रामकुमार शर्मा, माओवादी सभासद्
भारतीय दूतावासबाट आएको धम्कीपूर्ण फोनलाई कसरी लिनुभएको छ ?
मलाई लाग्छ यो प्रकरणले धेरै कुरा उजागर गरेको छ । पहिलो कुरा छिमेकी राष्ट्रले मधेसीलाई हेर्ने दृष्टिकोण यसले झल्काउँछ । यस्तो खराब कूटनीतिले भारतलाई पनि राम्रो गर्दैन । कुनै पनि स्वाभिमानी नेपाली नेतासँग कुरा गर्ने तरिकै होइन, यो । तर, यस्तै तरिका लामो समयदेखि चल्दै आएको थियो ।
मसँग
दूतावासका अधिकारी २१ गते जसरी प्रस्तुत भए, यसले नेपाली र खासगरी मधेसी
जनतालाई हेप्ने भारतीय व्यवहार कति लज्जाजनक छ भन्ने थाहा हुन्छ । अहिले मैले गरेको विरोधले त्यसलाई सच्याउँछजस्तो लाग्छ । उनीहरूले नेपाली जनता, नेताको स्वाभिमानलाई आइन्दा ठेस पुर्याउने काम नगरून् । यो विरोधपछि मधेसबाट युवा, बुद्धिजीवीको फोन आयो । उहाँहरूले यसलाई ठूलो साहसिक काम भन्नुभयो । यो प्रकरणपछि मधेसी जनताको आत्मबल बढेको छ । यसले छिमेकीलाई पाठ सिकाएको छ । मधेसीसँग व्यवहार गर्दा सचेत ढंगले र कूटनीतिक मर्यादा राखेर गर्नुपर्छ भन्ने पाटो महत्त्वपूर्ण छ ।
दोस्रो कुरा, राष्ट्रियताको प्रश्नमा मधेसीमाथि शंकाको दृष्टि राख्ने गरिएको छ । यस किसिमको विरोधले त्यो शंका निवारण गर्दै आमनेपालीमा एकता बनाउने र विश्वासको वातावरण तयार गर्नेछ भन्ने लागेको छ । तेस्रो कुरा, सरकार नबनेको र समयमै संविधान बनाउन नसकिएको अवस्थामा जनतामा निराशा छ । किन सरकार बनेको छैन र कहाँ-कहाँबाट हस्तक्षेप भएको छ भन्ने कुरालाई यस घटनाले उजागर गरेको छ ।
यस प्रकरणलाई सञ्चारमाध्यमले जति स्थान दिए, त्यसबाट तपाईं सन्तुष्ट हुनुहुन्छ ?
विगतमा जसरी नेपालको राष्ट्रवादको चर्चा हुन्थ्यो त्यो अहिले देखिएन । आफूमाथि भएको अपमानको घटनालाई मैले साहसपूर्वक बाहिर ल्याएँ । मिडियाले राम्रो कभर गर्यो । मिडियामा भेदभाव भएको मैले देखिनँ । हाम्रो देशमा राष्ट्रियताका विभिन्न रूप छन् । जुनसुकै राष्ट्रियतामाथि प्रहार भए पनि मिडियाले उठाउँदोरहेछ । मिडिया राष्ट्रियताको प्रसंगमा एकांगी भएको आरोप लाग्थ्यो, तर मेरो केसमा त्यो पाइनँ । यसले नयाँ ढंगले राष्ट्रियतालाई जोड्ने काम गरेको छ ।
संसदीय समितिमा तपाईंको विषयमा छलफल हुँदा प्रधानमन्त्रीलाई बोलाइए पनि उनी आएनन्, किन होला ?
सरकार एकदमै संवेशनशील हुनुपथ्र्यो यस्तो विषयमा । यस्ता विषय भावनात्मक हुन्छन् । यस्ता मुद्दामा टेकेर ठूला आन्दोलन र हिंसा हुने गर्छन् । म सभासद् र देशको सबैभन्दा ठूलो पार्टीको केन्द्रीय सदस्यसमेत भएको नाताले सबैभन्दा पहिला सरकारले एक्सन लिनुपर्ने थियो । तर, प्रधानमन्त्री मौन बसे ।
मैले सभामुखलाई निवेदन दिएँ र उहाँले चारैतिर पुर्याउनुभयो । सभामुख पनि धन्यवादको पात्र हुनुहुन्छ । संसदीय समितिको बैठक बस्यो र ऐतिहासिक निर्णय लियो । नेपालको राजनीतिमा मेरो यो केसमा समितिमा सर्वसम्मतिले निर्णय भयो । सबै सदस्यले खुलेर विरोध गर्नुभयो । दोषीलाई कारबाही गर्नुपर्छ भन्नुभयो, सबै सभासद्ले । यो आफँैमा दूरगामी महत्त्व राख्ने प्रश्न हो ।
म र हाम्रो पार्टीका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलसँगै गएर प्रधानमन्त्रीलाई भेट्यौँ । उहाँलाई तपाईं बैठकमा आउनुपर्ने थियो भन्यौँ । प्रधानमन्त्रीजीले 'म नगए पनि यो दुःखद् घटना हो, यो नराम्रो तरिकाको कूटनीति भयो, हदै भयो । परराष्ट्रमन्त्रीसँग कुरा गरेर अगाडि बढाउँछु,' भन्नुभयो । म प्रधानमन्त्रीसँग कुरा राख्न जाँदा उहाँले परराष्ट्रमन्त्रीतिर सोझ्याउनुभयो । उहाँले आफूले जिम्मेवारी लिनुपर्ने थियो । उहाँको कुरा सुनेपछि प्रधानमन्त्री आफैँ कन्फ्युजनमा भएजस्तो लाग्यो । उहाँमा म प्रधानमन्त्री हो कि होइन भन्ने कन्फ्युजन देखेँ ।
तपाईंको मुद्दामा अन्य राजनीतिक दल पनि त बोलेनन् नि ?
संसदीय समितिमा त सबैले सर्वसम्मतिले यो घटनाको कडा शब्दमा विरोध गर्नुभयो । गौरी मेहता, रामशाह प्रसाद यादवलगायतका सभासद्ले तीव्र विरोध जनाउनुभयो । उहाँहरूले गम्भीरतापूर्वक नै उठाउनुभयो । तर, पार्टी अध्यक्षहरूले पार्टीकै तर्फबाट जुनतहबाट कुरा उठाउनुपर्ने थियो, उठाएको देखिनँ ।
मधेसवादी दलका र अरू दलका दर्जनौँ सभासद्ले यसलाई महत्त्वका साथ उठाउनुभयो ।
उहाँहरूले मलाई 'चिन्ता लिनुपर्दैन, तपाइर्ंमाथि भएको अपमान हामी सबैमाथि
भएको अपमान हो, कुनै पनि डिप्लोम्याटले यसरी अपमान गर्न पाउँदैन । हामी तपाइर्ंको साथमा छौँ' भनेर ढाडस दिनुभयो । कांग्रेसका गगन थापा, राप्रपा नेपालका चन्द्रबहादुर गुरुङले फोन गरेर धन्यावाद दिनुभयो । बुद्धिजीवी मधेसी समुदायबाट राम्रो 'रेस्पोन्स' पाएको छु । तर, दलहरूले के बाध्यताले हो, औपचारिक ढंगबाट बोलेनन् ।
यस घटनाले तराईको राजनीति र तपाइर्ंको सुरक्षाको संवेदनशीलता बढेकै हो ?
तराईको राजनीतिमा यसले एउटा नयाँ धु्रवीकरण गराउँछ । माओवादीप्रतिको जनविश्वास फेरि एकपटक बढेर आउँछ । युवा पुस्तामा आत्मबल बढाउँछ । सुरक्षाको कुरा गर्दा, यो धम्कीका कारण म गम्भीर बन्नुपर्छ । सरकारले एउटा हवल्दार पठाएको छ । त्यो कति पर्याप्त छ ? कति ठीक कति बेठीक आफ्नो ठाउँमा होला । पार्टीले पनि मेरो सुरक्षाको कुरालाई गम्भीर ढंगले लिनुपर्छ ।
घटना सार्वजनिक भएपछि तपाईंलाई थप धम्की आएको छ कि छैन ? अनि तपाईं कस्तो सुरक्षा चाहनुहुन्छ ?
२१ गतेपछि कहीँ-कतैबाट धाक-धम्कीका फोन आएका छैनन् ।
सबै साथी जसले मलाई यो प्रकरण सार्वजनिक गरेकोमा घन्यवाद दिनुभयो, अपमान
गरेकोमा चिन्ता जनाउनुभयो, उहाँहरूले पनि मेरो सुरक्षाका विषयमा चासो
राख्नुभएको छ । उहाँहरूले मलाई सतर्क हुनुपर्छ, ध्यान पुर्याएर हिँडडुल गर्नुपर्छ भन्नुभएको छ । कुन तहबाट धम्की आएको हो त्यो संवेशनशीलतालाई बुझ्ने खालको सुरक्षा हुनुपर्छ भन्ने मलाई लागेको छ ।
तपाईसँग तराई-मेधस लोकतान्त्रिक पार्टीले सभासद् पद खारेजीका लागि स्पष्टीकरण मागेको थियो । कस्तो जवाफ पठाउनुभयो ?
मैले तमलोपाले पठाएको पत्रको जवाफ पठाउन आवश्यक ठानिनँ । १३ महिनापहिला मैले पार्टी छाडेको हो । अहिले माओवादीको केन्द्रीय सदस्य छु । १३ महिनापहिला नै तमलोपाले यस्तो पत्र पठाएको भए जवाफ दिन आवश्यक हुन्थ्यो । यति समयपछि पत्र पठाएकाले त्यसको जवाफ दिन उपयुक्त लागेन । यहाँ एउटा षड्यन्त्र भएको छ ।
२१ गतेका दिन नै मलाई दूतावासबाट दासले फोन गरेर सभासद्को पद खारेजीका
लागि पत्र पठाउन लगाएको छु भनेर धम्की दिनु र त्यसैदिन तमलोपाले पत्र
पठाउनु संयोग मात्र थिएन । दूतावासको निर्देशनमा आएको थियो भन्नेमा म ढुक्क छ । यसरी निर्देशित तरिकाले आएको पत्रको जवाफ दिन मैले आवश्यक मानिनँ । कानुनी ढंगबाट हुने कुराको म फेस गर्न तयार छु ।
राजनीतिक दृष्टिकोणले हेर्दा म ०६२/६३ को मधेस आन्दोलनको संयोजक थिएँ । त्यतिवेला कांग्रेसले अपमान गरेर महन्थ ठाकुरजीलाई वनमन्त्री बनाएको थियो । मैले मधेस आन्दोलनको नेतृत्व गरिरहेको थिएँ, उहाँले सरकारमा बसेर मधेस आन्दोलन दबाउनुभयो । युवालाई सहिद बनाउनुभयो । तिनै सहिदको लासमा टेकेर उहाँ मेधसको मसिहा बन्नुभएको छ । मधेसमा हामीले आधार तयार गरेपछि विभिन्न प्रभावमा परेर उहाँहरूले राजनीति गरिरहनुभएको छ । मधेस आन्दोलनको राजनीतिक बैधानिकता मसँग छ ।
संविधानसभाको कार्यकाल दुईवर्षे भएको भए त सकिएको हुन्थ्यो अहिले । एक वर्ष म्याद थप भएकाले यो कुरा उठेको होला । यसले उहाँहरू कसरी चल्नुभएको छ ? उहाँहरूलाई कसले सञ्चालित गरेको छ भन्ने झनै स्पष्ट गराइदिएको छ ।
फोनमा धम्की दिनेले तपाईंलाई सभासद् किनबेचमा लागेको आरोप पनि लगाएको थियो, होइन ? त्यसको कारण के होला ?
पार्टी
अध्यक्ष आफँै प्रधानमन्त्रीका रूपमा उठेपछि पार्टीले हामीलाई स्पष्ट रूपमा
भनेको थियो, 'उहाँलाई जिताउन आ-आफ्नो ठाउँबाट लाग्ने ।' सक्रियतापूर्वक लाग्ने भन्ने पार्टीको निर्देशनअनुसार म पनि खटेको हो । हामी सबै लागेका कारण नै माहोल बन्दै थियो । फोरममा दर्जनभन्दा बढी सभासद्ले हामीलाई समर्थन गर्न भनेर विद्रोह नै गर्नुभयो । चौथो चरणको निर्वाचनमा देखिएको त्यो खालको विद्रोह पाँचाँै चरणको निर्वाचनमा आउँदासम्म अरू दलमा पनि देखिनेवाला थियो । मालेमा विभाजन नै भयो । कमल थापाको पार्टीले समर्थन गर्ने तयारी थियो । नेकपा संयुक्तले बहुमत पुग्ने अवस्थामा भोट दिन्छौँ भनेको थियो । नेमकिपाले मतदान गर्ने नै भनेको थियो ।
सबै पार्टीमा क्रान्तिकारी र यथास्थितिवादी धार देखिएका थिए । यस्तो अवस्था देखिएपछि हस्तक्षेप सुरु भयो । ममाथि अपमानजनक व्यवहार भयो ।
तपाइर्ंको बुझाइमा मधेसी मोर्चालाई माओवादीको पक्षमा आउन नदिन तपाईंलाई धम्की आएको हो ?
छोरी कुटेर बुहारी तर्साउने भन्ने एउटा उखान छ । ममाथि यस्तो थ्रेट गरेर मधेसवादी दलमा भएको विद्रोहलाई रोक्न खोजिएको हो । उनीहरू माओवादीसँग सहकार्य गरेर अगाडि बढ्न चाहेका नेताहरूको मनोबल गिराउन चाहन्थे । मधेसी नेता/सभासद्लाई निरुत्साहित गर्न नै मलाई थ्रेट गरिएको हो ।
तपाईंकी छोरीलाई क्याम्पसबाट निकाल्ने धम्की पनि आएको बताउनुभएको थियो, त्यस्तो भयो कि भएन ?
छोरी राम्रोसँग पढ्दै छिन् । तर, उनलाई मानसिक दबाब परेको छ । उनले यो कुरालाई राम्रो मानेकी छैनन् । विद्यालय आउने-जाने भइरहेको छ, पढाइ जारी नै छ, अहिले ।
मधेसी
समुदायको नेताको आँखाबाट हेर्दा तपाईं मधेसवादी दल वा नेता र भारतबीचको
सम्बन्ध कत्तिको स्वाभाविक देख्नुहुन्छ ? मधेसले आफ्नो अधिकारका लागि
संघर्ष गर्दा काठमाडौंलाई वा नेपालकै शासकवर्गलाई केन्दि्रत गरेको देखिन्छ । तर, विगतको तुलनामा यहाँसम्म आउँदा धेरै ठूलो परिवर्तन भएको छ । मधेसी दलले मधेसका कुरा उठाउँछन् । तर, त्यसलाई म तीन चरणमा हेर्छु । एउटा प्रचार-प्रसारको चरण । संघीयता, समावेशीकरणलगायतका विषय ५० वर्षपहिला उठेका हुन् । सद्भावनाले प्रचारका रूपमा यी मुद्दा उठायो ।
मधेस विद्रोह र माओवादीले चलाएको जनयुद्धले मधेसलाई यहाँसम्म ल्याएको हो । हिजो एकीकृत खस शासन-व्यवस्थाका विरुद्ध मधेसी आन्दोलन थियो । मधेसको राजनीतिमा हिजो जसका विरुद्ध संघर्ष गरिन्थ्यो आज त्यो अवस्था छैन ।
तराईमा पहाडी शासकवर्गलाई देखाएर मधेसको आन्दोलन बढाउने, अर्कोतिर दिल्लीको भर परेर राजनीति गर्ने परम्परा थियो । शासक वर्ग भनेर जातिविशेषलाई 'टार्गेट' गर्दा अरूको काखमा मधेसलाई बुझाइदिनुहँुदैन । शासक वर्गसित लड्नुपर्ने अवस्था अहिले छैन । राष्ट्रपति, उपराष्ट्रपतिदेखि मन्त्रीहरूको भीड मधेसीकै छ । त्यसकारण अब पुरानो सूत्र काम लाग्दैन ।
मधेसीले राजनीति नै गर्ने हो भने समग्र नेपालको राजनीति गर्नुपर्छ ।
अब नेपालमाथि हस्तक्षेप कसको ? नेपालको राजनीतिलाई कमजोर पार्ने कसले ?
कोसँग मिलेर जाँदा नयाँ संविधान बन्न सक्छ ? यतातिर ध्यान दिइएन र
परिवर्तनको पक्षमा लागेको माओवादीको विरोधमा लागेर हिँडियो भने कसरी मधेसी
अधिकारको ग्यारेन्टी हुन्छ ?
दिल्लीसँग मिलेर मधेसले हिजो पनि अधिकार पाएको छैन आज पनि पाउँदैन ।
साँच्चै मेधसी जनतालाई अधिकार दिने हो भने परिवर्तनकारी शक्ति माओवादीसँग
मिलेर जाँदा नै देशको राष्ट्रियता पनि नयाँ ढंगले निर्माण गर्न सकिन्छ,
मधेसी जनताको अधिकार पनि पाउन सकिन्छ । त्यसकारण अब फेरिएको अवस्थामा पुरानै ढंगले सोचेर हुँदैन, नयाँ ढंगले सोच्नुपर्छ । मधेसी जनतामा नयाँ सोच चेतना आएका छ । मधेसी जनताले को मित्र र को शत्रु भन्ने सोच्ने वेला आएको छ ।
तपाइर्ंको विचारमा अहिलेका मधेसवादी नेता स्वतन्त्र राजनीतिक गर्न सक्ने अवस्थामा छैनन् ?
सद्भावना, तमलोपा र लोकतान्त्रिक फोरम सबैका नेता सामन्ती पृष्ठभूमिबाट आएका यथास्थितिवादी सोचका छन् । उनीहरू केही प्रगतिशील एजेन्डा बोकेर आएका छन् । हिजो कांग्रेससँग बसेर राजनीति गरेका महन्थ ठाकुर र विजय गच्छदारहरू मधेसी पार्टीको मूल नेतृत्वमा छन् । उनीहरू ५० वर्षअगाडिका मुद्दा उठाउँछन् ।
देशको शासनव्यवस्था परिवर्तन भइसकेको छ, तर उनीहरू नयाँ तवरले सोच्दैनन् । मधेसी मोर्चा पनि चाँडै विभाजन हुन्छ । मधेसमा नयाँ-नयाँ धार जन्मँदै छन् । आन्दोलन संस्थागत गर्ने कुरा छ । मातृकाको आफ्नै धार छ, उहाँ मोर्चामा हुनुहुन्न ।
मधेसमा सर्वहारावर्गको राजनीति गर्ने माओवादी छ । मधेसमा विद्रोह गर्नेहरू सबै दलाल हँुदैनन् । उनीहरूमध्ये कैयौँले यथास्थितिवादी शक्तिविरुद्ध मधेसमा प्रगतिशील शक्ति बनाउँछन् । देशभक्त शक्ति र यथास्थितिवादी शक्ति ध्रुवीकरण हुनुपर्छ ।
तपाईंको विषयमा माओवादीले भारतीय दूतावाससँग स्पष्टीकरण मागेको थियो, तर चित्तबुझ्दो नभएको बताइएको छ । तपाईंको सूचनामा दूतावासले माओवादीलाई कस्तो स्पष्टीकरण दिएको रहेछ ?
टेलिफोनमा कुरा गरेको सुनेको छु । तर, उसको भनाइ आफ्नो गल्तीलाई सच्चाउने भन्दा पनि माइनस गरेर जाने खालको थियो रे ! त्यसमा चित्त नबुझेको पार्टीले बताइसकेको छ । अर्को कुनै कदम चाल्छ होला ।
source: http://www.nayapatrika.net/newsportal/jhan_naya/16144.html