लेखनाथ, जेष्ठ ६ - काँग्रेसका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अब बन्ने नयाँ सरकारको नेतृत्व गर्ने पालो काँग्रेसको भएको बताएका छन् ।
संविधानसभाको निर्वाचनपछि सरकारको नेतृत्व माओवादी र एमालेले गरिसकेकोभन्दै उनले नयाँ बन्ने सरकारको नेतृत्वमा काँग्रेसले दावी गर्ने स्पष्ट पारेका हुन् ।
पोखरामा शुक्रवार हुने एक कार्यक्रममा सहभागी हुन आएका नेता देउवाले बिहीबार पोखरा विमानस्थलमा सञ्चारकर्मीहरुसँग सँक्षिप्त कुराकानी गर्दै संविधान सभाको म्याद थप्नका लागि माओवादी सहमत हुने विश्वास व्यक्त गरे ।
सरकार र अन्य दलले संविधानसभाको म्याद थप्नुपर्ने प्रस्ताव गरिरहेको भन्दै उनले माओवादीको आफ्नै एजेण्डाबाट आएको संविधानसभाको म्याद थप्नका लागि सहमत हुने उनको विश्वास थियो ।
देउवाले कब्जा गरिएका घर जग्गा फिर्ता, लडाकू समायोजन र वाईसिएल विघटन गरी नागरिक पार्टी रुपान्तरण हुन पनि माओवादीलाई आग्रह गरे । रासस