खुलेरै कुरा गरे। राजा ज्ञानेन्द्रको भन्दा पनि सहभागीहरूको अनुहार चिन्तित देखिन्थ्यो, तर राजा ज्ञानेन्द्र आश्वस्त पार्दै– 'डन्ट वरी, एभ्री थिङ वील बी राइट' भनेर जवाफ दिन्थे। युवराज पारस भने सहभागीहरूसँग बगैंचामा एकान्तमा व्यस्त देखिए। विगतका भोजहरूमा विशेष खाना दरबारमै कुक झिकाएर बनाउने गरिए पनि यसपटक भने होटल सोल्टीबाट ल्याइएको थियो। राजा ज्ञानेन्द्रले मृगको वरी, बँदेलको मासु र कालिजको झोल स्वाद मानीमानी खाएका थिए। प्रतिबोतल १८ हजार मूल्य पर्ने 'मोएड एण्ड सेण्डेन्स' ब्राण्डको स्याम्पेन र प्रतिबोतल चार हजार रूपैयाँ पर्ने म्याथुरोमेस ब्राण्डको वाइन पनि पार्टीमा धेरै खपत भएको एक सहभागीले तरुणलाई बताए। मध्यराति १ः३० बजे राजा ज्ञानेन्द्रले केक काट्दा सबैले ताली बजाएर शुभकामना दिएका थिए। भोजमा जुद्धशमशेर र चन्द्रशमशेरका सन्ततिहरूको ठूलै जमघट भए पनि राजाका अन्य सहभागीलाई भने बोलाइएको थिइएन। यतिबेला भोजभतेरमा सामेल राजाको अवस्थालाई कतिपयले एक समयको सबैभन्दा ठूलो मोनार्की मानिने इथियोपियाको राजसंस्थाको सम्झना गरेका छन्, जसले आफू 'कू' भएको लामो समयपछि मात्रै थाहा पाएका थिए।
|