काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापित हिजो आज गुमनाम जस्तै छन् । तर स्थापित चुपचाप लागेर बस्न सक्ने मानिस होइनन् । नृत्य, ध्यान, आर्टसँगै उनी अहिले एउटा अभियानमा छन् । बिभिन्न काम र गतिबिधिका कारण बेलाबेला चर्चामा आइरहने स्थापितलाई हावादारी सपना देख्ने व्यक्ति भनेर पनि आलोचना गरिन्छ । तर काठमाडौको मेयर हुँदा उनले केही नपत्याउँदा काम पनि गरे । काठमाडौलाई व्यवस्थित र सुन्दर बनाउने सपना अझै पनि उनले देख्न छाडेका छैनन् । एमालेबाट माले हुँदै प्रजापरिषद पुगेर फेरि एमालेमै फर्किएका केशव स्थापित हिजोआज के गर्दैछन् त ? प्रस्तुत छ, स्थापितसँग गरिएको कुराकानी ।
· हिजोआज त बेपत्ता जस्तै हुनुभयो, के मा व्यस्त हुनुहुन्छ ?
मै हुँ भनेर हिंड्न भएन । काम गर्नको लागि कसैले जिम्मेवारी दिंदैनन् । पार्टीमा पनि हैसियत छैन । हैसियत भएमा पनि केही गर्न सकिएन भने झन् गुमनाम भईन्छ । तर म अहिले ठूलो अनुसन्धानमा लागेको छु ।
· कस्तो अनुसन्धान ?
देश र जनतालाई कसरी समृद्धि बनाउने भन्ने अभियान । विश्वकै संस्कारयुक्त तथा विवेकशिल मान्छे र ठाउँ बनाउने योजनामा छु । यो शून्य सूत्र अभियान हो ।
· के हो शून्य सूत्र अभियान भनेको ?
लागत नलाग्ने, तर फलदायी काम हुने अभियान । जस्तो काठमाडौंमा मेलम्चीको पानी ल्याउन एसियाली विकास बैंकको भर पर्ने होईन । स्थानीय बासिन्दालाई शेयर बाँडिदिने । सबैले शेयर पाएपछि मेलम्ची स्थानीयबासिन्दाको परियोजना हुन्छ । उनीहरुको स्वामित्व हुन्छ । अनि उनीहरु नै कहिले काठमाडौंलाई पानी बेच्ने र धनी हुने भनेर हतार गर्छन् । अहिले त सरकारले उनीहरुको पानी चोर्न लागेजस्तो भएको छ । चोर्न लागेपछि स्थानीयबासिन्दाले कहाँ दिन्छन् त ? उनीहरुलाई नै मालिक बनाएपछि सरकारको लागत पर्दैन । शून्य लागतमा काठमाडौंमा मेलम्चीको पानी आउँछ । उपत्यकाको सडक विस्तारमा पनि यही सूत्र काम लाग्छ । स्थानीयबासिन्दालाई मुआब्जा दिने भन्दै सडक फराकिलो पार्न थालिहाल्ने । पछि सडक विस्तार हुँदा जग्गाको भाऊ बढ्छ भन्ने कुरा स्थानीयबासिन्दालाई बुझाईदिने । यसो गर्दा उनीहरु जग्गा दान गर्न तयार हुन्छन्, मुआब्जा दिनै पर्दैन । सबै ठाउँमा यो शून्य सूत्र काम लाग्छ ।
· तर तपाईंको योजना र सपनालाई त हावादारी भन्छन् नि ?
विवेक नभाका मान्छेले भन्ने कुरा हो यो । कल्पना गर्दा हावादारी लाग्न सक्छ । तर मैले पहिले पनि केही गरेर देखाईदिएको हो नि । कसैले नपत्याउँदा नपत्याउँदै माईतीघरलाई त्यस्तोबाट यस्तो बनाएँ । रत्नपार्क र कलंकीको सडक पनि फराकिलो भयो । आँट्यो भने जे पनि हुन सक्छ । म आँट्ने मान्छे हो । भन्नेले त जे पनि भन्छन् ।
· जिम्मेवारी पाउनुभयो भने फेरि यस्तै काम गर्न सक्नुहुन्छ त ?
मजाले । तर लोकप्रिय हुन्छ र सबैको विश्वास जितेर केशव स्थापित मुख्यमन्त्री बन्ला भन्ने धेरैलाई डर छ । जिम्मेवारी पाउने हो भने काठमाडौंलाई व्यवस्थित मात्रै होइन संसारकै सुन्दर र समृद्ध शहर बनाउने आँट छ मेरो । तर गर्न दिंदैनन् ।
· अब के गर्नुहुन्छ त ?
अब छिटै पाल्पा जाँदैछु । पाल्पाको तेलघालाई नमूना ग्रामिण शहर बनाउने योजना अनुसार काम हुँदैछ । माधव नेपालले जग्गा दिएका भए पहिल्यै गैसक्थें । अब त्यहींका बासिन्दासँग मिलेर काम गर्छु । उतै बस्छु ।
· प्रजापरिषदलाई बिउँत्याउनुभयो, फेरि अलपत्र पारेर आफू एमालेमा फर्किनुभयो । अहिले तपाईं पनि अलपत्र, प्रजापरिषद पनि अलपत्र परेको जस्तो देखियो नि ?
म अलपत्र परेको छैन । अहिले पनि एमालेको कार्यकर्ता हुँ । ऊबेला वाध्यताले प्रजापरिषद खोल्नपर्यो ।
· कस्तो बाध्यता ?
युद्धकालमा माओवादीलाई रेडियो चलाउनुपर्छ मैले नै सिकाएको थिएँ । क्यानडाबाट मैले रेडियोको सामान ल्याईदिएँ । पछि पक्राउ परेका माओवादी कार्यकर्ताबाट सेनाले यो कुरा सुईंको पायो । त्यसपछि मलाई थ्रेट हुन लाथ्यो । कति दिन लुकेर पनि बसें । यसो सोचें म पनि खाली, प्रजापरिषद पनि खाली । यसलाई बिउँत्याउन पाए दरबार नरम हुने, मलाई सेनाले केही गर्न नसक्ने । त्यसैले दरबारलाई नरम पार्नकै लागि प्रजापरिषदलाई बिउँत्याएँ । दरबारलाई भ्रममा पार्न प्रजापरिषद बिउँत्याएको थिएँ । त्यहीँ बसेर पनि मैले राजतन्त्र बिरुद्धको आन्दोलन गरें र एमालेमा फर्किएँ ।
· एमालेमा पनि खै त केही भूमिका पाउनुभएन त ?
महाधिवेशनमा उठेको थिएँ । तर गुटबन्दीमा लागिन । त्यसैले हारें । गुटबन्दी गरेको भए ठूलो ठाउँमा पुगिसक्थें ।
· तपाईंका सपना पूरा गर्न पार्टी सरकारमा भएको बेला ठाउँमा पुग्नुपर्ने हो नि ?
मैले त भनेकै छु जिम्मेवारी देऊ भनेर । मैले राम्रो काम गरेर विश्वास जित्ला भन्ने मात्रै उनीहरुलाई डर छ ।
http://www.onlinekhabar.com/2011/04/18/52414.html
Last edited: 20-Apr-11 09:10 AM